भर्खरै :

बाल विकासमा लेखक ज्ञवालीसँग विद्यार्थीको साक्षात्कार

बाल विकासमा लेखक ज्ञवालीसँग विद्यार्थीको साक्षात्कार

भक्तपुर, १३ जेठ । बाल विकास सेकेन्डरी स्कुल, लिबालीका विद्यार्थीहरूले लेखक प्रा. डा. रामप्रसाद जवालीसँग साक्षात्कार गर्ने मौका पाए ।
उक्त अवसरमा विद्यालयका प्रिन्सिपल सुरेन्द्रराज गोसाईले विद्यार्थीहरूमा देशप्रेमको भावना हुनुपर्ने कुरामा जोड दिनुभयो । चीनलगायत संसारका अन्य देशहरू विज्ञान र प्रविधिको विकास तथा भौतिक उन्नतिमा निकै अघि बढे पनि हाम्रो देशका शासकहरूमा देशप्रेम नहुँदा देश विकासमा पछि परेको बताउँदै नयाँ पुस्ताले आशावादी सोचका साथ देशको सेवामा लागेमा एकदिन हाम्रो देश पनि अघि बढ्ने बताउनुभयो ।
उहाँले देशका ठुला भनाउँदा पार्टीहरू भ्रष्टाचार र कुकर्ममा लागेको अवस्थामा नेमकिपाले प्रदेश र सङ्घमा एक्लै भए पनि देश र जनताको पक्षमा आवाज उठाइरहेको बताउनुभयो । विद्यार्थीले राम्रा – राम्रा साहित्य पढ्न र असल व्यक्तिका जीवनी अध्ययन गर्न सल्लाह दिनुभयो ।
सो अवसरमा कवि तथा लेखक प्रा. डा. रामप्रसाद ज्ञवालीले विद्यार्थीसँग अन्तरक्रिया गर्दै नयाँ पुस्ताले संसारबाट सिकेर सिकेको ज्ञानलाई स्वदेशको सेवामा लगाउन आग्रह गर्नुभयो । उहाँले संसारका सबै मानिसमा कुनै न कुनै किसिमको क्षमता हुने भएकाले आफूमा भएको क्षमता चिनेर त्यसैमा लाग्न सल्लाह दिनुभयो । उहाँले जीवन सफल बन्न व्यक्तिमा अनुशासन, सङ्कल्प, योजना र निरन्तरको परिश्रम आवश्यक पर्ने बताउँदै विद्यार्थी कहिल्यै हार नमान्न आग्रह गर्नुभयो । आफ्नो देश, आफ्ना अभिभावक र गुरुलाई जहिले पनि आदर गर्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।
उहाँले कसरी राम्रा पुस्तक छनोट गर्न सकिन्छ भन्ने विद्यार्थीको जिज्ञासामा आफ्ना गुरु, अभिभावक तथा अरु विज्ञसँग सोधेर पुस्तक छनोट गर्नुपर्ने बताउनुभयो । साथै, कसरी राम्रो साहित्य रचना गर्ने सकिन्छ भन्ने विद्यार्थीको जिज्ञासामा राम्रा साहित्य र राम्रा साहित्यकारहरूको जीवनी धेरैभन्दा धेरै अध्ययन गरेमा राम्रो साहित्य रचना गर्न सकिने बताउनुभयो । देशमा भ्रष्टाचार, बेथिति, बेइमानी र अराजकता बढेको उदाहरण प्रस्तुत गर्दै नयाँ पुस्तालाई त्यसका विरुद्ध साहित्यमार्फत आवाज उठाउन आग्रह गर्नुभयो । उहाँले बाल विकासले विद्यार्थीलाई असल संस्कार, देशप्रेम र व्यावहारिक शिक्षा प्रदान गरिरहेको भन्दै विद्यालयको प्रशंसा गर्नुभयो ।
उक्त अवसरमा विद्यार्थीहरूले उहाँको रचनामा नृत्य पनि प्रस्तुत गरेका थिए भने विद्यार्थीका तर्फबाट मायाको चिनो अर्पण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *