मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
भक्तपुर, १४ जेठ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच स्थापित गर्न भक्तपुर नगरपालिकाले ख्वप अस्पताल सञ्चालन र स्वास्थ्य केन्द्रहरू सञ्चालन गर्दै आएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप तिलगङ्गा आँखा अस्पतालको प्रथम वार्षिकोत्सव कार्यक्रममा उहाँले ख्वप तिलगङ्गा आँखा अस्पताल स्थापनाको एक वर्ष अवधिमा धेरै आँखाका बिरामीहरूको सेवा गरिसकेको बताउँदै अस्पतालले स्वास्थ्य बीमा सेवालाई अझ व्यवस्थित गर्दै लानुपर्ने बताउनुभयो ।
भक्तपुरको स्वास्थ्य क्षेत्र गुणस्तरीय र विश्वसनीय बन्दै गइरहेको बताउँदै उहाँले अस्पतालले बिरामी सङ्ख्याको वृद्धिमा भन्दा पनि स्वास्थ्य सेवाको गुणस्तर वृद्धिमा जोड दिनुपर्ने बताउनुभयो ।
सामुदायिक अस्पताल र स्वास्थ्य केन्द्र राम्रो भएमात्र व्यापक गरिब जनताको सेवा हुने बताउँदै अरुको सहयोगको भरमा नभई आत्मनिर्भर ढङ्गले संस्था सञ्चालनतर्फ अस्पतालले जोड दिनुपर्छ भन्नुभयो ।
अस्पताल व्यवस्थापन समितिका सदस्य तथा भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले बिरामी जुनसुकै स्वास्थ्य समस्या लिएर आए पनि एकै ठाउँबाट सबै सेवा सुविधा प्रदान गर्ने उद्देश्यले ख्वप अस्पताल सञ्चालन भएको बताउँदै ख्वप तिलगङ्गा आँखा अस्पतालका विशिष्टिकृत सेवाहरूबारे जनतामाझ प्रचारप्रसारको आवश्यकता रहेको बताउनुभयो ।
ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेश प्रताप मल्लले तिलगङ्गा आँखा अस्पताल ख्वप अस्पतालकै महत्वपूर्ण अङ्ग भएको बताउँदै बिरामीको विश्वास जितेर आगामी दिनहरूमा थप प्रगतिको लागि शुभकामना दिनुभयो ।
ख्वप अस्पतालका प्रमुख सुदिप राजभण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने डा. धिरज अधिकारीले अस्पतालको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
ख्वप तिलगङ्गा आँखा अस्पतालले आर्थिक वर्ष २०८१/८२ मा २९ हजार ९२६ बिरामीलाई आँखा उपचार सेवा प्रदान गरेको छ जसअन्तर्गत आँखाको शल्यक्रिया १ हजार ६२ जनाले गरेको देखिन्छ । प्रस्तुत प्रगति प्रतिवेदनअनुसार सन् २००६ देखि २०२४ सम्ममा महिला १ लाख १९ हजार ५९३ र पुरुष १ लाख ५७ हजार ४८० गरी २ लाख ७७ हजार ७३ जनालाई आँखाको उपचार सेवा उपलब्ध गराइएको छ । त्यस्तै, ख्वप तिलगङ्गा आँखा अस्पतालले विद्यालय र सामुदायिक क्षेत्रमा १ लाख ३५ हजार ९५५ जनालाई सेवा दिएको तथ्याङ्कले बताउँछ ।
Leave a Reply