भर्खरै :

के गृहमन्त्री लेखकको राजिनामा वा बर्खास्ती होला ?

के गृहमन्त्री लेखकको राजिनामा वा बर्खास्ती होला ?

काठमाडौँ, १४ जेठ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने कार्यसूची थियो । बैठक अपराह्न १ः३० बजे सुरु भयो ।
एमालेका केपी शर्मा ओलीको सरकारमा नेकाबाट गृहमन्त्री भएका रमेश लेखकले भ्रमण प्रवेशाज्ञासहित खाडी मुलुक र युरोपका देशहरूमा पठाएका नेपाली पुरुष र महिलाहरूसँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईमार्फत प्रतिभ्रमण यात्रीबाट रु. ५० हजारदेखि २–३ लाखसम्म उठाएको सार्वजनिक भएपछि उनको राजिनामा माग्दै माओवादी केन्द्र, रास्वपा र राप्रपाका सांसदहरूले बैठक अवरोध गरे । तत्पश्चात् सत्तापक्ष नेका र एमालेका केही सांसदहरूले बोल्न माग गरे ।
एमालेबाट सांसद भएर सभामुख भएका देवराज घिमिरेले दलीय आधारमा बोल्न दिने र तत्पश्चात् गृहमन्त्री लेखकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भइरहेको मानव बेचबिखनबारे स्पष्टीकरण दिन लगाउने बताए । प्रतिपक्षी माओवादी केन्द्र, रास्वपा र राप्रपाका सांसदहरूले गृहमन्त्री लेखक मानव बेचबिखनमा संलग्न भएको हुँदा प्रधानमन्त्री ओली आएर स्पष्टीकरण दिनुपर्ने अडान लिए ।
सभामुख घिमिरेले अपराह्न १ः १५ बजे बैठक आधा घण्टाको लागि स्थगित गरे । त्यसपछि बैठक हुन सकेन । प्रतिनिधिसभाको बैठक जेठ १५ गते अपराह्न १ः३० बजे बस्ने गरी सूचना प्रकाशित गरियो । नेपालको संविधानमा उल्लेख भएअनुसार सरकारले प्रत्येक वर्ष जेठ १५ गते सरकारको बजेट संयुक्त सदनमा सार्वजनिक गर्नुपर्दछ । बजेट संयुक्त सदनमा पेस हुनुअघि सरकारले आर्थिक सर्वेक्षण २०८१ पेस गर्नुपर्ने हुन्छ । यही प्रयोजनको लागि जेठ १५ गते अपरान्ह १ः३० बजे प्रतिनिधिसभाको बैठक राखिएको हो ।
सङ्घीय संसद्को संयुक्त बैठकमा जेठ १५ गते अपराह्न ३ बजे सरकारका अर्थमन्त्री विष्णु पौडेलले आ.व. २०८२/८३ को बजेट प्रस्तुत गर्नेछन् । माओवादी केन्द्र, रास्वपा र राप्रपाले संसद्बाट अर्थमन्त्रीलाई बजेट प्रस्तुत गर्न लगाउने बताए । यसको अर्थ जेठ १५ गते अपराह्न १ः३० बजेको बैठक अवरुद्ध हुने हो या होइन ? स्पष्ट गरिएको छैन ।
संसद् बैठकको लागि जेठ १४ गते सांसदहरू बिहान ११ बजे नै पुगेका थिए । बैठक विलम्ब भएपछि सांसदहरू लबि र चिया खाने ठाउँमा टहलिँदै थिए । सांसदहरूबिच कुराकानी भयो – ‘यो सरकारका अधिकांश मन्त्रीहरू गन्हाए । मानव बेचबिखनमा अधिकांश गृहमन्त्रीहरू परेका छन् । यसमा प्रधानमन्त्री भएकाहरू पनि जवाफदेही हुनु आवश्यक छ । बहुदलीय प्रजातन्त्र पुनःस्थापनायता ३५ वर्षमा सरकारहरूले देश र जनताको हितमा सेवा नगरेको हुँदा राजावादीहरूको नाममा प्रतिगामीहरू टाउको उठाउँदै छन् ।
नेपाली जनतामा अहिले के गृहमन्त्री लेखकको राजिनामा वा बर्खास्ती होला र भन्ने विषयमा चर्चा छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *