भर्खरै :

शुक्रबारबाट भक्तपुरमा दुईदिने घरेलु उत्पादन प्रवद्र्धन मेला सुरु

शुक्रबारबाट भक्तपुरमा दुईदिने घरेलु उत्पादन प्रवद्र्धन मेला सुरु

भक्तपुर, १६ जेठ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर घरेलु तथा साना उद्योग सङ्घको आयोजना तथा उद्योग वाणिज्य कार्यालयको सहकार्यमा भक्तपुरको नःपुखु परिसरमा दुईदिने घरेलु उत्पादन प्रवद्र्धन मेला २०८२ को शुक्रबार उद्घाटन गर्नुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख प्रजापतिले भक्तपुरको कला संस्कृति, सम्पदा र मौलिक उत्पादन तथा जीवनशैलीबारे स्वदेशी र विदेशीलाई जानकारी गराउने उद्देश्यले भक्तपुर नपाले भक्तपुर महोत्सव सम्पन्न गरेको बताउँदै उक्त महोत्सवमा भक्तपुर उद्योग वाणिज्य सङ्घ र घरेलु तथा साना उद्योग सङ्घको पनि सक्रिय सहभागिताको लागि धन्यवादज्ञापन गर्नुभयो ।
भक्तपुर अहिले पर्यटकीय नगरको रूपमा विकास भइरहेको र बर्सेनि करिब ३ लाख विदेशी पर्यटकहरूले भक्तपुर भ्रमण गर्ने गरेको तथ्याङ्क उल्लेख गर्दै उहाँले भक्तपुर नपाले आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिँदै विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो ।
विश्व व्यापार सङ्गठनमा नेपाल सदस्य भएपछि घरेलु तथा साना उद्योगहरू ओझेलमा पर्दै आएको बताउँदै विदेशी सामानको आयातले घरेलु उद्योगहरू मारमा परेको उहाँले बताउनुभयो ।
उद्यमीहरूबिच स्वस्थ प्रतिस्र्धाको खाँचो रहेको बताउँदै उहाँले युवाहरूलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न सके युवा बिदेसिने क्रम रोकिने बताउनुभयो ।
भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले घरेलु उद्योगको प्रवद्र्धनस्वरूप सङ्घले समय समयमा यस्ता मेला तथा महोत्सवहरूको आयोजना र सहभागिता जनाउँदै आएको बताउँदै स्थानीय उद्योग संरक्षणमा स्थानीय तहको पनि महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख रामप्रसाद कुस्माले दुईदिने मेला उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्दै घरेलु उद्योगहरूले आत्मनिर्भर र रोजगारी सिर्जना गर्न सहयोग पु¥याइरहेको बताउनुभयो । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका चन्द्रकृष्ण बाडे, सङ्घका पूर्वअध्यक्ष वीरेन्द्र जति, नेपाल पत्रकार महासङ्घ भक्तपुर जिल्ला शाखाका अध्यक्ष सुन्दर शिल्पकार, भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका कमलकेशरी खर्बुजाले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले मेलाको स्थलगत अवलोकन गर्नुभई व्यवसायीहरूलाई हौसला प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *