भर्खरै :

प्रायश्चित

प्रायश्चित

मदन बेलायतको लन्डनमा बेलायती श्रीमतीसँग बस्दै आएका थिए । एउटै गाउँका उनका साथी शिशिर पनि त्यस्तै अमेरिकामा अमेरिकी श्रीमतीसँग न्युयोर्कमा बस्दै आएका थिए । उनीहरू दुबै पढ्न बेलायत र अमेरिका गएका थिए । उनीहरूले उच्च शिक्षा, सीप हासिल गरेपछि त्यही काम गर्दै आएका थिए । ती दुबैले डलर पनि धेरै कमाए तर उनीहरूको मनमा भने कहिल्यै आत्म गौरव, आत्म सन्तुष्टी थिएन । उनीहरू बङ्गला किनेर त्यही घरजम गरेर बस्दै आएका थिए । उनीहरूले आफ्नो जन्मथलो, क्रिडास्थल गाउँ, ठाउँ अनि दाजुभाइ तथा दिदीबहिनीहरूलाई बिर्से; देशलाई बिर्से । उनीहरूले हामी विदेशको सेवा गरिरहँदा, रगत, पसिना बगाइरहँदा आफ्नो देश बन्दैन; हामी सधैँ यस्तै युवा हुँदैनौँ† बुढाबुढी र अशक्त हुन्छौँ भन्ने कुरालाई बिर्से । उनीहरू उमेरले ७०/८० वर्ष कटिसकेका थिए ।
लन्डनमा बस्दै आएका मदन एक दिन आफ्नो विदेशी श्रीमतीसँगै न्युयोर्कमा बस्दै आएका साथी शिशिरलाई भेट्न गए । उनीहरू नजिकैको पार्कमा घुम्न गए । दुबैका श्रीमती अलि पर घुम्न र फोटो खिच्न गए । त्यही मौका छोपेर मदनले शिशिरलाई आफ्नो मनको बह पोखिहाले, शिशिर, मानिसलाई जीवनको उत्तराद्र्धमा पुगेपछि दुई वटा महत्वपूर्ण कुराले सताउँदो रहेछ । पहिलो, आफ्नो जन्मथलो अनि विगतमा आफ्नो लागि गाउँ र गाउँका दाजुभाइ तथा दिदीबहिनीहरूले गरेका निःस्वार्थ माया, सहयोग र योगदान ! दोस्रो – उमेर छँदा समाज, देशको लागि आफूले के कति योगदान गरेँ । ती दुबै मैले गर्न सकिनँ । गरेँ विदेशको लागि मात्र शिशिर । मैले आर्जन गरेको ज्ञान, सीप, अनुभव बेलायत बनाउनमा लगाएँ तर आफ्नो देश बनाउनलाई लगाउन सकिनँ । त्यसैले बेलायत बन्यो । तर, आफ्नो देश बनेन । त्यसैमा मलाई प्रायश्चित छ ।
शिशिरले पनि त्यस्तै मनको बह पोखे, मलाई पनि तपाईँलाई जस्तै प्रायश्चित छ मदन । हामी दुबैको कथा व्यथा एउटै छ । हाम्रा सरकारहरू, नेताहरू देशलाई आफ्नै खुट्टामा उभ्याउने, देशभक्त, निःस्वार्थी भएनन् । उनीहरू गतिला, दूरदर्शी भइदिएका भए देशको हालत यस्तो बेहाल हुने थिएन । अब हामी दुबैको बाँकी जीवन नेपालमै गएर बिताउनुपर्छ । यहाँ बसेर कमाएको ज्ञान, सीप अनुभव देश निर्माणमा लगाउनुपर्छ । यहाँ बस्दाको अनुभव लेखेर, देशको ज्ञानको भकारी भर्नुपर्छ । पढ्ने, सिक्ने, कमाउने नाममा हामीजस्तै बाध्यताबस विदेश आएका करोडौँ युवा, विद्यार्थीहरूलाई देशमै हुर्कने वातावरण बनाउन सरकारलाई घच्घच्याउनुपर्छ । अनि हाम्रो देश पनि बन्ने छ । दुबैका श्रीमती फर्केर आए । दुबैले मनको बहलाई थाती राखेर नजिकैको रेस्टुरेन्टमा खाजा खान गए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *