भर्खरै :

वडा नं ९ मा नाक, कान र घाँटीको निःशुल्क परीक्षण शिविर सम्पन्न

वडा नं ९ मा नाक, कान र घाँटीको निःशुल्क परीक्षण शिविर सम्पन्न

भक्तपुर, १७ जेठ । भक्तपुर नगरपालिका ९ नं. वडा कार्यालयको आयोजनामा नाक, कान र घाँटीको निःशुल्क परीक्षण शिविर शनिबार दत्तात्रय आधारभूत विद्यालयमा सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उहाँले सरकारले स्वास्थ्य क्षेत्रलाई उपेक्षा गरेको बताउँदै भक्तपुर नगरपालिकाले जनताको आधारभूत स्वास्थ्यलाई जोड दिँदै आइरहेको चर्चा गर्नुभयो । जनतामा स्वास्थ्य सेवा वृद्धि गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले प्रत्येक वडा वडामा स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको उहाँले बताउनुभयो ।
उहाँले स्वास्थ्य शिविरहरूमा नगरवासीहरू समय समयमा नआउने गरेको गुनासो राख्दै रोगको गम्भीर असर भएपछि मात्र अस्पताल धाउने गरेकोले यसलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो ।
आ.व. २०८२/८३ मा नीति तथा कार्यक्रम तयार गर्नको लागि नगरवासीहरूले वडामार्फत योजना छनोट गरी नगरपालिकामा जानकारी दिन उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्वले स्वास्थ्य शिविरमा नगरवासीले प्रत्यक्ष सहभागिता जनाए भविष्यमा हुनसक्ने रोगको पहिचान हुने बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत नेपाल सरकारसँग २६ करोड लिनुपर्ने बताउँदै नगरवासीहरूको आवश्यकतालाई मध्यनजर गर्दै निकट भविष्यमा ख्वप अस्पतालमा सिटी स्क्यान सेवा राख्ने पहल भइरहेको जानकारी गराउनुभयो ।
ख्वप अस्पतालले नगरवासीको मात्र नभएर देशभरिकै जनतालाई सेवा पु¥याउँदै आइरहेको चर्चा गर्दै प्रत्येक वडा वडामा स्वास्थ्य केन्द्रहरू निर्माण गरी जनताको सेवा गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ९ का महिला वडा सदस्य तथा कार्यपालिका सदस्य छोरीमैया सुजखु प्रजापतिले पनि बोल्नुभएको थियो भने शिविरमा १३० जनाले स्वास्थ्य परीक्षण गराएका थिए ।
शिविरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको प्राविधिक सहयोग रहेको थियो भने निःशुल्क औषधि पनि वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *