साम्राज्यवाद अन्त्य भए विश्वमा शान्ति छाउने
- कार्तिक ६, २०८२
वि.सं. २०५८ माघ २१ गते भक्तपुरको अरनिको सभाभवनमा सम्पन्न जिल्लाका बुद्धिजीवी र पेसाकर्मीहरूको बृहत् छलफल कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले एउटा महत्वपूर्ण विषय घोषणा गर्नुभयो । उहाँले भन्नुभयो, “भक्तपुर जिल्लालाई देशको पहिलो स्मारक संरक्षित जिल्ला तथा पर्यटकहरूको गन्तव्य स्थल बनाउन १५ वर्षभित्र पहिलो साक्षर र प्रत्येक घरमा एक स्नातक वा सो सरहका नाचगान वा चित्रकलाका कलाकार, खेलाडी वा भाषाहरूका ज्ञाता, होटल व्यवस्थापन गर्ने र पर्यटक गाइड वा हस्तकलाका शिक्षक उत्पादन गर्न तथा हाम्रो नयाँ पुस्तालाई शताब्दीका योग्य नागरिक बनाउन हामी सबै मिलेर चिन्तन र मेहनत गरौँ । बिचमा कुनै बाधा–व्यवधान आएन भने, जनप्रतिनिधिहरू, शिक्षाप्रेमी बुद्धिजीवीहरू, अभिभावकहरू तथा शिक्षा कार्यालय र सबै शिक्षकहरू लागि प¥यौँ भने भक्तपुर जिल्ला पहिलो साक्षर तथा प्रत्येक परिवारमा एक स्नातक भएको, पारदर्शी, भ्रष्टाचारमुक्त, स्मारक संरक्षित, कला र संस्कृति जोगिएको तथा आफ्नो पहिचान भएको जिल्ला बनाउन सक्नेछौँ ।”
केही दशकअघि भक्तपुरलाई फोहरी, असभ्य र अशिक्षितहरूको सहरको रूपमा लिइन्थ्यो । भक्तपुरका कतिपय मानिसहरू ‘भक्तपुरे’ हुनुमा हिनताबोध गर्थे । तर, आज समयले कोल्टे फेरेको छ । भक्तपुरप्रतिको हेराइमा आमूल परिवर्तन भएको छ । आज भक्तपुरलाई सभ्य, सुसंस्कृत, सफा र शिक्षितहरूको सहरको रूपमा लिइन्छ ।
जसरी रोम एक रातमा बनेको थिएन, त्यसैगरी भक्तपुर पनि एक रातमा बनेको होइन । भक्तपुरका जनताको निरन्तर त्याग, समर्पण, सङ्घर्ष र बदलाको भावनाले आजको भक्तपुर बनेको हो । भक्तपुरका अग्रजहरूले शिक्षा र सरसफाइमा दिएको जोडको परिणाम आजको भक्तपुर हो । नेपाल मजदुर किसान पार्टीको नतृत्वमा चलेको शिक्षा र सफाइ अभियानले दशकौँपछि साकार रूप लिन थालेको हो । भक्तपुरले एसियाकै सफा सहरको उपमा पाइसकेको छ । अर्कोतिर अपारदर्शिता र भ्रष्टाचारले देशलाई नराम्रोसँग गाँजेको अवस्थामा पनि ट्रान्सपरेन्सी इन्टरनेसनलले भक्तपुर नगरपालिकालाई पारदर्शी नगरको रूपमा पुरस्कृत गरिसकेको छ ।
भक्तपुर नगरपालिकाले सञ्चालन गरेका ख्वप नामका विभिन्न कलेजहरू उदाहरणीय रूपमा प्रस्तुत भइरहेका छन् । नेपालमै पहिलोपटक स्थानीय तहले ती कलेज सञ्चालन गरेको हो । यसले अन्य जिल्लाका स्थानीय निकायलाई पनि शिक्षामा लगानी बढाउन प्रोत्साहित गरेको छ । भक्तपुर देशकै एउटा नमुना जिल्लाको रूपमा अगाडि आएको छ । देशमा व्याप्त निराशाको बिचमा भक्तपुर एउटा आशाको दीप बनेको छ ।
आज भक्तपुरका जनतासँग अर्को सङ्कल्प छ – ख्वप विश्वविद्यालय स्थापना गर्ने । ख्वप मावि, ख्वप कलेज, ख्वप इन्जिनियरिङ कलेज, ख्वप पोलिटेक्निक इन्स्टिच्युट, ख्वप कलेज अफ इन्जिनियरिङ, शारदा क्याम्पस मावि र ख्वप कलेज अफ ल गरी सातवटा कलेज सञ्चालनमा छन् । ती कलेजहरूमा देशका सात हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । ती कलेजहरूले न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छन् । भक्तपुरका जनताले मेडिकल कलेज स्थापना गर्ने र सम्पूर्ण कलेजहरूलाई एकीकृत गरेर ख्वप विश्वविद्यालय बनाउन २०६० सालदेखि पहल गरेका थिए । तर, आजसम्म सरकारले संसद्मा विधेयक प्रस्तुत गरेको छैन । स्थानीय तहमार्फत विश्वविद्यालय सञ्चालन गर्ने पवित्र उद्देश्यलाई विभिन्न ब्रान्डका सरकारहरू किन रोक्दै छन् ?
सबै जनताका छोराछोरीहरूलाई कम शुल्कमा गुणस्तरीय शिक्षा दिने, प्राज्ञिक वातावरणमा पठनपाठन गराई अनुशासित नागरिक तयार गर्ने, देशको विकासमा शैक्षिक क्षेत्रबाट योगदान पु¥याउने र भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउने आदि उद्देश्यका साथ २०५६ साउन १६ गतेबाट ख्वप उच्च माध्यमिक विद्यालयको कक्षा सञ्चालन भयो । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी २०५७ फागुन १५ गतेदेखि ख्वप कलेज तथा पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी २०५८ असार १८ गतेदेखि ख्वप इन्जिनियरिङ कलेज सञ्चालन भयो ।
तत्पश्चात् भक्तपुर नपाले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट सम्बन्धन प्राप्त गरी २०६० कार्तिक २८ गतेदेखि ख्वप बहुप्राविधिक अध्ययन संस्थान सञ्चालन ग¥यो । त्यस्तै, त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी २०६५ भदौ १२ गतेदेखि ख्वप कलेज अफ इन्जिनियरिङ सञ्चालन भयो ।
देशको शैक्षिक स्तर उन्नतिमा ख्वप कलेजहरूले खेलेको भूमिकालाई कसैले कम आँक्न सक्दैन । ख्वप विश्वविद्यालय स्थानीय तहद्वारा सञ्चालित हुने भएकोले पूर्णतः सामुदायिक हुनेछ र जनताप्रति बढी उत्तरदायी हुनेछ । देशको आवश्यकता र समयानुकूल पाठ्यक्रम निर्माण गरी योग्य शैक्षिक जनशक्ति निर्माणमा यसले महत्वपूर्ण योगदान गर्नेमा दुविधा छैन । अतः राजनैतिक पूर्वाग्रह त्यागेर सबै दल, बुद्धिजीवी, कर्मचारीलगायतले ख्वप विश्वविद्यालय स्थापनाका लागि संयुक्त पहल गर्न जरुरी छ ।
Leave a Reply