भर्खरै :

सिद्धान्तको राजनीति नहुँदा देशमा सङ्कट

सिद्धान्तको राजनीति नहुँदा देशमा सङ्कट

देशमा राजनीतिक घटनासँगै बेलाबखत राजनीतिक दलहरू कहिले जुटेका छन् त कहिले फुटेका छन् । फुटेकाहरू जुटेका छन्; जुटेकाहरू फुटेका छन् । सिके राउत नेतृत्वमा जनमत पार्टी औपचारिक रूपमा विभाजित भएको छ । दीपक साहको नेतृत्वमा गठित जनस्वरजा पार्टीलाई मङ्गलबार निर्वाचन आयोगले मान्यता दिएको छ । निर्वाचन आयोगले निर्वाचनको सूचना सार्वजनिक भएपछि समाजवादी मोर्चाका दलहरू पार्टी एकीकरणको प्रक्रियामा रहेको खबर सञ्चारमाध्यममा आयो । मोर्चाका नेताहरू निर्वाचनमा हार्ने डरले एकताको कुरा उठाएको प्रसङ्ग पनि उठेको छ । एकता कम्युनिस्ट पार्टी अघि बढाउन हुनुपर्छ; समाजवादी आन्दोलन अघि बढाउन हुनुपर्छ । समाजवाद स्थापना गर्न हुनुपर्छ । तर, पार्टी एकता निर्वाचनमा हार्ला भन्ने संशयले हुन्छ । देशको राजनीति बिग्रिएको यस्तै दुर्दशाले हो । दलका नेताहरूमा सिद्धान्त र विचारको अडान नभएपछि देश र जनताको नेतृत्व कसरी गर्नसक्छ !
जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिमा वैकल्पिक शक्तिलाई एक ठाउँमा जोड्ने भन्दै कामनपाका मेयर बालेन्द्र साह, ऊर्जामन्त्री कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबिच पनि सहकार्यबारे गृहकार्य भइरहेको खबर प्रकाशमा आयो । धरानका मेयर हर्क साम्पाङले श्रम संस्कृति पार्टी खोलिसकेका छन् । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीको नेतृत्वमा नेपाल नागरिक पार्टी दर्ता गरेको बुझिएको छ । निर्वाचन आयोगले निर्वाचनको निम्ति दल दर्ता गर्न आह्वान गरेपछि आ–आफ्नो दल दर्ता गर्न जुटेका छन् । तर, दल फुट्नु र जुट्नुको कारण देश र जनताको सेवा गर्नेभन्दा पदको निम्ति भएको देखिन्छ । पद र पैसाको निम्ति गर्ने राजनीति कसरी सही हुन्छ ? आज देशको अर्थतन्त्र डावाडोल हुनुको कारण आर्थिक अनियमितता र भ्रष्टाचार नै हो । पार्टीभित्र राजनीतिलाई कमाउनेधन्दाको रूपमा विकास गर्दा देश सङ्कट अवस्थामा पुगेको हो; देश ऋणमा डुबेको हो ।
शासक दल र ठुला दलका नेताहरूमा अडान देखिएन; सिद्धान्तलाई व्यवहारमा लागु गर्ने दृढता देखिएन । छिनछिनमा विचार र अडान फेर्ने दलका नेतहरूबिचको एकता कसरी दरो हुन्छ ? एमालेको नेतृत्वमा बनेको सरकारको बेला नेका, एमाले र माओवादीले पार्टी एकता नगर्ने कुरा खोकेका थिए । तर, अहिले कति दलभित्र पार्टी एकीकरण गर्ने कुरा उठेको छ । सिद्धान्त र विचार नमिले पनि निर्वाचनको सन्दर्भ जोडेर पार्टी एकता गर्ने र सरकार गठनमा भागबन्डा गर्ने ठुला दलका नेताहरूको अभ्यासले तिनीहरूमा अडान नदेखिएको हो । के सरकारमा जानु नै दलको उद्देश्य हो ? सरकारमा नगइकन के दलका नेताहरूलाई चित्त बुझ्दैन ?
कम्युनिस्ट भनिने दलहरूले समाजवादी व्यवस्था ल्याउन के के तयारी गरिरहेका छन् ? समाजवादी आन्दोलन अघि बढाउन के कस्ता पूर्वाधारहरू तयार भइरहेको छ ? त्यसबारे चिन्तन मनन गर्नुपर्ने हो । विगतमा आफूले गरेका कमीकमजोरी औँल्याएर कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारलाई व्यवहारमा लागु गर्नेतर्फ किन ध्यान गएन ? कुनै समूहले दल खोल्न पाउँछ, त्यो प्रजातान्त्रिक अधिकार हो । तर, दल खोलेपछि दलको उद्देश्य स्पष्ट हुनुपर्छ; दलको सिद्धान्त र विचार स्पष्ट हुनुपर्छ । सिद्धान्त र दर्शनबिनाको दलले दिशानिर्देश गर्न सक्दैन; देश र जनताको नेतृत्व गर्न सक्दैन । हालसम्म देशमा भइरहेको समस्या यहीँ हो । शासकहरूले देशको राजनीतिक विकास निकाल्न नसक्नुको कारण पनि सिद्धान्तको राजनीति नगर्नु र नहुनु नै हो । शासक दलका नेताहरू पद र पैसामा भुल्दा सरकार स्थिर भएन । दल एक भए पनि, भागबन्डा भए पनि एकले अर्कोलाई संशयले हेर्थे या शङ्काले हेर्थे । एक अर्काबिचको वैमनस्यताले एकता टिकेन । शासक दलका नेताहरू जिम्मेवार भएनन्; एक अर्काप्रति विश्वस्त भएनन् । विश्वासको सङ्कटभित्र भएको एकता के टिक्छ ? सिद्धान्तहीन एकताभन्दा पार्टी फूट झन् राम्रो त्यसै भनिएको होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *