भर्खरै :

नयाँ वर्षमा जनतामा नयाँ सन्देश प्रवाह गरौँ

नयाँ वर्षमा जनतामा नयाँ सन्देश प्रवाह गरौँ

नेपाल संवत् मौलिक संवत् हो । नेपालमा यो संवत् ८८८ वर्षसम्म सरकारी संवत्को रूपमा चलेको थियो । म्हः पूजाको दिन नयाँ नेपाल संवत् सुरु हुन्छ । यो वर्ष नेपाल संवत् ११४६ सुरु हुन्छ । यो नयाँ वर्षको अवसरमा सम्पूर्ण न्यायप्रेमी जनतामा देशको स्वाधीनता र सार्वभौमिकताको निम्ति लड्ने प्रेरणा मिलोस् । प्यालेस्टिनी जनता र प्यालेस्टिन देशको सुरक्षा गर्न आक्रमणकारी इजरायल र इजरायललाई साथ र सहयोग गर्ने साम्राज्यवादी देश अमेरिकाविरूद्ध संसारका न्यायप्रेमी जनताको आवाज एक स्वरमा बुलन्द भइरहोस् !
सत्तासीन दलका नेता र मन्त्रीहरू कुनै पनि भ्रष्टाचार, अनियमिततामा नफसी देश र जनताप्रति जिम्मेवारीबोध भएर काम गर्नुपर्छ । देशको सन्तुलित विकासमा ध्यान दिनुपर्छ । पद, पैसा र भागबन्डाको राजनीति छोडेर सिद्धान्त र विचारको आधारमा राजनीति गर्नुपर्छ । पदअनुसारको जिम्मेवारी बहन गर्नुपर्छ । शक्ति राष्ट्रको उठबसमा रहेर सरकार सञ्चालन गर्नु बुद्धिमानी होइन । हरेक अनियमितता र भ्रष्टाचारमा फसेका अपराधीहरू कारबाहीमा पर्नुपर्छ । हरेक राजनीतिक दलले आ–आफ्नो सिद्धान्त र विचारअनुसार काम गर्नुपर्छ, जनतालाई सिद्धान्तनिष्ठ बनाउनुपर्छ । सिद्धान्त र विचारप्रति जनता सचेत र सङ्गठित नभएसम्म सरकार अस्थिर भइरहनेछ । यसले विकासमा बाधा पर्छ । नेपाल संवत्को नयाँ वर्षले सत्तासीन र अन्य ठुला दलका नेताहरूमा सद्बुद्धि पलाओस् । तर, विडम्बना ! विकास, सुशासन र राजनीतिक स्थिरता दिने विश्वास दिलाएका सत्तासीन दलका नेताहरूले जनतामा राहत हुने कुनै काम गर्न सकेनन् । पुँजीवादी गणतन्त्र नै अन्तिम उद्देश्य ठान्ने नेका सम्मिलित एमालेको सरकारले पनि कुनै मौलिक काम गर्न सकेन ।
स्वदेशमै रासायनिक मल कारखाना खोल्ने निर्णय गरेर सोको लागि आवश्यक ठाउँको अध्ययन तथा अनुसन्धान गरी शीघ्रातिशीघ्र कारखाना सञ्चालन गरे किसानहरूको निम्ति ठुलो राहत हुनेछ । संविधानमा उल्लेख भएअनुसार माध्यमिक तह (१२ कक्षा) सम्म निःशुल्क शिक्षा लागु गर्न सके देशभरिका विद्यार्थी र अभिभावकको निम्ति ठुलो राहत हुनेछ । साक्षर देश बनाउन तथा अनिवार्य शिक्षा व्यवहारमा लागु गर्न शासकहरू लागे देश र जनताको निम्ति राम्रो काम हुनेछ । नेपाली भूमि कालापानीमा रहेका भारतीय सेना नेपाली भूमिबाट फर्काउन सके, लिपुलेक र लिम्पियाधुराको भूमि नेपालले प्रयोग गर्ने वातावरण मिलाउन सके त्यो सरकारको अर्काे महत्वपूर्ण काम हुनेछ । नयाँ वर्षको अवसरमा देश र जनताको हितमा नयाँ काम गर्न सरकार अघि बढोस् । देश बनाउने र जोगाउने काममा नेपाली जनताको पनि योगदान आवश्यक हुन्छ । विदेशी हस्तक्षेपको विरोध गर्ने मनोबल बढोस् । देशका सबै राजनीतिक दलले इमानदारीपूर्वक सिद्धान्त र विचारको राजनीति गरेर देश र जनताको हित हुने काम गर्न सकून् !
युवाहरू पनि देश र जनताप्रति समर्पित हुनुपर्छ । युवाहरूमा जोश र जाँगर हुन्छ । समाज परिवर्तनमा युवाहरूको ऊर्जा महत्वपूर्ण हुन्छ । जाँगरिला युवाहरूको समय रचनात्मक क्रियाकलापमा सरिक हुनुपर्छ । आफ्नो ऊर्जा ध्वंसात्मक काममा होइन देश बनाउने र जोगाउनेमा खर्चिनुपर्छ । यो नयाँ वर्षमा समाज परिवर्तनका लागि युवाहरू अघि बढ्ने प्रेरणा मिलोस् । देश र जनतामा समर्पित विचारप्रधान ‘मजदुर’ दैनिक नयाँ वर्षको अवसरमा लेखक, पत्रकार, समालोचक, पत्रिका वितरक, विज्ञापनदाता, आलोचक, व्यवसायी, कवि, कथाकार, पाठक, ग्राहक, किसान, मजदुर, विद्यार्थी, युवा, महिला, व्यापारी, शिक्षक तथा प्रत्यक्ष र अप्रत्यक्षरूपमा साथ र सहयोग गर्ने महानुभावहरूमा ‘मजदुर’ दैनिक परिवार शुभकामना व्यक्त गर्दछौँ । यहाँहरूको सहयोग र साथ आगामी दिनमा पाइरहने हामीलाई विश्वास छ । यस अवसरमा सम्पूर्ण न्यायप्रेमी, देशभक्त जनताको सुख, शान्ति र समृद्धिको हामी कामना गर्दछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *