भर्खरै :

तिहार साहित्यिक, सांस्कृतिक र सामाजिक क्रियाकलाप हुने पर्व

तिहार साहित्यिक, सांस्कृतिक र सामाजिक क्रियाकलाप हुने पर्व

नेपाल संवत्सित सम्बन्धित तिहार सांस्कृतिक पर्व हो । यसै तिहारमा नेपाल संवत् फेरिएको हुन्छ । झिलिमिली बत्ती बाल्ने, पशु पन्छी र मान्छेको शरीर पूजा गर्ने यो पर्वमा बस्ती बस्तीमा नाचगान हुन्छ । अन्नको पूजा हुने यो पर्व फूल र फलफूलको पर्व पनि हो । नयाँ वर्षको आगमनसँगै यहाँ विभिन्न साहित्यिक सम्मेलन, साहित्य गोष्ठी, साहित्यिक पुस्तकको अन्तरक्रिया हुन्छ । यो वर्ष विविध भाषा साहित्य सम्मेलन यही कार्तिक ४ गते थिमिको तुलंननी टोलमा दिनको ११ बजेदेखि हुँदै छ । नेपाल संवत् फेरिने दिन यहाँ भिन्तुना ¥याली हुन्छ । भिन्तुना ¥याली भक्तपुरको चारवटै नगरपालिकामा हुन्छ । यस अर्थमा यो पर्व साहित्यिक पर्व पनि हो । पुस्तक अध्ययन गर्ने, पुस्तकको समीक्षा गर्ने, अध्ययन गरिएको पुस्तकबारे अन्तरक्रिया गर्ने काम हुन्छ । महाकवि देवकोटाको जन्म जयन्ती भएकोले पनि यहाँ विभिन्न साहित्यिक, सांस्कृतिक तथा सामाजिक गतिविधि हुन्छ । साहित्यले पनि जनताको सेवा गर्नुपर्छ भन्ने ध्येयले साहित्यिक गतिविधि हुँदै आएको हो ।
देश र जनतामा समर्पित विचारप्रधान ‘मजदुर’ दैनिक वर्षैभरि प्रकाशित भइरहेको कुरा पाठकहरूमा अवगतै छ । दसैँमा झैँ तिहारमा ठुलठुला दैनिक पत्रिकाहरू बन्द हुन्छन् । ‘मजदुर’ दैनिक विगतमा झैँ यस वर्षको तिहारमा पनि निरन्तर प्रकाशित हुनेछ । तिहारको समयमा भएका साहित्यिक, सांस्कृतिक, सामाजिकलगायतका रचनात्मक गतिविधि र कार्यक्रमको समाचार, लेख–रचना, पाठकपत्र, पुस्तक परिचय पठाउन संवाददाता, लेखक, समीक्षक तथा बुद्धिजीवीहरूमा अनुरोध छ ।
‘मजदुर’ दैनिक आस्थाको पत्रिका हो । यस पत्रिकामा समाचार र विचार पनि रहेको हुन्छ । यसले श्रमजीवीवर्गको प्रतिनिधित्व गर्छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायका शोषित–पीडित, उत्पीडित जनताको आन्दोलन र सङ्घर्षलाई यस पत्रिकाले जोड दिँदै आएको छ । शक्ति राष्ट्रको विदेशी हस्तक्षेप, आक्रमण, दबाब, नाकाबन्दीको यो पत्रिका विरोध गर्छ । देशको अखण्डता, स्वाधीनता र सार्वभौम देशको पक्षमा पत्रिकाले आवाज बुलन्द गरिरहेको छ । भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, हत्या–हिंसा, विकृति, विसङ्गति अन्त्य गर्नेसम्बन्धी लेख–रचनामा ‘मजदुर’ दैनिक जोड दिन्छ । महिला बेचबिखन, बेपत्ता पार्ने कार्य, मानव तस्कर, अनेक लोभलालच देखाएर महिलालाई वेश्यालय पु¥याउने कामको पनि यो पत्रिका विरोध गर्छ ।
यो पत्रिकामा चुरोट र रक्सीको विज्ञापन निषेध गरिएको छ । रातिराति समेत जुवा तास खेलेर जोहो भएको सम्पत्ति नास गर्ने, लागु औषध सेवन गरेर होहल्ला गर्ने, चोरी चकारी गर्नेतर्फ जनता सचेत हुनुपर्छ । अश्लील तस्बिर र समाचारलाई पत्रिकामा ठाउँ दिइएको छैन । देश जोगाउने र बनाउनेसम्बन्धी लेख–रचनालाई यो पत्रिकाले प्राथमिकता दिन्छ । भ्रष्टाचारी, बलात्कारी, मानव तस्करहरूलाई कारबाही गर्नुपर्छ भन्ने मान्यता राख्छ । देश विकास गर्न, जनताको जीवनस्तर उठाउन देशको स्वाधीनता र सार्वभौमिकता बचाउन देशका शासक र राजनीतिक दलहरू देश र जनताप्रति समर्पित हुनुपर्छ । देश र जनताको सेवा गर्नु नै सरकार र राजनीतिक दलहरूको कर्तव्य हो; त्यो कर्तव्य सबैले पालना गर्नुपर्छ । सत्तासीन दलका प्रम, मन्त्री, सांसद र नेताहरू जवाफदेही र इमानदार हुनुपर्छ । सरकारले गर्ने हरेक काम देश र जनताको पक्षमा हुनुपर्छ; सुशासन र राजनीतिक स्थिरताको निम्ति सरकारले गतिलो सन्देश बाँड्नुपर्छ ।
साम्राज्यवादी देश संरा अमेरिकाको आर्थिक र सैन्य सहयोगमा इजरायलले प्यालेस्टिनमा लगातार बम वर्षा गरेर प्यालेस्टिन देशलाई ध्वस्त पारेको छ; प्यालेस्टिनी जनतामाथि नरसंहार गरेको छ । अरूको देशमा बसेर सोही देश र देशका जनतालाई ध्वस्त र भष्म पार्ने क्रूर, मानवविरोधी कार्यको स्वाधीनता र सार्वभौम देशको निम्ति विभिन्न देशमा भइरहेको सङ्घर्ष र आन्दोलनलाई ‘मजदुर’ पत्रिकाले ठाउँ दिएको छ । अमेरिकाले चालु राखेको क्युवा र प्रजग कोरियामा आर्थिक नाकाबन्दीको विरोधको स्वरलाई यसले जोड दिएको छ । यसरी ‘मजदुर’ दैनिकले आफ्नो अन्तर्राष्ट्रिय धर्म निर्वाह गरेको छ । कम्युनिस्ट पार्टी, कम्युनिस्टप्रति आस्था राख्ने पत्रिका, बुद्धिजीवी, लेखक, समालोचक, देशभक्तहरू अन्तर्राष्ट्रवादी हुन्छन् ।
स्वाधीनता र सार्वभौमसत्ताको सुरक्षाको निम्ति भएको देश विदेशका आन्दोलन र सङ्घर्षबारे लेख लेख्ने, अनुवाद गर्ने, पाठकपत्र पठाउने, लेखक, समालोचक, बुद्धिजीवीहरूको सहयोग विगतमा झैँ निरन्तर पाइरहने हाम्रो विश्वास छ । पत्रिकामा आबद्ध, पत्रिकासित सम्बन्धित सबै लेखक, समालोचक, राजनीतिज्ञ, संवाददाता, फोटोग्राफर, विज्ञापनदाता, हकर्स, पत्रिका बिक्रेता, पाठक, विभिन्न सङ्घसंस्था, समाजसेवी, व्यापारी, व्यवसायी, मजदुर, किसान, युवा, महिला, शिक्षक, विद्यार्थी, कर्मचारी, शुभेच्छुक साहित्यकारलगायत सबैको साथ र सहयोग पाइरहने हाम्रो विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *