चे, फिडेलको संस्मरणमा – १३
- कार्तिक ६, २०८२
१) पहिलो नोटबुकको ‘सरकारमा आउनु र जानुअघि वर्गको राजनीतिक नेतृत्व’ शीर्षकको महत्वपूर्ण टिप्पणीमा ग्राम्स्कीले त्रोत्स्कीबारे लेखेका छन् । उन्नाइसौँ शताब्दीको इटालीको राजनीतिक एकीकरणको घटना (Risorgimento) को चर्चाबाट सुरु गरेर ग्राम्स्कीले सोभियत सरकारले सामना गरिरहनुपरेका विशाल र नयाँ–नयाँ समस्याबारे व्याख्या गरेका छन् । यो टिप्पणीमा ग्राम्स्कीले प्रत्यक्षरूपमा त्रोत्स्कीपन्थीहरूले निकै भन्ने गरेको शब्द ‘स्थायी क्रान्ति’ बारे आफ्नो विचार प्रस्तुत गरेका छन् ।
“सन् १८४६ देखि १८४९ सम्मको अवधिमा जर्मनीको सन्दर्भमा माक्र्सले दिनुभएको ‘ज्याकोविन’ नारा (बिनारोकटोक क्रान्तिको विचार) प्रति सम्मान गर्नुपर्दछ । तर, त्यसको जटिल भविष्यबारे भने अध्ययन आवश्यक छ । प्रभुज ब्रोस्टिन (हेल्पह्यान्ड–त्रोत्स्की) समूहले प्रणालीकृत, विकसित, बौद्धिक बनाएको सो नारा सन् १९०५ र त्यसपछि पनि निष्प्रभावी र निष्काम रह्यो । त्यतिन्जेल यो एउटा अमूर्त विषय बनिसकेको थियो र सामाजिक वैज्ञानिकहरूको कोठेगोष्ठीमा मात्र त्यसबारे कुराकानी गर्न सकिन्थ्यो । शाब्दिकरूपमा यो विचार (बेरोकटोक क्रान्तिको विचार) ले बोल्शेविकवादको विरोध गर्ने गर्दछ । वास्तवमा यसको प्रयोग परिस्थितिको वास्तविक र वस्तुगत मूल्याङ्कनको आधार ‘लक्ष्यसहित’ गरिएन । यो विचारलाई रूपान्तरण गर्नुपर्ने समाज र समयअनुसार प्रयोगमा ल्याइन जरुरी छ । त्यो समाजमा दुई वटा कामदार सामाजिक समूहहरू–मजदुर र किसान रहनेछन् भने सहरी समूह (श्रमिक जनता) को नेतृत्वमा समाज रहनेछ ।”
ग्राम्स्कीको भनाइमा आधुनिक ज्याकोविनवादीहरूले मजदुरवर्गको नेतृत्वमा किसानहरूसँग मिल्ने नीति अँगाल्नुपर्नेमा प्रस्ट विचार राख्नुपर्दछ । त्यसकारण, उनले त्रोत्स्कीको ‘स्थायी क्रान्ति’ को विचारविरुद्ध स्तालिनले अघि सारेको सही बोल्शेविक नीतिको सम्मान गरेका छन् । ‘स्थायी क्रान्ति’ को सिद्धान्तले गरिब किसानहरूलाई क्रान्तिकारी शक्तिका रूपमा स्वीकार्दैन ।
क्रान्तिमा सबै शोषित–पीडित जनतालाई नेतृत्व गर्न सक्नेमा सर्वहारावर्गको क्षमतामाथि पूर्ण सन्देह गर्दछ । त्यही अविश्वासका कारण त्यो विचारले कुनै एउटै देशमा पनि क्रान्ति हुन सक्छ भन्ने सिद्धान्तलाई अस्वीकार गर्दछ ।
त्रोत्स्कीविरुद्ध निकै कडा आलोचनासँगै यो टिप्पणीको अन्त्य गरिएको छ । यहाँ त्रोत्स्कीलाई प्रतिक्रियावादी पुँजीपति क्रिस्पीसँग तुलना गरिएको छ । लेखिएको छ, “एकातिर (त्रोत्स्कीसँग) मनग्य राजनीतिक सुझबुझबिनाको ज्याकोविन तरिका छ भने अर्कोतिर बोल्शेविक तरिका छ । बोल्शेविक तरिका त्यस्तो ज्याकोविन तरिका हो जसलाई नयाँ ऐतिहासिक सम्बन्धले निर्देशित गरेको र यो तरिका कुनै शाब्दिक एवम् बौद्धिक तहमा मात्र सीमित छैन ।”
ग्राम्स्कीले यही विचार सन् १९३४–३५ मा लेखेको उन्नाइसौँ नोटबुकमा पनि उस्तै गरी प्रस्तुत गरेका छन् । उनले त्यसमा त्रोत्स्कीवादबाट पूर्ण सम्बन्धविच्छेदको घोषणा गरेका छन् । ‘अनुकूलताको लडाइँ (War of position) र युद्ध कौशल (Manouvre) वा आमनेसामने लडाइँ (Frontal)’ शीर्षकको निकै चर्चित टिप्पणीमा ग्राम्स्कीले ‘स्थायी क्रान्ति’ को प्रश्नमा अझै चर्चा गरेका छन् ।
‘आन्दोलनको स्थायी चरित्रबारे ब्रोस्टिन (त्रोत्स्की) को चर्चित सिद्धान्त युद्ध कौशलताको सिद्धान्तको राजनीतिक परावर्तन हो वा होइन भन्ने कुरा हेर्न बाँकी नै छ । (कज्जाक सैनिक जर्नेल क्रास्नोभको भनाइको स्मरण गर्नुहोस् !) कुनै एउटा देश जसको आर्थिक–सांस्कृतिक–सामाजिक अवस्था व्यापक बनेको छैन; जहाँको आर्थिक जीवन प्रारम्भिक र कमजोर छ र जुन देश सुरुङ वा किल्ला बन्न सक्षम छैन† त्यस्तो देशको सन्दर्भमा ब्रोस्टिन (त्रोत्स्की) को विचारलाई कसैले पश्चिमा भन्न सक्छन् । तर, वास्तवमा त्यो सर्वव्यापी (कस्मोपोलिटन) हो । कस्मोपोलिटन यस अर्थमा कि यो विचार सतहीरूपमा राष्ट्रिय र सतहीरूपमा पश्चिमा वा युरोपेली हो ।
इलिच (लेनिन) अर्कोतिर गहिरोरूपमा राष्ट्रिय र प्रस्टरूपमा युरोपेली हुन् । ब्रोस्टिन (त्रोत्स्की) ले आफ्नो संस्मरणमा आफ्नो सिद्धान्त प्रमाणित भएको लेखेका छन्, “पन्ध्र वर्षपश्चात् र एउटा हास्यव्यङ्ग्यलाई अर्को हास्यव्यङ्ग्यले जवाफ दिएका छन् । तर, यथार्थमा त्यो सिद्धान्त न त पन्ध्र वर्षअघि सही थियो न त पन्ध्र वर्षपछि नै सही भयो ।”
लेनिनबारे त्रोत्स्कीको विचारप्रति असहमति जनाइसकेपश्चात् ग्राम्स्कीले लेखेका छन्, “ब्रोस्टिनका सिद्धान्तलाई आमहड्तालबारे केही फ्रान्सेली विचारमा सामूहिकतावादीहरूसँग तुलना गर्न सकिन्छ । साथै, अलिसान्द्रीले अनुवाद गरेको रोजा लक्जम्बर्गको सिद्धान्तसँग तुलना गर्न सकिन्छ । रोजाका विचार र सिद्धान्त पनि कुनै न कुनै हिसाबमा फ्रान्सेली विचारमा सामूहिकतावादीबाट प्रभावित छ ।”
२) आफ्ना नोटबुकहरूमा ग्राम्स्कीले ‘स्थायी क्रान्ति’ को प्रश्नलाई ‘युद्ध कौशलमा आधारित युद्ध’ देखि ‘अनुकूलताको लडाइँ’ सँग जोडेका छन् । विशेषतः सन् १९२३ को जर्मनी क्रान्तिको पराजय अनि कामदार आन्दोलनको प्रतिरक्षात्मक अवस्थामा सङ्क्रमणपछि युरोपमा क्रान्तिकारी प्रक्रियाको विकासका समस्याहरूबारे पुनः व्याख्या गर्नुपर्ने, अस्थायी हारका कारणबारे बुझ्नुपर्ने र क्रान्तिको नयाँ चरण स्थापना गर्नुपर्ने आदि विषयमा ग्राम्स्की सहमत भए ।
छैटौँ नोटबुकमा यो विषयमा लेखिएको छ । नोटबुकको त्यो खण्ड सान्दर्भिक कार्यनीतिक तथा रणनीतिक प्रश्नमा आधारित छ ।
“राजनीतिक मोर्चामा पनि युद्ध कौशल (आमनेसामने हमला) को अनुकूलताको लडाइँमा सङ्क्रमण । युद्धपश्चात्को अवधिले उठाएको यो सबभन्दा महत्वपूर्ण राजनीतिक सिद्धान्त हो भन्ने मलाई लाग्छ र यो सही तरिकाले समाधान गर्न सबभन्दा जटिल प्रश्न पनि हो । यो ब्रोस्टिनल (त्रोत्स्की) ले उठाएको समस्यासँग जोडिएको छ । त्रोत्स्कीलाई एक वा अर्को कोणमा पराजित हुने अवस्थामा आमनेसामने लडाइँको पक्षपाती राजनीतिक सिद्धान्तकार मान्न सकिन्छ ।”
कम्युनिस्ट अन्तर्राष्ट्रियमा विवाद भएको ‘हमलाको रणनीति’ (Assault tactic) र ‘कब्जाको रणनीति’ (Seige tactic) मध्ये विकल्प खोज्ने वा दुवैलाई मिलाएर लाने जटिल प्रश्नबारे चर्चा गर्दै ग्राम्स्कीले संशोधनवादी र सुधारवादीहरूले जानाजान बेवास्ता गरेको विशेष महत्वको प्रश्नबाट कुराकानी सुरु गरेका छन् ।
“सबै कुराले के कुरा देखाइरहेको छ भने हामी राजनीतिक–ऐतिहासिक अवस्थाको सारभूत चरणमा प्रवेश गरेका छौँ किनभने ‘अनुकूलताको राजनीति’ मा एकपटक हासिल गरेको जित भनेको अन्तिम विजय हुने गर्दछ ।”
यही भनाइको आधारमा ग्राम्स्कीले पुँजीपतिवर्गको नेतृत्व तथा सरकार चलाउने कौशलको प्रस्ट सङ्कटबारे विश्लेषण गरे । सँगै, उनले पश्चिमा राज्यका अङ्गको चर्को प्रतिरोध र पुँजीपति तथा श्रमिक वर्गको बिचमा ठुलो सङ्ख्यामा रहेको वर्गबारे पनि विश्लेषण गरे ।
“मलाई लाग्छ, इलिच (लेनिन) ले सन् १९१७ मा पूर्वमा सफलतापूर्वक प्रयोग भएको कौशलको लडाइँलाई पश्चिममा सम्भव एकै तरिकाको अनुकूलताको लडाइँमा परिवर्तन गर्नुपर्ने कुरा बुझेका छन् । (…) त्यही भएर नै ‘संयुक्त मोर्चा’ को सिद्धान्त आएको मेरो बुझाइ छ । (…) तर, इलिचलाई त्यो सिद्धान्त व्यवहारमा विस्तार गर्न समय पुगेन । त्यो विचार दिमागमा मात्र जन्मेको अवस्थामा त्यसको विस्तार भनेको सैद्धान्तिकरूपमा मात्र सम्भव थियो । जबकि, प्रमुख प्रश्न भने राष्ट्रिय प्रश्न नै थियो । अर्को शब्दमा भन्नुपर्दा त्यसमा वस्तुगत विश्लेषण र नागरिक समाजले खनेका सुरुङ तथा किल्लाको पहिचान गर्न आवश्यक थियो ।”
हामी यहाँ ग्राम्स्कीले लेखेका नोटबुकहरूको अनुसन्धानको केन्द्रमा छौँ । तर, शक्ति सम्बन्धबारे ऐतिहासिकरूपमा रचना गरेका कार्यनीतिक र रणनीतिक तरिकाका प्रमुख पक्षहरू पनि छलफल गर्न आवश्यक छ । त्यो भनेको सोभियत सङ्घको कार्यनीतिक तथा रणनीतिक प्रश्न हुन् । यो प्रश्नबारे ग्राम्स्कीले लेखेका छन् :
“अनुकूलताको युद्धले अथाह जनताको बृहत् बलिदानको माग गर्दछ । तसर्थ, अभूतपूर्व एकाधिकारको आवश्यकता पर्दछ । अर्थात्, अझ बढी ‘हस्तक्षेपकारी’ सरकारको आवश्यकता पर्दछ । त्यस्तो सरकारले विपक्षीहरूलाई खुलारूपमा कारबाही गर्दछ र आन्तरिक विखण्डनको असम्भव स्थायी एकतालाई राजनीतिक, प्रशासनिकलगायत तरिका तथा प्रभावशाली समूहको नेतृत्वदायी भूमिका बनाएर आदि तरिकाबाट एकता बनाइराख्छ ।”
यो नै स्तालिनको राजनीति हो र सर्वहारा तानाशाहीको सशक्तिकरण हो । यो राजनीतिक लाइनको लागि अपवादको धैर्य र खोजीमूलक चरित्रको आवश्यकता पर्दछ । तर, त्यो मूर्त ऐतिहासिक अवस्थामा त्यो नै एकमात्र सफलताको मन्त्र हो । यो राजनीतिक दिशाले त्रोत्स्कीको दिशाको प्रस्ट विरोध गर्दछ ।
३) हामीले देख्यौँ, ‘अनुकूलताको लडाइँ’ (War of position) को आधारभूत लक्ष्य भनेको सोभियत सत्ताको रक्षा र समाजवादको विकास थिए । यो अन्तिम सन्दर्भमा पनि निकै गम्भीर समस्याहरू आएका थिए । सबभन्दा रोचक कुरा त ग्राम्स्कीले आफ्नो निकै चर्चित कृति ‘जेलका नोटबुक’ को चौथौ खण्डको सुरुमा त्यसको आलोचना गरेका छन् ।
“अमेरिकावाद र फोर्डवाद (फोर्डवाद–Fordism एउटा पुँजीवादी उत्पादन सिद्धान्त हो जसको प्रतिपादन संरा अमेरिकी पुँजीपति हेनरी फोर्डले गरेका थिए । यो सिद्धान्त मूलतः गाडी उत्पादनबाट सुरु भएको थियो । फोर्डका अनुसार सबै उत्पादन मानिसले नभई प्रविधिको प्रयोगबाट गरिनुपर्दछ । अर्धदक्ष कामदारहरूलाई उत्पादनको अन्तिम चरणमा समापन कार्यका लागि मात्र प्रयोग गरिनुपर्दछ । उत्पादन व्यापक मात्रामा गरिनुपर्दछ । अर्धदक्ष मजदुरहरूको तलब उसले उत्पादन गरेका वस्तु खरिद गर्न सक्ने स्तरको हुनुपर्दछ । अनि मात्र उत्पादनको विस्तार हुनसक्दछ– अनु.) लिओनी डेभिडोभिसी (त्रोत्स्की) ले प्रतिनिधित्व गरिरहेको विचार यी समस्याहरूसँग नजिकरूपमा गाँसिएको छ । मेरो बुझाइमा यो तथ्यका सबै कुरा बाहिर ल्याइएको छैन । यो दृष्टिकोणबाट हेर्दा यसका गुदी अन्तरविषयभित्र ‘अति’ दृढ (त्यसकारण अतर्कसङ्गत) चाहना लुकेको छ । जसले राष्ट्रिय जीवनमाथि उद्योग र औद्योगिक पद्धतिलाई सर्वोच्चता दिन चाहेको छ । बाहिरी शक्तिको हस्तक्षेपमार्फत उत्पादनलाई गति दिन चाहेको छ; उत्पादनमा अनुशासन र व्यवस्थापनको विकास एवम् उत्पादकको आवश्यकताअनुसार भन्सार लगाउन चाहेको छ । यो विचारसँग जोडिएका सबै समस्याहरू बुझ्ने तरिकालाई हेर्दा यसको अन्तिम नियति बोनापार्टवाद (Bonapartism) मा गएर टुङ्गिने देखिन्छ । (बोनापार्टवाद क्रान्तिकारी शक्तिबाट प्रतिक्रान्तिकारी शक्तिले सत्ता हत्याएर क्रान्तिकारीहरूका परिवर्तनकारी मुद्दालाई छायामा पार्न केही सुधार गर्ने राजनीतिक चिन्तन हो । अनु.) तसर्थ, यो विचारलाई निर्ममतापूर्वक दबाउन जरुरी छ ।”
बीसौँ शताब्दीको बीसको दशकमा रुसी कम्युनिस्ट पार्टी (बोल्शेविक) र कम्युनिस्ट अन्तर्राष्ट्रियबिचको विवादका अति महत्वपूर्ण प्रश्नमध्ये एक प्रश्नमाथि ग्राम्स्कीको ध्यान गएको देखिन्छ : ‘औद्योगिकीकरणको रूप र गतिको प्रश्न तथा नयाँ आर्थिक नीति (NEP) ।’
ग्राम्स्कीका अनुसार त्रोत्स्की गलत विचारको प्रतिनिधित्व गर्ने सबभन्दा माथिल्लो प्रतिनिधि हुन् । त्यो गलत विचार भनेको एक प्रकारको ‘अमेरिकावाद’ हो । अमेरिकावाद निजी पुँजीको आवश्यकताअनुसार थोपरिएका उत्पादनको रूप, जीवनपद्धति र संस्कृतिले जन्माएको बन्दोबस्त एवम् सैनिक प्रणाली हो । (ग्राम्स्कीले ‘अमेरिकावादमाथि लिओनी डेभिडोभिसीको चासो’ बारे बिना सुझबुझ स्मरण गराएका थिएनन् । बरु उनले त्यसबारे लेखहरू लेखेका थिए† जीवन, जीवन पद्धति र साहित्यबारे अनुसन्धानहरू गरेका थिए ।)
त्यही कृतिमा ग्राम्स्कीले उत्पादन र काममा व्यवस्थापन गर्न प्रत्यक्ष वा अप्रत्यक्ष हस्तक्षेपको सिद्धान्त सही भएको तर त्यसको तरिका गलत हुने गरेको लेखेका थिए । सैनिक तरिका ज्यादै पक्षपातपूर्ण हुने र श्रमको सैनिकीकरण असफल भएको उनको भनाइ थियो ।
“तसर्थ, यो मान्यता लेनिनवादसँग मिल्दै नमिल्ने खालको छ । नयाँ आर्थिक नीतिको ‘अस्थायी स्थगन’ को विचारसँग पनि यसको कुरा मिल्दैन । यसले किसान वा ग्रामीण जनतासँगको एकतामा दखल पु¥याउँथ्यो र सोभियत सत्ता ध्वस्त बनाउँथ्यो । सारमा, त्रोत्स्कीले प्रतिनिधित्व गरेको विचारले पुँजीवादी बन्दोबस्त पुनःस्थापना गर्न मद्दत गर्ने भएकाले यसलाई बिनाविलम्ब क्षतविक्षत गर्न जरुरी छ ।”
यो सन्दर्भमा ग्राम्स्कीमा कुनै द्विविधा थिएन । वास्तवमा अरू दुई ठाउँमा पनि उनले त्रोत्स्कीको विचारको विपक्षमा लेखेका थिए । चौधौँ नोटबुकमा ‘वैध’ संसद्को विघटनपश्चात् अस्तित्वमा रहेको ‘कालो संसद् विघटनको एक अंश’ अनि बाइसौँ नोटबुकमा उनले त्रोत्स्कीको विचारलाई ‘ध्वस्त बनाउन अति जरुरी’ भएको भनी लेखेका छन् ।
४) हामी अर्को महत्वपूर्ण नोटको कुरा गरौँ ¤ ग्राम्स्कीले चौधौँ नोटबुकमा स्तालिन (बेसारिअन) को विषयमा कुराकानी थालनी गरेका छन् ।
अन्तर्राष्ट्रियवाद र राष्ट्रिय नीतिबिचको सम्बन्धबारे प्रश्नलाई ग्राम्स्कीले गहिरो विश्लेषणका साथ लेखेका छन् : प्रश्नोत्तरको रूपमा सन् १९२५ को सेप्टेम्बरमा जोसेफ बेसारिअन (स्तालिन) ले मस्कोको स्भेर्डलोभ विश्वविद्यालयमा गरेका कुराकानी (स्तालिनका सङ्कलित रचना भाग–७, इटालियाली भाषामा अनुवाद गरी सन् १९२६ मा L’ Unita मा प्रकाशित भएको थियो । यो लेखबारे उद्धृत गर्दा ग्राम्स्कीलाई मितिबारे केही अलमल भएको थियो र गल्तीवश सन् १९२७ सेप्टेम्बर भनी लेखेका थिए । सो मितिको स्तालिनको अन्तर्वार्ता भने अमेरिकी मजदुरहरूको प्रतिनिधिमण्डलसँगको अन्तर्वार्ता थियो । त्यो अन्तर्वार्ता ग्राम्स्कीले जेलमै एउटा पत्रिकामा पढेका थिए) माथि टिप्पणीमा त्यसले मूलतः राजनीतिको विज्ञान र कलाका प्रमुख समस्याबारे चर्चा गरेको छ । मैले त्यसमा थप छलफल आवश्यक देखेका विषयहरू यसप्रकार छन् : प्राक्जिस–सामाजिक परिवर्तनमुखी दर्शन (The philosophy of praxis) अनुसार राष्ट्रिय दृष्टिकोणबाट अन्तर्राष्ट्रिय अवस्थाको कसरी विश्लेषण गर्ने भन्ने विषयमा त्यो दर्शनका संस्थापक (माक्र्स) को तरिका अपनाउने वा त्यो दर्शनका पछिल्ला सिद्धान्तकार (लेनिन) लाई पछ्याउने ? वास्तविकतामा कुनै पनि राष्ट्रको आन्तरिक सम्बन्ध ‘मौलिक’ र (निश्चित अर्थमा) विशिष्टको गठजोड हो । यदि कोही यी सम्बन्धमा प्रभाव राख्न चाहन्छन् वा निर्देशित गर्न चाहन्छन् भने उनीहरूले तिनीहरूका मौलिकता र विशिष्टता बुझ्न र ग्रहण गर्न जरुरी छ । जान चाहेको बाटो अन्तर्राष्ट्रवाद नै हो तर भिन्नताको सुरुआत ‘राष्ट्र’ बाट हुने गर्दछ । अनि, सबैले त्यही राष्ट्रवादबाट नै सुरुआत गर्नुपर्ने हुन्छ । यद्यपि, बोक्नुपर्ने विचार अन्तर्राष्ट्रियवाद नै हो । परिणामतः अन्तर्राष्ट्रवाद वर्गको नेतृत्व र विकास गर्न सक्ने राष्ट्रवादी शक्तिको गठजोडबारे सही तरिकाबाट अध्ययन गर्न जरुरी छ । यस्तो नेतृत्व र विकास भने अन्तर्राष्ट्रिय दृष्टिकोण र कामिन्टर्नको निर्देशनअनुसार हुनुपर्दछ । (…) यहीँनेर मेरो विचार लिओनी डेभिडोभिसी (त्रोत्स्की) सँग आधारभूतरूपमा भिन्न छन् । अनि, बहुमत पक्षधर (बोल्शेविकवाद) को व्याख्याताको रूपमा स्तालिनसँग मेरो विचार मिलेको छ । यदि प्रश्नको वास्तविक आशयलाई उनीहरूले बुझेका हुन् भने राष्ट्रवादीको आरोप मिथ्या हुनेछ । सन् १९०२ देखि १९१७ सम्मको बोल्शेविकहरूको सङ्घर्षलाई कसैले अध्ययन गरेको छ भने हरेक अमूर्त र विशुद्ध वैचारिक विषय (सारमा भन्नुपर्दा) लाई वास्तविक राजनीतिक गुदी दिन अन्तर्राष्ट्रवादको अवलम्बनले मौलिक योगदान गरेको छ ।
दिउँसोको घाम जत्तिकै प्रस्ट कुरो के हो भने ग्राम्स्की वास्तवमा त्रोत्स्की (डेभिडोवीच) र स्तालिन (बेसारिअन) का आधारभूत मतभेदका विषयलाई चर्चा गरिरहेका थिए । ग्राम्स्की स्तालिनको पक्षमा उभिएको प्रस्ट छ । स्तालिन बोल्शेविकवादका व्याख्याता थिए । ग्राम्स्कीको विश्लेषणमा विश्व साम्यवादी दृष्टिकोणमा आधारित भएर अन्तर्राष्ट्रिय वर्गलाई मार्गनिर्देशन गर्ने र विकास गर्ने राष्ट्रिय शक्तिको विकास गर्नुपर्दछ भन्ने स्तालिनको विचार सही छ र त्यसले समस्याको समाधान गर्न सक्दछ ।
एकजना उत्कृष्ट बोल्शेविक
ग्राम्स्कीका यी लेखाइको आधारमा उनका विचारमा त्रोत्स्कीको अनुकूलता देख्नुको कुनै आधार छैन । बरु ‘जेलका नोटबुक’ मा व्यक्त ग्राम्स्कीका विचार त्रोत्स्कीको सम्झौताहीन आलोचनामा एकोहोरो व्यक्त भएको पाउँछौँ । त्रोत्स्कीबारे ग्राम्स्कीले लेखेका सबै टिप्पणीहरूमा सबै कुरा निकै आलोचनात्मक छन् । उनले त्रोत्स्कीको आलोचना गर्दै गर्दा लेनिन र स्तालिनको सकारात्मक प्रशंसा गरेका छन्† बोल्शेविक नीतिलाई अनुमोदन गरेका छन् । पुँजीपतिवर्ग र संशोधनवादीहरूले ‘अधिनायकवाद’ को अवधारणाबारे राखेका भ्रमपूर्ण धारणाको पनि खण्डन गरेका छन् ।
बोल्शेविक पार्टीको नेतृत्व र कमरेड स्तालिनबारे ग्राम्स्कीले स्वतन्त्र हुँदा वा जेलभित्र हुँदा कुनै नकारात्मक टिप्पणी गरेको वा भत्र्सना गरेका कुनै किसिमका हस्तलिखित दस्तावेज या छलफल कहीँ भेटिएको छैन ।
तसर्थ, आधुनिक संशोधनवादी, ‘एक्काइसौँ शताब्दीको समाजवाद’ का जादुगर र प्रतिक्रियावादी बुद्धिजीवीहरूका भनाइहरू पूर्णतः झूटा हुन् ।
एन्टोनियो ग्राम्स्की सर्वहारावर्गका महान् क्रान्तिकारी नेता हुन् । उनी कम्युनिस्ट विचारधाराका विज्ञ थिए । उनी लेनिनवादविरोधी भड्कावसँग लड्ने एक जना जुझारु जोधाहा हुन् । उनले सधैँ सर्वहारा वर्गीय विचारको पक्ष लिए । झूटो पुँजीवादी प्रजातन्त्र र त्यसका विभिन्न सामाजिक प्रजातन्त्रवादी रूप (जस्तै – आजभोलि कोही कोही सहभागितामूलक समावेशी प्रजातन्त्रको कुरा गर्ने गर्दछन्) विरुद्ध सोभियत सङ्घको कामदार वर्गीय प्रजातन्त्रको पक्षमा उनी लगातार लडे । उनले पुँजीवादी सत्ता ध्वस्त बनाएर सम्पूर्ण समाजको क्रान्तिकारी रूपान्तरणमा जोड दिए । उनी आफ्नो जीवनको अन्तिम श्वाससम्म माक्र्सवाद–लेनिनवाद र सर्वहारा समाजवादमा समर्पित रहे ।
ग्राम्स्कीको निधनमा ‘कोमिन्टर्न’ ले लेखेको थियो, “जनतासँग निकै नजिकबाट गाँसिएका, जनताको विद्यालयबाट आफै दिक्षित हुन सक्षम, सामाजिक विचारका सबै पक्षबारे जानकारी राख्न सक्ने, अन्तिम श्वाससम्म पनि कम्युनिस्ट अन्तर्राष्ट्रिय र आफ्नै पार्टीका क्रान्तिकारी विचारप्रति बफादार ग्राम्स्की बोल्शेविक पुस्ताका एक जना उत्कृष्ट प्रतिनिधि हुन् र कम्युनिस्ट अन्तर्राष्ट्रियका कार्यकर्ता हुन् । कम्युनिस्ट अन्तर्राष्ट्रिय माक्र्स, एङ्गेल्स, लेनिन र स्तालिनका सिद्धान्तको भावनाअनुसार तथा बोल्शेविक भावनाअनुसार अघि बढिरहेको छ ।”
महान् क्रान्तिकारी कम्युनिस्ट नेता एन्टोनिओ ग्राम्स्कीलाई पुँजीवादी, संशोधनवादी र अवसरवादीहरूका बाघेमुखबाट निकाल्ने जिम्मेवारी क्रान्तिकारी सर्वहारावर्गको काँधमा छ ।
समाप्त
प्रस्तुती : सगर
स्रोत : मजदुर–किसान, वर्ष ८, अङ्क १, पूर्णाङ्क २१, असोज २०७५
Leave a Reply