भर्खरै :

सन्दर्भ : जून ५ वातावरण दिवस

सन्दर्भ : जून ५ वातावरण दिवस

वातावरणीय सन्तुलनको खोजीमा
यस वर्षको वातावरण दिवसको आधिकारिक नारा हो — ‘Beat Plastic Pollution’ अर्थात् ‘प्लास्टिक प्रदूषणलाई पराजित गरौँ’ । यही नाराका साथ आज विश्वभर वातावरण दिवस मनाइँदै छ । यो नारामात्र होइन, विश्वव्यापी आह्वान हो, जसले समुद्रदेखि हिमालसम्म फैलिएको प्लास्टिकको सङ्कटप्रति जनचेतना फैलाउने काम गर्दछ । यस वर्षको आयोजक मुलुक दक्षिण कोरिया हो, जसले वातावरणीय प्रविधि, पुनःचक्रण र प्लास्टिक प्रबन्धनमा उल्लेखनीय प्रगति गरेको छ । प्लास्टिक प्रदूषण आजको गम्भीर समस्या हो । समुद्री जीवन, भूमिगत जलस्रोत, कृषि भूमि र मानव स्वास्थ्य — सबैमा यसले असर पु¥याएको छ । नेपालजस्तो देशमा प्लास्टिक झोलाबाट सुरू भएको निर्भरता आज बाल्टिन, बट्टा, सिँचाइका पाइप, मलपानीका बोरा र औद्योगिक वस्तुहरूमा व्यापक रूपले देखिन्छ । यही अन्तरनिर्भरता हो जसले प्लास्टिक प्रदूषणलाई पनि सीमाभन्दा बाहिरको समस्या बनाएको छ । सस्तो र सजिलो विकल्प भए पनि व्यवस्थित पुनःप्रयोग र रिसाइकल प्रविधिको अभावले गर्दा प्लास्टिक वातावरणको प्रमुख शत्रु बन्न पुगेको छ ।
प्लास्टिकमुक्तको सम्भव छ ?
‘Beat Plastic Pollution’ भन्ने नाराले हामीलाई व्यवहारिक चुनौती पनि दिन्छ । प्लास्टिक हटाउने हो भने विकल्प के हो ? धेरै स्थानमा प्लास्टिकको सट्टा कागज वा कपडाको झोला प्रयोग थालिएको छ, जुन सकारात्मक कदम हो । तर, गरिब देशमा प्लास्टिक सस्तो, सजिलो र दिगो विकल्प बनेको छ । त्यसैले समाधान केवल निषेध होइन, यसको वैज्ञानिक व्यवस्थापन हो । जस्तैः– पुनः प्रयोग (Reuse), रिसाइकल (Recycle), विकल्पको प्रवद्र्धन (Biodegradable alternatives) आदि । नेपालमा हाल प्लास्टिक सङ्कलन र रिसाइकल गर्ने थोरै उद्योग छन् । यदि नीति र लगानी सही भएमा प्लास्टिकमै रोजगारी र वातावरणीय सन्तुलन दुवै सम्भव छन् ।
विकसित देशहरूको मापदण्ड, विकासोन्मुख देशहरूका लागि भार ?
धनी राष्ट्रहरूले अपनाएका उच्च मापदण्ड वातावरणका लागि सह्रानीय छ । तर, के नेपालजस्ता विकासोन्मुख देशहरूले ती मापदण्ड पालना गर्नसक्छन् ? यहाँ स्वास्थ्य, शिक्षा, खाद्यान्न, रोजगारीजस्ता आवश्यकता अझै पनि पूरा हुन सकेका छैनन् । यस्तो अवस्थामा उच्च वातावरणीय मापदण्ड अपनाउनु कतिपय अवस्थामा विलासिताको विषय बन्न जान्छ । वातावरण संरक्षण आवश्यक भए पनि यसले विकासको अधिकारमा अवरोध पु¥याउनु हुँदैन । धेरै धनी देशहरूमा वातावरणीय मुद्दा महत्वपूर्ण राजनीतिक एजेन्डा बनेको छ । तर जब गरिब देशमा दैनिक जीविकोपार्जन आफैँ चुनौतीपूर्ण छ, त्यहाँ वातावरण संरक्षणको कुरा केही परको विषय लाग्न सक्छ । जुन ठाउँमा स्वच्छ पानी, बिजुली, स्वास्थ्यजस्ता आवश्यकता पूरा भएका छैनन्, त्यहाँको जनताका लागि वातावरणको चिन्ताभन्दा पहिले जीविका प्राथमिक हुन्छ । अर्थविद् कुझनेट्सको अध्ययनअनुसार, कुनै देशको आर्थिक विकास सुरुमा वातावरणका लागि नकारात्मक हुन्छ — उद्योग, प्रदूषण, वन विनाश आदि । तर जब देश समृद्ध बन्छ, वातावरणप्रति सचेतना बढ्छ, प्रविधि सुधारिन्छ र हरित विकास सम्भव बन्छ । अर्थात्, अर्थतन्त्र र वातावरण एउटै सिक्काका दुई पाटा हुन्, न कि एक अर्काको विरोधी ।
जैविक विविधताको व्यापार र नेपालको सम्भावना
अहिले विश्वमा वन्यजन्तुको व्यापार प्रतिबन्धित गरिएको छ, जुन सतहमा राम्रो लाग्न सक्छ । तर, नेपालजस्तो जैविक विविधताले सम्पन्न देशमा यसले आर्थिक अवसर गुमाएको स्थिति देखिन्छ । नेपालमा पाइने गैँडा, बाघ, घडियालजस्ता प्रजातिहरूको वैज्ञानिक प्रजनन र व्यावसायिक उत्पादन गरिएमा यसले रोजगारी र निर्यात आयमा टेवा दिन सक्थ्यो । तर अन्तर्राष्ट्रिय सन्धिले त्यसलाई रोक्दै आएको छ । यस्तो अवस्थामा प्राकृतिक comparative advantage पनि निष्क्रिय हुन पुग्छ ।

जनसङ्ख्या वृद्धि र उपभोग संस्कृति
धनी मुलुकहरू प्रायः गरिब देशहरूमा जनसङ्ख्या वृद्धिलाई वातावरण विनाशको प्रमुख कारक ठान्छन् । तर, गरिब मुलुकहरू उल्टो भनाइ राख्छन् — “जनसङ्ख्या बढी भए पनि उपभोग न्यून छ, तर धनी देशको उपभोग शैली (गाडी, उडान, विलासिता) नै पृथ्वीका स्रोतहरूका लागि घातक हो ।” त्यसैले दोषारोपणभन्दा वैश्विक रूपमा दिगो जीवनशैलीको प्रवद्र्धन आवश्यक छ ।

वातावरणीय सन्तुलनको खोजी
आजको दिनले हामीलाई सम्झाउँछ — वातावरण मानवका लागि हो, यसको संरक्षणले हामीलाई नै लाभ पु¥याउँछ । तर, यस्तो संरक्षण विकास र मानव अधिकारलाई दबाउँदै होइन, सन्तुलित तरिकाले गर्नुपर्छ । नेपालजस्तो देशका लागि वातावरणीय संरक्षण तब सफल हुन्छ जब यसले जीविकोपार्जनसँग मेल खान्छ । जस्तैः– जैविक विविधताको उपयोग, दिगो पर्यटन, हरित कृषि र प्लास्टिक व्यवस्थापनमै रोजगारी सिर्जना गरेर । वातावरण र विकास दुबै सँगसँगै जान सक्दछन् । यदि हामी सोच बदल्छौँ कि मानव वातावरणको दास होइन, सजग र जिम्मेवार संरक्षक हो ।
“एमाजोन जङ्गलमा पुतलीले पङ्ख फटफटाउँदा न्युयोर्कमा आँधी आउन सक्छ ।” भन्ने एउटा चर्चित भनाइ छ । यस भनाइले देखाउँछ कि प्रकृतिको सानो गतिविधिले पनि विश्वव्यापी असर पार्न सक्छ । वातावरणीय सन्तुलन कुनै देशको मात्र जिम्मेवारी होइन; यो अन्तरनिर्भर र विश्वव्यापी विषय हो भन्ने यस भनाइको मर्म हुनुपर्छ । हरेक वर्ष जून ५ मा मनाइने ‘विश्व वातावरण दिवस’ एक औपचारिक दिवस मात्र नभई, प्रकृति र मानव सम्बन्धको पुनर्विचार गर्ने अवसर बन्नुपर्छ । वातावरण संरक्षणको चर्चा आज विश्वव्यापी छ, तर के यो सबैका लागि समान प्राथमिकता हो वा धनी मुलुकको विलासिता बनेको छ ? के वातावरण मानवका लागि हो वा मानव वातावरणको लागि ? लेखको सार यी प्रश्नहरूको जवाफ खोज्नु हो ।
(लेखक ख्वप कलेजमा वातावरण विषय अध्यापन गर्नुहुन्छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *