भर्खरै :

‘जनताको साहित्य र साहित्यकार’ पुस्तक एक अध्ययन

  • जेष्ठ २२, २०८२
  • विनोदकुमार विश्वकर्मा
  • विचार
‘जनताको साहित्य र साहित्यकार’ पुस्तक एक अध्ययन

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले पचास वर्ष अगाडि निर्दलीय पञ्चायती व्यवस्थाको अवधिमा हरिबहादुर श्रेष्ठको नामबाट लेख्नुभएको ‘जनताको साहित्य र साहित्यकार’ पुस्तकमा राष्ट्रिय र अन्तर्राष्ट्रिय विषय समेटिएको छ । यी घटनासँग अहिले घटिरहेको घटनामा जोड्नु तार्किक भिन्नता छ । यसकारण, मैले यो पुस्तक अध्ययन गरी केही टिपोट गरेको छु ।
हरिबहादुर श्रेष्ठद्वारा लेखिएको ‘जनताको साहित्य र साहित्यकार’ पुस्तक नेपाली साहित्यमा माक्र्सवादी र प्रगतिशील साहित्यिक फाँटमा एक कोसेढुङ्गा हो । स्रष्टा समाज भक्तपुरद्वारा प्रकाशित यो पुस्तकको चौथो संस्करण (२०७९ माघ) सम्म आइपुग्दा यस पुस्तकको वैचारिक र सामाजिक प्रभाव झनै उचाइमा पुगेको अनुभव भयो ।
यो पुस्तकले साहित्यलाई सौन्दर्य वा मनोरञ्जनको साधनमा सीमित नराखी जनताको जीवन, सङ्घर्ष र चेतनासँग जोडेर समाज परिवर्तनको शक्तिशाली हतियार बनाउन प्रेरित गरेको छ । यहाँ यो पुस्तकको अध्ययनबाट मैले प्राप्त गरेको जानकारी, सर्वसाधारण जनतालाई प्राप्त हुने जानकारी, नेपालका शासक (संसदवादी) दलहरूले सिक्नुपर्ने पाठ र तिनका गल्ती–कमजोरी कहाँनिर भए भन्ने विषयलाई प्रस्तुत गरेको छु ।

मैले प्राप्त गरेको जानकारी
यो पुस्तकको अध्ययनले मलाई वर्गीय साहित्य र यसको सामाजिक–राजनीतिक महत्वबारे गहिरो रूपमा बुझ्ने अवसर मिल्यो । लेखकले साहित्यलाई दुई भागमा विभाजन गर्नुभएको छ–प्रतिक्रियावादी र प्रगतिशील । प्रतिक्रियावादी साहित्यले शोषकवर्गको सेवा गर्छ भने प्रगतिशील साहित्यले शोषितवर्गको पक्ष लिन्छ ।
‘साहित्य के हो ?’ अध्यायमा नेपाली समाजलाई चुसाहा (शोषक) र चुसिएका (शोषित) वर्गमा विभाजन गरेर साहित्यको शोषितवर्गको पक्षमा लेख्नुपर्ने प्रस्ट पारिएको छ । यो दृष्टिकोणले साहित्यलाई केवल कला वा भावनाको अभिव्यक्तिमा सीमित नराखी वर्गसङ्घर्षको माध्यम बनाउन सकिने यथार्थ यो पुस्तकले सिकायो । साहित्यकारको मुख्य जिम्मेवारी जनताको दुःख, पीडा र सङ्घर्षबारे अभिव्यक्ति दिनु र शोषकवर्गको खोट उदाङ्गो पार्नु हो भन्ने यथार्थ गणितको सूत्रजस्तै पुस्तकले सचेत गराएको छ ।
पुस्तकले साहित्य र राजनीतिको अभिन्न सम्बन्धलाई ऐतिहासिक सन्दर्भसहित व्याख्या गरेको छ । लेखकले रामायण र महाभारतजस्ता प्राचीन कृतिहरूले शासकवर्गको हितलाई समर्थन गरेको उदाहरणसहित साहित्य सधैँ कुनै न कुनै वर्गको पक्षमा हुन्छ भन्ने तर्क राख्नु भएको मनासिब छ । यो जानकारीले मलाई साहित्यमा राजनीतिक प्रभावबारे सचेत बनाएको छ । ‘साहित्यकार कसरी अमर हुन्छन् ?’ अध्यायमा लेखकले शेक्सपियर, टोल्सटाय र माओ त्सेतुङजस्ता साहित्यकारहरूको उदाहरण दिँदै जनताको भावनालाई प्रतिबिम्बित गर्ने साहित्यकार मात्र अमर हुन्छन् भन्ने कुरा सिकाउनुभएको छ । यो विचारले मलाई साहित्यमा जनताको जीवन र सङ्घर्षलाई प्राथमिकता दिन प्रेरित ग¥यो ।
‘पात्र र पात्रको चुनाव’ अध्यायले साहित्यमा पात्रलाई जीवनबाट छान्ने तर कलात्मक ढङ्गले प्रस्तुत गर्नुपर्ने सुझाव दिएको छ, जसले मेरो साहित्यिक दृष्टिकोणलाई थप परिष्कृत र व्यवहारिक बनायो ।
‘साहित्यकारको अन्तर्राष्ट्रिय कर्तव्य’ अध्यायले विश्व शान्ति, साम्राज्यवादविरोधी सङ्घर्ष, र प्रजातन्त्रको पक्षमा साहित्यकारले योगदान गर्नुपर्ने कुरा उल्लेख गरिएको छ जसले मलाई स्थानीय र विश्वव्यापी विषयहरूसँग जोड्न प्रेरित ग¥र्यो ।

सर्वसाधारण जनतालाई प्राप्त हुने जानकारी
सर्वसाधारण जनताले यो पुस्तक अध्ययनबाट आफ्नो जीवन, सङ्घर्ष र हक अधिकारबारे गहिरो जानकारी प्राप्त गर्छन् । पुस्तकले साहित्यलाई जनताको दुःख, पीडा र आकाङ्क्षाको अभिव्यक्तिको माध्यम बनाउनुपर्नेमा जोड दिएको छ ।
‘साहित्यले जनताको कसरी सेवा गर्छ ? मा ‘बाली काट्ने आन्दोलन’ जस्ता किसान सङ्घर्षलाई साहित्यमा समेटेर जनताको वीरता र निःस्वार्थलाई प्रस्फुटन गर्न सकिने उल्लेख छ । यो अध्ययनले जनतालाई आफ्नो सङ्घर्षको मूल्य र साहित्यमा आफ्नो जीवनको प्रतिबिम्ब देखाउन सकिने चेतना दिन्छ । देश र जनताको कथा र पीडा साहित्यको विषय बन्ने र यसले जनताको आत्मसम्मान र आत्मविश्वास बढाउने अनुभव भयो ।
पुस्तकले शोषकवर्गको साहित्यले जनतालाई भ्रममा राख्ने विषय पनि खुलासा गरेको छ । धार्मिक कथाहरूले ‘धनी र गरिब पहिलेकै जन्मको फल हो’ भन्ने भ्रम दिएर जनतालाई कमजोर बनाउँदै छन् । यसले जनतालाई शासकवर्गको प्रचार र छलकपटबाट सचेत रहन सचेत पार्छ ।
पुस्तकले साहित्यलाई ‘कामदारवर्गको चेतना बढाउने मसला’ र ‘पुँजीवादी साहित्यलाई चकनाचुर पार्ने बम’ को रूपमा प्रस्तुत गरेको छ । यो विचारले जनतालाई आफ्नो हक अधिकारका लागि सङ्गठित हुन र शोषणविरुद्ध आवाज उठाउन प्रोत्साहित गर्छ । जनताको पक्षमा लेख्ने साहित्यकारहरूलाई समर्थन गर्नुपर्ने सन्देशले जनतामा साहित्यप्रति रुचि र विश्वास बढाउनेछ । पुस्तकले लोकगीत, नाटक र चित्रकलालगायत सांस्कृतिक क्षेत्रलाई साहित्यको हिस्साको रूपमा समेट्नुपर्ने सुझाव दिएको छ । यसले जनतालाई आफ्नो संस्कृतिसँग जोडिन प्रेरित गरेको छ ।

यो पुस्तकबाट शासकहरूले के सिक्नु पर्दछ ?
यो पुस्तक अध्ययनबाट नेपालका शासक दलहरू (जस्तैः नेपाली काङ्ग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, आदि) ले जनताको जीवनलाई मूल्य मान्यता नदिएको पुष्टि हुन्छ । शासकवर्गले साहित्यमार्फत जनतालाई छल्दै आएको पुष्टि हुन्छ । ‘शोषक वर्गले चुनावमा मिठा कुरा गरेर जनतालाई फकाउँछन्’ भन्ने लेखकको तर्कले शासक दलहरू कति झूटा रहेछन् पुष्टि हुन्छ । यो गल्तीबाट पाठ सिकेर शासक दललाई जनताको वास्तविक समस्या जस्तै :– गरिबी, बेरोजगारी, भोकमरी र शोषणको समाधानमा ध्यान दिनुपर्ने चेत यो पुस्तकले दिएको छ ।
पुस्तकले जनताको साहित्यले शोषणको विरोध गर्नुपर्नेमा जोड दिएको छ । जनताको सङ्घर्षलाई सम्मान र समर्थन गर्न शासक दलहरूले सिक्नुपर्नेमा जोड दिएका छन् । किसानको ‘बाली काट्ने आन्दोलन’ लाई दबाउनुको सट्टा उनीहरूको हक सुनिश्चित गर्नुपर्ने ऐतिहासिक महत्वलाई उजागर गरेको छ ।
पुस्तकले पुँजीवादी प्रचार साधनदेखि जनता सचेत रहनुपर्ने विषय उठाउँदै यसको प्रभावलाई आलोचना गरेको छ । शासक दलहरूले प्रचार माध्यमको दुरूपयोग नगरी देश र जनताको सेवामा लगाउनुपर्नेबारे पुस्तकमा जोड दिइएको छ । साहित्य र संस्कृतिलाई जनताको पक्षमा प्रयोग गर्नुपर्ने सुझाव पुस्तकले दिएको छ ।
पुस्तकले विश्वव्यापी मुद्दाहरू विस्तारवाद, पुँजीवाद (साम्राज्यवाद,फासीवाद,विस्तारवाद)का विरुद्धमा साहित्यकारको भूमिका औँल्याएको छ । शासक दलहरूले अन्तर्राष्ट्रिय सन्दर्भमा पनि देश र जनताको हितमा ध्यान दिनुपर्नेतर्फ सचेत पारेको छ । पुस्तकको अध्ययनबाट नेपालका संसद्वादी दलहरूको पहिलो गल्ती जनताको हितभन्दा आफ्नो स्वार्थलाई प्राथमिकता दिनुपर्ने यथार्थ बोध गराउँछ ।
पुस्तकमा ‘शोषकवर्गले ऐन–कानुन, पुलिस र संसद्लाई जनता दबाउने हतियार बनाएको’ यथार्थ उल्लेख गरिएको छ । नेपालमा पनि यी दलहरू संविधानसभा र संसद्लाई जनसेवाको लागि नभई सत्ताको लागि दुरूपयोग गर्दै छन् । ‘चुनावमा झूटा आशा देखाउने’ प्रवृत्ति नेपालमा बारम्बार देखिन्छ—गरिबी हटाउने, समाजवाद ल्याउने वाचा गर्छन्, तर कार्यान्वयनमा शून्य छ । यो कमजोरीले शासक दलहरूप्रति जनताको विश्वास गुमेको छ ।
शासक दलहरू जनताको सङ्घर्षलाई दबाउने नीति अपनाउँदै छन् । पुस्तकमा प्रतिक्रियावादी सरकारले ‘किसान र मजदुरको पीडासँग जोडिएको हडतालमा पुलिस पठाउने’ कुराको विरोध गरिएको छ । जुन नेपालको यथार्थसँग मेल खान्छ । सुकुमवासी आन्दोलन र मजदुर हडतालमा बल प्रयोग भएको इतिहास नेपालमा धेरै छन् ।
पुँजीवादी पार्टीहरूले भ्रष्टाचार र शोषण बढाएको विषयको विरोध पुस्तकमा गरेको छ । नेपालमा ठेकेदार, कमिसन एजेन्ट र विदेशी पुँजीको पक्ष लिएका शासक दलहरूले जनताको शोषण गरेका हुन्छन् ।
साहित्य र संस्कृतिलाई जनताको पक्षमा प्रयोग गर्न नसक्नु र सरकारी संस्थाहरू (प्रज्ञा–प्रतिष्ठान) मा दलगत नियुक्ति गरेर साहित्यलाई जनताको पक्षबाट विमुख गरिएको छ ।
‘जनतालाई धोका दिने’ प्रवृत्ति जनकपुरको भोकमरीमा राहत वितरणमा भ्रष्टाचार र विदेशी सहायता दुरूपयोगजस्ता उदाहरण रहेका छन् ।
‘जनताको साहित्य र साहित्यकार’ पुस्तक अध्ययनबाट साहित्यको वर्गीय रूप र यसको राजनीतिक प्रतिबिम्बबारे स्पष्ट रूपमा उल्लेख छ । यो पुस्तक अध्ययनबाट सर्वसाधारण जनताले आफ्नो सङ्घर्षको महत्व र शासकवर्गले गर्ने छलकपटबारे धेरै जानकारी हासिल गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *