कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
वैदेशिक रोजगारीको लागि नेपाली युवाहरूको गन्तव्य बनेको एक देश कतार पनि हो । कतारमा भारतपछि सबैभन्दा बढी कामदार नेपाली छन् । कतारको कुल जनसङ्ख्याभन्दा बढी त्यहाँ आप्रवासी छन् । करिब ६/७ वर्ष अगाडि साउदी, दुबई, मलेसियाले नेपाली कामदारको माग घटाएपछि कतार जानेको सङ्ख्या बढेको थियो । तथापि, सन् २०१७ को जूनदेखि खाडी राष्ट्रले कतारले आतङ्कवादी र अतिवादीहरूलाई सहयोग गरेको आरोपमा नाकाबन्दी लगाएका कारण त्यहाँ रोजगारीका लागि जाने नेपाली कामदारको सङ्ख्या भने केही घटेको थियो ।
तर, १ वर्षमा १ देखि डेढ लाख नेपाली त्यहाँ पुग्ने अनुमान छ । यद्यपि, दलालहरूका हातमा परी अवैधानिकरूपमा कतार पुग्नेको सङ्ख्या पनि उल्लेख्य छ । सन् २०१८ को मार्च १६ मा मात्रै ‘आजाद भिसा’ का नाममा कामदार तस्करी गरी कतार पु¥याइएका ४० नेपाली कामदार बिचल्लीमा परेको समाचार प्रकाशित भएको थियो । म्यानपावर र कतारका साना कम्पनीसँग समन्वय गरी सङ्गठित दलालले उक्त भिसाका नाममा ४० नेपाली कामदारसँग झन्डै ७० लाख बढी ठगी गरे । मिडल अर्विट, शुभम्, ब्लुमुज ओभरसिजलगायतले त्यसरी ठगी गरेका समाचार पनि आए । कतारी श्रम मन्त्रालयले ‘आजाद भिसा’ नामको भिसा नै नभएको बतायो । यस्तो भिसाको कारोबारीलाई कतार सरकारले मानव तस्करको मुद्दा चलाउने रहेछ । नेपालका सरकारी नेता वा मन्त्रीकै म्यानपावर कम्पनी त्यस्ता भिसावालहरूसँगको मिलेमतोमा युवा बेचबिखन गर्दै छन् भन्ने यसबाट पनि प्रस्ट हुन्छ (अहिले भिजिट भिसा प्रकरणले पनि यसलाई पुष्टि गर्छ) । त्यस्ता दलाल म्यानपावर कम्पनीले नेपालको वैदेशिक रोजगार विभागबाट सबै प्रक्रिया पूरा गरेर श्रम स्वीकृति निकालेका हुन्छन् । त्यो स्वीकृति नेपाली कामदारलाई त्रिभुवन विमानस्थल कटाउनका लागि मात्र लिएका हुन्छन् ।
विश्वमै बढी विदेशी कामदार भित्याउने राष्ट्रमध्ये कतार पनि पर्छ । त्यहाँ झन्डै ९० प्रतिशत कामदार आयातीत छन् । झन्डै ६ लाख नेपालीहरू आधा कतार निर्माणमा संलग्न छन् । अग्ला घर बनाउनेदेखि खेती किसानी, उँट, भेँडा, बाख्रा, गोठाला, सरसफाइ, ड्राइभिङ, सुरक्षा गार्डलगायतका काममा खटिएका छन् । ५० डिग्री सेन्टिग्रेड नाघ्ने तापक्रममा सडक खन्छन्; घर बनाउँछन्; बाटो चिल्ला पार्छन्; फूल फुलाउँछन्; रुख उमार्छन्; मरुभूमिलाई जङ्गलमा रूपान्तर गरिदिन्छन् । उँट – गोठाला बस्नेहरूको त उँटमा चढ्दा सुरुमा गुदद्वारबाट रगत नै बग्ने रहेछ ! कति पीडा होला !? बिहान ५ बजे उठेदेखि बेलुका ५/६ बजेसम्म काममा खटिँदा पनि अत्यन्त न्यून तलब पाउँछन् ।
त्यहाँ कार्यरत २०–२२ प्रतिशत कामदारको अवस्थामात्र केही राम्रो र बाँकीको दयनीय रहेको तथ्याङ्क पनि प्रकाशित भयो । कतिपय नेपाली कामदार त क्याम्पमा कम्मरमुनिको हर नचलेका र कम्पनीसँग वर्षाैँदेखि क्षतिपूर्तिको लागि लडेर बसेका पनि छन् । ७–८ वर्षदेखि अस्पतालमा कोमामा रहेका नेपाली पनि थुप्रै छन् ।
कतारमा मजदुरहरूका हितका लागि काम गर्न बनेका सङ्घसंस्था वा समितिहरू नै नेपालबाट कामदार झिकाई कतारका विभिन्न कम्पनीमा सप्लाई गर्ने गर्दा रहेछन् ! नेपाली कामदारलाई अन्य देशका कामदारलाई भन्दा कम तलब – सेवा सुविधा दिएर राखिँदा पनि ती सङ्घ संस्था मौन छन् न त नेपाली दूतावास नै केही बोल्छ । एकपटक नेपालका एक सञ्चारकर्मीले कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्मासँग दुःख पाएका मजदुरको लागि आवाज किन नउठाएको भनी प्रश्न गर्दा उनले “हामीले यहाँ राजनीति गर्ने होइन ।” भन्ने जवाफ दिइन् । त्यसो त नेका, एमाले, माओवादीलगायत सरकारमा जाने दलहरूको भागबन्डामा नियुक्ति हुने राजदूत पदले देशको साख जोगाउन कहाँ सक्छ र ? गरिब जनताको दुःख बुझ्न कहाँ सक्छ र !? त्यसरी भागबन्डामा गएका राजदूतहरू नै मानव तस्करीमा संलग्न भनी समाचार आएकै हो ! दूतावास गएको पीडित कामदारलाई कतारको श्रम विभागमा जान भनी पठाउने राजदूतहरू पनि नेपाली कामदारको दुःखका कारण हुन् । खुसी हुँदै दूतावास छिरेका नेपालीहरू आँखाबाट आँसु झार्दै बाहिरिएका दृश्यहरू सञ्चारमाध्यममा देख्दा जो कोही देशभक्त नेपालीलाई आक्रोशित बनाउँछ ।
कतारमा सन् २०२२ मा विश्वकप फूटबलको लागि तयार गर्दै गरेको भौतिक संरचना निर्माणका लागि नेपाली कामदारको पनि माग बढेपछि कतार पुगेका नेपाली कामदारले अझ बढी सास्ती व्यहोर्नुपरेको कहालीलाग्दो समाचार र भिडियो पनि प्रकाशित भए ।
बेलायतको चर्चित पत्रिका ‘द गार्जियन’ ले कतारको विश्वकप तयारीका क्रममा नेपाली कामदारले भोग्नुपरेको दुःख र सास्तीको अनुसन्धानात्मक प्रतिवदेन नै सार्वजनिक ग¥यो २०७० सालमा । विश्वकप तयारीको क्रममा भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिँदा ४० प्रतिशत नेपाली कामदार रहेको तथ्याङ्क पनि दियो । नेपाली कामदारप्रतिको शोषणलाई त्यस पत्रिकाले आधुनिक दासताको झल्कोको रूपमा बयान ग¥यो । त्यससम्बन्धी भिडियो ‘युट्युव’ मा पनि हेर्न सकिन्छ । दोहास्थित नेपाली दूतावासको तथ्याङ्कमा उक्त समयमा तीन महिनाको अवधिमा ४४ जना कामदारको हृदयघात, मुटुरोग र कार्यस्थलमा हुने दुर्घटनाका कारण मृत्यु भएको तथ्याङ्क छ । त्यसमा धेरै नेपाली कामदारलाई जबरजस्ती काममा लगाइएको थियो । अझ काम छोडेर जालान् भनेर कैयौँ कामदारको तलब महिनौँदेखि रोकिएको, कतिपय कामदारलाई गैरकानुनी देखाउन परिचयपत्र नबनाइदिने र पासपोर्टसमेत नियन्त्रणमा लिने गरेको तथ्य प्रकाशित भएको थियो । वल्र्डकप पूर्वाधार निर्माणमा स्टेडियमलगायतका संरचना निर्माणमा झन्डै ५० हजार नेपाली श्रमिक खटिएका थिए ।
कतारको लुसेन सिटी, जहाँ विश्वकपको फाइनल खेल हुने र ९० हजार दर्शक क्षमताको रङ्गशाला निर्माणमा कार्यरत कैयौँ कामदारले पानीसमेत खान नपाएको अवस्था थियो । नेपाल सरकारको शोषणबाट बच्न वा जीवन धान्न बिदेसिन बाध्य नेपाली कामदारलाई कतार सरकारले झन् नराम्ररी चुस्दै गरेको दृश्यले जो कोही देशभक्तलाई आक्रोशित बनाउँछ । सानो एउटै कोठामा १२–१४ जनासम्म सुत्नुपर्ने बाध्यता; शौचालयदेखि भान्सा अति फोहोर; कतिपयलाई तलब नदिँदा मागेर खानुपर्ने; १२ घण्टा काम गरेर पनि भोकै सुत्नुपर्ने; कम्पनी मेनेजरलाई गुनासो वा समस्या पोख्दा लात्ताले भकुरेर आधा रातमा क्याम्पबाहिर निकालिदिने; ३ महिनादेखि ८–१० महिनाको तलब नपाउने† वैधानिक तरिकाले गएकालाई पनि अवैधानिक बनाइदिने लगायतका अनेक यातना दिएर कतार सरकारले नेपाली कामदारलाई दाससरह व्यवहार गरेको दृश्य कहालीलाग्दो छ । एक धनी देशले विश्वकप तयारीको लागि भन्दै एउटा गरिब देशका गरिब कामदारको शोषण गरेको तथ्य तथ्याङ्क ‘गार्जियन’ पत्रिकाले दिएको थियो ।
विश्वकप तयारीमा त्यहाँको निर्माणको क्रममा निधन भएका दाङका १६ वर्षीय गणेश विश्वकर्माको लास ६ हप्तापछि नेपाल भित्रियो; त्यो पनि बन्द बाकसमा ! जबकि १६ वर्ष मुनिकालाई काममा लगाउन नपाइने कतारी नियम छ । घर–खेतको सबै काम गर्न सिपालु उनलाई कमाउला, परिवार पाल्ला भनी उनका बाबुआमाले उनलाई कतार पठाएका थिए । एक्कासि लास बनी भित्रिँदा कस्तो पीडा होला परिवारमा ? अनुमान लाउन गा¥हो हुन्छ । आफ्नो कलिलो छोरोको लासअघि बसेका बाबु आफ्नो छोराको मृत्युमा मन फुकाएर रुन पनि सकेनन् । उनलाई छोराले छोडेर गए पनि छोरा विदेश पठाउन ऋण दिएका साहुले नछाड्ने चिन्ता उनमा बढी थियो । कतार विश्वकप तयारीमा रहँदा नेपाली कामदारको अवस्था र मृत्युपछि शव नेपाल ल्याइपु¥याउँदा ती परिवारको बिचल्ली, रोदन क्रन्दनको दृश्यले जो कोही देशभक्त नेपालीको परेली भिज्छ† कतार सरकारको अत्याचारी व्यवहारप्रति घृणा र आक्रोश उत्पन्न हुन्छ । यो त एउटा देशमा नेपाली कामदारले पाएको सास्ती र पीडाको एक झल्कोमात्रै हो । कतारजस्तै अन्य देशमा रहेका नेपाली कामदारको अवस्था पनि उस्तै हो ।
नेपाली युवाहरूको त्यस्तो अकल्पनीय दुःखका दोषी वा अपराधी सबभन्दा बढी बहुदलीय व्यवस्थापछिका सरकारहरू हुन् । सरकारमा बस्ने दलहरूका कतिपय नेता–कार्यकर्ता, म्यानपावर कम्पनीका मालिक छन् । कतिपय झोलामै म्यानपावर कम्पनी बोकी हिँड्छन् । आजसम्मका सरकारहरू मानव तस्करका दलाल हुन् भन्दा फरक नपर्ला ! युवाहरूका त्यस्ता अकल्पनीय दुःख अन्त्यका लागि उत्पादनका मुख्य–मुख्य साधन सामाजिकीकरण गरी, आवश्यक उद्योग कलकारखाना खोली स्वदेशमै रोजगारीको बन्दोबस्त सरकारले गर्नुपर्दछ ।
नेपाल सरकार र शासक दलहरू सोच्दा हुन् – विदेशी भूमिमा सस्तो ज्यामीका रूपमा काम गर्ने नेपाली युवाका पीडादायी घटनाले नेपालीलाई कुनै फरक पार्दैन । तर, त्यसको ठीक उल्टो नेपालमा दुखजिलो गरी खानेलाई मात्र होइन विदेशमा सुखसयलको जीन्दगी बाँच्नेलाई पनि त्यस्ता घटनाले क्रमशः छुँदै छ । त्यसको एक बलियो उदाहरण हुन् – कर्मा तेन्जिङ, जो सेयर कारोबार हुने अमेरिकाकै शक्तिशाली वित्तीय संस्था ‘वाल स्ट्रिट’ मा कार्यरत थिए । माथि उल्लेखित कतारमा नेपाली कामदारले पाएको दुःखबारे ‘द गार्जियन’ पत्रिकाले समाचार लेखेपछि उनले कतार सरकारको विरोधमा अमेरिकाको न्युयोर्क सहरमै जुलुस निकाले ।
मनाङ पुख्र्यौली घर भएका कर्मा उच्च शिक्षा अध्ययनका लागि अमेरिका पुगेका थिए । ‘वाल स्ट्रिट’ मा १४ वर्ष बिताएका उनले अमेरिकाको ‘मेट्रोपोलिटन कलेज अफ न्युयोर्क’ मा सहायक प्राध्यापक भई प्राध्यापन गर्दै ‘फोर्डह्याम’ विश्वविद्यालयबाट विद्यावारिधि पनि गर्दै थिए । जब सन् २०१३ मा ‘द गार्जियन’ मा सन् २०२२ मा कतारमा हुने विश्वकप खेलका लागि संरचना निर्माणमा नेपाली कामदारको अवस्था पढे; आफ्नो सानको जीन्दगी, जागीर, प्रतिष्ठा सबै छोडेर कतार सरकारको अत्याचारी व्यवहारको विरुद्धमा सडकमै उत्रिए । उनले अमेरिकामा कार्यरत २ सय नेपाली जम्मा गरेर ‘न्युयोर्क टाइम्स’ को कार्यालयदेखि संयुक्त राष्ट्रसङ्घको कार्यालय हुँदै अमेरिकास्थित कतार दूतावाससम्म ¥याली निकाले । करिब ३७ हजार मानिसले उनको अभियानमा ऐक्यबद्धता जनाउँदै हस्ताक्षर गरेका थिए । स्थानीय पत्रपत्रिका तथा सामाजिक सञ्जालमार्फत त्यस अभियानको निकै प्रचार भयो । त्यसपछि नेपाली कामदारको पक्षमा लन्डन र अस्ट्रेलियामा पनि ¥याली निकालिएको थियो । उनले कतारको जेलमा रहेका नेपाली कामदारको पक्षमा पनि अभियान चलाए ।
प्रवासमा रहेका आफूजस्तै नेपालीले अरबको तातो मरुभूमिमा पाइरहेको दुःखबाट झस्किएका कर्मा कतारको उक्त समाचारपछि आफ्नै जन्मभूमिमा केही गरेर देखाउने उद्देश्यसाथ नेपाल फर्के । आफ्ना पिताले दुःख गरी खोलेको विद्यालयमा प्रधानाध्यापक बने† चार सय विद्यार्थीमा तीन सय जनालाई साढे २ करोडको छात्रवृत्तिमै पढाउन थाले । विद्यालयसँगै सहकारी, न्यूज मिडिया कम्पनी, रेस्टुरेन्ट, ज्येष्ठ नागरिकका लागि आश्रम, अनाथालयलगायत सञ्चालनमार्फत कैयौँ नेपाली युवालाई रोजगारी पनि दिलाए ।
अमेरिकाको चिल्लो सडकमा हिँड्ने बानी परेका कर्मा काठमाडौँको खाल्डाखुल्डी, धुलो, धुवाँ–जाम छिचोल्दै हिँड्न थाले । कर्माको विषयमा अमेरिकाका चलचित्र निर्माणकर्मी (जुम्ल्याहा दाजुभाइ–ब्रायन र क्लेक्टोन फ्लेन्ट) ले वृत्तचित्र नै तयार गरेका छन् – फ्रम वाल स्ट्रिट टु दी नेपाल स्ट्रिट … ‘गुड कर्मा एन इमिग्रान्ट स्टोरी’ नामक ।
मानव शोषण र कामदारलाई दाससरह व्यवहार गर्ने कतार सरकारको विरोधमा विश्वलाई आश्चर्यचकित पार्ने गरी अभियान छेडेका कर्माले पनि बिस्तारै बुझ्दै होलान् कि ! युवाहरूको यस्तो अवस्था र देश झन् खोक्रिँदै जानुमा नेपालका शासक दलहरू नै जिम्मेवार छन् । आज देशलाई त्यस्ता थुप्रै कर्माहरू आवश्यक छ; जो आफ्नो सुख–सुविधा त्यागी दुःख पाएका लाखौँ युवाको लागि लड्न, सङ्घर्ष गर्न तयार हुन्छन् ।
Leave a Reply