समाज बनाउन
- कार्तिक २२, २०८२
शैक्षिक चेतनाको बीजारोपण गरेर
विद्यारूपी प्रकाशको प्रचार गर्दै गाउँ गाउँ घुम्ने
आफ्नो पौरखले स्वाभिमानी भएर बाँच्ने
परिवर्तनशील समाजका अग्रदूत ।
भविष्य सन्ततिका दिव्य चक्षु भएर
आफू बलेर उज्यालो दिने दीप बनेर
अज्ञानताले घेरिएको यो फूलबारीमा
ज्ञानको सुवास छरेर जीवन व्यतीत गर्ने
एक कलिलो हँसिलो संसारको न्वारान गरेर
अनुशासित कर्तव्यपरायणताको आत्मविश्वास जगाउने
एक कर्मठ शिक्षासेवी भएर
देश बोकी हिँडने साहसी मानव ।
यो नवयुगको विद्याको सागरमा
हामी सबल छौँ भनी नयाँ उमङ्ग लिएर
धर्तीका मुस्कानहरूलाई देशको कर्णधार निर्माण गरेर
ज्ञानको मन्दिरको प्रगतिको लागि योगदान गर्ने अनुभनी अग्रज
यो पवित्र भूमिमा सभ्य सुसंस्कृत समाजको निर्माण गरेर
सत्य र विद्याको मन्दिरको पुजारी भएर
राष्ट्रको लागि आफ्नो जीवन अपर्ण गरेर
अवकास प्राप्त गर्ने महान् गुरु ।
तर, तिम्रो सेवा तिम्रो अभिलाषा
कहीँ ढोकाले थुनिदियो
कहीँ हावाले उडाइदियो
यस्तै असजिलो परिस्थितिमा छटपटिने
शिक्षाको ज्योति निवृत्त शिक्षक ।
(यस वर्षको बजेटमा निवृत्तहरूलाई समस्या परेकाबारे केन्द्रित रहेर प्रकाशित कविता)
Leave a Reply