भर्खरै :

“स्वप्नद्रष्टा नेता नारायणमान बिजुक्छेँ” अध्ययन गर्दा

“स्वप्नद्रष्टा नेता नारायणमान बिजुक्छेँ” अध्ययन गर्दा

विजयराज आचार्यद्वारा लिखित ‘स्वप्नद्रष्टा नेता नारायणमान बिजुक्छेँ’ पढ्न पाइयो । सानो पुस्तिकामा वरिष्ठ राजनीतिज्ञ तथा साहित्यकार नारायणमान बिजुक्छेँ (रोहित) को जीवनका तस्बिरहरू चलचित्रजस्तै देखिन्छन् । लेखक आचार्यले कामरेड रोहितका विभिन्न पुस्तकको अध्ययन तथा उहाँसँगको अन्तर्वार्ताको निचोड प्रस्तुत गरेका छन् ।
भनिन्छ, एकजना मान्छेले दुईवटा डुङ्गामा खुट्टा राखेर नदी पार गर्र्न सक्दैन । कामरेड रोहित राजनीति र साहित्य दुवै क्षेत्रमा सफल हुनुभयो – यही भन्छ पुस्तक । साहित्यबारे उहाँको प्रस्ट धारणा छ – विचारबिनाको साहित्य हुनसक्दैन । उहाँले लुशुनको भनाइ आत्मसात गर्नुभएको छ । लुशुन भन्नुहुन्थ्यो, “क्रान्तिकारीहरूले लेख्न थालेपछि मात्र क्रान्तिकारी साहित्यको निर्माण हुन्छ ।” पुँजीवादी व्यवस्थाले सबै क्षेत्रलाई व्यापार र नाफाको दृष्टिकोणले हेर्ने गर्छ । पुँजीवादले साहित्यलाई पनि नाफाको वस्तु बनाएको छ । नेपालमा चर्चा पाइरहेका धेरै साहित्य परिवर्तनका लागि भन्दा पनि नाफा र आत्मप्रचारका लागि लेखिएका छन् । यो धारका विरुद्ध केन्द्रित छ कामरेड रोहितको साहित्य । उहाँ परिमाणमा भन्दा गुदीमा जोड दिनुहुन्छ । वैचारिक स्पष्टताले नै उहाँको साहित्य उत्कृष्ट र जनपक्षीय भएको स्रष्टाहरूले भुल्नु हुँदैन ।
कामरेड रोहित कसरी राजनीतिमा आउनुभयो ? के कुराबाट प्रभावित हुनुभयो ? के–कस्ता दुःख, हन्डर, जेल–नेल, यातना भोग्नुभयो ? साहित्यमा के कुराले प्रभावित हुनुभयो ? कसको साहित्यबाट प्रभावित हुनुभयो ? सबै कुरा पुस्तिकामा सारमा समेटिएको छ ।
कामरेड रोहित माक्र्सवादी सिद्धान्त र वर्गीय विचारधाराबाट प्रभावित हुनुभयो । उहाँ सानो छँदा रौतहटको सदरमुकाम गौरमा बाढी प्रभावितहरूको सेवा गर्ने कम्युनिस्टहरूको व्यवहारले उहाँको मन छोयो । माक्र्सवाद भन्छ – भौतिक परिस्थिति वा वस्तुबाट विचार सिर्जना हुन्छ । वर्गीय समाजमा हुर्किँदै गर्दा उहाँले शोषित–पीडित वर्गप्रति सहानुभूति राख्दै जानुभयो । त्यसैले समाजमा विद्यमान वर्गीय विभेद र शोषण अन्त्यका लागि निरन्तर सक्रिय हुनुभयो । देश र जनताको सेवामा उहाँ तल्लीन हुनुभयो ।
कामरेड रोहितले वि.सं. २०१४ सालमा विद्यार्थी फेडरेसनबाट राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । ०१५ सालमा उहाँले नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गर्नुभयो र ०२७ सालमा केन्द्रीय सदस्य हुनुभयो । पुष्पलालको नेतृत्वमा काम गर्दै गर्दा विभिन्न वैचारिक मतभेद देखापरे । भारतले मुक्ति वाहिनीको नाममा पूर्वी पाकिस्तान टुक्राएको कुरा पार्टीको तत्कालीन नेतृत्वले स्वीकार गर्न मानेन । कामरेड रोहितले फरक मत राख्दै जानुभयो । सोभियत सङ्घले पाकिस्तान टुक्राएर बङ्गलादेश स्थापना गर्न भारतलाई सघाएको, अफगानिस्तानमा सेना पठाएको, युरोपेली र एसियाली देशमा हस्तक्षेप गरेकोमा उहाँले आपत्ति जनाउनुभयो । यस्तै विविध उदाहरण दिँदै उहाँले ‘रूसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन भएको’ तर्क गर्नुभयो ।
वि.सं. २००८ र २०१२–१३ सालतिर तराईमा किसान आन्दोलन चर्केको थियो । वाग्मती, नारायणी र जनकपुर अञ्चलका विभिन्न ठाउँमा किसानहरू सामन्ती अत्याचारको विरोधमा उत्रेका थिए । २०१७ सालमा राजा महेन्द्रले सत्ता हातमा लिएर पञ्चायती व्यवस्था सुरु गरे । कामरेड रोहितले पुरानो किसान सङ्घर्षलाई निरन्तरता दिनुपर्ने विचार राख्नुभयो । तर, पार्टी केन्द्रले उहाँको विचारलाई ‘नेपाली काङ्ग्रेससँग मिलेर थालेको प्रजातान्त्रिक आन्दोलन बिथोल्ने गतिविधि’ को रूपमा व्याख्या ग¥यो । उहाँले पार्टी केन्द्रको नीतिलाई वर्गसङ्घर्ष अगाडि नबढाउने र पुँजीवादी पार्टीको पिछलग्गू बन्ने दृष्टिकोण भनी आलोचना र विरोध गर्नुभयो । कामदार वर्गको पार्टीलाई वर्गीय रूपले नै अगाडि बढाउनुपर्ने कामरेड रोहितको स्पष्ट अडान थियो । बहुमत केन्द्रीय सदस्यले स्वीकार गरेनन् । सिद्धान्तहीन एकताभन्दा फूट नै ठीक भन्दै कामदारवर्गको पक्षमा कामरेड रोहितले २०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टी (सङ्गठन)को स्थापना गर्नुभयो ।
विरोधीहरूले नेता बन्न पार्टी फुटाएको आरोप पनि लगाए । तर, नेपाली कम्युनिस्ट आन्दोलनलाई नै आलोकित पार्दै कामरेड रोहितले सुरुआती सैद्धान्तिक कृति लेखेर विरोधीहरूलाई मुखभरिको जवाफ दिनुभयो । ती पुस्तक नेमकिपा स्थापनाका आधारस्तम्भ बने । ती पुस्तक थिए – ‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारको खण्डन’, ‘रूसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन’ र ‘नेपाल–भारत सम्बन्ध र भारत’ । पछि उहाँले ‘विश्वका प्रसिद्ध मजदुर आन्दोलन’, ‘समाजवाद र सान्दर्भिक विषयवस्तु’ जस्ता पुस्तक लेखेर कम्युनिस्ट आन्दोलनमा देखा परेका थप अस्पष्टता चिर्दै जानुभयो । यी पुस्तकहरू पञ्चायत कालमा अन्य कम्युनिस्ट घटकहरूले पनि खोजी–खोजी पढ्थे । तर, आफ्ना कार्यकर्तालाई पढाउने बेला पुस्तकका गाता फालेर दिएको पाइन्छ ।
सिद्धान्तनिष्ठता कम्युनिस्ट पार्टीको परिचय हुन्छ । यसमा जोड दिँदै कामरेड रोहितले भन्नुभयो, “विचारबाट स्खलित हुनु भनेको हिउँबाट चिप्लनु जस्तै हो ।” आज नेपालका कम्युनिस्ट नामधारी पार्टीहरूको क्रियाकलाप यस्तै देखिन्छ । जनताको मत पाउन कम्युनिस्ट नाम र चिह्नको दुरूपयोग गर्नेहरूले के जनताको सेवा गर्लान् ? दोहो¥याइ–तेहे¥याइ झन्झन् ठुला बेइमानी गर्नेलाई लाज नहुनु स्वाभाविक छ । ठुलो पदमा पुग्न, सेवा–सुविधा लिन राजनीति गर्नेहरूले जनताको हित हेर्लान् त ?
“राजनीति भनेको देश र जनताको निःस्वार्थ सेवा गर्नु हो” – कामरेड रोहितको भनाइ हो यो । ‘राजनीतिक कार्यकर्ता बन्ने भाइबहिनीलाई चिठी’ नामक पुस्तकमा उहाँले लेख्नुभयो, ‘‘राजनीति गुलाफको ओछ्यान होइन, यो त काँडै–काँडाले भरिएको छ, धारिलो तरबारमा हिँड्नु हो ।’’ त्यसैले जेलमा पर्दा होस् वा प्रवासमा छँदा, वर्गशत्रुले उहाँलाई फासी दिनुपर्ने माग राख्दा वा बनारसमा उहाँको हत्या गर्ने प्रयास हुँदा होस्, कामरेड रोहित जस्तोसुकै कठिन परिस्थितिमा पनि कत्ति विचलित हुनुभएन । निरन्तर जनताको सेवामा जुटिरहनुभयो ।
उहाँले अध्ययनलाई कहिल्यै छोड्नुभएन । जेल र निर्वासन दुवै बेला उहाँ निरन्तर अध्ययनमा लाग्नुभयो र पार्टी कार्यकर्ताको अध्ययनमा जोड दिनुभयो । पदको लोभ उहाँमा कहिल्यै पलाएन । सत्ता र मन्त्री बन्नुप¥यो भनेर अनेक प्रस्ताव नआएको होइन । तर, उहाँलाई विधि–विधान बसाउनु, व्यवहार र सिद्धान्त सिकाउनु थियो । राजनीतिक इमानदारी यसैलाई भन्नुहुन्छ उहाँ । राजनीतिज्ञले जे बोल्यो त्यही गर्नुपर्छ, सिद्धान्तलाई व्यवहारमा उतार्नुपर्छ – यो ठम्याइ मात्र होइन, प्रतिबद्धता पनि हो उहाँको ।
लेखकले कामरेड रोहितको साहित्यिक व्यक्तित्वबारे पनि चर्चा गरेका छन् । उहाँले लेख्नुभएको ‘जनताको साहित्य र साहित्यकार’ पुस्तकको सार पुस्तकमा छ । उनले प्रगतिशील र प्रतिक्रियावादी साहित्यबारे कामरेड रोहितको धारणालाई सरलतासाथ राखेका छन् । त्यस्तै, उहाँको भ्रमण साहित्य (चीन, प्रजग कोरिया) लाई उनले ‘उद्देश्यमूलक भ्रमण’ भनेका छन् । राजनीतिक उद्देश्यसाथ घुम्ने र घुमाइपछि त्यहाँको भूगोल, इतिहास र राजनीतिजस्ता विषय समेटेर यात्रा संस्मरण लेख्नु कामरेड रोहितको व्यक्तित्वको पाटो हो । सरकारी सम्पत्तिमा बिनाकाम घुम्न मरिहत्ते गर्ने मन्त्री, सांसद र कर्मचारीलाई यो एउटा महत्वपूर्ण शिक्षा हुन सक्छ । ऋणमा चलेको देशलाई जम्बो टोलीको भ्रमण खर्च धान्न धौधौ भएको जगजाहेर छ । शासक दलहरूको मनोमानी पूरा गर्न विदेशी ऋण लिने प्रवृत्तिका कारण देश परनिर्भर र नवउपनिवेश बन्दै छ ।
भक्तपुर काण्ड, शिक्षामार्फत समाज सुधारको प्रयास, संसद्मा प्रखर प्रतिपक्षको भूमिका, भिक्षु बन्ने इच्छा, जेल–नेल र भूमिगत जीवन, विवाह, राजनीतिक जिम्मेवारी, फरक–फरक विद्यालयबाट शिक्षा, उद्देश्यलगायत अध्यायमा लेखक आचार्यले छोटोमा सबै विषय समेटेका छन् ।
हाम्रो देश कस्तो बनाउनुपर्छ ? समाज कस्तो हुनुपर्छ ? देशलाई कस्तो राजनीतिक व्यवस्था आवश्यक छ ? शिक्षा कस्तो दिनुपर्छ ? परम्परागत ज्ञान कसरी बचाउनुपर्छ ? विज्ञान र प्रविधिको प्रयोग कसरी गर्ने ? भाषा, जीवन, संस्कृति, साहित्य कसरी संरक्षण गर्नुपर्छ ? निश्चित अवधिमा संसारमा के–कस्ता परिवर्तन हुन्छन् ? जनताको चेतनास्तर कसरी उठाउने ? कुनै ठाउँलाई कस्तो बनाउने ? यी यावत विषयमा कामरेड रोहितको धारणा कल्पनाशील र दूरदर्शी छ । यसकारण, लेखक आचार्य विशेषतः ‘सय वर्षपछिको भक्तपुर’ पुस्तकले उहाँलाई स्वप्नद्रष्टा नेताको रूपमा चिनाएको जिकिर गर्छन् ।
कामरेड रोहितको नेतृत्वमा नेमकिपाले गलत निर्णय गरेन । गल्ती भयो भनी माफी पनि माग्नु परेन । ढिलो–चाँडो सबै दलले ती कुरा र निर्णयलाई स्वीकार गर्नुप¥यो । अन्य धेरै कुरा स्वीकार गर्नुपर्ने समय आउँदै छ । पञ्चायतकालदेखि नेमकिपाले देशमा रज्जु मार्गको माग गरेको थियो । पछिल्लोपल्ट बाढी, पहिरो र आर्थिक भार हेर्दा पार्टीको त्यो माग दूरगामी प्रमाणित भयो । पार्टीले संविधान निर्माण गर्नुभन्दा धेरै अघिदेखि अधिकारको विकेन्द्रीकरण र स्थानीय तहलाई ५० प्रतिशत बजेटको व्यवस्था गर्नुपर्ने माग गरेको थियो । त्यसलाई बेवास्ता गर्दा देश अन्ततः खर्चिलो सङ्घीयतामा जानुप¥यो । देश र समाजको भविष्य देखाउने व्यक्ति नै नेता हो । दीर्घकालीन सोच नराख्नेहरूलाई राजनेताको रूपमा प्रचार गर्नु जनतालाई धोका दिनु सरह हो । शासक दलका नेताहरूलाई ‘राजनेता’ भन्नु फोस्रो प्रचार मात्र हो । धेरै प्रचार माध्यमले यही गर्दै आएका छन् । यस अर्थमा ‘स्वप्नद्रष्टा नेता नारायणमान बिजुक्छेँ’ फरक बनेको छ ।
बाल साहित्यमा हात चलिरहेको हुनाले हुनसक्छ लेखकले यो पुस्तकलाई सरल र सङ्क्षिप्त बनाएका छन् । मौलिक लेखनशैलीले गर्दा कृतिले मन छोयो । छोटो हुनाले सबै उमेर समूहका मानिसले पढ्न सक्ने खालको छ । स्कूले विद्यार्थीले पनि सहजै पढ्न र बुझ्न सक्छन् । यसलाई अतिरिक्त पाठ्यपुस्तकका रूपमा विद्यालय तहमा पढाउन सकिन्छ । देवेन पाण्डेको आवरण फोटो र राजेन्द्र शाक्यको ले–आउट आकर्षक छ । विवेक सिर्जनशील प्रकाशनका विभिन्न पुस्तकमध्ये पढ्नै पर्ने पुस्तक जस्तो लाग्यो । लेखक, प्रकाशक तथा सहयोगी सबैलाई धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *