भर्खरै :

ख्वप विश्वविद्यालय स्थापनाका लागि हाम्रा प्रयासहरू

ख्वप विश्वविद्यालय स्थापनाका लागि हाम्रा प्रयासहरू

नेपाल मजदुर किसान पार्टीले स्थापनाकालदेखि नै शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको हो । यो कुरा पार्टीका अग्रजहरूले विभिन्न अवसरमा व्यक्त अभिव्यक्ति र अन्तर्वार्ताबाट स्पष्ट हुन्छ । विद्यालय पढ्ने अवसर नपाएका धेरैजसो कार्यकर्ताहरूले तत्कालीन अवस्थामा गोप्य तवरबाट सञ्चालन भएको रात्रि कक्षाहरूमा पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) बाट शिक्षित हुने अवसर पाएका थिए । त्यतिबेला सञ्चालन हुने कक्षाहरूमा पढाइको साथसाथै देशको सामाजिक, आर्थिक र राजनैतिक अवस्था, अन्तर्राष्ट्रिय राजनीति, राजनेताहरूको जीवनी, भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादबाट विभिन्न देशमा भइरहेको समाजवादी आन्दोलनहरूबारे पनि प्रशिक्षित गर्ने काम भएको थियो । परिणामस्वरूप भियतनाममाथि अमेरिकी हस्तक्षेप हुँदा त्यसविरुद्ध काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा फोटो प्रदर्शनी भए । भारतद्वारा नेपाली भूमि सुस्तामाथि अतिक्रमण गर्दा नेपालमा पहिलोपल्ट विरोध जुलुस र सभा भए । भर्पाई आन्दोलन, बाली काट्ने आन्दोलन, साँढे धपाउने आन्दोलन, भ्रष्टाचारविरोधी आन्दोलन आदि त्यसैको परिणाम हो ।
पार्टीका अग्रजहरूले देशमा पञ्चायती व्यवस्था लागु भएलगत्तै प्रतिक्रियावादी सङ्घ संस्थाभित्र गएर देश र जनताको सेवा गर्ने लेनिनवादी सिद्धान्तअनुसार पञ्चायती चुनावलाई उपयोग गर्नुभयो । त्यो नीतिअनुरूप स्थानीय निकायमा गएका जनप्रतिनिधिहरूले पञ्चायतभित्र रहेर जनताको पक्षमा कार्यहरू गर्नुभयो । हाम्रो पार्टीले गरेको जनताको काम पञ्चायतलाई मन परेको थिएन । अनेक बहानामा नेता तथा कार्यकर्ताहरूलाई वारेन्ट जारी गर्ने, पक्राउ गर्ने आदि कार्यहरू भइरह्यो । कतिपय नेता र कार्यकर्ताहरू भूमिगत एवं प्रवासमा बस्न बाध्य भए । त्यो कठिन अवस्थामा पनि शिक्षा प्रचारमा कार्यकर्ताहरू लागी नै रहे । सम्बन्धित निकायहरूसँग अनुमति लिएर प्रावि तथा निमावि स्कूलहरू सञ्चालन गरिए । २०३६ सालको जनमतसङ्ग्रह घोषणालगत्तै पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ भारत प्रवासबाट फर्कनुभयो । त्यस पछाडि शैक्षिक विकासका कार्यहरूमा थप तीव्रता आयो । मावि तहका विद्यालयहरू पनि सञ्चालन हुँदै गए । २०३९ वैशाख ३१ गते सम्पन्न स्थानीय निकायको निर्वाचनमा भक्तपुर नगर पञ्चायतमा प्रधानपञ्च र उपप्रधानपञ्चसहित बहुमत सदस्यहरू नेमकिपाबाट निर्वाचित भए । निर्वाचन घोषणापत्र र पार्टी निर्देशनअनुसार निर्वाचित प्रतिनिधिहरूले अन्य सङ्घ संस्थाहरूसँग समन्वय गरी महिला साक्षरता कक्षा सञ्चालन गरे । टोल–टोलमा प्रौढ कक्षाहरू सञ्चालन भए । २०४० असोज २ गते बसेको नगर पञ्चायतको बैठकले सरकारभन्दा एक कदम अगाडि बढेर नगरभित्रका सम्पूर्ण विद्यालयको निमावि तहसम्म निःशुल्क गर्ने निर्णय गर्यो ।
२०४६ सालको जनआन्दोलनबाट पञ्चायतको अन्त्य भई प्रजातन्त्रको पुनः स्थापना भयो । आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्दै अगाडि बढ्ने उद्देश्यअनुरूप नेमकिपाले बहुदलीय व्यवस्थाअन्तर्गतको विभिन्न निर्वाचनहरूको पनि उपयोग ग¥यो । तत्कालीन नगरपालिकाले शैक्षिक स्तरलाई अझ अगाडि बढाउन विद्यालय सहायता कार्यक्रमको लागि बजेट बन्दोबस्त ग¥यो । नगरभित्रका प्रावि, निमावि र माविहरूलाई भौतिक संरचनाहरूको मर्मत सम्भार एवं निर्माणको लागि आर्थिक तथा भौतिक सहयोग पनि गर्दै ग¥यो । प्रजातन्त्र पुनः स्थापनापछिको दोस्रो स्थानीय निर्वाचन २०५४ मा नेमकिपाद्वारा जारी निर्वाचन घोषणापत्रमा नमुना विद्यालयहरू स्थापना गर्ने प्रतिबद्धता उल्लेख थियो । उक्त प्रतिबद्धताअनुसार २०५६ असार ३२ गते भक्तपुर नगरपालिकाको नगर परिषद्ले एउटा ऐतिहासिक निर्णय ग¥यो । उक्त निर्णयमा उल्लेख थियो –
भक्तपुर नगरका विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययन गर्ने अवसर प्रदान गर्न भक्तपुर नगरपालिकाले विद्यालय सक्षमता कार्यक्रमअन्तर्गत उच्च माविको निम्ति छुट्टै रकमको व्यवस्था गरिराखेकोमा प्रमुख प्रेम सुवालको अध्यक्षतामा भएको भक्तपुरका बुद्धिजीवी एवं स्नातकोत्तर उत्तीर्ण महानुभावहरूको बैठकबाट प्राप्त सुझावअनुसार शैक्षिक सत्र २०५६/५७ देखि आर्थिक तथा भौतिक व्यवस्था भ.न.पा.ले गर्ने गरी व्यवस्थापन र विज्ञान विषयको उच्च मावि कक्षा भक्तपुर नगरपालिका आफैले सञ्चालन गर्ने र उक्त कक्षा सञ्चालन गर्नको लागि प्रमुख प्रेम सुवालको अध्यक्षतामा सञ्चालक समिति गठन गर्ने ।
सबै जनताका छोराछोरीहरूलाई कम शुल्कमा गुणस्तरीय शिक्षा दिने, प्राज्ञिक वातावरणमा पठनपाठन गराई अनुशासित नागरिक तयार गर्ने, देशको विकासमा शैक्षिक क्षेत्रबाट योगदान पु¥याउने र भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउनेलगायतका उद्देश्यका साथ २०५६ साउन १६ गतेबाट ख्वप उच्च माध्यमिक विद्यालयको कक्षा सञ्चालन भयो । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी २०५७ फागुन १५ गतेदेखि ख्वप कलेज तथ पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्ध प्राप्त गरी २०५८ असार १८ देखि ख्वप इन्जिनियरिङ कलेज सञ्चालन भयो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले २०५८ माघ २१ गते भक्तपुरको अरनिको सभाभवनमा एउटा महत्वपूर्ण कार्यक्रमको आयोजना गर्नुभयो । भक्तपुर जिल्लालाई पर्यटकीय गन्तव्यस्थल तथा शिक्षा र संस्कृतिको केन्द्र बनाउनेबारे भएको उक्त कार्यक्रममा जिल्लाका जनप्रतिनिधिहरू, शिक्षा तथा सांस्कृतिक क्षेत्रमा आबद्ध महानुभावहरू बुद्धिजीवी, शिक्षक, कर्मचारी विविध क्षेत्रका समाजसेवीको उपस्थितिमा उहाँले भक्तपुरलाई पहिलो साक्षर जिल्ला बनाउने र ‘एक घर एक स्नातक’ बनाउने प्रस्ताव राख्नुभएको थियो । सहभागी सम्पूर्ण महानुभावहरूले उक्त विचारको प्रशंसा गर्दै आ–आफ्नो क्षेत्रबाट सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गरेका थिए । केही सहभागीहरूले ख्वप विश्वविद्यालय स्थापना गर्नुपर्ने चर्चा गर्नुभएको थियो । तत्पश्चात् भक्तपुर नगरपालिकाले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट सम्बन्धन प्राप्त गरी २०६० कार्तिक २८ देखि ख्वप बहुप्राविधिक अध्ययन संस्थान सञ्चालन ग¥यो । त्यस्तै, त्रिभुवन विश्वविद्यालयबाट सम्बन्ध प्राप्त गरी २०६५ भदौ १२ गतेदेखि ख्वप कलेज अफ इन्जिनियरिङ सञ्चालन भयो ।
ख्वप उमावि सञ्चालनलगत्तै ख्वप विश्वविद्यालयको स्थापनाको गृहकार्य सुरु भएको थियो । भक्तपुर नगरपालिका वडा नं. १७ (साबिक) सल्लाघारीस्थित कि.नं. ५४० क्षेत्रफल १०८–२–१–० भएको जग्गा मेडिकल कलेजसहित विश्वविद्यालय सञ्चालनको लागि भक्तपुर नगरपालिकालाई हस्तान्तरण हुनुपर्ने आवाज उठ्न थाल्यो । उक्त जग्गा २०२६ सालमा तत्कालीन राजा महेन्द्रले प्रतिरोपनी रु. २,०००।– का दरले सम्बन्धित जग्गा धनी र मोहीहरूबाट तत्कालीन युवराज वीरेन्द्रको नाममा राजीनामा पारित गरेका थिए । जग्गाको मूल्य तल्सिङलाई रु. १,२००।– र मोहीलाई रु. ८००।– गरी प्रतिरोपनी रु. २,०००।– तोकिएको थियो । त्यतिबेला जनताको विरोधको कुनै सुनुवाइ भएन । त्यसकारण, उक्त जग्गा भक्तपुरवासीहरूले नै उपभोग गर्न पाउनुपर्ने धारणा २०४६ सालको आन्दोलनपश्चात् उठेको थियो । ख्वप उमावि सञ्चालन भएपछि जनप्रतिनिधिहरू त्यो जग्गा प्राप्त गर्न गम्भीरतापूर्वक लागेका थिए । २०५८ जेठ १९ गतेको दरबार हत्याकाण्डपछि र २०६० वैशाख २१ गतेको प्रतिगमनविरुद्ध पाँच दलको आन्दोलन घोषणापछि उक्त कुरा अलि सेलायो । उक्त जग्गा २०६२ असार २१ गते तत्कालीन राजा वीरेन्द्रको नामबाट नारायणहिटी राजदरबारको नाममा नामसारी भयो । २०६४ पुस २२ गते नेपाल ट्रस्ट ऐन २०६४ को प्रमाणीकरणसँगै सो जग्गा नेपाल ट्रस्टको नाममा ल्याइयो । तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्या र निजको परिवारको सम्पत्ति नेपाल सरकार मातहतको नेपाल ट्रस्टको स्वामित्वमा राख्ने निर्णय २०६३ कार्तिक २१ गतेको सात दल र नेकपा माओवादीका शीर्ष नेताहरूको बैठकले गरेको थियो ।
राजपरिवारको उक्त जग्गा नेपाल ट्रस्टको स्वामित्वमा जानुभन्दा अगाडि २०६४ जेठ ९ गते बसेको भनपाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज सञ्चालक समितिले कलेजको लागि माग गर्ने निर्णय गरेको थियो । सो निर्णयअनुसार २०६४ जेठ १० गते ८ दलका शीर्ष नेताहरू समेतलाई बोधार्थसहित प्रधानमन्त्रीको कार्यालयमा पत्र दर्ता भयो । ९ महिना पछाडि २०६४ पुस २२ गते ट्रस्ट ऐन २०६४ प्रमाणीकरण भएकै दिन ट्रस्टका तत्कालीन अध्यक्ष एवं गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई सम्बोधन गरी मेडिकल कलेजसहितको विश्वविद्यालय स्थापनाको लागि जग्गा उपलब्ध गराउने निवेदन परेको थियो । त्यसअघि पटक–पटक मौखिकरूपमा ताकेता गर्ने कार्य पनि हुँदै थियो । तर, हालसम्म सुनुवाइ भएन ।
झन्डै २ वर्षपछाडि २०६६ आश्विन १९ गते नेपाल ट्रस्टले ख्वप इन्जिनियरिङ कलेजलाई एक पत्र पठायो । पत्रमा उल्लेख भएअनुसार २०६६ असोज ६ गते बसेको ट्रस्टको बैठकले आफ्नो स्वामित्वमा रहेको भक्तपुर सल्लाघारीको सो जग्गामा अन्य केही संस्थाहरूले पनि व्यापारिक प्रयोगको लागि भाडामा पाउन माग गरेको हुँदा सम्बन्धित कलेजको राय बुझ्ने निर्णय गरेको थियो । नेपाल ट्रस्टको उक्त पत्र प्राप्त भएपछि २०६६ कार्तिक २० गते ख्वप इन्जिनियरिङ कलेजले त्यस पत्रको प्रतिउत्तर पठायो । प्रतिउत्तरमा भनिएको थियो, “नेपाल ट्रस्ट ऐन २०६४ को दफा ५,२ खण्ड (क) मा विश्वविद्यालय, महाविद्यालयजस्ता शैक्षिक तथा प्राज्ञिक संस्थाहरू खडा गरी सञ्चालन गर्ने वा त्यस्ता संस्था सञ्चालनका लागि अनुदान प्रदान गर्ने र सोही दफाको खण्ड (ख) मा अस्पताल वा स्वास्थ्य चौकीजस्ता सार्वजनिक चिकित्सालयहरू खडा गरी तोकिएबमोजिम सञ्चालन गर्न सकिने भनी स्पष्ट उल्लेख भएकोले मेडिकल कलेजसहितको विश्वविद्यालय सञ्चालन गर्न जग्गा उपलब्ध गराउनुपर्छ । उक्त जग्गा तत्कालीन राजाले भक्तपुरका जनतालाई बाध्य पारी धेरै सस्तोमा खरिद गरेको हुँदा भनपाद्वारा सञ्चालित कलेजहरूकै लागि प्राप्त गर्ने जिल्लावासीहरूको अग्राधिकारसमेत हो ।” पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पनि पठाइएको थियो ।
२०६८ साउन ४ गते सभासद् सुनिल प्रजापति र निर्वाचित मेयर प्रेम सुवालसहितको एक प्रतिनिधिमण्डलले तत्कालीन गृहमन्त्री तथा ट्रस्टका अध्यक्ष कृष्णबहादुर महरासँग पनि उहाँकै कार्यकक्षमा भेट ग¥यो । भेटघाटमा सल्लाघारीस्थित उक्त जग्गा र ख्वप विश्वविद्यालयबारे छलफल भएको थियो । सो अवसरमा मन्त्री महराले आफूले गृह मन्त्रालयको जिम्मेवारी लिनुपूर्व उक्त जग्गा व्यापारिक प्रयोजनको लागि बहालमा दिने निर्णय गरिसकेको बताउँदै आफूले उक्त निर्णय बदल्ने वचनबद्धता प्रकट गरेका थिए ।
यसअघि भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजबाट २०६४ मङ्सिर १४ गते तत्कालीन शिक्षा तथा खेलकुदमन्त्री प्रदिप नेपालसँग ख्वप विश्वविद्यालय विधेयक २०६४ व्यवस्थापिका संसद्बाट पारित गर्नको लागि मस्यौदा पेस गरेको थियो । विश्वविद्यालय अनुदान आयोगको राय लिने मन्त्रीस्तरीय निर्णयपश्चात् २०६४ मङ्सिर २५ गते शिक्षा मन्त्रालयले विश्वविद्यालय अनुदान आयोगमा परिपत्र ग¥यो । एक महिना नबित्दै २०६४ पुस २० गते र २०६४ फागुन २६ गते गरी दुई पटकसम्म विश्वविद्यालय अनुदान आयोगले आफ्नो राय शिक्षा तथा खेलकुद मन्त्रालयमा पठायो । अहिलेसम्म विधेयक पारितको आवश्यक प्रक्रिया अगाडि बढ्न सकेन । प्रदिप नेपालपछि सर्वेन्द्रनाथ शुक्ला शिक्षामन्त्री बने । त्यतिबेला पनि सांसद सुनिल प्रजापति र निर्वाचित प्रमुख प्रेम सुवालसमेतको टोली पुगेर छलफल गरेको थियो । मन्त्री शुक्लाले अब विश्वविद्यालय विधेयक अलग अलग नभई एउटै छाता ऐनको रूपमा आउने विश्वास दिलाएका थिए । २०६८ असार १९ गते जनप्रतिनिधिहरूकै एक टोलीले शिक्षामन्त्री गङ्गाधर तुलाधरसँग भेटेर ख्वप विश्वविद्यालयको विधेयक २०६४ प्रति अत्यन्त सकारात्मक रहेको विधेयक पारित गर्नको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् संविधानसभा सदस्य नारायणमान बिजुक्छेँले औपचारिक तथा अनौपचारिकरूपमा राष्ट्रपति र प्रधानमन्त्रीहरूसँगको भेटघाटमा ख्वप विश्वविद्यालयको विधेयक पारित गर्ने र १०८ रोपनी जग्गा प्राप्त गर्नेबारे छलफल गर्नुभएको थियो । विभिन्न सभा समारोहको साथसाथै व्यवस्थापिका संसद्को बैठकहरूमा पनि समय–समयमा त्यसबारे चर्चा भएका थिए । अन्य केही विश्वविद्यालयका विधेयकहरू पारित भइरहेको छ । तर, ख्वप विश्वविद्यालय विधेयक हालसम्म गर्भमै छ । आशा गरौँ, त्यो विधेयक छिट्टै पारित हुनेछ । मेडिकल कलेजसहितको ख्वप विश्वविद्यालय सञ्चालन हुनेछ ।
(लेखक भक्तपुर नगरपालिकाका पूर्वजननिर्वाचित वडाध्यक्ष हुनुहुन्छ ।)
स्रोत : युनिभर्सिटी, भदौ–असोज, २०६८

Leave a Reply

Your email address will not be published. Required fields are marked *