दललाई सरकारी अनुदान सैद्धान्तिक र व्यवहारिक रूपमा गलत
- जेष्ठ १६, २०८३
समाजका हरेक नागरिकलाई देशभक्तिको भावना जगाउनुपर्छ । हरेक नागरिकलाई सच्चरित्रवान्, नैतिकवान् बनाउन र सही बाटोमा लैजान राजनीतिक कार्यकर्ता, समाजसेवी, शिक्षक, बुद्धिजीवी तथा समाजका अगुवाहरूको महत्वपूर्ण भूमिका हुन्छ । जनताको सांस्कृतिक स्तर उठाउन, नागरिक भावना जगाउन, व्यवहारिक ज्ञान दिन राजनीतिक, शैक्षिक, सामाजिक, बौद्धिक ज्ञान प्रदान गर्नुपर्छ । समाजमा व्याप्त अन्धविश्वास, कुरीति र अन्धपरम्परा हटाउन समाजका परिवर्तनकामी व्यक्तिहरूको ठुलो हात हुन्छ । समाजका अगुवा, समाजसेवी र परिवर्तनकामीहरू पछि परे या क्रियाशील नभए समाज अझ पछि पर्छ । समाज पछि पर्नुको अर्थ परिवर्तन पछि पर्नु हो । यसकारण, समाजमा अगुवा, समाजसेवी, राजनीतिक कार्यकर्ता, उपदेशक, मार्गदर्शक व्यक्तिहरूको खाँचो हुन्छ । समाज आफै बदलिन्छ भनेर सबै मौन रहे समाज अझ धेरै पछाडि पर्छ ।
शिक्षाबिना विज्ञान र प्रविधिको विकास असम्भव हुन्छ । शिक्षाबिना मुलुकको प्रगति गर्न कठिन हुन्छ । यही कारण सबैले उच्च शिक्षा आर्जन गर्न पाउनुपर्छ । यो राज्यको दायित्व हो । राजनीतिक कार्यकर्ता, शिक्षक, बुद्धिजीवी, समाजसेवीहरू जनताका सेवक हुन्†सही मार्ग निर्देश गर्ने मार्गदशक हुन्; सचेतक हुन् । उनीहरू अग्रसर भएनन् भने समाजमा सामन्त, प्रतिक्रियावादी, पुँजीपति, जालीफटाहा, षड्यन्त्रकारी, भ्रष्टाचारी, कमिसनखोरहरूले रजाइँ गरिरहन्छन्† श्रमिकमाथि श्रम शोषण गरेर फाइदा लुटिरहेका हुन्छन् । परिवर्तनको निम्ति अग्रसर हुनुपर्ने राजनीतिक र सामाजिक कार्यकर्ताहरू पद र पैसामा भुलेपछि, व्यक्तिगत स्वार्थमा भुलेपछि समाजको मुहार फेर्न लामो समय लाग्छ । प्रतिष्ठित व्यक्ति र अगुवाहरू समाजका आशाको केन्द्र बनेका हुन्छन् । उनीहरू परिवर्तनका संवाहक हुन्छन् । उनीहरू समाजप्रति जिम्मेवार हुन्छन्† असल व्यक्ति हुन्छन् । कार्यकर्ता, युवा र विद्यार्थीमा देशभक्तिको भावना जगाउनुपर्छ । त्यस्तो काम गर्न सकिएन भने देश जोगाउन र शत्रुविरुद्ध मुकाबिला गर्न कठिन हुन्छ ।
देशका विश्वविद्यालयलाई अनुसन्धान केन्द्र र वैज्ञानिक तयार गर्ने केन्द्रको रूपमा विकास गर्नुपर्छ । सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गर्ने केन्द्रको रूपमा विकास गर्नुपर्छ । उच्च शिक्षा प्राप्त गर्ने केन्द्रको रूपमा विकास गर्नुपर्छ । आखिर समाज निर्माण र क्रान्ति गर्ने मुख्य शक्ति जनता नै हो । जनतालाई क्रान्तिकारी बनाइनुपर्छ । जनतालाई क्रान्तिकारी विचार दिन सकिएन भने, नयाँ पुस्तालाई सचेत पार्न सकिएन भने समाजमा प्रतिक्रियावादी, जालीफटाहा, शोषक, सामन्तहरूले फाइदा लिइरहेका हुन्छन् । त्यसैले नयाँ पुस्तालाई सही बाटो देखाउनु पर्छ† समाजलाई बुद्धिजीवीकरण गर्नेतर्फ पाइला चाल्नुपर्छ । यस काममा शिक्षकहरूको अझ बढी भूमिका हुन्छ । यसैले शिक्षकहरूलाई नदेख्ने क्रान्तिकारी भनिएको हो । यतातर्फ शासकहरूको ध्यान खोइ ? मानिसको विचार बदल्ने बलियो आधार शिक्षा नै हो ।
नेपालको शिक्षा व्यवस्था खस्कँदो छ । स्वदेशी कलेज र विश्वविद्यालयहरू बन्द हुँदै छन् । शिक्षाको गुणस्तर उन्नत पार्ने, शिक्षालाई व्यवहारिक बनाउनेतर्फ सरकार, शिक्षा मन्त्रालय या सरोकारवाला निकायको ध्यान जानुपर्छ । सरकारको ध्यान नपुग्दा, विद्यालयको लागि आवश्यक पूर्वाधार तयार नगर्दा, शैक्षिक सामग्री र भौतिक आधार तयार नगर्दा र शिक्षक पर्याप्त नहुँदा सार्वजनिक विद्यालयको शिक्षाको स्तर घटेको शिक्षाविद्हरूको भनाइ छ । सरकारले सामुदायिक विद्यालयको लागि अरबौँ रकम खर्च गरिरहेको छ । अरबौँ रकम खर्च गरे पनि सामुदायिक विद्यालयको शिक्षा खस्कनु राम्रो सङ्केत होइन । संवैधानिक व्यवस्थाअनुसार न देशमा निःशुल्क शिक्षाको व्यवस्था भएको छ न त अनिवार्य शिक्षा नै राम्ररी लागु भएको छ । राज्यले वैज्ञानिकहरू पनि तयार गर्न सकेको छैन ।
शिक्षकहरू मुलुकको भविष्य उज्यालो पार्ने, नयाँ पुस्तालाई हुर्काउने, हेरविचार गर्ने अज्ञात उद्यमी, परिश्रमी र क्रान्तिकारी हुन् । देश निर्माणमा उदीयमान नयाँ पुस्ताको पनि अहम् भूमिका हुन्छ । नयाँ पुस्ता गलत बाटोमा लाग्यो भने परिवार र समाजमात्र होइन देश नै भताभुङ्ग हुनसक्छ । नयाँ पुस्तामा देश, समाज र जनताप्रति माया भएन भने, देशभक्तिको भावना भएन भने देश एकातिर नयाँ पुस्ता अर्कोतिर हुन्छ । अतः नयाँ पुस्ता तयार गरेर सही मार्गमा लगाउनेतर्फ शासकहरू कम्मर कस्नुपर्छ ।
Leave a Reply