भर्खरै :

इजरायलसँग काँध मिलाइरहेको भारत

इजरायलसँग काँध मिलाइरहेको भारत

गुरेज उपत्यका भारत प्रशासित कश्मिरको विकट कन्दरामा पर्छ । २६ वर्षीय इजाज दार माटो लिपेको काठको घरबाहिर खुइलिएको बेन्चमा बसिरहन्छन् । उनी १२ किलोमिटर पर उभिएका अग्ला पहाडतिर आँखा लगाउँछन् ।
यी पहाडलाई नियन्त्रण रेखा (एलओसी) भनिन्छ । यी पहाडले कश्मिरको विवादित भूमिलाई भारत र पाकिस्तानबिच बाँड्ने सीमारेखाको काम गर्छन् ।
दारको घर यही खतरनाक रेखानजिकै छ । तर, आजभोलि उनको सोच अन्तै छ । सन् २०१९ को एक दिन उनकी काकी घरको भुइँकोठाबाट निस्केर आफ्ना लालाबालाका लागि खाना खोज्न निस्केकी थिइन् । त्यही बेला गस्तीमा आएका सेनाले बाक्लै बमबारी गरे ।
तोपको गोला पड्कियो र सर्वत्र निस्तब्धता छायो ।
दारले शान्तभावमा भने, “काकीको कुनै चिह्न बाँकी रहेन । रेडियोमा युद्धको खबर सुन्यो कि मलाई त्यही घटना याद आउँछ ।”
कश्मिरमा शोकको भावना नयाँ होइन । तर, हालसालै आणविक हतियारयुक्त भारत र पाकिस्तानबिच लडाइँ भएपछि खतराको बादल मडारिँदै छ । खासगरी सीमा क्षेत्रका बासिन्दाहरू हायलकायल छन् ।
यो वर्ष अप्रिल २२ मा भारत प्रशासित कश्मिरको पहलगाम नगरमा साङ्घातिक हमला भयो । २६ जना पर्यटक मारिए । तीमध्ये धेरै हिन्दू धर्मावलम्बी थिए । यो हमलापछि दुई देशबिच तनाव चुलियो ।
एक प्रतिकार समूहले घटनाको जिम्मेवारी लियो । लगत्तै उसले आफ्नो डिजिटल प्लेटफर्मको खाता ह्याक गरिएको जनाउँदै वक्तव्य हटायो ।
हमलाका लागि भारतले पाकिस्तानलाई दोष दियो र जोडदार जवाफ दिने बतायो । पाकिस्तानले हमलामा आफ्नो संलग्नता नभएको जनायो र अन्तर्राष्ट्रिय छानबिनको लागि तयार रहेको बतायो ।
केही दिनपछि भारतले अपरेसन सिन्दुर सुरु ग¥यो । दनादन पाकिस्तानमाथि हवाइ हमला ग¥यो र हमलालाई ‘तनाव नबढाउने’ प्रकृतिको भन्यो ।
अपरेसन सिन्दुरमा प्रयोग गरिएका अधिकतर ड्रोन इजरायलमा निर्मित थिए ।
हारोप एउटा ‘आत्मघाती ड्रोन’ हो । इजरायली एरोस्पेस उद्योग (आइएआइ) ले यसको विकास गरेको थियो । भारतले आक्रमणमा यो ड्रोनको प्रयोग गरेको थियो । आक्रमण गर्नुअघि यो ड्रोन लक्षित स्थलमाथि फन्को मार्छ । हारोपले १० किलोसम्मको बम बोक्न सक्छ र झन्डै ६ घण्टासम्म हावामा उडिरहन सक्छ ।
इजरायलसँग हारोप किनेपछि भारतले यसमाथिको निर्भरता बढाएको छ ।
ओशरित बिरभाडकर रणनीति एवम् सुरक्षाका लागि जेरुसेलम संस्थानका अध्येता हुन् । उनले ‘द टाइम्स अफ इजरायल’ सँग कुराकानी गर्दै भारतले हारोप ड्रोन प्रयोग गर्नुको अर्थ ‘भारतीय रक्षा क्षेत्रमा इजरायलको छाप बढिरहेको’ बुझ्नुपर्ने बताए ।
हालैको चर्काचर्कीमा पाकिस्तानले धेरै ड्रोन समातेको दाबी गरेको छ । डढेका ड्रोनको तस्बिर अनलाइनभरि देख्न सकिन्छ । तर, ती ड्रोन पड्केर डढेका हुन् कि त्यसअघि नै डढेका हुन् भन्ने कुरा स्पष्ट छैन ।
पड्केर उछिटिएको ड्रोनको एउटा टुक्रामा ‘एनर्कोन टेक्नोलोजिज’ को चिह्न पाइएको छ । यो इजरायली रक्षाको ठेक्का लिने कम्पनी हो । यसको कार्यालय अतिक्रमित पश्चिम किनारामा बसोबासी बस्तीस्थित बार्कान औद्योगिक क्षेत्रमा छ । एनर्कोनलाई अहिले अमेरिकी कम्पनी बेल फ्युजले किनेको छ ।
पाकिस्तानले हेरोन ड्रोन पनि खसालेको दाबी गरेको छ । धेरै उचाइबाट निगरानी गर्नका लागि भारतले इजरायलमा बनेको यो ड्रोन प्रयोग गरेको छ ।
भारतले ‘आतङ्ककारी पूर्वाधार’ लाई तारो बनाएको जिरह गरेको छ । यद्यपि, पाकिस्तानले भारतको यो तर्कको खण्डन गरेको छ । उसले भारतीय हमलालाई ‘युद्ध कारबाही’ भनेको छ । सो हमलामा परेर पाकिस्तानका ३१ सर्वसाधारण मारिएका छन् । तीमध्ये कम्तीमा दुई बालबच्चा छन् । ६ स्थानलाई तारो बनाएर गरिएको हमलामा सार्वजनिक स्थान पनि छन् । जस्तो, पन्जाबर पाकिस्तान प्रशासित कश्मिरका मस्जिदहरूमा हमला भएको छ ।
गाजाका अस्पताल, विद्यालय र विस्थापित मानिसले शरण लिइरहेका शिविरहरूमा हमला गर्दै इजरायलले पनि भारतकै जस्तो ‘स्पष्टीकरण’ दिने गरेको छ । भारत र इजरायलको भाषा एउटै छ ।
आजाद इसा ‘आक्रामक मातृभूमि ः भारत र इजरायलबिच नयाँ साँठगाँठ’ पुस्तकका लेखक हुन् । उनले लेखे, “लगातार ड्रोनहरूको कर्कश आवाज सुन्दा कश्मिरीहरूलाई आफूमाथि निरन्तर निगरानी गरिएको बुझ्छन् । एउटा गलत पाइला चाल्यो कि तिनीहरू मारिन सक्छन् ।”
भारतमा अहिले दक्षिणपन्थी सरकार छ । उसको लागि इजरायल एक आपूर्तिकर्ता देश मात्र होइन । भारतको दक्षिणपन्थी सरकारका लागि इजरायल एउटा मोडल हो । भारतका लागि इजरायल भूमि कब्जालाई संस्थागत गरिसकेको र जातिभेदलाई सामान्य तुल्याइसकेको एक आदर्श राज्य हो ।
इजरायलले निर्यात गरेका निगरानी र सैन्य सामग्री अहिले भारतका नियन्त्रणकारी औजार बनेका छन् ।
हारोप ड्रोनबाहेक भारतले अहिले इजरायलमै बनेको बाराक–८ मिसाइल प्रतिरक्षा प्रणाली पनि प्रयोग गर्दै छ । खासगरी सम्भावित प्रत्याक्रमणको जानकारी राख्न यसलाई सीमा क्षेत्रमा तैनाथ गरिएको छ ।
इजरायली एरोस्पेस उद्योग र भारतको रक्षा अनुसन्धान तथा विकास संस्था (डीआरडीओ) ले मिलेर विकास गरेको बाराक–८ ले पछिल्लो चर्काचर्कीमा हवाइ खतरा कम गर्न उल्लेख्य भूमिका खेलेको छ । अध्ययनहरूले यसको पुष्टि गरिसकेका छन् ।
पछिल्लो भारत–पाकिस्तान लडाइँबाट भारतको सैन्यतन्त्रमा इजरायली हतियारले जरा गाडिसकेको प्रस्ट देखिन्छ ।
घिनलाग्दो साँठगाँठ भारत र युक्रेन विश्वका दुई ठूला हतियार आयातकर्ता देश हुन् ।
पछिल्ला वर्षहरूमा भारत हतियार खरिदका लागि इजरायलनिर्भर बनेको छ । सन् २००१–२०२१ बिच भारतले ४ अर्ब २० करोड डलर बराबरको इजरायली हतियार खरिद गरेको छ ।
गाजामा चालु जातिसंहारमा समेत भारतले इजरायलप्रति समर्थन बढाउँदै लगेको छ । सन् २०२४ मे महिनामा स्पेनले २७ टन विस्फोटक पदार्थ बोकेको मरिन डानिका नामक जहाजलाई आफ्नो बन्दरगाहमा रोक्न दिएन । त्यो हतियारबद्ध जहाज इजरायली बन्दरगाह हाइफा जाँदै थियो । त्यो कार्गो जहाज आएको थियो भारतको चेन्नइ सहरबाट । यो घटनाबाट भारतले हतियार खरिद गरेको मात्र होइन, पैठारी पनि गरिरहेको उजागर भयो ।
इजरायली र भारतीय उद्योगपतिहरूको संयुक्त लगानी रहेको ‘अदानी–एलबिट एडभान्स्ड सिस्टम इन्डिया’, ‘प्रिमियर एक्सप्लोसिभ्स’ र सरकारी कम्पनी ‘म्युनिसन्स इन्डिया’ अहिले भारतको हतियार व्यापारका अग्रणी कम्पनी हुन् । गाजामा इजरायलले जातिसंहार चलाइरहँदा ‘भारतमा निर्मित’ ट्याग लागेका मिसाइलका टुक्रा फेला परेका छन् गाजामा । नुसरत शरणार्थी शिविरमा रहेको राष्ट्रसङ्घको शरणस्थलमा बमबारी हुँदा भेटिएका भग्नावशेषमा यस्तै टुक्रा भेटिएका थिए ।
भारतीय हतियारको आपूर्ति इजरायलका लागि निकै महत्वपूर्ण छ । केही पश्चिमा देशका सरकारलाई इजरायलमा सैनिक सहयोग नपठाउन जनताले तीव्र दबाब दिँदै छ । यस्तो बेला भारत स्थायी र अल्प नियन्त्रित साझेदार बन्दै छ इजरायलको लागि ।
यही अवधिमा इजरायलले पनि लगातार भारतलाई सैन्य सामग्री निर्यात गरिरहेको छ । अन्य देशमा हतियार पठाउनमा ढिलाइ भइरहे तापनि भारतले स्थिर रूपमा हतियार पाइरहेको छ ।
गोप्य साँठगाँठदेखि सार्वजनिक अङ्कमालसम्म
भारत र इजरायलबिचको सैन्य सम्बन्ध सधैँ खुला थिएन ।
प्यालेस्टिनप्रति ऐक्यबद्धता जनाउँदै भारतले दशकौँदेखि इजरायलसँग औपचारिक सम्बन्ध राख्न चाहेन । सन् १९४७ मा संयुक्त राष्ट्रसङ्घले प्यालेस्टिन विभाजनको प्रस्ताव राख्दा भारतले विरोध जनाएको थियो । साथै, प्यालेस्टिन मुक्ति सङ्गठनलाई औपचारिक मान्यता दिने सुरुका देशमा भारत पनि पर्छ ।
सन् १९७५ मा राष्ट्रसङ्घको महासभामा ‘इजरायलको सरकारी विचारधारा यहुदीवाद जातिवादकै एक रूप हो’ भनी किटान गर्ने प्रस्तावलाई भारतले सदर गरेको थियो ।
प्यालेस्टिनजस्तै भारत पनि बेलायती उपनिवेश थियो । बेलायती शासनको मार भारतले पनि भोग्दै छ । स्वतन्त्रता प्राप्त गरेपछि भारतलाई उपनिवेशवादबाट भर्खर मुक्त भएका देशहरूले नेताको रूपमा हेरेका थिए । असंलग्न आन्दोलनमा पनि भारतले अग्रणी भूमिका खेलेको थियो । शीतयुद्धको बेला यो आन्दोलनले तटस्थताको वकालत गरेको थियो ।
महात्मा गान्धी र जवाहरलाल नेहरू भारतीय स्वतन्त्रता सङ्घर्षका मुख्य व्यक्तित्व थिए । उनीहरूले यहुदीवादलाई उपनिवेशवादविरोधी कोणबाट हेर्थे । गान्धीले कुनै बेला भनेका थिए, “इङ्गल्यान्ड अङ्ग्रेजहरूको र फ्रान्स फ्रान्सेलीहरूको भए जस्तै प्यालेस्टिन अरबीहरूको हो ।”
दशकौँसम्म कूटनीतिक दूरी राखे पनि भारतले इजरायलसँग भित्रभित्रै हतियार खरिद गरिरहेको थियो । सन् १९६२ को भारत–चीन युद्धमा इजरायलले भारतलाई हतियार आपूर्ति गरिरहेको थियो । त्यसबेला इजरायली हतियार पैठारी गर्ने जहाजमा इजरायली झन्डा टाढैबाट देखिने गरी फहराउनुपर्छ भनेर सर्त राखेको थियो ।
सन् १९९९ मा पाकिस्तानसँग भारतको कार्गिल युद्ध भयो । त्यसबेला इजरायलले तुरुन्तै ड्रोन प्रणाली र लेजर निर्देशित बमहरू दिएको थियो । लडाइँमा यी सामग्री भारतका लागि निर्णायक साबित भएका थिए ।
शीययुद्धको समाप्तिसँगै सन् १९९२ मा भारतले इजरायलसँग औपचारिक सम्बन्ध स्थापित ग¥यो । यसपछि भारत संरा अमेरिकासँग घनिष्ट भयो । भारतीय नेताहरूले छिट्टै बुझिहाले – वासिङ्टन जाने बाटो तेल अभिभ हुँदै जान्छ ।
वैचारिक घनिष्टता
नरेन्द्र मोदीको कार्यकालमा भारत–इजरायल सम्बन्धले छुट्टै विचारधारात्मक लय समात्यो । मोदी इजरायल भ्रमण गर्ने प्रथम भारतीय प्रधानमन्त्री बने । उनले सन् २०१७ मा इजरायल गएका थिए ।
मोदीको भारतीय जनता पार्टी (बीजेपी) ले इजरायलको जातीय वा राष्ट्रवादी राजनीतिमा आफ्नै विचारको प्रतिविम्ब पाए । पुरानो प्यालेस्टिनमा यहुदी ‘गृहभूमि’ निर्माण गर्ने यहुदीवादी दृष्टिकोण हिन्दू राष्ट्रवादी विचारधारा अथवा हिन्दूत्वको पनि मोडल बन्यो । हिन्दूत्वले अहिले भारतमा पनि हिन्दू सर्वोच्चतामा आधारित राष्ट्र स्थापना गर्नुपर्ने विचारको वकालत गर्दै छ ।
यो वैचारिक घनिष्टता कागजमा मात्र सीमित छैन ।
सन् २०१९ मा भारतीय कूटनीतिज्ञ सन्दीप चक्रवर्तीले कश्मिरमा हिन्दु बसोबासी बस्ती फैलाउनुपर्ने प्रस्ताव राखेका थिए । पश्चिम किनारमा इजरायली बसोबासीहरूकै नक्कल गर्नुपर्ने विचार हो यो । भारतीय वैज्ञानिक आनन्द रङ्गनाथनले गत वर्ष कश्मिर समस्याको ‘इजरायलको जस्तो’ समाधान निकाल्न आह्वान गरेका थिए ।
सन् २०१९ मा भारतले कश्मिरको सीमित स्वायत्तता पनि खोस्यो । सन् २०२२ मा भारतीय अधिकारीहरूले ८० हजारभन्दा बढी स्थानीय बसोबासीहरूलाई घर बनाउने अनुमति जारी ग¥यो । प्यालेस्टिनमा इजरायली बसोबासी विस्तार गर्न इजरायलले पनि यस्तै अनुमति जारी गर्दै आएको छ ।
दिल्ली विश्वविद्यालयका हिन्दी भाषाका प्रोफेसर अपूर्वानन्दले यसबारे भने, “हिन्दूत्वले प्यालेस्टिनमा इजरायलले अपनाइरहेको विधिको प्रशंसा गर्छ र कश्मिरका मुस्लिमहरूसँगको सम्बन्धमा इजरायली विधिलाई पथप्रदर्शक मान्छ ।”
पहलगाम आक्रमणपछि भारतीय सेनाले २ हजारभन्दा बढी मानिसलाई पक्राउ गरेको छ । सेनाले आक्रमणमा संलग्न लडाकुहरूका पारिवारिक घरहरू ध्वस्त पारेको छ ।
विचारका लागि हतियारको यो सम्बन्धको केन्द्रमा अदानी समूह छ । यो समूहका मालिक अर्बपति गौतम अदानी हुन् । उनी भारतकै दोस्रा ठुला धनकुवेर हुन् । नरेन्द्र मोदीसँग उनको घनिष्ट सम्बन्ध छ ।
सन् २०१८ मा अदानीले इजरायलको एल्बिट समूहसँग मिलेर ड्रोन निर्माण गर्ने कम्पनी खोले । यसको उद्योग भारतको हैदराबादमा छ । सन् २०२४ को आरम्भसम्ममा यो कम्पनीले इजरायलमा २० वटा हेर्मिज–९०० ड्रोन आपूर्ति गरेको खबर छ ।
अदानी समूहले हाइफाका धेरै बन्दरगाह हातमा लिइसकेका छन् ।
अदानीको कम्पनीले मोदी सरकारबाट धेरै नीतिगत लाभ लिएको छ । मोदी सरकारले अदानीको लाभका लागि सरकारी नीति फेरबदल गरेको छ । प्यालेस्टिनी जनताविरुद्ध जातिसंहार मच्चाउन अदानीले उत्पादन गरेका ड्रोनको प्रयोग गरिएको समाचार छ ।
संरा अमेरिकाको मध्यस्थतामा मे १० गते भारत–पाकिस्तान सङ्कटमा विराम लाग्यो ।
सम्झौता भइसके पनि भारत–पाकिस्तान सम्बन्ध निकै अस्थिर छ । मोदीले पाकिस्तानविरुद्ध अपरेसन सिन्दुर बन्द भइनसकेको जनाएका छन् । भारतीय सेनाले बेलाबेला तयारी परेड जारी राखेको छ ।
पाकिस्तानले पछिल्लो सम्झौतालाई सम्मान गर्ने जनाएको छ । उसले थप रक्तपात र जीवनको क्षति रोक्ने इच्छा जाहेर गरेको छ । तर गाजाको स्थिति अर्कै छ । त्यहाँ बेरोकतोक इजरायलको जातिसंहार चलिरहेको छ । जातिसंहार रोकिने छाँट छैन ।
(लेखक भारतका पत्रकार हुन् । उनी दिल्लीमा बस्छन् । स्रोत :इलेक्ट्रोनिक इन्तिफादा । सम्यक।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *