भर्खरै :

यस्तो सहरमा बस्न पाए पो !

  • जेष्ठ २८, २०८२
  • चेतनाथ आचार्य
  • विचार
यस्तो सहरमा बस्न पाए पो !

पेइचिङ डायरी
सहर भनेको अग्ला भवन र चिल्ला सडकले ढाकेको कङ्क्रिट स्थल मात्र होइन । सहर हुन सभ्यता पनि जरूरी छ ।
बाहिरबाट आउने व्यक्तिले सोचोस् – आहा कस्तो राम्रो सहर ¤ यस्तो सहरमा बस्न पाए पो !
विकाससँगै वातावरण प्रदूषण पनि हुन्छ । त्यसैले संयुक्त राष्ट्र सङ्घले दिगो विकासका एजेन्डा– २०३० निर्धारण गरेको हो । यसमा हरित विकासलाई जोड दिइएको छ ।
वातावरण संरक्षण गर्दै सहरी सौन्दर्य कायम राख्नु सहरी विकासको मुख्य उद्देश्य हो । सहरी सौन्दर्यमा छुटाउने नहुने एउटा विषय हो सार्वजनिक उद्यान अर्थात् पार्क ।
काठमाडौँ उपत्यका पुरानो सभ्यता बोकेको सहर हो । केही दशक अगाडिसम्म काठमाडौँ उपत्यकामा सयौँ ढुङ्गेधारा र थुप्रै सार्वजनिक पार्क थिए । ‘लोभीपापी’ हरूको हातमा डाडुपन्यु पुगेपछि ती ठाउँमा व्यावसायिक भवन ठडिए । तिनको संरक्षण गर्न हामीले सकेनौँ ।
यही सन्दर्भमा नेपालको छिमेकी मुलुक चीनको राजधानी पेइचिङमा भएका सार्वजनिक पार्कहरूको संरक्षण र प्रवद्र्धनले हामीलाई धेरै कुराको ज्ञान र अनुभव दिन सक्छ । हाम्रा मेयर र सहरी विकासका अधिकारीहरूले पनि बारम्बार चीन भ्रमण गर्दा यस्ता पार्क देखेका पनि छन् ।
पेइचिङका पार्कहरू मनोरञ्जनका लागि मात्र होइनन् । त्यहाँ परम्परागत चिनियाँ चालचलनदेखि सांस्कृतिक प्रदर्शनको पनि अनुभव गर्न सकिन्छ । स्थानीय जीवनशैली कस्तो छ भनेर थाहा पाउने राम्रो स्रोत सार्वजनिक पार्क नै हो । सहरको कोलाहल र भिडभाडको अत्यास घटाएर शान्त वातावरण दिने यस्ता पार्कले मानव समाजको इतिहासदेखि वर्तमानसम्मको झलक बोकेका हुन्छन् ।
पेइचिङ नगरपालिकाको वेबसाइटमा उल्लेख भएअनुसार हाल पेइचिङमा एक हजार ६५ वटा पार्क छन् । यी पार्कले पेइचिङको सौन्दर्य थप उजागर गर्दै पर्यावरणीय संरक्षणमा उल्लेख्य योगदान दिएका छन् । पेइचिङ सहर ४४.९५ प्रतिशतमा वनस्पति उद्यानले ढाकिएको सो वेबसाइटमा उल्लेख छ ।
पेइचिङले पछिल्ला वर्षमा ६६६.६६ वर्ग किलोमिटर क्षेत्रफलमा दुई चरणका हरित परियोजनाहरू पूरा गरेको छ । समतल क्षेत्रमा ४० वनस्पति सिमसार क्षेत्र छन् । ती सिमसार क्षेत्र प्रत्येकले ६.६६ वर्ग किलोमिटरभन्दा बढी क्षेत्रफल ओगटेका छन् ।

विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको राजधानी सहरमध्ये एकमा पर्ने पेइचिङको जीवनशैली निकै जटिल छ । मानिसहरूमा निकै ठुलो दबाब र व्यस्तता देखिन्छ ।
हामी नेपालीहरू  राजधानी काठमाडौँलाई सराप्न पनि छोड्दैनौँ अनि काठमाडौँ छोडेर मोफसलको जीवनमा भिज्न पनि सक्दैनौँ । पेइचिङको जीवनशैली पनि त्यस्तै छ ।

अत्यन्त महँगो घरभाडा, बढ्दो बेरोजगारी, प्रदूषणको मार आदि समस्या पेइचिङमा भए पनि बाहिरी प्रान्तबाट आएका मान्छे यहीँ च्यापिएर बस्न चाहन्छन् । किनभने, पेइचिङ चीनको राजधानी मात्र नभएर सांस्कृतिक र ऐतिहासिक सहर पनि हो ।

यहाँ ठुला नामी विश्वविद्यालय, विभिन्न बहुराष्ट्रिय कम्पनी, १७५ वटाभन्दा बढी देशका कूटनीतिक नियोग, संसारभर जोड्ने दुइटा विशाल विमानस्थल, चीनभरि फैलिएका उच्च गतिका रेलमार्गको हब, अत्याधुनिक सुविधा आदिले पेइचिङप्रति चिनियाँहरू झुम्मिने गर्छन् ।

काठमाडौँले नेपालभरका युवालाई बल्छी हानेर अल्झाए जस्तै पेइचिङले चीनभरिका मान्छेलाई तान्छ ।

पेइचिङका स्थायी बासिन्दा साढे दुई करोडमात्र भए पनि यहाँको जनसङ्ख्या ३ करोडभन्दा माथि छ । विशाल जनसङ्ख्याको चापमा पेइचिङको दैनिक जीवन निकै गन्जागोल र उतारचढावमा रूमलिएको छ ।

महँगो सहर, सहरी जीवनको जटिलता, रोजगारी पाउन कठिन, पेइचिङ बस्न सरकारले लागु गर्ने कडा नीति, असीमित आकाङ्क्षा अनि बढ्दो आवश्यकताले गर्दा मानिसहरू उकुसमुकुस जीवन जिउन बाध्य हुन्छन् ।
जीवनयात्रामा यस्ता नियमित दबाब सन्तुलनमा राख्दै स्वस्थ र शान्त जीवन जिउन सार्वजनिक पार्क अपरिहार्य स्थल बन्छ । त्यसकारण, पेइचिङका पार्कहरूमा पेइचिङको जीवन देखिन्छ ।
यहाँ पेइचिङको वर्तमान समाजसँगै पुरानो संस्कृति र वर्तमान फेसनसम्म भेटिन्छ । वयोवृद्ध व्यक्तिहरूको भेट्ने स्थल, गीत घन्काएर नाचगान गर्ने सङ्गम, कुकुर डो¥याउने उद्यान, प्रभातफेरीको उत्कृष्ट टत्याक र खेलकुदमा भुलिने ठाउँ नै पेइचिङका पार्क हुन् ।

टिकटक बनाउनेदेखि ब्याडमिन्टन, टेबलटेनिस, बास्केटबललगायत खेलहरूमा पसिना निकाल्न पनि यहाँ मानिसहरू झुम्मिन्छन् ।
पेइचिङका पार्कमा टहलिँदा लाग्छ, ती पार्क ज्येष्ठ नागरिकका लागि बनाएका हुन् । पार्कमा भेटिने अधिकांश मानिस सेवानिवृत्त भएकाहरू हुन्छन् ।

एक सन्तानको पुरानो चिनियाँ नीतिले गर्दा अधिकांश ज्येष्ठ नागरिकहरू एक्लो जीवन जिउन बाध्य छन् । छोराछोरी जीवन निर्वाह गर्ने क्रममा घरबाट निकै टाढा पुगिसकेका छन् । यो उमेरमा साथ दिने व्यक्ति भनेकै जीवनसाथी हो । त्यसैले, पार्कमा प्रायः वृद्ध जोडी भेटिन्छन् ।
दुर्भाग्यवश जोडी परमधाम भइसकेपछिको जीवन अझ भयङ्कर र निरास हुनु स्वाभाविक भयो ।
खेतका ग¥हाजस्ता अनुहार र हिमालजस्ता कपाल भएका व्यक्तिका लागि बिहानदेखि बेलुकासम्मको समय बिताउने सर्वोत्कृष्ट स्थल हो पार्क ।
युवा पुस्ता अध्ययन वा रोजगारीमा व्यस्त हुने भएकोले पार्कमा जान उनीहरूले सार्वजनिक बिदा कुर्नुपर्छ । फेरि युवाका लागि भेटघाट गर्ने ठाउँ रेस्टुरेन्ट हुने भएकोले उनीहरूले पार्कमा भेटेर कुराकानी गर्ने चलन अलि कम छ । त्यसैले, यस्ता पार्कहरू उमेर ढल्किएका व्यक्तिहरूकै लागि बनाइएका हुन्भन्दा अत्युक्ति नहोला ।

ती पाका व्यक्तिका साथमा कि कुकुर हुन्छन् कि शिशु कक्षा भर्ना नभएका नातिनातिना ।
पार्कहरू मनको बह बिसाउने स्थल, एक्लोपन र निराशा भगाउने ठाउँ अनि समय कटाउने बहाना हुन् । वृद्ध अवस्थामा पुगेका नागरिकहरू कुकुर डो¥याएर टहलिन पार्क नै रोज्छन् । साँझको खाना खाएर व्यायाम र कसरत गर्ने त्यही पार्कमै हो । पारिलो घाम ताप्दै म्याहच्याङ र तास खेल्दै हाँसो साट्ने स्थल पनि त्यही पार्क हो ।
पार्कमा बनाइएका फलामे र काठका कुर्सीमा बसेर सूर्यमुखी फूलका बियाँ उक्काउँदै खाने बुढी आमाहरूको समय कटाउने स्थल पनि त्यही पार्क हो । समूह बनाएर एउटै पोशाकमा नृत्य गर्ने र विभिन्न प्रतियोगिता हुने स्थल पनि त्यही पार्क हो ।
जीवन भारी भएपछि मान्छेले आफ्नै हेरचाह गर्न सक्दैन । त्यस्तो बेला सरकारले ती नागरिकको चाहना पूरा गर्नुपर्ने दायित्व हुन्छ । नागरिकप्रतिको दायित्व निर्वाह गर्नु सरकारका लागि सबभन्दा महत्वपूर्ण र प्राथमिकतामा पर्छ ।
पेइचिङका पार्कहरू पर्यावरणमैत्री पनि छन् । पार्क हरियाली बनाउन व्यापक वृक्षरोपण गरिएको छ । झपक्क रूखका छहारीमा टहलिने र खेल्ने व्यक्तिले पनि आनन्द महसुस गर्न सक्छ । यी पार्क पुग्दा पेइचिङले दिगो विकासलाई सार्थक बनाइरहेको छ भन्ने प्रत्याभूति हुन्छ ।
पार्कको संरक्षण र सजावट हेर्दा वातावरण संरक्षणलाई उच्च ध्यान दिइएको पाइन्छ । केही पाइलाको फरकमा फोहोर फाल्ने भाँडाहरू अनि ठाउँ–ठाउँमा सफा सार्वजनिक शौचालयको व्यवस्था छ । कहीँकतै प्लास्टिक तथा अन्य फोहोर हुँदैन ।
वृद्धवृद्धा चिप्लिएर नलडून् भनेर हिँड्ने ट्रयाक विशेष तरिकाले बनाइएको हुन्छ । यस्ता ट्रयाकमा रातो रङको एक प्रकारको खस्रोपन आउने वा साना रोडाजस्तो वस्तुले ढाकिएको हुन्छ ।
जोकोहीले पार्कमा आफ्नो स्वास्थ्यबारे थाहा पाऊन् भनेर पार्क स्मार्ट बनाइएको छ । विभिन्न ठाउँमा राखिएका डिजिटल डिस्प्ले बोर्डमा अनुहार देखाएर आफ्नो मोबाइल फोन नम्बर राखेपछि आफ्नो विवरण दर्ता गर्न सकिन्छ ।
यसमा आफ्नो तौल, उचाइ, उमेरजस्ता जानकारी राखेपछि दैनिक कति पाइला हिँडेको, कति क्यालोरी ऊर्जा खर्च भएको, कति कसरत गरेको जस्ता कुराहरू हरेक दिन त्यहाँ पुगेर अनुहार देखाउनासाथ स्क्रिनमा डिस्प्ले हुन्छ । पार्कको प्रवेश बिन्दु र निस्किने बिन्दुमा आफ्नो अनुहार देखाएपछि सबै कुरा स्वचालितरूपमा देखिन्छ ।
कसरत गर्न पनि डिजिटल स्मार्ट उपकरण जडान गरिएको छ । पुसअपदेखि पुलअफसम्म, स्किपिङदेखि साइक्लिङसम्म, तौल उचाल्नेदेखि नृत्य गर्नेसम्म सबै स्क्रिनमा हेर्दै गर्दा रमाइलो महसुस हुन्छ ।
स्क्रिनमा आफ्नो स्तर कहाँनेर छ, आफूभन्दा अगाडि कति जना मान्छे छन्, हिजो र आजको आफ्नो कसरतमा के कति फरक छ जस्ता कुराको जानकारी पनि आउने हुनाले कसरत गर्नेलाई उत्साह पनि थपिन्छ ।
पेइचिङ घुम्दा सहरी सभ्यताको राम्रो आभास पाइन्छ । सडकको बिच भाग तथा दुई किनारमा फुलेका फूलहरू, पार्कभित्र सजाइएका फलफूलका बगैँचा, सरसफाइ, शौचालयको व्यवस्था, रात्रिकालीन बत्तीको झिलिमिली, ठाउँ–ठाउँमा भएका आकस्मिक आरामकक्ष (इमर्जेन्सी सेल्टर), सडकबत्ती, जेब्राक्रसिङ, व्यवस्थित सार्वजनिक यातायात आदि कुराले सहरी सभ्यता दर्साउँछ ।
के हाम्रो सङ्घीय राजधानी काठमाडौँसँग यस्तो सहरी सभ्यता छ ?
भीड र कोलाहलबाट केहीबेर छलिने ठाउँ हामीसँग कति छ ?
आठ–दस जना दौँतरी भेला भएर निस्फिक्री गफ गर्ने र मन हलुका बनाउने ठाउँ कता छ ?
हाम्रा सङ्घीय, प्रदेश तथा पालिका सरकारले आफ्ना नागरिकको स्वास्थ्यका लागि यस्ता प्रयत्न गरेका छन् ?
विकास भनेको कङ्क्रिट र भौतिक पूर्वाधारमात्र होइन । यसमा नागरिकका न्यूनतम सुविधा, मनोञ्जन, स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, सहरी सौन्दर्य, सबैमा दायित्वबोधजस्ता कुरा पनि हुनुपर्छ । अनि बल्ल सहरी सभ्यता हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *