भर्खरै :

राजनीति अकुत सम्पत्ति कमाउन होइन

हरेक दिनजसो नेपाली सञ्चारमाध्यममा उच्चपदस्थ व्यक्तिहरूले भ्रष्टाचार, अनियमितता र घुस खाएको समाचार आइरहेको देख्दा, सुन्दा र पढ्दा नेपाल साँच्चिकै भ्रष्टाचार र अनियमिततामा डुबेको देश हो कि जस्तो लाग्छ । उच्चपदस्थ अधिकारीदेखि नेता, मन्त्री, सांसद र जनप्रतिनिधिहरू भ्रष्टाचार र अनियमिततामा फसिरहेको घटनाको आधारमा ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपाललाई भ्रष्टाचार बढी हुने देशको सूचीमा राखेको हो । जेठ २७ गते प्रकाशित ‘नेपाल समाचारपत्र’ दैनिकमा ‘नेपाल बैङ्कका तत्कालीन अध्यक्ष अधिकारीले यसरी बुझेका थिए ७४ लाख घुस’ शीर्षकको समाचार छापियो । बैङ्कका तत्कालीन अध्यक्ष चन्द्रबहादुर अधिकारीले तनहुँ आँबु खैरनीमा रहेको अकलादेवी टे«डर्सको ऋण प्रक्रियामा घुसबापत रू. ५० लाख, हिमाल तराई कन्ट्रक्सनबाट ५ लाख र रूपन्देहीको सिद्धार्थनगर बेलहियामा रहेको ¥याडिसन प्रोजेक्टबाट ऋण मिलाइदिएबापत १९ लाख रूपैयाँ घुस लिएको फेला परेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ । त्यस्तै आयोगले काठमाडौँ महानगरपालिकाका तत्कालीन उपनिर्देशक इन्जिनियर रामबाबु महतो कोइरीले अनियमितता गरी ४ करोड ५८ लाख ९७ हजार ४ सय ३ रूपैयाँ आम्दानी गरेको जनाएको छ । ई. कोइरीले २३ वर्षको अवधिमा विभिन्न जिम्मेवारीमा रहँदा पदको दुरूपयोग गरी सम्पत्ति जोडेको जनाइएको छ ।
जेठ २८ गतेको सोही पत्रिकामा ‘एमालेका मधेस प्रदेश सांसद ठाकुरसहित १७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा’ शीर्षकको अर्को समाचार छापियो । समाचारमा आयोगले धनुषाको औरही गाउँपालिकामा अस्पताल निर्माणको क्रममा अनियमितता भएको अभियोग लगाई मधेस प्रदेश सांसद दीपेन्द्र ठाकुर तथा गाउँपालिकाका तत्कालीन अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित १७ जना र एक कम्पनीविरूद्ध भ्रष्टाचारको मुद्दा राखेको हो । प्रदेश सांसद ठाकुरलाई ठेकेदारको रूपमा मुद्दा दायर गरिएको हो । उनी सत्तासीन एमाले मधेस प्रदेश संसदीय दलका उपनेता हुन् । यसरी सत्तासीन दलका नेता, मन्त्री, सांसदहरू कुनै न कुनै भ्रष्टाचार, अनियमितता र घुस प्रकरणमा फसेको घटनाले उनीहरू इमानदार या स्वच्छ छविको नभएको प्रस्ट हुन्छ । यसले उनीहरू राजनीतिमा आउनुको कारण पदको दुरूपयोग गरी जसरी भए पनि अकुत सम्पत्ति कमाउनु रहेछ भन्ने थाहा हुन्छ । अकुत सम्पत्ति कमाउनकै निम्ति राजनीति गर्ने मन्त्री र सांसदहरूले देश र जनताको सेवा गर्लान् भन्ने विश्वास कसरी गर्ने ?
यसैबिच वाग्मती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको नेसनल नमोबुद्ध र सुमेरू ऋण सहकारीमा भएको आर्थिक अनियमितताको छानबिनको लागि बाटो खुलेको छ । मन्त्रालयले छानबिन समिति गठन गरेपछि त्यसलाई रोक्न नमोबुद्ध र सुमेरूले रिट निवेदन दिएको थियो । उक्त रिट अदालतले खारेज गरेपछि छानबिन गर्न बाटो खुलेको हो । हरेकजसो सरकारी तथा गैरसरकारी सङ्घ संस्थामा भ्रष्टाचार र अनियमितता हुनुमा शासकहरू नै दोषी छन् । पार्टी र सरकारको नेतृत्व गर्ने शासकहरू इमानदार नहुँदा, देश र जनताप्रति जिम्मेवार नहुँदा भ्रष्टाचार र अनियमितताले मल जल पाएको हो । पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने नेताहरूको हातमा सरकारको नेतृत्व रहेसम्म भ्रष्टाचार र अनियमितता अन्त्य हुनेछैन । भ्रष्टाचार र अनियमितता पुँजीवादी व्यवस्थाको छाया त्यसै भनिएको होइन ।
दुई ठुला दलको नेतृत्वमा सरकार बनेपछि विकास गाउँ गाउँसम्म पुग्नुपर्ने हो† ठाउँ–ठाउँका जनताले रोजगारीको अवसर पाउनुपर्ने हो । भ्रष्टाचार र अनियमितता नहुनुपर्ने हो । सहकारीमा अनियमितता, उद्योग, कलकारखाना बन्द, स्कूल–कलेज बन्द, विकास योजनामा चुहावट र पदको दुरूपयोग गरी अकुत सम्पत्ति कुम्ल्याउने आदि सबै काम देशविरोधी र जनविरोधी हुन् । युवाको विदेश पलायन, विदेशी ऋणमुखी बजेट, देशलाई परनिर्भर बनाइरहने सरकारको कार्यशैलीले नेपाल समृद्ध बन्दैन । जुनसुकै दलको नेतृत्वमा सरकार गठन भए पनि कुनै पनि सरकारले उदाहरणीय काम गरेको छैन† गर्न सकेको छैन । यसले प्रस्ट हुन्छ, हालसम्मको सरकार बहुमत जनताको पक्षमा छैन; बहुमत जनताको हितमा काम गरेको छैन ।
शासकहरू सिद्धान्त र विचारको आधारमा राजनीति गर्दैनन् । राजनीति भागबन्डाको आधारमा चलेको हुन्छ । दल र दलका नेताहरू अवसरवादी हुन्छन् । अवसर मिल्यो कि सिद्धान्त र विचारको राजनीति भुल्छन् । पद र पैसाको आधारमा चलेको राजनीतिले देशलाई दिशा निर्देश गर्दैन । दिशाहीन राजनीतिले देश दुर्घटनामा पर्छ या गति दिन सक्दैन । साना दललाई पेल्ने, साना दललाई उठ्न नदिने र दुईदलीय तानाशाही लाद्ने सरकारको नियत न प्रजातान्त्रिक छ न त न्यायोचित नै छ । शासकहरू सैद्धान्तिक र वैचारिकभन्दा मनोगतवादी विचारबाट ग्रसित छन् । उनीहरू सरकारको नेतृत्व गर्न, आफ्ना अपराधीहरूलाई मुक्त गर्न या मुद्दा नचलाउने पक्षमा एकमत हुन्छन् । आफ्ना मान्छेहरू पनि मुद्दामा फस्लान् कि भनेर तुरून्तै विपक्षी दलका नेताहरू शासक दलसँग मिल्छन् ।
शासकहरूमा दृढ अडान छैन । सरकारको स्पष्ट दृष्टिकोण छैन । सत्तासीन दलका नेताले एकथरी र अर्को सत्तासीन दलका नेताले अर्को थरीको कुरा फलाक्छन् । कुण्ड कुण्ड पानी मुन्द मुन्द बुद्धि भयो भने देश हाँक्न सकिँदैन । अहिले भइरहेको यही हो । एउटा दल र अर्को दलका शासकहरूको विचारमात्र फरक होइन एउटै दलका नेता र मन्त्रीहरूको विचार नै मिल्दैन । नेकाका एक थरीका नेताहरू नेकासँग मात्र होइन सरकारसित नै असन्तुष्ट छन् । सरकारको कार्यशैलीप्रति उनीहरू सन्तुष्ट छैनन् । उनीहरूको यस्तै दुर्दशा, अस्पष्ट विचार, दृढ अडान नहुँदा देश छायामा परेको हो† देशले विकासमा कोल्टो फेर्न नसकेको हो; भ्रष्टाचार र अनियमितता रोक्न नसकेको हो । यही कारण भ्रष्टाचारको गन्ध देशभरि फैलिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *