कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
मेरो हातमा गत वर्ष र यो वर्षको नीति तथा कार्यक्रम छ । गत सालको नीति तथा कार्यक्रम के–कति लागु भयो र के कति भएनन् ? समीक्षा आवश्यक छ । यो सालको नीति तथा कार्यक्रम के–कति लागु गर्ने योजना छ ? प्रतिबद्धता चाहिन्छ ।
यसमा भनिएको छ, ‘एक घर एक धारा’ । २०८१ सालको नीति तथा कार्यक्रममा पनि भनिएको थियो – ‘एक घर एक धारा’ । एउटामा १८६ र अर्कोमा ११६ बुँदा छन् । यति नै मात्र हो भिन्नता ! जनतालाई यसरी झुक्याउँदै, अल्मल्याउँदै जाने कतिञ्जेलसम्म ? हिजोका कुरा खुइलियो, आजको फेरि सुन्नुहोला भनेर चटके बन्न मिल्छ ? हामी कतिञ्जेल यसरी सरकार चलाउँछौँ ? कतिञ्जेल समाजलाई हामी ढाँट्छौँ ? इमानदारीको एक अंश बाँकी रहेकाले जिम्मा लिनैपर्छ । इमानदारी नै बाँकी नभएकाहरूले त जे बोले पनि भयो, जस्तो सपना देखाए पनि भयो । केही नगरे पनि गरेका छौँ भनेर फेरि भोट माग्न हिँडे पनि भयो ।
सरकारमा रहेकाहरूले विगतका नीति तथा कार्यक्रमबारे फूलबुट्टा भरेर बोलेको हिजो पनि सुनेका थियौँ । तिनले नै पछि निराशा व्यक्त गरे । तसर्थ, यो पटक मौन बस्न म अनुरोध गर्दछु । हुँदै नहुने कुराहरू, गर्नै नसकेका कुराहरू, गर्दै नगरेका कुराहरू हामी गर्छौँ भन्नु त्यो ढाँट भयो, छलकपट भयो । त्यो बेइमानी भयो । त्यो बेइमानीको पात्र बनेर हामी राजनीतिमा कतिञ्जेल सक्रिय बन्न सक्छौँ ? एकदिन बनौँला, दुई दिन बनौँला, तर सधैँ–सधैँ त्यस्तो ढाँटको राजनीति चल्दैन । मेरो विनम्रतापूर्वक आग्रह यही नै हो ।
नेपालीमा एउटा भनाइ छ, ‘लुटको धन फुपूको श्राद्ध’ । राज्यको धन वा जनताको धनमा दलगत, गुटगत रजाइँ चल्दै छ । हामी त्यो मानसिकताबाट प्रेरित भइरहेका छौँ । त्यो अपराध हो । यो असह्य र दण्डनीय अपराध हो । यस्ता खालका अपराधहरू दोहो¥याउनु नितान्त बेइमानी हो, देशद्रोहको मुद्दा लाग्ने सम्भावना रहेको विषय हो । अहिले दैनिक रूपमा खबरहरू आइरहेका छन् । गृहमन्त्री, अर्थमन्त्रीका कुराहरू, कर फेरबदलका कुराहरू । यसरी राजनीति कतिञ्जेल चल्छ ? नेपाली जनताले त हेरिरहेकै छन् । संसारका जानकारहरूको अगाडि हाम्रो इज्जतको अंश जोडिनुपर्छ भन्ने हामीलाई लाग्छ कि लाग्दैन ? अहिलेको सन्दर्भमा अमेरिका, क्यानडा, अस्ट्रेलिया, दुबई, मलेसियामा नेपालीहरूले पसिनाको धारा बगाइरहेका छन् । उता ५०।६० डिग्री तापक्रममा काम गरिरहेका नेपाली दाजुभाइहरू, दिदीबहिनीहरूले हाम्रो नीति तथा कार्यक्रम सुनिरहँदा तिनले के भन्दा हुन् ? के यहाँ न्याय भइरहेको छ ? हाम्रो घरमा पढिरहेका छोराछोरीहरूमा सन्तुष्टिको भाव जगाउन सकिरहेका छौँ ? धिकार्दैनन् तिनीहरूले ?
कतिवटा नीति तथा कार्यक्रमपछि काठमाडौँमा फोहरको समस्या हट्छ ? कतिवटा नीति तथा कार्यक्रमपछि सुन्दर सहरहरूको निर्माण गर्न सक्छौँ ? कतिवटा नीति तथा कार्यक्रमसम्म प्रधानमन्त्री ओलीको भाषामा भन्ने हो भने बिचमा खाँबो भएको प्रदेश सदन हेरिरहनुपर्ने ? कतिवटा नीति तथा कार्यक्रमसम्म हेटौडा आउने बाटोको यो दुर्दशा बेहोरिरहनुपर्ने ? यसप्रति हामी जवाफदेही बन्नुपर्दैन ? के प्रजातन्त्र भनेको बेइमानी भयो ? लुटतन्त्र भयो ? के प्रजातन्त्र भनेको जवाफदेहिता होइन ? जब जवाफदेहिताको अन्त्य हुन्छ तब जय नेपाल भन्नुको कुनै अर्थ हुँदैन । जब हामी बेइमानी निरन्तर गर्छौँ, हजार पटक जय नेपाल भन्नुस्, नेपालले तपाईंलाई सराप्नेछ । यस विषयमा हामी गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छौँ ।
नीति तथा कार्यक्रमलाई हामीले जनमुखी भनेर सरकारमा रहेकाहरूले आत्मप्रशंसा गरेको सुन्यौँ । परिवर्तनकेन्द्रित भनेर पनि सुन्यौँ । कतिपटक यही कुरा दोहो¥याइरहने ? दलमुखी भयो कि नेतामुखी ? हामी पश्चगामी भयौँ कि के भयो इतिहासले बताउनेछ । बिचौलियाकेन्द्रित काम कुराहरू गर्ने अनि हामीले फेरि फूलबुट्टा भरेर परिवर्तनकेन्द्रित, जनमुखी भन्ने ! यही नीति तथा कार्यक्रमको अन्त्य वा दाहसंस्कार कहिले हुनेछ भने बजेटको प्रस्तुतिसँगै ¤ अनि स्वयम् शासक दलका नेताहरूले विरोधको स्वरमा बोल्नुहुनेछ ।
हामी बसाइँसराइको अत्यन्त कष्टकर समयमा छौँ । गाउँबाट सहर र सहरबाट कता ? यो बसाइँसराइबाट जुन दुर्भाग्य बेहार्दै छौँ । भोलिको इतिहासले आजका नीति तथा कार्यक्रमका निर्माता तथा पदधारीहरूलाई प्रश्न सोध्नेछन् — “कसको बेइमानी र अकर्मण्यताको कारण नेपाल यसरी यति सह्रो खुम्चियो ? पहाडहरू कसरी रित्तिए ? त्यहाँका बस्ती खोइ ? हिमालहरूमा मानव बस्ती खोइ ?” किन यहाँ बाँदरराज भयो भनेर सोध्ने बेलामा कसले जवाफ दिने ? वाग्मती प्रदेश सरकारले जवाफको लागि तयारी गर्नुहोला । आज मानिस काठमाडौँ उपत्यकाकेन्द्रित भइरहेका छन् । सारा दुनियाँलाई काठमाडौँ उतारेर के देश जोगिन्छ ? के देश देशको रूपमा बाँकी रहन्छ ? यस विषयमा वाग्मती प्रदेशले चिन्तन गरोस्, मनन गरोस्, स–साना सहरहरू निर्माण गर्ने बुद्धि चाँडै आओस् । मानिसहरूलाई रोजगार र सेवा वितरण गरेर जबसम्म हामी दीर्घकालीन रूपमा जान सक्दैनौँ तबसम्म हाम्रो समस्या सधैँ उस्तै हुनेछ । त्यसकारण सरकारले पाइला चाल्ने भनेको दीर्घकालीन सोचका साथ हो । दीर्घकालीन सोचका साथ योजना तय गर्ने खालको कार्यक्रम आवश्यक छ । आजको निम्ति मात्र होइन भोलिको निम्ति सोचौँ !
हामीले धेरै–धेरै दुर्घटनाहरू बेहोरिसक्यौँ । फेरि–फेरि पनि यस्ता विरामहरू गर्ने छुट छैन । प्रजातन्त्रको नाउँमा होस् या गणतन्त्रको नाउँमा होस् जुनसुकै नाउँमा जनतामाथिको यो दमन, अन्याय—अत्याचार, अव्यवस्था, अस्तव्यस्तता लामो समय कायम राख्नु हुँदैन । बसाइँसराइ रोक्नुपर्छ । मानिस जहाँ जन्मेको हुन्छ, त्यस ठाउँमा स–गौरव बाँच्न पाउने अधिकार राख्छ । त्यस विषयमा हामी गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँदछौँ ।
बजेट वितरण प्रणालीमा सैद्धान्तिक रूपमा परिवर्तन ल्याउन माननीय मुख्य मन्त्रीजीलाई विनम्रतापूर्वक अनुरोध गर्दछु । जहाँ भ्रष्टाचार हुँदैन, त्यहाँ बजेट पठाऔँ ! जहाँ चुहावट हुँदैन त्यहाँ बजेट पठाऔँ ! अति भयो ! कार्यकर्ता पाल्नको निम्ति, कार्यकर्ता व्यवस्थापन गर्नको निम्ति, मतदाताहरूलाई धूप बालेर रिझाउनको निम्ति बजेट लाने र बजेट दिने प्रचलनबाट जबसम्म हामी मुक्त हुन सक्दैनौँ, हाम्रा नीति तथा कार्यक्रम मात्र होइन सरकार स्वयम् असफल हुनेछ । हामीलाई चिन्ता लाग्छ । हामीले ७।८ वर्ष त यहाँ बेहो¥यौँ । हामीले कार्यकर्ता रिझायौँ । हामीले बिचौलियाहरूलाई रिझायौँ । बेइमानहरूलाई रिझायौँ । बेइमानहरूलाई रिझाउनका निम्ति के हामी माननीय बनेका हौँ ? सोझा सिधा जनताको मत लिने, मजदुर र किसानको मत लिने अनि निमुखा जनताको मत लिने, दलित—पीडित, शोषित—पीडित जनताको मत बटुल्ने अनि काम गर्ने मुठ्ठीभरका मानिसहरूको निम्ति ? के त्यसैको निम्ति हामी मन्त्री बन्छौँ ? त्यसैको निम्ति हामी सरकारमा गएका हौँ ? यो प्रश्नको जवाफ इमानदारीपूर्वक सबै ठाउँमा दिऊँ । अनि हामीले केही भए पनि परिवर्तनको प्रत्याभूति गर्न पाउनेछौँ । त्यसकारण बेइमानी, भ्रष्टाचार हुने ठाउँमा, अनियमितता हुने ठाउँमा बजेट पठाउन बन्द गरौँ !
अब हामी एउटा मोडालिटीमा जाऔँ, श्रमदानबिना अब हाम्रो विकास निर्माण टिक्नेवाला छैन । जनताको आफ्नो अपनत्वको विकास गर्न हामी बिफल भयौँ भने जनतासँग हात उठाएर माफी मागौँ ! जनतालाई हामीले हारगुहार गरौँ ! जनतासमक्ष आह्वान गरौँ ! हामी सबै मिलेर विकास निर्माण अगाडि बढाऔँ ! हामी सबै मिलेर आफ्नो गाउँ—ठाउँ—बस्ती निर्माण गरौँ ! हाम्रो भौतिक संरचना हाम्रो आफ्नै सम्पत्ति हुन् भन्ने भावना नदिइकन करोडौँ अरबौँ रूपैयाँ पठाए पनि त्यो टिक्नेवाला छैन । श्रमदान, जनसहभागिताको मामिलामा युवा र विद्यार्थीहरू परिचालन गरौँ ! उनीहरूमा पनि स्वयम्सेवीको भावना विकास गरौँ ! जबसम्म स्वयम्सेवी भावना दिन सक्दैनौँ हामीले खरबौँ रूपैयाँ खन्याए पनि देश बन्दैन भन्ने कुरा प्रमाणित भइसकेको छ । हाम्रो अनुभवले त्यही भन्छ । यो विषय सामान्य लाग्ला । पैसा खर्च नगरिकन केही पनि बन्दैन भन्ने पनि यहाँ छन् । तर होइन, विकास निर्माणको निम्ति योगदान गर्न र सेवा गर्न अनुरोध गरौँ !
विगत ७ वर्षदेखि निरन्तर हामीले एउटा प्रस्ताव राख्दै आएका छौँ— संविधानको मर्मबमोजिम समाजवादउन्मुख बन्दोबस्तको तयारी । समाजवादउन्मुख भनेपछि गर्भदेखि चिहानसम्म भन्छौँ । अहिले कम्तीमा शिशुस्याहारदेखि आदर निकेतनसम्मको योजना तर्जुमा गरौँ ! के हामी बुढापाका हुँदैनौँ ? हाम्रो उमेर पनि त जान्छ नि ! भोलि हामीलाई पनि चाहिने भनेको आदर निकेतन होला ! पछि पछुताउन नपरोस् । विदेश गएका भाइबहिनीहरू आएर हेर्लान् भनेर नबसौँ ! हाम्रै समाजले हेर्ने हाम्रो अग्रजलाई, ज्येष्ठ नागरिकहरूलाई । यही सोचका साथ तयारी गर्नुपर्छ । सहकारी तथा स्थानीय पालिकाहरू परिचालन गरेर हाम्रो देशमा जन्मेका शिशुहरूको जिम्मा हामी लिन्छौँ, उनीहरूको लालनपालन शिक्षा—दीक्षादेखि लिएर बुढो भएसम्मको निम्ति । त्यतिसम्मको खाका अलि अलि गर्दै कोर्दै जाऔँ ! हामी जरुर सफल हुनेछौँ । त्यसको निम्ति हामी सारा जनता एकताबद्ध बनौँ ! यो कुरा सम्भव छ । त्यसकारण, मुख्यमन्त्रीको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँदछौँ ।
(नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले वाग्मती प्रदेश सरकारद्वारा प्रदेशभामा प्रस्तुत आव २०८२—८३ को नीति तथा कार्यक्रममाथि जेठ २० गते भएको छलफलमा व्यक्त विचार सामान्य सम्पादनसहित)
Leave a Reply