भर्खरै :

समाजवाद स्थापनाको लागि जनता सचेत हुन आवश्यक छ

संसारका हरेक मानिसहरू स्वतन्त्रता चाहन्छन् । कोही कसैको बन्धनमा पर्न चाहँदैनन्; कोही कसैको दासी हुन चाहँदैनन्; एक अर्कामा समानता चाहन्छन् । अनेक किसिमको विभेदबाट मुक्त हुन हरपल सङ्घर्ष हुन्छ । हरेक किसिमको खतराबाट मुक्त हुन सुरक्षा चाहिएको हुन्छ । हिंसा युद्ध अपराध कसैले मन पराउँदैनन् । सबैजना इज्जतपूर्ण व्यवहार चाहन्छन् । नयाँ नयाँ खोज र आविष्कारको लागि अवसर चाहन्छन्† समग्रमा मानिसहरू ‘समाजवाद’ चाहन्छन् ।
संसारमा जुनसुकै समाजको विकासको प्रारम्भिक चरणलाई हेर्ने हो भने प्रारम्भिक समाजका मानिसहरू स्वतन्त्र थिए । समय अन्तराल सँगसँगै समाज परिवर्तन हुँदै गयो र पँुजीवादी समाजमा मानिसहरूबिच लोभलालचको विकास भयो । मेरो र आफ्नोबाहेक हाम्रो लागि कसैले सोचेन । स्वार्थी मानिस अधिकतम नाफा कमाउन चाहन्थ्यो, चाहे जस्तोसुकै गलत काम किन गर्न नपरोस् । धनीले गरिबलाई शोषण गर्न र गरिबहरू सधैं धनीहरूको दास हुने विषय एउटा संस्कृति बनिसकेको थियो ।
पुँजीवादी समाजमा वर्ग विभाजन, हत्या, हिंसा, भ्रष्टाचार, गरिबी, असमानता, दमन, शोषण, अत्याचार, चोरी, लुट, बलात्कार, दासदासी, खाद्यवस्तुमा अखाद्य वस्तु मिश्रण गरेर नाफा लिने तथा विकृति र विसङ्गति विकास हुनु कुनै नौलो विषय होइन । यस्तो विकृति त पुँजीवादी समाजको लागि सवारी साधनमा राख्ने इन्धनजस्तै हो । यस्ता विकृति र विसङ्गतिबिना पुँजीवादी समाज चल्न सक्दैन ।
यस्ता गलत क्रियाकलाप र विकृतिबाट मानिसहरू छुटकारा पाउन स्वतन्त्र हुन चाहन्छन्; म र मेरो भावनालाई त्यागेर सामूहिक भावना अँगाल्न चाहन्छन् । समाजवादी व्यवस्था आफैँमा पुँजीवादी सामन्ती दासी वा अन्य शोषणकारी प्रणालीको सर्वोत्तम विकल्प समाजवाद हो । समाजवादी व्यवस्थाले समाजलाई शोषणरहित, भेदभावरहित, समावेशी र स्वतन्त्र समाज परिकल्पना गर्दछ । समाज धनी र गरिबबिचको वर्गसङ्घर्षबाट नभई एक आपसमा सहकार्य र एकताबाट समाज सञ्चालन हुन्छ । यसमा कुनै एक व्यक्ति नभई एउटा सिङ्गो समाजको समुन्नतिमा विश्वास गर्छ । समाजवादी व्यवस्थाको लागि राजनैतिक पार्टीले समाजमा समाजवादको बारेमा बुझाउने, प्रशिक्षण, प्रचारप्रसार, शिक्षा, अभियान चलाएर राजनीतिक चेतना फैलाउनुपर्छ । शिक्षा, स्वास्थ्य, उद्योग, कृषि, श्रम आदिमा समाजवादी नीति लागु गर्ने, बजेट, कर प्रणाली र कल्याणकारी योजना तथा निजीकरणलाई रोक्नुपर्छ ।
जनतामा सही गलत छुट्याउन सक्ने, बहस गर्न सक्ने क्षमताको विकास गर्नुपर्छ । आन्दोलन, प्रदर्शन, चुनाव, सहकार्य र सुशासनमा जनतालाई सक्रिय सहभागिता गराउनुपर्छ । श्रमिक, किसान, शिक्षित युवा उत्पादनमा सक्रिय भूमिका, श्रमको सम्मान निजी स्वार्थभन्दा साझा हितलाई प्राथमिकता र राजनीतिक पार्टीलाई जवाफदेही तथा भ्रष्टाचार गरेमा खबरदारी गर्ने भावना विकास गराउनुपर्छ । जनतालाई सैद्धान्तिक र व्यावहारिक रूपमा सक्षम, सबल बनाएर मात्र समाजवादको उद्देश्य प्राप्त गर्न सकिन्छ । समाजवादी व्यवस्थाले सद्भाव, सहकार्य र भाइचाराको भावना विकास गर्छ । अहिले विश्वमा देखेको विकृति आणविक युद्ध, व्यापार युद्ध, सीमा विवाद, नाकाबन्दीलगायतको समस्या रोक्न यसले सहयोग पु¥याउँछ ।
मानिस स्वतन्त्रता, समानता, सम्मान र सुरक्षा चाहन्छ । यो समावेशी जीवन जिउने कला हो । प्रारम्भिक समाज स्वतन्त्र थियो तर पुँजीवादी समाजमा लोभ, शोषण र असमानता बढ्यो । यसले हत्या, भ्रष्टाचार, गरिबी, अत्याचारजस्ता विकृति जन्मायो । समाजवादी व्यवस्था यी विकृतिहरूको समाधान हो जसले समावेशी, स्वतन्त्र र शोषणविहीन समाजको परिकल्पना गर्छ । समाजवाद लागु गर्न राजनीतिक पार्टी, नागरिक समाज र जनताको सक्रिय भूमिका जरुरी हुन्छ । शिक्षादेखि श्रमसम्म समाजवादी नीति ल्याई समृद्धि र सहकार्ययुक्त समाजवाद समाज निर्माण गर्नुपर्छ । समाजवादले विश्वमै शान्ति, भाइचारा र समृद्धिको बाटो खोल्छ । यसकारण, रामेछाप वासीहरूबिच विभिन्न सचेतनामूलक कार्यक्रम, प्रशिक्षण, अन्तरक्रिया, छलफल आदि क्रियाकलाप व्यापक रूपमा सञ्चालन गर्न आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *