भर्खरै :

पार्टी कार्यकर्ताहरू देश र जनताको निःस्वार्थ सेवामा समर्पित हुनु जरुरी

पार्टी कार्यकर्ताहरू देश र जनताको निःस्वार्थ सेवामा समर्पित हुनु जरुरी

भक्तपुर, २८ असार । नेपाल मजदुर किसान पार्टी कोसी प्रदेश समितिको आयोजनामा काठमाडौँ उपत्यकामा रहेका कोसी प्रदेशका कार्यकर्ताहरूबिच आइतबार भेटघाट कार्यक्रम भयो ।
कार्यक्रममा पार्टीका सचिव प्रेम सुवालले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले लेख्नुभएको ‘राजनीतिक कार्यकर्ता बन्ने भाइबहिनीहरूलाई चिठी’ पुस्तक अध्ययन गरी देश र जनताको निःस्वार्थ सेवामा पार्टीका साथीहरू समर्पित हुनु जरूरी छ भन्नुभयो ।
देश र जनतालाई दुःख दिने राणा शासन र निर्दलीय पञ्चायती व्यवस्था समाप्त भएजस्तै सरकारमा गएर भ्रष्टाचार र पक्षपात गर्ने शासक दलहरू जुनसुकै नामबाट आए पनि समाप्त हुने उहाँले बताउनुभयो ।
सचिव सुवालले जोड दिँदै भन्नुभयो, “भदौ २३ गते निहत्था जनताको हत्या र भदौ २४ गते देशभरि आगजनीमा संलग्न भएकाहरूलाई जहाँ भए पनि खोजेर कारबाही हुनु आवश्यक छ ।”
उहाँले भन्नुभयो, “पच्चीस सय सत्तरी वर्षअघि नेपालमा जन्मनुभएका गौतम बुद्धले वर्गीय समाजको अध्ययन गरी व्यक्तिगत सम्पत्ति राख्ने बन्दोबस्तको विरोध गर्नुभएको हो । विश्व सर्वहारावर्गका महान नेताद्वय माक्र्स र एङ्गेल्सले वैज्ञानिक समाजवादको अपरिहार्यतासम्बन्धी नियम पत्ता लगाउनुभएको हो ।”
उहाँले भन्नुभयो, “विदेशीको गोटी भएर सरकारमा पुगेकाहरूबाट देश र जनताको हित नहुने स्पष्ट छ ।”
नेमकिपा कोसी प्रदेशका संयोजक एवं कार्यक्रमका सभापति उकेश कवांले जबसम्म कामदारवर्ग एक भएर शोषणको विरूद्धमा लाग्दैन तबसम्म शोषकवर्गले दुःख दिइरहने बताउनुभयो ।
अहिलेको सरकारले काम गरी खाने वर्गको हितमा कुनै पनि कानुन निर्माण नगर्ने भएकोले निर्वाचनको समयमा झूटो आश्वासन र विदेशी चलखेलबाट नै चुनाव जितेको उहाँले आरोप लगाउनुभयो ।
संयोजक कवांले भन्नुभयो, “शिक्षा, स्वास्थ्य, विद्युत्जस्ता आधारभूत आवश्यकता निःशुल्क गनुपर्नेमा सरकारले थप कर लगाउनाले जनताको जनजीविकामा ठुलो असर पर्नेछ ।”
कार्यक्रममा दिनेश खड्गी, भोजराज बस्नेत, ढकराज थापा, सुनिल शाक्य, वेदप्रकाश श्रेष्ठ, तारानाथ कट्टेल, विष्णुबहादुर खत्रीले पनि आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *