भक्तपुर क्यान्सर अस्पतालको विगत र अबको चुनौती
- कार्तिक २३, २०८२
“कालिदास भनेर कोकिल अरु काला भए तापनि वसन्ति ध्वनि” – महाकवि लक्ष्मीप्रसाद देवकोटा
महाकवि कालिदासको जीवनकालको विषयमा इतिहासकारहरूमा मतभेद छ । उनको विषयमा निश्चित रूपमा कसैले पनि किटानीसाथ उल्लेख गर्न सकेका छैनन् । विद्वानहरूले उनको काललाई राजा विक्रमादित्यका कालसँग जोडेर समय निर्धारण गरेका छन् ।
कालिदास उज्जैन निवासी ब्राह्मणका छोरा थिए । ५/६ वर्षको उमेरमा नै उनी बाबुआमाबाट टुहुरिए । एक गोठालोले लगेर उनलाई पाल्यो । बाल्यकालमा कालिदास अत्यन्त मूर्ख स्वभावका थिए । उनी रुखको हाँगाको टुप्पातिर बसेर फेदतर्फ काट्थे भनिन्छ । उनकै समयमा राजकुमारी विद्योतमा अत्यन्त विदुषी थिइन् । उनीसँग समस्त पण्डितहरू शास्त्रार्थमा पराजित भएका थिए । त्यसैले उनीहरूले बदला लिने नियतले उनको विवाह पटमूर्खसँग गराइदिने षड्यन्त्र गर्दै पटमूर्खको खोजीमा हिँडेछन् । जाँदाजाँदै बाटामा ती पण्डितहरूले रुखको टुप्पातर्फ बसेर फेदतर्फ काटिरहेको एक युवक फेला पारेछन् । त्यसपछि योभन्दा मूर्ख अरु हुनै सक्दैन भनी उनैसँग विवाह गराइदिने षड्यन्त्रले ती विदुषीसमक्ष लगेछन् । त्यो मूर्ख कालिदास रहेछन् । उनले नबोल्ने व्रत लिएको भन्दै हातको इसाराबाट शास्त्रार्थ गर्न लगाएछन् ।
विद्योतमाले ‘ईश्वर’ एक छ भन्ने सङ्केत स्वरूप एउटा औँला देखाउँदा कालिदासले त्यसको अर्थ एउटा आँखा फोडिदिन्छु भनेको हो भनेर दुई औँला देखाए । ती धूर्त पण्डितहरूले त्यसको अर्थ स्वर्ग र नर्क दुई हुन्छन् भनेको भन्न लगाई कालिदासको बचाउ गर्दै विदुषीलाई उनीभन्दा कमजोर साबित गराउँदै लगे र यी दुईका बिचमा विवाह गराइ दिएर बदला दिए । विद्योतमाले यो वास्तविकता थाहा पाएपछि कालिदासलाई अपमानित गर्दै चन्द्राकार लगाएर (घोक्राएर) घरबाट निकाली दिइन् । त्यसबाट लज्जित भएका कालिदास धुरन्धर विद्वान नभई घर नफर्किने सङ्कल्प साथ घर छोडे । कालान्तरमा विद्वान भएर घर फर्किए । उनै कालिदास महाकवि बने कालिदासको तर्कना शक्ति ज्यादै सुन्दर थियो ।
श्रृङ्गार र करूण रसको वर्णनमा उनी सिद्धहस्त थिए । उनी प्रत्येक काव्योपयोगी सामग्री र काव्यका प्रत्येक अंशलाई ज्यादै कुशलताका साथ सुन्दर बनाइदिन्थे । आफ्नो वर्णनीय विषयहरूको आकृति पाठकहरूका सामु खडा गर्ने शक्ति कालिदासमा थियो । त्यस्तो अरु कुनै कविमा पाइँदैन ।
कालिदास संस्कृत साहित्यका सबैभन्दा ठुला कवि तथा नाटककार हुन् । कालिदासलाई भारतीय सेक्सपियर पनि भनिन्छ । यिनका प्रसिद्ध कृतिहरू मेधदूत, रघुवंश, कुमार सम्भव, अभिज्ञान सकुन्तला, ऋतु सहार हुन् । उनका श्रीमती विद्योतमाले गर्दा नै उनी महाकवि भएको मानिन्छ ।
संस्कृत साहित्यमा मात्र होइन विश्व साहित्य महाकवि कालिदासको स्थान अद्वितीय छ । कालिदासको महाकाव्यमा पाइने वर्णनछटा तथा गीतिकाव्यमा पाइने सरल करुण हृदयोदगार संसारको कुनै साहित्य पनि पाउन मुश्किल पर्दछ । उनको कवितामा पाइने माधुर्यले संसारकै काव्यप्रेमीहरूलाई मुग्ध पारेको छ । आर्य संस्कृतिलाई साहित्यिक श्रृङ्गार दिएर समाज सापेक्ष बनाउनमा मुख्य स्रोत उनलाई नै छ । आर्य साहित्यको जर्जर अवस्थामा प्रवाहित हुने उनको साहित्यिक सृङ्गार–धारा विश्व चर्चित छ । यसैको आधारमा उनलाई विभिन्न राष्ट्रहरूले विश्व कवि सिद्ध गरेका हुन् । महाकवि कालिदास ऐश्वर्य दृष्टि भएका एउटा साहित्यक आर्य प्रतिभा हुन् ।
कालिदासको ‘रघुवंश’ महाकाव्य उत्कृष्ट थियो । संस्कृत साहित्यको अनमोल रत्न मानिने त्यस महाकाव्यमा कविले जुन आदर्शहरूको सृष्टि गरेका हुन्, ती अन्यत्र त्यस रूपमा पाइँदैन । अर्को ‘मेघदूत’ एक खण्डकाव्य हो । मेघलाई दूत बनाएर कुनै निर्वासित यक्षले आफ्नो अलको निवासिती प्राण बल्लभालाई पठाएको सन्देशलाई कविले मन्दाक्रान्ता छन्दमा ढालेर अत्यन्त रमणीय काव्यको सृष्टि गरेका छन् । मेघदूत काव्य ग्रन्थमा हिमालको वर्णनमा कविले आफ्नो सौन्दर्य सृष्टिको परिचय दिएका छन् । उनको वर्णनमा यथार्थ एवं कल्पनाको विचित्र सौन्दर्यको सिर्जना भएको देख्न पाइन्छ । कालिदासको ‘कुमार सम्भव’ ज्यादै उत्तम काव्य हो । वास्तवमा कविले यसमा पुरुष र प्रकृतिको संयोगको चित्र देखाएका छन् । सन्ध्याकालको वर्णनको सिलसिलामा ‘कुमार सम्भव’ का आठौँ सर्गमा पर्ने यो सुन्दर श्लोकमा कविले आफूमा भएको वैज्ञानिक ज्ञानको पनि पूर्ण परिचय दिन खोजेका छन् ।
कालिदास तत्कालीन युगकवि हुन् । उनको काव्यमा युगबोधको प्रतिबिम्ब पाइन्छ । कालिदासले जन्म दिएको समय भारतको स्वर्णयुग थियो । वास्तवमा कालिदास हिन्दू संस्कृतिका परिपक्व चित्रकार हुन् । कालिदासले हिन्दू संस्कृतिको मात्र चित्राङ्कन गरेका होइनन् । उनले मानव जीवनकै सुख दुःख मिलन, बिछोड, प्रेम, इष्र्या आदि विभिन्न भाव विभावहरूलाई आफ्नो काव्यमा र उपयुक्त ढङ्गमा सजाएर राखेका थिए । त्यसैले गेटे, शिलर हर्डर आदि पश्चिमी जगत्का प्रसिद्ध विद्वान तथा काव्य पारखीहरूले उनको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।
कालिदासको मृत्युको एउटा किंवदन्तीअनुसार कालिदासको ख्याति उनको जीवन कालमै सिंहलद्वीप राजा कुमार दासको ‘जानकीहरण’ भन्ने काव्यका कालिदासले निकै प्रंशसा गरेका रहेछन् । कुमार दासले नै ससम्मान आमन्त्रित गरेकाले कालिदास पनि सिंहलद्वीपमा गएर बसोबास गर्न थालेछन् । राजाको इष्र्याको भाव हुनु स्वाभाविकै थियो । त्यहाँ छँदा रसिक कालिदास एक दासीकहाँ आउने जाने गर्दथे ।
त्यस सुन्दरीप्रति अरु पनि धेरै युवकहरू आसक्त थिए । त्यसैले लङ्काकै ती युवकहरूमध्ये कुनै एकद्वारा कालिदासको हत्या भयो । अझै सिंहलद्वीपको दक्षिणी भागमा महाकवि कालिदासको समाथिस्थल छँदै छ । कालिदासलाई मारेको समाचारले कवि राजा कुमारदासलाई अत्यन्त विह्वल पार्यो र उनले पनि कविकै चित्तामा आत्महत्या गरे भन्ने उल्लेख सिंहलद्वीपका अनेक प्राचीन ग्रन्थहरूमा पाइन्छ ।
यसरी विश्व साहित्यको रङ्गमञ्चमा महाकवि कालिदासको प्रथम स्थान छ । उनका काव्यहरूमा पाइने सांस्कृतिक उत्कर्ष नै पश्चिमी विद्वान् इतिहासकारहरूको आकर्षण विन्दु हो ।
मैक्समुलर, मेककानुल र राइडर आदि विद्वानहरूले अङ्गे्रजीमा पनि भारतीय संस्कृति साहित्यको इतिहास लेख्नुको मुख्य कारण पनि उनका काव्यतत्वको मन्त्रमुन्धता हुनसक्छ । उनले रचना गरेका रचनाहरूमा ‘अभिज्ञान’ शकुन्तला र मेघदूत अतुलनीय छन् र विश्वका थुपै्र भाषामा अनुवाद भइसकेका छन् ।
यसरी संस्कृत साहित्यका महाकवि कालिदास एक अतुलनीय प्रतिभावान पुरुष थिए । साहित्यिक विभूतिको रूपमा सदैव स्मरणीय रहने प्रतिभाशाली महाकवि कालिदास विश्वबन्धु नै हुन् ।
सहायक सामग्री
१) महाकवि कालिदास : टीकाराम भण्डारी
२) विश्वका कविको जीवनी : शारदाप्रसाद घिमिरे
३) विश्वका प्रसिद्ध व्यक्तिहरू : मधुसुदन पण्डित
Leave a Reply