राजनीति देश र जनताको पक्षमा हुनुपर्छ
- कार्तिक २३, २०८२
आर्थिक वर्ष ०८२/०८३ को बजेटमा रासायनिक मल कारखाना स्थापना गर्न २८ अर्ब रूपैयाँ विनियोजन गरिएको छ । सरकारले यसलाई कार्यान्वयन गर्न पहल गर्नु आवश्यक छ । विशेषतः यसमा कृषि मन्त्रीको बढी ध्यान जानुपर्छ । रासायनिक मल कारखाना खोल्नुपर्ने चर्चा परिचर्चा भएपछि एक थरी मानिसहरू देशमा रासायनिक मल कारखाना आवश्यक नभएको राय दिन्छन् भने अर्काे थरी कृषिप्रधान देशमा रासायनिक मल कारखाना अपरिहार्य भएको तर्क राख्छन् । ६० प्रतिशतभन्दा बढी किसानहरू खेतीपातीमा निर्भर यो देशमा रासायनिक मल कारखाना आवश्यक छैन या धेरै लागत हुँदा खोल्नु पर्दैन भन्ने विचार नेपाललाई परनिर्भर बनाइरहने चाल हो । नेपालमा रासायनिक मल कारखाना नहुँदा अहिले पनि प्रत्येक वर्ष रासायनिक मलमा अरबौँ बराबरको रकम बिदेसिरहेको छ । मलमा बिदेसिएको ६/७ वर्षको रकममात्रै जोडियो भने पनि मल कारखाना खोल्नको निम्ति पैसा पुग्यो होला । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा मात्रै ३० अर्ब १५ करोड रूपैयाँ बिदेसिएको खबर छापामा आएको थियो । रासायनिक मलकै लागि ९ वर्षमा ९३ अर्ब ४४ करोड खर्चिएको थियो ।
रासायनिक मल कारखाना खोल्न धेरै पैसा लाग्नु स्वाभाविक हो । अध्ययन अनुसन्धान गर्दादेखि कारखाना खोलिसकेपछि पनि या कारखाना चालु रहेको बेला पनि लगानी गरिरहनुपर्ने हुन्छ । तर, मल कारखाना खोल्न एकैपटक लगानी गर्नुपर्ने होइन; एकै वर्ष कारखाना तयारी हुने पनि होइन । अनि नेपालमा मलको माग छैन भन्ने कुरा सही होइन । हिमाली क्षेत्र जहाँ खेतीपाती हुँदैन त्यो क्षेत्रमा बाहेक अन्यत्र रासायनिक मल जरुरी छ । धान, गहुँ, मकै, कोदोजस्ता अन्नको लागि मात्र होइन, तरकारी र फलफूल खेतीको लागि पनि रासायनिक मल जरुरी हुन्छ । अहिले त वर्षैभरि तरकारी खेती गरिएको हुन्छ; मौसम खेती गरिएको हुन्छ । यसकारण, रासायनिक मलको माग छैन भन्नु गलत हो । हो, रासायनिक मलसँगै प्राङ्गारिक मल कारखानाको पनि विकास र विस्तार गर्नुपर्छ । प्राङ्गारिक मलले माटोलाई उर्वर बनाउँछ; उब्जाउशील बनाउँछ । हाल उपयोग गरिरहेको हिसाबले रासायनिक मल पनि त्यतिकै आवश्यक हुन्छ । यसकारण, मल कारखाना खोल्नेतर्फ सरकारको ध्यान जानुपर्छ; मल कारखाना खोल्ने प्रक्रियालाई अब रोक्नु हुँदैन ।
मल कारखाना खोलेपछि वातावरण प्रदूषित हुने, माटो अम्लीय हुने, सूक्ष्म जीव नास हुने कारण देखाएर कारखाना खोल्नु हुँदैन भन्नु नेपालीको राजस्व विदेश पठाउनु भन्नु हो । खेतीयोग्य भूमि भएका संसारका विभिन्न मुलुकमा आफ्नै देशमा मल कारखाना खोलेका छन्† मल कारखाना खोलेर बालीनाली गरिरहेका छन् । संसारका विभिन्न मुलुकमा मल कारखाना खोल्न हुने, नेपालमा मात्र नहुने कसरी हुन्छ ? अरुले मल कारखाना खोलेर निर्यातसमेत गर्ने, अनि नेपालले आफ्नो देशको लागि खोल्न नहुने ? मल कारखानाबाट हुने हानिबाट जोगाउन नै अध्ययन अनुसन्धान गर्नुपर्ने हो† उपयुक्त स्थान रोज्नुपर्ने हो । स–साना समस्या आउला भनेर कारखाना नै खोल्न नहुने तर्क उपयुक्त होइन । देशमा मल कारखाना नभएको कारण प्रत्येक वर्ष खेतीपाती गर्ने बेला मलको अभाव हुन्छ । समयमा मल हाल्न नपाएर उत्पादन कम हुन्छ । उत्पादन कम हुनु भनेको देशको लागि घाटा हुनु हो ।
सरकारले प्रत्येक वर्ष मलमा अरबौँ रकम अनुदानको लागि खर्च गरेको प्रगति देखाउँछ । तर, कृषकले अनुदानमा प्राप्त भएको मल पाउँदैन । कृषकलाई महँगोमा मल किन्न बाध्य हुन्छ । कहिलेकाहीँ प्राप्त मल म्याद सकिएको या गुणस्तरहीन हुन्छ । कति मलमा तौल पुग्दैन । तर, पनि कृषकहरू गुणस्तरहीन र तौल नपुगेको मल किन्न बाध्य हुन्छन् । नेपालमै मल कारखाना खोलेमा मलको अभाव हुनेछैन; देशको राजस्व नेपालमै हुन्छ र मल कारखाना देशकै एउटा आम्दानी हुने मुख्य कारखाना हुनेछ । सरकारले मल कारखाना खोलेमा त्यो सरकारको एउटा गतिलो काम हुनेछ; त्यो देश र कृषकहरूको निम्ति उल्लेखनीय काम हुनेछ । मल कारखाना खोल्ने कुरा अब बजेट र सरकारी नीति तथा कार्यक्रममा उल्लेख गर्ने मात्र होइन; लागु गरेर व्यवहारमा देखाउनुपर्छ । प्रत्येक वर्ष आश्वासन बाँडेर सन्तुष्ट हुने होइन काम देखाएर सन्तुष्ट हुने हो । देशमा अधिकांश जनता कृषक नै छन्; कृषकको माग सम्बोधन गर्नुपर्छ । मल कारखाना खोल्ने योजनालाई फेरि थन्काउने होइन लागु गरेर देखाउने हो ।
Leave a Reply