जारशाही संसद्मा बोल्शेभिक सांसद – ५
- कार्तिक २३, २०८२

इजरायलले गाजालाई ध्वस्त पार्ने बारम्बार धम्की दिँदासमेत अमेरिकी कङ्ग्रेसका सदस्य र विशेषगरी डेमोक्य्राट्हरू मौन छन्
इजरायलले गाजामा ‘अभूतपूर्व आक्रमण’ गर्ने भन्दै त्यहाँको खान युनिसमा बसोबास गरिरहेका बासिन्दालाई अन्यत्र जान आदेश दिएको छ । क्यानडा र युरोपेली देशले इजरायललाई आक्रमणबाट पछि नहटे ‘ठोस कारबाही’ गर्ने धम्की दिएका थिए । यस्तो अवस्थामा अमेरिकाको भने इजरायलीप्रतिको समर्थन कायमै छ । ठुलो स्तरको भोकमरीको सङ्घारमा रहेको गाजामा सहायता बढाउन ट्रम्प प्रशासनबाट इजरायलमाथि दबाब बढेको खबर नआएका होइनन् । तर, यसका बाबजुद ह्वाइट हाउसले सार्वजनिक रूपमा इजरायललाई समर्थन दिइरहेको छ ।
हमासले बारम्बार युद्धविराम प्रस्ताव अस्वीकार गरेकाले पछिल्लो द्वन्द्वका लागि एकल जिम्मेवारी उसैले बहन गनुपर्नेमा इजरायल र अमेरिका सुरुदेखि अडिग छन् । इजरायली कारबाहीका कारण गाजामा मानवीय विपत्तिका बढ्दो प्रमाणका बाबजुद अघिल्लो बाइडेन प्रशासनबाट विरासतका रूपमा पाएको नीतिगत अडानलाई ट्रम्पले निरन्तरता दिएका छन् । इजरायली सेनाले सोमबार दक्षिणी गाजाको खान युनिसका बासिन्दालाई ‘तुरुन्तै सो स्थान खाली गर्न’ निर्देशन दिएको छ । ‘आतङ्कवादी सङ्गठनको क्षमतालाई नष्ट’ गर्न त्यहाँ ठुलो आक्रमणको तयारी गरिरहेको उसले बताएको छ । यसले पहिले ५३ हजारभन्दा बढी प्यालेस्टिनीको ज्यान लिइसकेको इजरायली कारबाही थप तीव्र हुन लागेको सङ्केत गर्छ । इजरायलले गाजालाई ध्वस्त गरिदिने वाचा गर्दासमेत अमेरिकी संसद् (कङ्ग्रेस) र अझ डेमोक्य्राटहरू प्रायः मौन देखिन्छन् ।
इजरायलले चारैतर्फबाट घेराबन्दीमा राखेको गाजा अहिले ‘विश्वको सबैभन्दा खराब भोकमरी सङ्कटमध्ये एक’को जोखिममा रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले भनेको छ । तर, अमेरिका तीन दर्जनभन्दा बढी कङ्ग्रेस सदस्य हालै इजरायलको ७७ औँ स्थापना दिवसको अवसरमा ‘अमेरिकी–इजरायल सार्वजनिक मामिला समिति (एआईपीएसी)’ को भिडियोमा देखा परेका छन् । न्युयोर्कमा प्रमुख मेयर उम्मेदवार एन्ड्रयु कुमोले सहरमा बर्सेनि आयोजना गरिने ‘इजरायल दिवस परेड’मा इजरायली झन्डा फहराए ।
अमेरिकी राजनीतिज्ञले इजरायलप्रति उच्च समर्थन जारी राख्दा मार्च महिनामा भएको ‘ग्यालप मत सर्वेक्षण’ ले आम अमेरिकीमाझ इजरायलप्रतिको समर्थन २५ वर्षयताकै न्यून अर्थात् ४६ प्रतिशतमा झरेको देखाएको छ । त्यस सर्वेक्षणमा प्यालेस्टिनीप्रति सहानुभूति रेकर्ड स्तरमा बढेर ३३ प्रतिशतमा पुगेको छ । डेमोक्र्याट मतदातामाझ प्यालेस्टिनीप्रतिको समर्थन इजरायलीभन्दा तीन गुणा बढी देखिन्छ । त्यसो भए डेमोक्र्याटिक कङ्ग्रेस सदस्यले आफ्ना मतदाताको भन्दा किन फरक समर्थन देखाइरहेका छन् ?
‘द लेट सो विथ स्टिफन कोल्बर्ट’ को हालै प्रशारित एक कार्यक्रममा सिनेटर बर्नी स्यान्डर्सले यसको जवाफ दिने प्रयास गरेका छन् । ‘लबिङ’ समूहको वित्तीय शक्ति परिवर्तन गर्न वासिङ्गटनले अनिच्छा देखाउँदा यस्तो स्थिति आएको उनले बताए । ‘यदि कुनै प्रतिनिधिले इजरायलविरुद्ध बोले भने एआईपीएसीजस्ता सुपर–प्याकहरू (ठुलो रकम खर्च गर्न सक्ने राजनीतिक कार्य समिति) तपाईंविरुद्ध हात धोएर लाग्नेछन्,’ स्यान्डर्सले भने । उनले यसको पछिल्लो उदाहरणको रूपमा डेमोक्र्याटिक प्रतिनिधि जमाल बोमनको घटनालाई लिए । बोमनले गाजामा इजरायलले नरसंहार गरेको आरोप लगाएका थिए । त्यसपछि पछिल्लो कङ्ग्रेस चुनावमा उनीविरुद्ध एआईपीएसीले मात्र एक करोड
४५ लाख डलरको नकारात्मक विज्ञापन चलायो । परिणामस्वरूप उनी दुईपटक जितेको स्थानबाट हारे ।
यी कठिनाइका बाबजुद प्रगतिशील सांसदको सानो समूहले इजरायलले गाजामा गरेको कार्यको निरन्तर विरोध गरेका छन् । यसमा इलिनोइस राज्यकी प्रतिनिधि डेलिया रामिरेज पनि पर्छिन् । उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र डोनाल्ड ट्रम्पको ‘घातक, गैरजिम्मेवार, अतिवादी जोडी’को निन्दा गर्दै आएकी छिन् । मिनिसोटा राज्यकी प्रतिनिधि इल्हान ओमरले पनि गाजामा जारी एकतर्फी युद्धको पछिल्लो अध्यायको निन्दा गर्दै आएकी छिन् । उनले यसलाई ‘अर्को असंवेदनशील नैतिक दाग’ बताउने गरेकी छिन् । ‘डोनाल्ड ट्रम्पको पछिल्लो मध्यपूर्व भ्रमणको ठुलो चर्चा भयो, तर यसले पनि युद्धविराममा कुनै दबाब सिर्जना गर्न सकेनन् । हाम्रो असफलताको मूल्य निर्दोष नागरिकले जीवन गुमाएर चुकाइरहनु अत्यन्त लज्जास्पद कुरा हो,’ ओमरले भनिन् । भर्मोन्ट राज्यका सिनेटर पिटर बोल्चले ट्रम्प प्रशासनलाई गाजामा सहायता सामग्रीमाथि लागेको प्रतिबन्ध हटाउन आह्वान गर्ने प्रस्ताव पेस गरे ।
बोल्चले ल्याएजस्तो प्रस्ताव खासमा कुनै कुरालाई सार्वजनिक गर्नका लागि प्रतीकात्मक रूपमा ल्याइन्छ । तिनको कुनै बाध्यकारी कानुनको शक्ति हुँदैन । सांसदले आफ्ना चिन्ता व्यक्त गरे पनि नीतिगत रूपमा तिनीहरूको प्रभाव सीमित रहन्छ । यसले गर्दा वासिङ्गटनका नीति निर्माता र जनभावनाबिच बढ्दो रूपमा खाडल देखिन्छ । अमेरिकामा प्यालेस्टिनी अधिकारको समर्थनमा तल्लो तहको आन्दोलन प्रायः दबिएको छ । ट्रम्प प्रशासनले गत वर्ष विरोध प्रदर्शनको आयोजना भएका विश्वविद्यालयविरुद्ध आक्रामक कारबाही गरेपछि यो थप मत्थर भएको छ । ट्रम्पले पछिल्लो मध्यपूर्व भ्रमणको क्रममा इजरायल नजानुलाई व्यापक रूपमा नेतन्याहुको बेवास्ताको रूपमा व्याख्या गरिएको छ । विनाशकारी युद्धको अन्त्यका लागि आह्वान गर्ने अमेरिकी आवाज शून्यतामा मात्र कराइरहेका छन् कि नीतिगत प्रभाव पारिरहेका छन् भन्ने कुरा आगामी दिनमा स्पष्ट हुन सक्छ ।
(गेडेन वासिङ्गटनस्थित राजनीतिक मामिलासम्बन्धी पत्रकार हुन् ।)
– द गार्जियनबाट
Leave a Reply