भर्खरै :

मुनरो सिद्धान्तको दुई सय वर्ष ल्याटिन अमेरिकामा संरा अमेरिकी साम्राज्यवादको इतिहास

  • असार १, २०८२
  • डा. फ्रान्सिस्को दोमिन्गेज
  • विचार
मुनरो सिद्धान्तको दुई सय वर्ष ल्याटिन अमेरिकामा संरा अमेरिकी साम्राज्यवादको इतिहास

सन् २०२३ को डिसेम्बरमा कुख्यात मुनरो सिद्धान्त (द मुनरो डक्ट्रिन) प्रतिपादन भएको दुई सय वर्ष पुगेको थियो । केही मानिसको निम्ति मुनरो सिद्धान्त संरा अमेरिकामा संवैधानिक मान्यता बोकेको पुरानो र जेलिएको विदेश नीतिको दस्ताबेजमात्र लाग्न सक्छ । तर, खासमा मुनरो सिद्धान्तको आयाम पक्कै त्यत्तिमा सीमित छैन ।
संरा अमेरिकामा राष्ट्रपतिले वर्षको एकपटक आफ्नो सरकारको कार्यक्रम र योजनाबारे संसद्मा सम्बोधन गर्ने परम्परा छ । अमेरिकी संसद्को सातौँ सम्बोधन तत्कालीन राष्ट्रपति जेम्स मुनरोले गरेका थिए । एक घण्टा लामो भाषणमध्ये ६ मिनेटमा उनले अमेरिकी महाद्वीपको सन्दर्भमा आफ्नो सरकारका भावी योजनाबारे बोलेका थिए । त्यो समय स्पेनियाली उपनिवेशवादी शासनविरुद्ध अमेरिकी महादेशमा स्वतन्त्रता लडाइँ चलिरहेको थियो । संसद्मा मुनरोले दिएको उही ६ मिनेट भाषण नै समयान्तरमा मुनरो सिद्धान्त कहलियो ।
सन् १८२३ सम्ममा ल्याटिन अमेरिकाका अधिकांश भूभागले आफूलाई सफलतापूर्वक मुक्त गरिसकेका थिए । सिमोन बोलिभारलगायत स्वतन्त्रता सङ्ग्रामीहरूले नेतृत्व गरेको मुक्ति सेना स्पेनियाली सेनाको प्रत्याक्रमणलाई पराजित गर्ने अन्तिम चरणमा थियो । वाटरलुमा नेपोलियनको पराजय, सन् १८०३ मा संरा अमेरिकाद्वारा लुजियानाको खरिद र सन् १८०४ मा भएको दास विद्रोहमा हाइटीको पराजयपछि अमेरिकी महाद्वीपमा फ्रान्सेली साम्राज्य छिन्नभिन्न भइसकेको थियो । यो परिवर्तनले नयाँ विश्वमा ‘धूर्त बेलायत’ लाई मालामाल बनाउने अवस्था बन्यो ।
मुनरो सिद्धान्तका पक्षपातीहरू सिङ्गो पश्चिमी गोलाद्र्ध र भर्खर स्वतन्त्र भएको गणराज्यहरूमाथि नियन्त्रण जमाएर मात्र संरा अमेरिकाले आफूलाई बलियो र विस्तार गर्न सक्थ्यो र युरोपेली साम्राज्यहरूको खतरा पन्छाउन सक्थ्यो भन्ने सोच्थे । उत्तरमा क्यानाडा, दक्षिणमा बेलायती वेस्ट इन्डिजका रणनीतिक टापु र आदिवासी अमेरिकी जनतासँग बलियो सम्बन्ध भएको कारण संरा अमेरिकाको लागि त्यो समय सबभन्दा ठुलो खतरा निकै बलियो शक्ति बेलायती साम्राज्य थियो । त्यसमाथि क्युवाली र प्रिटो रिकाली शासकहरू स्पेनियाली उपनिवेशवादप्रति नै बफादार थिए । त्यसकारण, क्यारिबियाली क्षेत्रमा स्पेनको सैनिक उपस्थिति पनि बलियो थियो ।
युरोपमा त्यहाँका राजाहरूको मोर्चा ‘पवित्र मोर्चा’ (द होली एलाइन्स) ले अमेरिकी महाद्वीपका पूर्वउपनिवेशहरूमा स्पेनको शासन पुनःस्थापना गर्ने योजना बनाएको थियो । त्यो मोर्चाको लक्ष्य पुरानो विश्व र ल्याटिन अमेरिकाबाट गणतन्त्र र उदारवादका सबै जरा उखेल्नु थियो । परिणामतः आफ्नो अस्तित्व जोगाउन र आफू स्वयम् फैलिन क्यारिबिया, मध्य अमेरिका र सिङ्गो गोलाद्र्धमा आफ्नो प्रभाव विस्तार गर्नु संरा अमेरिकाको लागि अपरिहार्य बन्यो । त्यसको लागि उसले नवोदित गणराज्यहरूलाई साथ दिएर त्यहाँबाट युरोपेलीहरूलाई धपाउनु थियो ।
बेलायतमा त्यत्तिबेलाका विदेशमन्त्री जोर्ज कानिङले पहिलाका उपनिवेशहरूमा स्पेनियाली र अन्य युरोपेली शक्तिको उपनिवेश पुनःस्थापना रोकेरमात्र होइन, त्यहाँ संरा अमेरिकी प्रभाव निस्तेज पार्न सकेमात्र बेलायतको हित हुने विचार गरे । त्यसले नयाँ गणराज्यहरूसँग बेलायतको व्यापारिक सम्बन्धमा नोक्सान पुग्ने थियो । उनले अमेरिकी राष्ट्रपति मुनरोलाई भेटेर ल्याटिन अमेरिकामा युरोपका अन्य देशलाई धपाउन संरा अमेरिका र बेलायत मिल्नुपर्ने प्रस्ताव राखे । कानिङको प्रस्ताव सकारे दक्षिणी गोलाद्र्धको विकासमा बेलायतले पनि विशेषाधिकार पाउने थियो । साथै दक्षिणतिर संरा अमेरिकाको विस्तारमाथि पनि उसले निगरानी राख्न सक्थ्यो ।
मुनरोले बेलायती प्रस्ताव ठाडै अस्वीकार गरे । बरु मुनरो सिद्धान्तले युरोपका सबै विदेश मन्त्रीहरूलाई भविष्यमा कुनै पनि युरोपेली शक्तिले ल्याटिन अमेरिकाको कुनै पनि भागमा उपनिवेश लाद्न प्रयत्न नगर्न कडा चेतावनी दियो । कुनै पनि त्यस्तो प्रयासलाई संरा अमेरिकाविरुद्धको आक्रामक कदम मानिने उनको चेतावनी थियो ।
सन् १८२३ मा विस्तारवादी र पछि संरा अमेरिकी राष्ट्रपति बनेका जोन कुइन्सी एडम्सको पाकेको फलको उपमाको चर्चा सुरु भएको थियो । उनले भनेका थिए, “यदि एउटा स्याउसँग आफ्नो मूल वृक्षबाट खसेर भुइँमा खस्नेबाहेक अर्को विकल्प हुँदैन भनेजस्तै आफैँ अलग टिक्न नसक्ने क्युवा स्पेनसँगको अप्राकृतिक सम्बन्धबाट भाँचिएर उत्तर अमेरिकी सङ्घतिर खस्नुको विकल्प छैन ।”
क्युवाली सार्वभौमिकता हस्तान्तरण हुनबाट रोक्न संरा अमेरिकाले युद्धको धम्की दिएको थियो । सन् १८२३ मा पूर्वराष्ट्रपति थोमस जेफरसनले तत्कालीन राष्ट्रपति मुनरोलाई विशेषतः क्युवामाथि कब्जा, विभाजन वा अरू कुनै पनि तरिकाबाट अरू शक्तिको हुन नदिन सबै उपाय लगाउन सल्लाह दिएका थिए । त्यसपछि संरा अमेरिकाले क्यारिबियामा आफ्नो व्यापारिक र सैनिक प्रभुत्वको आधार बनेको क्युवाली टापुमाथि बलियो नियन्त्रण कायम राख्दै गयो ।
मुनरो, जेफरसन, एडम्स र अन्य राष्ट्रपतिहरूको लागि संरा अमेरिका संसारको लागि एउटा आदर्श थियो । मुनरो सिद्धान्त संसारभर संरा अमेरिकी सिद्धान्त प्रवद्र्धन गर्ने उनीहरूको औजार थियो । यसप्रकार त्यो सिद्धान्त ‘भाग्यमा लेखिएको’ नीति (मेनिफेस्ट डेस्टिनी) को जग राख्यो । भाग्यमा लेखिएको नीति सन् १८४५ मा पत्रकार जोन ओ’ सुलिभानले प्रतिपादन गरेको शब्दावली हो । टेक्सासलाई संरा अमेरिकामा मिलाउने कदमको समर्थनमा उनले यो शब्दावली प्रतिपादन गरेका थिए । उनको भनाइ थियो, “हामीलाई यो सिङ्गो महाद्वीपमा फैलिन र यसलाई आफ्नो बनाउने अधिकार ईश्वरले हाम्रो भाग्यमा लेखिदिएका हुन् । ईश्वरले स्वतन्त्रता र अधिकारसहितको स्वशासनको अभ्यास गर्न हामीमाथि यस्तो अधिकार दिएका हुन् ।” संरा अमेरिकी नेताहरू आफ्ना जनता र सरकारको कार्यशैलीमाथि विश्वास गरेर ईश्वरले संरा अमेरिकालाई बाँकी महाद्वीप र संसारमा आफ्नो साम्राज्य विस्तार गरेर, प्रजातन्त्र र पुँजीवाद फैलाएर तिनको भाग्य कोर्ने जिम्मेवारी दिएको विश्वास गर्छन् । जब्बर जातिवादी संरा अमेरिकाले उत्तर र दक्षिण अमेरिकाका सबै आदिवासी जनतालाई ‘सभ्य’ बनाए । ती आदिवासी जनतालाई उनीहरूको जमिनबाट बेदखल गरिदिए । अङ्ग्रेज–अमेरिकी जातीय सर्वोच्चताको नाममा आदिवासी जनतालाई शिकार बनाइयो ।
आदिवासी जनताको जमिन र मेक्सिकोलाई मासेर संरा अमेरिकाले गरेको भौगोलिक विस्तार चकित पार्ने खालको थियो । सन् १७८३ मा संरा अमेरिकाअन्तर्गत १३ वटा राज्य थिए । तिनको कुल क्षेत्रफल ११ लाख वर्ग किलोमिटर थियो । सन् १८०३ मा लुजियाना खरिद गरेर २१ लाख ४० हजार वर्ग किलोमिटर थपियो । सन् १८१९ मा फ्लोरिडाको १ लाख ७० हजार ३ सय १० वर्गकिलोमिटर, सन् १८३८ मा टेक्सासको ६ लाख ९५ हजार ५ सय ९६ वर्गकिलोमिटर क्षेत्रफल थपियो । त्यसमा मेक्सिकोको ५५ प्रतिशत क्षेत्रफल (हालको क्यालिफोर्निया, नेभाडा, उताहा, एरिजोना, कोलोराडो, ओक्लोहोमाको न्यु मेक्सिकोका हिस्सा, कानसास र वेमिङको कुल १३ लाख ७० हजार वर्गकिलोमिटर थपिएपछि संरा अमेरिकाको कुल क्षेत्रफल ५४ लाख ७५ हजार ९०६ वर्गकिलोमिटरमा फैलियो । यो सुरुको क्षेत्रफलभन्दा चार गुणा बढी हो । संरा अमेरिकाले टेक्सासलाई सन् १८३४–३६ मा भएको मेक्सिको–टेक्सास लडाइँबाट र सन् १८४५–४८ सम्म मेक्सिकन– अमेरिकी लडाइँबाट मेक्सिकोको आधा भाग सैन्य माध्यमबाट आफूमा गाभ्यो ।
सन् १८२३ मा विस्तारवादी र पछि संरा अमेरिकी राष्ट्रपति बनेका जोन कुइन्सी एडम्सको पाकेको फलको उपमाको चर्चा सुरु भएको थियो । उनले भनेका थिए, “यदि एउटा स्याउसँग आफ्नो मूल वृक्षबाट खसेर भुइँमा खस्नेबाहेक अर्को विकल्प हुँदैन भनेजस्तै आफैँ अलग टिक्न नसक्ने क्युवा स्पेनसँगको अप्राकृतिक सम्बन्धबाट ताडिएर उत्तर अमेरिकी सङ्घतिर झर्नुको विकल्प छैन ।”
क्युवाली सार्वभौमिकता हस्तान्तरण हुनबाट रोक्न संरा अमेरिकाले युद्धको धम्की दिएको थियो । सन् १८२३ मा पूर्वराष्ट्रपति थोमस जेफरसनले तत्कालीन राष्ट्रपति मुनरोलाई विशेषतः क्युवामाथि कब्जा, विभाजन वा अरू कुनै पनि तरिकाबाट अरू शक्तिको हुन नदिन सबै उपाय लगाउन सल्लाह दिएका थिए । त्यसपछि संरा अमेरिकाले क्यारिबियामा आफ्नो व्यापारिक र सैनिक प्रभुत्वको आधार बनेको क्युवाली टापुमाथि बलियो नियन्त्रण कायम राख्दै गयो ।
क्युवा स्वतन्त्रताको अपवाद थियो । सन् १७९१ देखि १८०४ मा हाइटीमा भएको क्रान्ति भएपछि क्युवा संसारकै चिनीको प्रमुख निर्यातकर्ता बन्यो । त्यसअघि हाइटी चिनीको प्रमुख उत्पादक थियो । फैलिँदो चिनी अर्थतन्त्रमा काम गर्न क्युवामा ठुलो सङ्ख्यामा दास बनाइएका मानिसहरू पठाइए । सन् १७७४ मा क्युवामा दासहरूको सङ्ख्या ४४ हजार भएकोमा सन् १८६१ मा झन्डै ३ लाख ७० हजार पुगेको थियो । सन् १८४१ मा क्युवामा गोराहरूभन्दा कालाहरूको जनसङ्ख्या बढी भइसकेको थियो ।
हाइटीको उदाहरण पछ्याउँदै क्युवामा सन् १८१२, १८२६, १८३०, १८३७, १८४०, १८४१ र १८४३ मा दास विद्रोहहरू भए । क्युवाका शासकहरूले क्युवालाई स्वतन्त्र बनाए स्पेनियाली उपनिवेशवादी शासनको मात्र अन्त्य हुने होइन, उनीहरू भर परेको दास श्रमको पनि अन्त्य हुने निष्कर्षमा पुगे । हाइटीमा जस्तै क्युवाली टापुका शासक (स्पेनी उपनिवेशवादी) लाई हटाउने सामाजिक शक्तिले नै क्रिओली शासक (युरोपेली र काला जातिका मानिसको मिश्रित जाति) लाई पनि पन्छाउन सक्ने उनीहरूको चिन्ता थियो । त्यस्तो परिस्थितिमा उनीहरूले क्युवामा स्पेनियाली उपनिवेशलाई नै अक्षुण्ण राख्न उपयुक्त ठाने ।
क्युवामा चिनी अर्थतन्त्रको विस्तारले क्युवालाई स्पेनसँगभन्दा संरा अमेरिकासँग निकट बनायो । “सन् १८४० दशकसम्ममा क्युवाको झन्डै आधा व्यापार उत्तर अमेरिकी बजार र उत्पादकमा प्रत्यक्ष निर्भर थियो,” आफ्नो पुस्तक ‘क्युवाः सुधारदेखि क्रान्तिसम्म’ मा इतिहासकार लुइस ए पेरेजले भने । “चिनी, चाकु आदिको निर्यात बढ्यो । अत्यावश्यक खाद्य पदार्थ, चिनीको उत्पादन बढ्यो । संरा अमेरिकी पुँजी पनि बढ्दै गयो ।” सन् १८४८ मा राष्ट्रपति जेम्स के पोकले क्युवाली टापु किन्न १० करोड अमेरिकी डलर प्रस्ताव गरे । सन् १८५४ मा फ्रान्किलिन पिएर्चले पैसा बढाएर १३ करोड प्रस्ताव गरेका थिए ।
अधिकांश क्युवाली शासकहरूले स्पेनबाट स्वतन्त्र चाहिरहेका थिएनन् । तर, स्पेन भने आफ्ना उपनिवेशमा विद्रोह रोक्न असमर्थ बन्दै थियो । दास र स्वतन्त्र राज्यहरूबिचको घरेलु धु्रवीकरणको कारण संरा अमेरिका आफैले पनि क्युवाली टापु लिइहाल्न सकेको थिएन । क्युवाली शासकहरूको एउटा हिस्साले क्युवालाई संरा अमेरिकामा गाभिए दासप्रथा पनि चल्ने र चिनीको अर्थतन्त्र पनि टिक्ने विचार गर्थे । तथापि, स्पेनमा दासमोचनपछि क्युवाली जमिनदार कार्लोस मानुएल डे सेसपेड्सले आफ्नो जमिनबाट दासहरूलाई मुक्त गरे र क्युवाली स्वतन्त्रता लडाइँको राँको बाले । क्युवाली स्वतन्त्रता लडाइँ सन् १८६८ बाट सुरु भएर १८७८ सम्म चल्यो ।
चर्को दबाबबिच दास प्रथाका कट्टरविरोधी राष्ट्रपति युलियस ग्रान्टले क्युवाली क्रान्तिकारीहरूको विद्रोहलाई स्वीकारे तर तटस्थ बसे । क्युवाको दोस्रो स्वतन्त्रता लडाइँ सन् १८९५ देखि १८९८ सम्म चल्यो । त्यत्तिबेलाको अवस्था भने अघिल्लोभन्दा बेग्लै थियो । सन् १८९८ मा राष्ट्रपति विलियम मेकिन्लेले स्पेनविरुद्ध लडाइँको घोषणा गरे । संरा अमेरिकी युद्धक जहाजमा हमला गरेको बहाना र ‘क्युवालाई मुक्त गर्ने’ भन्दै उनले युद्धको घोषणा गरेका थिए । तर, खासमा क्युवाको स्वतन्त्रता रोक्न उनले यस्तो कदम चालेका थिए ।
संरा अमेरिकाको प्रभुत्ववादी सोचबारे सजग क्युवाली क्रान्तिकारी नेता जोसे मार्टीले समयमै क्युवा स्वतन्त्र भए संरा अमेरिकालाई ‘एन्टेलिस सागरपारि फैलिन रोक्ने र हाम्रो अमेरिकी भूमिमा आफ्नो ठुलो शक्ति लगाउन संरा अमेरिकालाई अवरोध पुग्ने’ विचार पु¥याएका थिए । सन् १८९८ मा १७ हजार सेनासहित क्युवाली विद्रोहीहरू क्युवालाई स्वतन्त्र बनाउन सफल हुने अवस्थामा पुगेपछि मात्र संरा अमेरिकाले क्युवामाथि कब्जा जमाएको थियो । स्पेन पराजित भयो । जोसे मार्टीले पूर्वानुमान गरेजस्तै संरा अमेरिकाले प्रिटो रिकोमाथि कब्जा जमायो । स्पेनविरुद्धको लडाइँ फिलिपिन्स (त्यहाँ पनि सेनाले कब्जा जमाएको थियो) सम्म विस्तार भयो । संरा अमेरिकाले हवाई टापुमाथि कब्जा जमाइयो र ग्वाम टापु पनि आफ्नो नियन्त्रणमा लिइयो ।
संरा अमेरिकी सेनाले क्युवामाथि सन् १९०२ सम्म कब्जा जमायो । त्यसपछि दुई वटा भारी निषेधात्मक सम्झौता – प्लाट सम्झौता र ग्वान्टानामो र पाइन्स लघु टापुमा सैनिक आधार स्थापना गरेर मात्र संरा अमेरिकाले आफ्नो कब्जा छोड्यो । ती दुवै सम्झौता क्युवाको नयाँ संविधानमा समेत उल्लेख गरियो । त्यसकै आधारमा क्युवामाथि संरा अमेरिकाले सैनिक हमला ग¥यो पनि । सन् १९०६–०९ र सन् १९१७–२२ मा तिनै आधारमा क्युवामाथि संरा अमेरिकाले हस्तक्षेप गरेको थियो । संरा अमेरिकाले क्युवालाई कुनै पनि अर्को विदेशी शक्तिसँग कुनै पनि खालका सन्धि–सम्झौता गर्न निषेध गरेको थियो ।
राष्ट्रपति थियोडोर रुजवेल्टले मुनरो सिद्धान्त र भाग्यमा लेखिएको सिद्धान्तलाई आफ्नो कुख्यात नीतिमा उल्लेख गर्दै भनेका छन्, “पश्चिम गोलाद्र्धमा संरा अमेरिकाले मुनरो सिद्धान्त लागु गरे नचाहेर पनि गलत काम गरेमा वा असमर्थताको अवस्थामा अन्तर्राष्ट्रिय निगरानी शक्तिको अभ्यास गर्न बाध्य पार्नेछ ।”
रुजवेल्टको विदेश नीतिको शैली ‘नरम बोल्ने तर लट्ठी बोकेर हिँड्ने’ थियो । उनको नीतिकै प्रतापस्वरूप सन् १९०३ मा कोलोम्बियाबाट पानामा विभाजित भयो । सन् १९१२ देखि १९३३ सम्म निकारागुआमा सैनिक कब्जा जमाइयो । त्यस्तै, हाइटीमा सन् १९१५ देखि १९३४ सम्म, डोमिनिकन गणराज्यमा सन् १९१६ देखि १९२४ सम्म तथा मध्य अमेरिका र क्यारिबिया क्षेत्रका धेरै भूभागमा संरा अमेरिकाले कब्जा जमायो । शीतयुद्धको समयमा संरा अमेरिकाले ग्वाटेमालामा सन् १९५४, सन् १९६१ मा डोमिनिकन गणराज्यमा, सन् १९६१ मा क्युवाको बे अफ पिग्समा, ब्राजिलमा सन् १९६४ मा, बोलिभियामा सन् १९७१ मा, चिलीमा सन् १९७३ मा, अर्जेन्टिनामा सन् १९७६ मा, निकारागुआमा सन् १९७९ देखि १९९० सम्म, ग्रेनाडामा सन् १९८३ मा, एल साल्भाडोर र ग्वाटेमालामा सन् १९८० दशकमा र पानामामा सन् १९८९ मा संरा अमेरिकाले हस्तक्षेप ग¥यो । संरा अमेरिकाको मुनरोवादी हस्तक्षेपको कारण लाखौँ मानिस मारिए ।
क्युवाली क्रान्ति नहुँदासम्म क्युवा व्यवहारतः संरा अमेरिकाको उपनिवेश थियो । सन् १९६० मा संरा अमेरिकी संसदीय समितिमा बोल्दै क्युवाका लागि तत्कालीन संरा अमेरिकी राजदूत इर्ल इ टी स्मिथले भनेका थिए, “क्यास्ट्रो नआउँदासम्म क्युवामा संरा अमेरिकाको व्यापक प्रभाव थियो । संरा अमेरिकी राजदूत त्यहाँ दोस्रो महत्वपूर्ण व्यक्ति हुन्थ्यो । कहिलेकाहीँ त राजदूत त्यहाँका राष्ट्रपतिभन्दा पनि महत्वपूर्ण हुन्थ्यो ।”
सन् १९५९ मा क्युवाको विद्युत्तीय ऊर्जा र दूरसञ्चार सेवामा संरा अमेरिकाको ९० प्रतिशत प्रत्यक्ष लगानी थियो । कच्चा चिनी उत्पादनमा ३७ प्रतिशत, व्यापारिक बैङ्कमा ३० प्रतिशत, सार्वजनिक रेलवे सेवामा ५० प्रतिशत, पेट्रोलियम प्रशोधनमा ६६ प्रतिशत, बीमा सेवामा २० प्रतिशत, निकल धातु खानीमा शतप्रतिशत संरा अमेरिकाको लगानी थियो । त्यसका साथै क्युवा जुवा, माफिया र वेश्यावृत्तिको लागि स्वर्ग मानिन्थ्यो । एउटै थरी बालीमा आधारित अर्थतन्त्र भएकोले क्युवाका अधिकांश जनताले गरिबी, कुपोषण, अशिक्षा र दीर्घ बेरोजगारी भोग्न बाध्य थिए ।
मुनरो सिद्धान्त र त्यसका प्रवद्र्धन, भाग्यमा लेखिएको सिद्धान्त र रुजवेल्टको नीति प्रभुत्ववाद जमाउने संरा अमेरिकी हतियार हुन् । क्युवाली क्रान्तिले क्युवामा संरा अमेरिकी शोषणको अन्त्यहीन चक्र तोड्यो । तर, संरा अमेरिकी मुनरो हस्तक्षेप अद्यापि कायम नै छ । क्युवामाथि संरा अमेरिकाको ६१ वर्ष लामो नाकाबन्दी र एक्काइसौँ शताब्दीमा त्यहाँको प्रगतिशील सरकारमाथि संरा अमेरिकी हस्तक्षेप मुनरो सिद्धान्तकै निरन्तरता हो ।
सन् २०१९ मा शीतयुद्धकालीन मानसिकता बोकेका सन्काहा संरा अमेरिकी नेता जोन बोल्टनले ‘मुनरो सिद्धान्त अद्यापि जीवित र ठीक भएको’ अभिव्यक्ति दिए । वास्तवमा उनी सही थिए । संरा अमेरिकी जातिवाद, शोषण र सैनिक हस्तक्षेप अनि तिनले जन्माएका हिंसा, शोषण, गरिबी, विध्वंस र मृत्युले ल्याटिन अमेरिका र सिङ्गो संसारमा पारेको दुष्परिणामले वास्तवमै मुनरो सिद्धान्त जीवित भएको देखाएको छ । मानव जातिले दुई सय वर्ष त्यो भत्र्सनालायक सिद्धान्त झेलेको छ ।
(लेखक ल्याटिन अमेरिकाको समकालीन राजनीतिक अर्थतन्त्रका विज्ञ र प्राज्ञिक व्यक्तित्व हुन् । उनी क्युवा ऐक्यबद्धता अभियानको कार्य समिति सदस्य हुन् । यो लेख सुरुमा क्युवाली पत्रिकामा प्रकाशित भएको थियो ।)
स्रोत : मन्थली रिभ्यु
नेपाली अनुवाद : नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *