नयाँ पुस्ताको आन्दोलनलाई विचारले नेतृत्व गर्छ !
- कार्तिक १८, २०८२

केही दिनदेखि यता नेपालका विभिन्न राजनीतिक दलका विद्यार्थी सङ्गठन र युवा सङ्गठनहरूको भेला, सम्मेलन र महाधिवेशनहरूका समाचारहरू सुनिए । तर, केही दलका सम्मेलन र भेलाहरू शान्तिपूर्वक नै सम्पन्न भएको सुनियो भने कसै कसैको हात हालाहाल, तीतो–पिरो र पार्टीको गुटबन्दीको प्रत्यक्ष हस्तक्षेप र प्रभावहरू सुनियो । शासक दलका विद्यार्थी सङ्गठन र युवा सङ्गठनहरू सरकारबिना चलाउन नसक्ने देखिए । उनीहरूले सङ्गठनको विस्तार र सरकारको प्रभाव राम्रो प्रदर्शन गर्न सकेनन् । त्यसैले उनीहरूले प्रमको कार्यालय, गृह मन्त्रालय, शिक्षा मन्त्रालय, अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालयलगायत प्रशासनमा प्रत्यक्ष हात हाल्न थाले । नयाँ कर्मचारी भर्नामा ती नै युवा–विद्यार्थीहरूलाई स्थान दिइयो । सरकारले प्रहरी–गुप्तचर विभाग र आवश्यक परेमा सेनामा समेत उनीहरूलाई हुल्यायो । त्यस्तै शासक दलहरूले शिक्षक र कर्मचारी सङ्गठनलाई समेत सडकमा ल्याए । शासनमा रहेका दल र गुटहरू आ–आफ्नै पार्टीभित्रको उपद्रव र बल प्रयोग गर्न पनि तयार राख्न पैसाको जोहो गर्ने गर्छन् । त्यसको लागि भ्रष्टाचार, अनियमितता र साहु–महाजनहरूको थोरै रकमबाट मात्रै स्थिति नियन्त्रण गर्न नपुग्ने बेला निजी चिकित्सा कलेजको सङ्घ, इन्जिनियर समाज, ठेकेदार समाज आदिबाट पनि रकम व्यवस्था गर्छन् । ठुलठुला विद्रोह र निर्णायक राजनीतिक उथलपुथल हुने बेला सेनाको पछाडि नेपाल बैङ्कहरू तयार राख्छन् । यसकारण, नेका र एमालेको ओली सरकार आजसम्म सत्तामा छ । प्रधानमन्त्री र मन्त्रीहरू नाटकका पात्रहरू हुन् भने तिनीहरू भाषण, टिप्पणी, गतिविधि वा जनताले देखिने सबै घटनामा भित्रबाट डोरीले तानेर नचाउने कठपुतलीको नाचजस्तै सामान्य चलिरहेको साधारण जनताले हेर्न बाध्य पार्ने विषय हो ।
संसद्बाट बजेट पारित गर्ने गराउने सबै खेलभित्र डोरीले तान्ने नदेखिने भित्री पात्रहरूले देखाउने खेलजस्तै हुन् ।
तर, केही सङ्गठनहरूको बैठकमा तल्लो स्तरका नेताहरूको गुनासो सुनियो – केन्द्रीय समितिमा कोही बस्न तयार भएनन् । यस्ता अल्लारे वा निरीह कुरा सुन्दा अन्य दलका नेताहरू मुख छोपेर हाँस्दै भन्दै थिए – शासनमा रहेका दलका सङ्गठनहरूको केन्द्रीय समितिमा बस्न पो टाउको फोडाफोड र रक्सीका बोटलहरूको हानाहान अनि विश्वविद्यालयका बेञ्च टेबल र दराजहरूको फोडाफोड र भाँचकुच भएको रहेछ । सुख्खा तलबमा कर्मचारी त नोकरी गर्न आउँदैन भने भन्सार, हवाई अड्डा, मालपोतजस्ता कार्यालयका पदमा बस्न २–४ महिना होइन वर्षौंको तलब त्याग गरी भेटी चढाउन तयार हुन्छन् । यसकारण, शासक दलका वर्गीय सङ्गठनहरूको बैठक र निर्वाचनमा मारकाटका घटनाहरू हुन्छन् ।
निःस्वार्थरूपले देश र जनताको सेवा गर्ने र सिद्धान्तनिष्ठ कार्यकर्ता तयार गर्ने सङ्गठनहरूमा केन्द्रीय समितिमा सदस्य बन्न लालायित हुनुको अर्थ माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधाराबाट शिक्षित हुन र समाजवाद र साम्यवादका गम्भीर सैद्धान्तिक तत्वहरू बुझ्न र संसारको परिवर्तनसँगसँगै ती सिद्धान्तहरूको गुढ तत्वहरूसमेत आउने चिन्तन र विश्लेषणबारे जानकारी राख्ने तृष्णाले कार्यकर्ताहरू संयमतापूर्वक लामबद्ध हुन्छन् ।
एउटा माविका विद्यार्थीहरूको ‘कि त समितिमा ४–५ वर्ष सक्रिय भएर वादविवाद कार्यक्रम, स्वतन्त्र भाषण, साहित्य गोष्ठीहरू एवं गीत, सङ्गीत र नाटकहरू खेल्छन् कि त कलेज जीवनमा पनि ती सङ्गठनका विद्यार्थीहरूमध्ये कोही फूटबल, भलिबल, ब्याडमिन्टन, टेबुलटेनिस वा बास्केट बल खेलमा पुग्छन् र कोही एथलेटिक्सका विभिन्न क्षेत्रमा पुग्छन् तथा ती खेलहरूका नायक र क्याप्टेन एवं विजयी बन्न पुग्छन् । तिनीहरूमध्ये विविध विषयका विशेषज्ञ (विद्यावारिधि) गर्ने र प्राज्ञ बन्ने इच्छा राखेर आफूलाई योग्य बनाउन चाहन्छन् । त्यस्ता विद्यार्थीहरू हाहा र हुहु गर्ने सङ्गठनहरूको नेता बनेर बदनाम हुन चाहन्नन् ।
यसकारण, निश्चित सिद्धान्तबाट प्रेरित भएर एक आदर्श समाज निर्माण गर्ने हेतुबाट प्रेरित सक्रिय कार्यकर्ताहरूलाई पुँजीवादी शासक दलका सङ्गठनका कार्यकर्ताहरूसँग तुलना गर्नु व्यर्थ छ । सुन्तलाको बोट वा भोगटेको बीउबिना ती फलहरू फल्दैनन् र फूल पनि फक्रँदैनन् । यसकारण, जगैदेखि घर बनाउने सोचजस्तै ‘समाजवादको निर्माणको निम्ति सङ्घर्षमा लागेका र त्यसबारे अध्ययन गरेका व्यक्तिहरूले मात्रै नयाँ समाजको निम्ति योग्य कार्यकर्ता निर्माण गर्न सक्नेछन् ।
Leave a Reply