भर्खरै :

नयाँ पुस्ताको आन्दोलनलाई विचारले नेतृत्व गर्छ !

नयाँ पुस्ताको आन्दोलनलाई विचारले नेतृत्व गर्छ !

विश्वको युवा आन्दोलनको अध्ययन गर्दा पेइचिङको १९१९ मई ४ को चीनका युवाहरूको आन्दोलन बखत बेलायती र अमेरिकी उपनिवेशवादीहरू चीनको शान्तुङ प्रान्त र उत्तरी भागहरू कब्जा गर्न खोज्दै थिए । उनीहरू चीनको व्यापार, कलकारखाना, खानी र अन्य आर्थिक क्षेत्र पनि कब्जा गर्न खोज्दै थिए । अमेरिकी सिपाहीहरूले चिनियाँ छात्राहरूलाई दुव्र्यवहार गरेको निहँुमा सारा युवा–विद्यार्थी स्कूल र कलेज छोडेर सडकमा उत्रे । तिनीहरूको नारा थियो – ‘जापानी दलालहरू निक्ली जा’, ‘देश बेचुवा मन्त्री – मुर्दावाद !’ ३० भन्दा बढी विद्यार्थीहरू पक्राउ परे । पेइचिङ विश्वविद्यालयमा हडताल थियो – देशको भूमि जापानलाई दिने सन्धिमा हस्ताक्षर गर्ने चिनियाँ राजदूतलाई युवा विद्यार्थीहरूले घरमा गई लात–जुत्ताले सजाय गरे । पुनः ३२ जना विद्यार्थीहरू पक्राउ परे । तर, त्यस सङ्घर्षले चीनभरि मजदुर आन्दोलन सुरु भयो र चीनमा नयाँ चेतना जाग्यो ।
भारतीय युवा–विद्यार्थीहरू सरदार भगत सिंह, चन्द्रशेखर आजाद आदिले बेलायती उपनिवेशवादको विरोधमा पन्जाबको संसद् भवनमा ‘बहिरा’ बेलायती उपनिवेशवादीहरूलाई भारतीय जनताको स्वतन्त्रता र मुक्तिको इच्छालाई प्रकट गर्न बम फालेका थिए ।
जलियावाला बागमा बेलायती शासकहरूले एक हजारभन्दा बढी भारतीय महिला र बालबालिकाहरूको गोली हानी हत्या गरेका थिए । बेलायती उपनिवेशवादीहरूलाई खबरदारी गर्न बेलायतको मुटु लन्डनमा उक्त गोली चलाउन आदेश दिने मुख्य अङ्ग्रेजी अफिसरलाई भारतका मेडिकल कलेजको तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीले गोली हानेर मारे । ती विद्यार्थीले बयानमा भारतीय जनतामाथि भएको अन्यायको कुनै पनि बेलायती उपनिवेशवादीलाई भारतीय युवाहरूले बदला लिने पूर्वखबरदारी गरेको बताए । अन्ततः भारतीय युवा–विद्यार्थीहरूको त्यस्ता कैयौँ साम्राज्यवाद र उपनिवेशवादविरोधी सङ्घर्षले साम्राज्यवादीहरू एसिया छोड्न बाध्य भए ।
एकतन्त्री राणाहरूको सैनिक शासनमा नेपाली जनतालाई उठाउने सहिदहरूमध्ये गङ्गालाल र दशरथ चन्द पनि युवा नै थिए ।
नेपालमा पहिलोपटक विराटनगरमा जुटमिलका मजदुरहरूको हडताल र आन्दोलनका युवाहरू गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारी पनि युवा नै थिए ।
काठमाडौँमा २००६ सालको कर्मचारी आन्दोलनका सक्रिय कमान्डर र अन्य कर्मचारीहरू युवाहरू नै थिए ।
त्यति मात्र होइन, बेलायती साम्राज्यवादको विरोधमा अमेरिकी स्वतन्त्रता आन्दोलनमा ‘मिनेट म्यानहरू’ अर्थात् तत्काल सङ्घर्षमा उत्रन तयार हुने स्वयंसेवक तथा बोस्टनमा ‘कर लागेको’ बेलायती चियालाई अमेरिकामा पस्न नदिने उद्देश्यले चियाका बाकसहरूलाई समुद्रमा फाल्ने ‘आदिवासीहरूको भेष’ मा स्वयंसेवकहरू तथा कर उठाउन जाने बेलायती उपनिवेशवादी कर्मचारीहरूलाई (नेपालमा कालोमोसो दले जस्तै त्यहाँ) जिउमा खोटो र अलकत्रा दल्दै त्यसमा चराचुरुङ्गीका प्वाँखहरू टाँसेर गाडामा राख्दै घण्टी बजाउँदै नगर घुमाउने स्वयंसेवकहरू पनि युवाहरू नै थिए । नेपालमा पञ्चायत कालमा केही पुँजीवादी दलका कार्यकर्ताहरूलाई पनि विश्वासघात गरी आन्दोलन फिर्ता लिएकोमा गाडामा राखेर घुमाएका थिए – नेपाली युवा–विद्यार्थीहरूले ।
अमेरिकी साम्राज्यवादले बम खसालेर लाखौँ भियतनामी युवा–विद्यार्थी , महिला, किसान र मजदुरहरू मारेकोमा अमेरिकी परराष्ट्रमन्त्री म्याकनमारालाई एउटा पुलमा बम जडान गरेर बदला लिन खोजेका थिए युवा भियतनामी न्युगेन भान ट्रोइले । तर उनी पक्रिए । भियतनामी जनताका वीर युवा न्युगेन भान ट्रोइलाई ज्यान सजाय दिइयो । त्यसबेला उनलाई ‘पश्चाताप गरेर ईश्वरसँग प्रार्थना गर्नू’ भन्दा उनले भने, “मलाई दुःख छ म्याकनमारालाई मार्न पाइनँ ।”, परिवारलाई केही सन्देश छ कि भनी पत्रकारले सोध्दा उनले भने, “रातो झन्डा फरफराइरहेसम्म तिमी कहिल्यै विधवा हुने छैनौ ।” तिम्रो अन्तिम इच्छा के हो ? भन्ने जिज्ञासामा उनले भने, “हो चि मिन्ह – जिन्दावाद, भियतनामी जनता जित्नेछन् ।”
यसरी साम्राज्यवाद र उपनिवेशवादविरोधी सङ्घर्षबाट नेपाली युवा–विद्यार्थीहरूले सिकेर आफ्नो देशको नवउपनिवेशवादीहरूको विरोधमा अन्तिम घडीसम्म सङ्घर्ष गर्नु आजको आवश्यक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *