देशको रक्षा गर्न र स्वाभिमान जोगाइराख्न नागरिकहरू सधैँ सचेत रहनुपर्ने
- कार्तिक २३, २०८२

भक्तपुर, ३ असार । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको अनुसन्धान तथा विकास एकाइ समितिको आयोजनामा अनुसन्धान तथा सोको लेखाइसम्बन्धी तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा कलेज सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अरुबाट प्रशिक्षित हुनुभन्दा हामी आफै प्रशिक्षक भई आपसमा प्रशिक्षित हुने व्यवस्था गर्नु राम्रो हुन्छ भन्नुभयो । उहाँले अनुसन्धान कार्यमा लागेर देशकै सेवा गर्न सकिने भएकोले कलेजले अनुसन्धान कार्यमा जोड दिँदै आएको बताउनुभयो ।
कलेजबाट उत्पादित इन्जिनियरहरूको अवस्थाबारे कलेजले ध्यान दिनुपर्ने तथा किसान, मजदुर, विद्यार्थीहरूको अवस्थाबारे अनुसन्धान गरी यथार्थ तथ्याङ्क निकाल्नको लागि कलेजले सहयोग गर्न आग्रह गर्दै उहाँले कलेजले अनुसन्धानको केन्द्र स्थापना गरेमा भक्तपुर नगरपालिकाले अनुसन्धान कार्यको लागि बजेट विनियोजन गर्ने बताउनुभयो ।
उहाँले अनुसन्धान कार्य राम्रो भएको देश अगाडि बढेको बताउँदै भौगोलिक अवस्थालाई ध्यानमा राखी भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय खोली देशकै उत्पादनमुखी नमुनाको विश्वविद्यालय बनाउन लागिपरेको तर शासन सत्तामा गएका राजनैतिक दलहरूको अदूरदर्शिताले ख्वप विश्वविद्यालय स्थापना ढिलाइ भइरहेको छ भन्नुभयो ।
ख्वप अस्पताल सङ्कटको अवस्थामा स्थापना भएको बताउँदै सङ्कटदेखि डराउने र विचलित हुने होइन, सामना गर्न सक्नुपर्नेमा जोड दिँदै उहाँले इन्जिनियरिङ कलेजहरूबिच पनि प्रतिस्पर्धा भइरहेको आजको अवस्थामा कलेजको विशेषतालाई कायम गरिराख्न सबै जागरुक भई सहयोग गर्नुपर्छ भन्नुभयो ।
उहाँले आफ्नै खुट्टामा उभिएर हामीले सक्ने काम गर्नुपर्छ, अरुको मुख ताकेर हुँदैन भन्नुभयो ।
नीतिगत निर्णय गरेर जनतालाई धोका दिनु पनि भ्रष्टाचारै भएको बताउँदै उहाँले शिक्षा मन्त्रीले शिक्षकसँग संविधानविपरीतको सम्झौता गरेकोले शिक्षा ऐन असार १५ मा पेस हुन्छ कि हुँदैन भनी आशङ्का गर्नुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई.सुजन माकले लघु अनुसन्धान कोषलाई कार्यान्वयन गर्दै मध्यम खालको अनुसन्धान कोष निर्माणमा कलेज लागिपरेको र अनुसन्धानमा लागी आफू विज्ञ बनिने र विद्यार्थीहरूलाई पनि शिक्षण सिकाइ गर्न सहयोग पुग्ने बताउनुभयो ।
आगामी शैक्षिक वर्षदेखि कलेजमा Bachelor of Computer Application / Bachelor of Information Technology विषय सञ्चालनको लागि तयारी भइरहेको जानकारी गराउँदै अनुसन्धानसम्बन्धी तालिमबाट शिक्षकहरू लाभान्वित भएको बताउनुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई.सुनिल दुवालले अनुसन्धानको लेखरचना छपाउन सजग हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा अनुसन्धान तथा विकास एकाइ समितिका संयोजक डा. सर्वज्ञ वुद्धाचार्य, डा. फणीन्द्रप्रसाद भण्डारी र आ. रोविना मानन्धरले तालिमको महत्व र तालिमबाट सिकेका ज्ञानहरूबारे चर्चा गर्नुभयो । प्रमुख अतिथिबाट प्रशिक्षक र प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको आयोजक समितिले जनाएको छ ।
Leave a Reply