जारशाही संसद्मा बोल्शेभिक सांसद – ८
- कार्तिक २६, २०८२

नेपालकै लामो जात्राको रूपमा सञ्चालन हुने सांस्कृतिक नगर भक्तपुरको जीवितरूपमा पुजिने नेपालको पहिचान मानव समाजमा आधारित नवदुर्गा देवगण जात्राको अन्तिम दिनको रूपमा भलभल अष्टमीलाई मानिन्छ । हरेक वर्ष जुनसुकै परिस्थितिमा पनि यो देवगण जात्रा निरन्तर सञ्चालन हुन्छ । मानव शताब्दीको विकाससँगै मातृ इतिहासलाई दिशानिर्देश गर्ने उद्देश्य यस संस्कृतिमा रहेको मानिन्छ ।
यो जात्रा मकुन्डो लगाई बाजाको तालमा गीतको बोलसँगै मनाइन्छ । पारिवारिक भूमिकामा सहकार्य, नारी सुन्दरता, सरसफाइ, नारीक्रोध, मतिना नाच, दाम्पत्ति भूमिका, शाकाहारी मांसाहारी पहिचान, बालपन, चकचके भूमिका, खानाको परिकार, हरेक जीवन कार्यशैलीमा आधारित भएर यो नवदुर्गा देवगण बनमालाबाट प्रदर्शन हुने जात्रा हो । भक्तपुरमा मात्र २१ स्थानमा माछा मार्ने (ङालाकेगु) जात्रा गरिन्छ । यसबाहेक काठमाडौँ, पशुपति, टोखा, चपजि, तुस्चा, गोकर्ण, साँखुमा पनि जात्रा गरिन्छ । त्यस्तै, मध्यपुर नपा, चाँगुनारायण, साँगा, नाला, धुलिखेल, श्रीखरापुर, चौकोट बनेपा नगरपालिका र पनौती नपामा पनि जात्रा सञ्चालन गरिन्छ । मानव समाजमा जन्मपश्चात् मृत्यु हुने तथ्यलाई दिशाबोध गर्न साउन महिनाको दोस्रो हप्तादेखि नामकरणबाट गतिविधि गर्दै वर्षभरिमा आठ महिना मकुन्डोसहित र चार महिना मकुन्डोबिनाको जात्रा गर्ने गरिन्छ ।
भलभल अष्टमीको दिन बिहानदेखि यस वर्षको देवगणको जात्रा अन्त्य हुनेछ । किंवदन्तीअनुसार देवगणहरूलाई आफ्नो जिम्मेवारी ग्रहण गरी ब्रह्मायणी, महेश्वरी, भद्रकाली तीन देवगणबाट मानव समाजमा मृत्युपश्चात् मसानघाटमा दाउरा (गुःसी) लग्ने परम्परा छ । देवगणहरूले ब्रह्मायणी पिठ (जहाँ देवगण विजया दशमीमा सृष्टि भएर आगमन हुने) मा विधिगतरूपमा दाउरा लाने गरिन्छ । देवगणहरू दिउँसो १ बजेदेखि नै पोशाक धारण गरी सम्पूर्ण मकुन्डोहरू मन्दिरको चोकमा विराजमान गर्दै मङ्गल सिद्धि नाचका साथ सो दिन समापन गरिन्छ । यस वर्षको पुजारी (नंकी) बाट अन्तिम पूजा सम्पन्न गरिन्छ ।
पूजाकै क्रममा सम्पूर्ण देवगणलाई मूलपात्र चढाउँदै ठुलठुला बारा, अण्डा बारासहितका देवगणहरूलाई भोजन गराउनुपर्ने परम्परा रहेको छ । त्यसलगत्तै ब्रह्मायणी देवगणबाट अन्तिमरूपमा देवगण परिवारलाई पञ्चरङ्गी (पासुका) वितरण गर्ने, गणेश देवगणबाट मोहनी टीका लगाउने जात्रा सम्पन्न गरिन्छ । अन्तमा, देवगणहरू मन्दिरबाट बाहिर प्रस्थान गर्ने क्रममा भैरव, काली, बाराही गरी विलापको नाच प्रदर्शन गर्दै सम्पूर्ण देवगण मन्दिरबाट आगमन गरी नगर परिक्रमा गरिन्छ । अन्तिम प्रसादको रूपमा भक्तजनहरूमा पञ्चरङ्गी धागोमा पासुका वितरण गरी पुनः मन्दिरमा सधैँजसो प्रवेश गर्न चाहने भक्तजनबाट ढोका बन्द गरी मन्दिर प्रवेशमा रोक लगाइन्छ । देवगण मन्दिर बाहिरबाट गछेँ, चोफल, त्वचा हुँदै सूर्यमढी दवलीमा सम्पूर्ण देवगणहरू राखिन्छ । अन्तमा नाय्खीँ बाजा बजाइ मध्य राति ब्रह्मायणी पीठमा पुगेर देवगणका मकुन्डोलाई पूजा गरी बलिको रूपमा थुमा चढाएर देवगणबाट मकुन्डोलाई जलाई मकुन्डोका अस्थिहरू खोलामा बगाएर जात्रा अन्त्येष्टि गरिन्छ ।
Leave a Reply