यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
पृष्ठभूमि
इतिहासमा विलुप्त भइसकेको त्यो पनि सयौँ वर्षअगाडिको कुरालाई सप्रमाण पेस गर्नु अत्यन्तै कठिन कार्य हो । वंशावली, अभिलेख, घटनावलीका हस्तलिखित ग्रन्थ वा ठ्यासफूका आधारमा इतिहासबारे बताउने एक मौलिक र प्राथमिक स्रोत हो । तर, त्योभन्दा अस्पष्ट प्रमाणहरूको माध्यमबाट इतिहासको पुनः संरचना गर्नु कठिनभन्दा कठिन कार्य हो । किनकि समयको अन्तरालमा हाल हामीले देखेका चिजहरू नेपालजस्तो प्राचीन देशमा विभिन्न तहमा बसेका हुन्छन् । हरेक तहका स्पष्ट लिखित/प्रमाणित इतिहास खोज्नु अँध्यारोमा सुइरो खोज्नु जस्तै हुन्छ ।
प्रा. डा. सुदर्शनराज तिवारीद्वारा लिखित ‘एस्सेज अन कल्चर एन्ड हिस्ट्री अफ भक्तपुर ः द क्यापिटल अफ द मल्ल नेपालमण्डल’ पुस्तक त्यस्तै कठिन प्रयासबाट बनेको ऐतिहासिक ग्रन्थ हो । जसमा मल्लकालको सुरुका इतिहास र त्यतिबेलाको हराएको ‘त्रिपुर दरबार’ को खोजी गर्ने कार्य भएको छ । विभिन्न इतिहासकारहरूको पूर्व अनुमानित सोचभन्दा पृथक सोच र शैलीमा आनन्द देव कालीन भक्तपुर र उनको दरबारदेखि भूपतीन्द्र मल्लकालीन ङेङापाझ्यः दरबारसम्मको सिलसिला यसमा पाउँछौँ ।
विगतमा किराँतकालीन स्थाननामसहितका लिच्छविकालीन अभिलेखका आधारमा लिच्छविकालीन भक्तपुरको सम्भावित नक्सासमेत प्रकाशित गरिएको थियो (तिवारी, २००१ः २३८, २५१) । त्यसपछिको लिच्छविकालीन राजधानी हाँडीगाउँको समेत उहाँले अनुमानित राजधानी र कैलाशकुट दरबारको काल्पनिक पुनः संरचना गर्नुभएको थियो (तिवारी, २००२) । उहाँका अन्य केही पुस्तकहरू पनि प्रकाशित छन् ।
पुस्तकको सारांश
पुस्तकको नाम : भक्तपुर : द क्यापिटल अफ द मल्ल नेपालमण्डल
पृष्ठ : २००
मूल्य : रु. २५०० ।–
लेखक : सुदर्शनराज तिवारी
प्रकाशक : रिच पब्लिसर्स, पाटन, नेपाल
प्रकाशन मिति : वि.सं. २०८० (ई.सं.२०२३)
यस पुस्तकको सारांश हरेक अध्यायको छुट्टाछट्टै यहाँ पेस गरिएको छ । जसमा लेखकको दृष्टिकोणलाई जस्ताको तस्तै पेस गरिएको छ ।
पहिलो अध्याय : ख्वप्रिङ – सूर्य उदाउने सहर
यो अध्याय सूर्यमढीसँग सम्बन्धित छ । उहाँका अनुसार तौलाछेँमा पाइएको अभिलेखमा उत्कृर्ण खृ्रपुङ र आसूर्यविध्वद्याग्रान्निवासिनका आधारमा यो नै किराँतकालदेखिको ख्वप्रिङ बस्ती हो । जसमा ‘खो’ को अर्थ सूर्य र ‘भा’ को अर्थ किरण हुन आउँछ । यस अध्यायमा वाकुपति नारायणको बारे बलिदेवको लोककथा समेटिएको छ । यो सहरको पूर्वी भागमा पर्ने कारण हाँडीगाउँको सत्यनारायणको शैलीमा वाकुपति नारायण स्थापना हुनसक्ने अनुमान गरिएको छ । आनन्द देवभन्दा अगाडिको केही पृष्ठभूमिपछि आनन्द देव ई.सं. १०९९ मा जन्मेको, ने.सं. २६७ (ई.सं.११४७) मा राजा भएको देखि भक्तपुरलाई राजधानी बनाएको कुरा, त्रिपुरदरबारसहित व्याख्या यसमा छ । राजदरबार वरपर सप्तग्रन्थकुट शैलीको मन्दिर बनाई, सुनको धारा बनाएको हुनसक्ने अनुमान उहाँले गर्नुभएको छ । पछिका वंशावलीमा तान्त्रिक यन्त्र र अष्टमात्रिकाको पीठ र द्योछेंँ बनाएको भनिएको तर कुनै पनि पूर्वमध्यकालका अभिलेख पीठमा पाइएको छैन । पुरातात्विक अवशेष पनि नपाइएको कुरा गर्नुभएको छ । उहाँका अनुसार आनन्द देवले सहर बसाल्न तीन तन्त्र विधि अपनाउनुभएको छ । ती प्रतिस्थातन्त्र, चण्डी सप्तसती, शङ्कराचार्यको शैव तन्त्र शक्ति सम्प्रदाय हुन् ।
यस अध्यायमा तुमचोको तुलारानीको कथाले पूर्वतर्फको महत्व देखाइएको र कुनै वंशावलीमा भक्तपुर १२,००० घरसहितको राजधानी, १२०० घरका सात गाउँ बसालेको प्रसङ्ग पनि उल्लेख गरिएको छ । सात गाउँमध्ये पनौतीमा सहर बसाल्न ‘दण्डक’ विधिको प्रयोग गरिएको छ । आनन्द देवको एकमात्र अभिलेख टौमढीको तीलमाधव नारायणको मन्दिरमा पाइएको छ । उहाँको अनुसार लिच्छवि अभिलेखको आधारमा तालाकोलाई माखोदुलु, गोल्मढीलाई माखोपृङ्गसतलद्रङ, तौलाछेँलाई खृपुङ भनिएको छ, साथै खृपुङ र खोपिङ एउटै रहेको बताइएको छ । साथै माथ्वगल्ली, मक्वगल्लीजस्ता नामहरू माखोदुलुबाट आएका नामहरू पो हुन् कि भनी अनुमान गरिएको छ । उहाँका अनुसार पहिलेका तीन स्थानका तीन घाटहरू राखिएको हुनसक्ने पनि अनुमान गरिएको छ । तीमध्ये ब्रह्मायणी घाट ख्वप्रिङ क्षेत्रका लागि, हनुमानघाट माखोदुलु क्षेत्रका लागि र चुप्रिङ माख्वप्रिङ क्षेत्रका लागि हुन् । कुनै शुभ साइतमा बालुवा सुन भएको र नेपाल संवत् सुरुवात भएको लोककथा पनि छोटकरीमा समावेश गरिएको छ ।
दोस्रो अध्याय – शिवगलथान
उहाँका अनुसार ग्वल, गर्ह वा गृह भन्नाले आवासीय क्षेत्र, गढ या किल्लाले घेरिएको स्थान वा घर हो । संको– सञ्जरा ईश्वर नामको शिवलिङ हनुमानघाटमा सातौँ शताब्दीमै बनिसकेको कारण हनुमानघाटको त्रिवेणीलाई नै शिवगल भनिएको छ । नेपाल महात्म्यमा भनिएको जस्तो हनुमानले पाताल गङ्गामा पानी खन्याएको भनेको भक्तपुरको राजकुलको हुनसक्ने र गोपालराज वंशावलीको दुई देवी एकै मन्दिरमा स्थापना गरिएको भनिएको भेलुखेलको भगवती मन्दिर हुनसक्छ । दस महाविद्यामध्ये पाँच टौमढी क्षेत्रमा मात्रै रहेकोले यो नै शिवगलको केन्द्र हो भनी व्याख्या गरिएको छ । स्थानहरूकै विषयमा चण्डिगल आनन्द देवपछिको विस्तार र क्वाठण्डौ, यालाछेँ र इटाछेँ पछिल्लो मल्लकालमा मात्र समेटिएको भनिएको छ । अन्य विद्वान्का तर्कविपरीत वान्दिम थान, वाने लाय्कु÷वाने तलेजुबाट आएको होइन भनिएको छ ।
उहाँले यस खण्डमा चण्डेश्वरीको लोककथाका साथै भाषा वंशावलीमा भनेजस्तै चण्डेश्वरी मन्दिर र बनेपा सातगाउँ आनन्द देवले स्थापना गरेको कुरा उल्लेख गर्नुभएको छ । चण्डेश्वरी जात्राको घुम्ने तीन स्थानहरू तचपाल, चण्डेश्वरी, लस्कुढोका राजदरबार घुमेको सम्झना गराउने तर्क पेस गरिएको छ । चण्डेश्वरीको जात्रामा खेलाइने घ्वाइकासा राजल्लदेवीको बालिका बेलाको सम्झनाको
(प्रतीकात्मक) रूपमा देखाइएको हुनसक्ने प्रसङ्गसमेत उहाँले जोड्नुभएको छ । थने
(ब्रह्मायणी), दथु (चण्डेश्वरी) र क्वथु/क्वने
(बाराही) किराँतकालबाटै आएको बस्ती विकासको हुनसक्ने बताउँदै आनन्द देवले किराँतकालीन तीन, चार बस्तीलाई पुनः व्यवस्थापन गरेको हुनसक्ने अनुमान गरिएको छ ।
तेस्रो अध्याय – सुनधारा र पानीको सन्दर्भ
यस अध्यायमा भक्तपुरको खानेपानी व्यवस्थापनका लागि प्रयोग गरिएका ढुङ्गेधाराको रोचक इतिहास पढ्न पाउँछौँ । उहाँले हालसम्म भक्तपुरमा खानेपानीको स्रोतको रूपमा प्रयोग गरिँदै आएको महादेव पोखरीलाई मूलको रूपमा प्रयोग गरेको जुन किराँती कालकै पोखरी थियो भन्नुभएको छ । यस अध्यायमा खौमाको जलद्रोणीको अभिलेख पनि चर्चामा परेको छ । भक्तपुरमा ढुङ्गेधारा १२ औँ शताब्दीमा बनिसकेको चर्चा गर्दै उहाँले धवा हिटी, बकु हिटी, गोल्मढीको गःहिटी र सूर्यमढीको तुलुतुलु हिटी लिच्छविकालीन भएको उल्लेख गर्नुभएको छ ।
लिच्छविकालमा ढुङ्गेधाराको अगाडिको पानी आउने भागलाई मकरकै जिब्रोको रूपमा देखाइने र यी खालका धाराहरू भक्तपुरको उत्तर पूर्वमा बढी पाइएको नक्सासमेत प्रस्तुत गरिएको छ । उहाँका अनुसार भक्तपुरका हिटीहरूमा इतिपुखु (धाराबाट खेर जाने पानी सङ्कलन गर्ने) हुने गर्छ । जितामित्र मल्लले मूलचोकको उत्तर पूर्व कुनामा धारा, इति पुखु र इति पुखुदेव (नाग) बनाए जस्तै आनन्द देवले नागपोखरी
(पहिलो इति पोखरी) त्यही हिसाबले दरबार वरपर बनाएको सुवर्ण प्रणाली हुनुपर्छ । किनकि, दशमहाविद्यामध्येको कमला पनि थालाछेँको दथुमलामा पर्छ । सहरकै पूर्वमा केन्द्रित भएर आनन्द देवले कमलपोखरी बनाएको हुनसक्ने र पानीको भण्डारण (Reservoir) को रूपमा प्रयोग गरिएको समेत अनुमान गरिएको छ ।
चौथो अध्याय – जात्राका दृश्यावली
यस अध्यायमा नवदुर्गाको लोककथा केही फरक तरिकाले जोडिएको छ । उहाँले नवदुर्गाको प्रदर्शनको पहिलो सेट ख्वप्रिङ, दोस्रो माख्वप्रिङदुल र तेस्रो माख्वप्रिङ हो कि भन्ने अनुमान गर्नुभएको छ । प्राण मल्लले नवदुर्गा नाच सुरु गरेको प्रसङ्ग पनि यसमा परेको छ । गोल्मढीका मानन्धर, तालाकोका हाकुज्या कुम्ह, यालाछेँ र थालाछेँका नाय, जोशी र चित्रकारलाई मान्ने गरिन्छ । त्यसपछि मात्र इपाछेँका राजोपाध्याय, तचपालका बज्राचार्यलाई विशेष भ्रमण गरिने प्रसङ्ग पनि रहेको छ । यसै अध्यायमा बिस्काको लोककथा, जात्राको बयान, दुमाजुको छोटो जात्रा, महालक्ष्मी–महाकाली र ब्रह्मायणी–माहेश्वरी जात्रा, इन्द्रजात्राको प्रसङ्ग, लोककथा, छुमा गणेश जात्राको प्रसङ्ग, लोककथासमेत पढ्न पाइन्छ ।
पाँचौँ अध्यायः सप्तग्रन्थकुटमा राजकुलकी देवी
यस अध्यायमा किसानहरूको कुल देवता र दिगुद्योको मिश्रित प्रचलनको प्रसङ्ग परेको छ । आगम पूजा गर्ने गोप्य प्रवृत्ति बङ्गालबाट आएको तन्त्रको प्रभाव नभई किराँतीको प्रचलन पुनः आएको हुनसक्ने अनुमान गरिएको छ । राजल्ल देवीले कर्नाट वंशी जयस्थिति मल्लसँग विवाह गरेकोले उनीहरूको कुलदेवता तलेजु इष्टदेवतामा परिणत भएको प्रसङ्ग पनि यस अध्यायमा परेको छ । मनमानेश्वरी मल्लहरूको दिगु द्योलाई पूर्ण कलशले जनाउने पनि भनिएको छ ।
अंशुवर्माले कैलाशकुटमा सप्तग्रन्थकुट बनाए जस्तै आनन्द देवले त्रिपुर दरबारमा पनि सप्तग्रत्थकुट बनाएको अनुमान जुन गोपाल राजवंशावलीमा समेत उल्लेखित छ । हाल दुगमलामा रहेको कमला नै त्यतिबेलाको सप्तग्रन्थकुट हो भनी परिकल्पना गरिएको छ । जयस्थिति मल्लको पालामा भक्तपुरमा तलेजु मन्दिर बनाएको भए तापनि उनकै पालामा लेखिएको गोपाल राजवंशावलीमा तलेजु उल्लेख गरिएको छैन भनी औँल्याइएको छ । यसै खण्डमा तलेजु बनाउने बेलाको लोककथा वास्तुशास्त्रसँग मात्र नमिल्ने नभई मयमत र मानसारजस्ता वैदिक शास्त्रसँग समेत मेल नखानु अनौठो रहेको कुरा उल्लेख गरिएको छ । तलेजुको लागि जग खनेर पुर्दा माटो सम हुनुपर्ने तर वास्तुशास्त्रले माटो बढी भएको राम्रो भन्छ । जसको लागि चार स्थानहरू दत्तात्रयको वानेलायकु, क्वाछेँको त्रिपुर भैरवी, पलिसाछेँको नारायण र दुमाजु चयन गरिएको थियो । ग्रन्थ, कुट, चल÷रथबारे सम्भावित विचार पनि व्यक्त गरिएको छ ।
छैटौँ अध्याय : राजधानी – शक्ति र विद्याको संसार
उहाँले यस अध्यायमा लिच्छविले हिन्दू वास्तुशास्त्र प्रयोग गरी ज्यामितीय स्वरूपमा सहर बनाउन खोजेको कुरालाई नक्सामार्फत प्रस्ट्याउन खोज्नुभएको छ । दुगमलाको कमला नै आनन्द देवको सप्तग्रन्थकुट मन्दिरको ठाउँ हुनसक्ने कुरा उहाँले दोहो¥याउनुभएको छ । पहिले अन्य विद्वान्ले भन्दै आउनुभएको कुरालाई फरक मत राख्दै उहाँले त्रिपुरासुन्दरी धार्मिक र कमला शासनको केन्द्रीय शक्तिहरू हुनसक्ने विचार व्यक्त गर्नुभएको छ । त्रिलोक्यमोहन चक्रको चर्चा गर्दै उहाँले यो चक्र र चण्डी सप्तसतिमा ज्ञानको कमी पूर्ति गर्न आनन्द देवले प्रतिस्थातन्त्र प्रयोग गरेको उल्लेख गर्नुभएको छ । उहाँले सुगलध्वाका ब्रह्मस्थानमा रहेको मानी भक्तपुर नगरलाई ६४ भागमा विभाजन गरी दिशा र वास्तुको विभाजनको कुरा प्रस्तुत गर्नुभएको छ । यसरी विभाजन गर्दा छुमा गणेश र महालक्ष्मी ठ्याक्क मिल्छ भनिएको छ । फेरि दरबारको लागि ६४ विभाजनको वास्तुमण्डलमा, कमला – सप्तग्रन्थकुट, नागपोखरी – सुवर्णप्रणाली र महालक्ष्मीको द्योछेँ र पौवा ब्रह्मस्थानमा बनाएको भनिएको छ ।
सातौँ अध्याय : त्रिपुर दरबारको पुनप्र्राप्ति
यो पुस्तकको मुख्य अध्याय यो नै हो । त्रिपुरदरबारको पुरातात्विक प्रमाण छैन र अभिलेखमा पनि निकै कम मात्र उल्लेख भएकोले त्रिपुरदरबारको बारेमा ठ्याक्कै भन्न सजिलो छैन । यक्ष मल्लको ने.सं. ५७३ मा पहिलोपल्ट उल्लेख र स्लसरले पूर्वतर्फ हुने सम्भावना रहेको भनिएको त्रिपुर दरबारबारे सकेसम्मको प्रमाण जुटाउने प्रयास गरिएको छ । सप्तग्रन्थकुट आगमको सिद्धिलक्ष्मी रहेको दुगमला र नागपोखरी नै सुवर्ण प्रणाली भएकोले त्यही त्रिपुर दरबार हुनुपर्छ भन्ने उहाँको तर्क रहेको छ । चन्डेश्वरीको खट महाकालीको पौवासम्म जाने चलन त्यतिबेलाको त्रिपुर दरबारमा गएको हो कि भन्ने थप तर्क प्रमाणको रूपमा प्रस्तुत गरिएको छ । वन्दे राजकुल तचपालमा रहेको कुरा प्राण मल्लले ने.सं.६६६ मा जग्गा बेचेको ताडपत्रबाट थाहा हुन्छ ।
थालाछेँको विमान झ्यालले १५ औँ शताब्दीको झल्को दिने बुट्टा भएको कुरा औँल्याउँदै तुछिमलाको विश्वकर्मा आँगछेँको तोरण पनि पुरानै हुनसक्ने जसको माथिबाट ने.सं.८३० लेखेको पुनर्निर्माण हुनसक्छ भनिएको छ । यो ढोकाको तोरण पहिलाको सिद्धिलक्ष्मीको आगँछँेको हुनसक्छ । प्राण मल्लदेखि रणजित मल्लसम्म चोछेँ, याछेँ, थालाछेँ र तचपालका अधिकांश जग्गा बेचिएबाट ती स्थानहरूमा त्रिपुर दरबार हुनसक्ने तर्कलाई उहाँले मजबुत पार्नुभएको छ । थालाछेँको दथु टोलका दुइटा जग्गा अझै पनि मल्ल थर (जो मल्ल राजाकै पुस्ता दाबी गर्छन्) हरूको भएबाट थप प्रमाण प्राप्त भएको दाबी उहाँको छ । हालको गरखरचा भन्ने ठाउँ पूर्वतर्फ भएबाट प्राण मल्लले गरुड दहमा दैनिक नुहाउने प्रसङ्ग पनि मिल्न आउँछ भनिएको छ । यसले त्रिपुर दरबार यतातिर भएको पुष्टि गर्छ भनी यो अध्याय समापन गरिएको छ ।
आठौँ अध्याय – वार्निमथानाका मान्छेहरू – वान्दिमगल
कुम्हाले जात भएर पनि तौलाछेँको ह्याउँज्यामीको इस्टदेवता विश्वकर्मा र गणेश, तालाक्वका हाकुज्याको इस्टदेवता भेलुखेलको भीमसेनलाई मान्ने पुस्तकमा उल्लेख गरिएको छ । कुम्हालेले काट्ने औजारको प्रयोग गर्दैन । त्यसैकारण उनीहरू अरुभन्दा प्राचीन जातका हुनसक्ने उहाँको धारणा रहेको छ । नवदुर्गा द्योछेँ वर्निमाथानामा भएकोले पनि भक्तपुरको पूर्वी सिमाना पहिले विकास भएको उहाँको तर्क रहेको छ । ख्वप्रिङ, माखोदुलु र चुप्रिङ/माख्वप्रिङमा गरी तीनचोटि ङालाके गर्ने प्रचलनले चौथो अध्यायमा भनेजस्तै ती प्राचीन तीन क्षेत्र हुनसक्ने अनुमान रहेको छ । नवदुर्गाको ङालाकेगु गाठामुग च¥हेमा सुरु भएपछि हाकुज्या कुम्हःकोमा माटो लिन जाने र याछेँको पुं, मानन्धर, जोशी, नायहरूकहाँ क्रमशः सहयोग लिने प्रसङ्गहरू पनि यस पुस्तकमा सिलसिलेबार पढ्न पाइन्छ । यस अध्यायमा उहाँले भक्तपुरका थरहरूको अध्ययनका क्रममा ज्यापुको तीन समूह राखेर अध्ययन गर्नुभएको छ ।
नवौँ अध्याय : राजा, रानी र राजकुमारहरूबारे
यस अध्यायमा मल्लकालीन भक्तपुरका राज्यका उतारचढावका साथै त्यतिबेला द्विराज्य उभय, त्रिभय राज्यको कुराकोे प्रसङ्ग पढ्न पाइन्छ । यही सिलसिलामा अरि मल्ल, अभयमल्ल, जत्ीम, जयसिंह र अरनिकोको बारे पनि प्रसङ्गहरू जोडिएका छन् । अरनिकोलाई क्वाछेँ येथो विहार, युथुनिममसँग जोड्ने प्रयास गरिएको छ । भक्तपुरको इतिहासको एक फरक मोड रुद्र मल्ल, नायकदेवी र राजल्लदेवीको प्रसङ्ग, जयस्थिति मल्ललाई दोलाजी झिकाएको प्रसङ्ग पनि यसमा रहेको छ । यसै अध्यायमा भूपतीन्द्र मल्ल र उनका कार्यहरूको वर्णन, ‘गृह निर्माण विधि’, वास्तुशास्त्र र शिल्पशास्त्रको प्रयोग गरी निर्माण गरिएको प्रसङ्गहरू पनि चर्चा गरिएको छ ।
दसौँ अध्याय : थंथु, राजकुल र युथुनिमम दरबारहरू
यो अध्यायमा अनौठो तरिकाले रोचक तर्कहरू पेस गरेको पाइन्छ । हालको भक्तपुर दत्तात्रत्न्दा उत्तरतर्फ सलाँ गणेशसँगैको थाथु लाँलाई नामको आधारमा थंथु दरबारसँग जोडिएको छ । शिवदेवको थंथु दरबार थाथुलाँभन्दा माथितिर हुनसक्ने आधार नै सोही बाटोको नामको कारण पेस गरिएको छ । थंथु दरबारकै प्रसङ्गमा जितामित्र मल्लको थंथु राजकुल लस्कुढोका, पहिलाको गुठी संस्थान रहेको स्थानमा जुन ने.सं. ७९८ मा बनाइएको उल्लेख गरिएको छ । यसरी दुइटा थंथु दरबार भएको प्रसङ्गलाई जितामित्र मल्लको आमा शिवदेवपट्टिका भएको हुनसक्ने र सोही कारण उही नामको दरबार बनाएको हुनसक्ने तर्क उहाँको छ । योता छेँ र योता योथुछेँ जितामित्र मल्लले बेचेको प्रमाण पेस गर्दै यो पुरानो थंथुको चोकहरूसहितको भवन हुनसक्ने अनुमान उहाँको रहेको छ । युथुनिमम दरबार भने हालको लाय्कुको विस्तारीकरणको क्रमको जितामित्रको थंथु हुनसक्छ भनिएको छ ।
(पेसाले आर्किटेक्ट प्रजापति हाल नेपाली इतिहास, संस्कृति, पुरातत्व विभाग, त्रिविमा पीएचडी गर्दै छिन् ।)
–क्रमशः
Leave a Reply