भर्खरै :

केही समाचार, केही टिप्पणी !

केही समाचार, केही टिप्पणी !

३ असार २०८२ को ‘अन्नपूर्ण’ दैनिकले लेख्यो, ‘राजदूतावासले परराष्ट्रमन्त्री राणासँग भने – ‘इजरायलमा रहेका नेपाली सुरक्षित छन् ।’
नेपाल पनि संयुक्त राष्ट्र सङ्घको एक सदस्य देश हो । नेपालले पनि विभिन्न युद्धरत देशहरूमा शान्तिको निम्ति ‘शान्ति सेना’ मा भाग लिँदै छ ।
नेपालका परराष्ट्रमन्त्री आरजु राणाले इजरायल – प्यालेस्टिनी युद्ध र इजरायलले अरब देशहरू (इरान, सिरिया र अन्य देशहरू) मा पनि इजरायलको आक्रमणले युद्ध फैलिरहेको यस्तो अवस्थामा इजरायलका राजदूत स्मुलिय एरी बाससँग भेटवार्ता गरिन् । त्यो भेट विदेशबाट एउटा चिठी लिएर आएका आफन्तको सञ्चो विसञ्चोबारे सोधेजस्तो मात्र भयो ।
परराष्ट्रमन्त्रीले आफ्ना नाता–गोता र नेपाली नागरिकबारे मात्र सोध्ने होइन बरु राजदूतसँग अरब संसारमा युद्ध फैलेकोमा नेपाली जनता चिन्तित भएको र छिट्टै इजरायल र प्यालेस्टिनी युद्ध शान्ति होस् भन्ने नेपाली जनताको भावनालाई समेत अवगत गराउनुपर्ने थियो ।
नेपाली परराष्ट्र मन्त्रीलाई राम्रै जानकारी राख्नुपर्ने विषय हो – नेपाललाई पनि बलियो देशले थिचोमिचो गर्दा, अन्य देशका राजदूतहरूले पनि नेपालको स्थितिबारे केही चासो नराखी आ–आफ्नै नागरिकहरूबारे मात्र जिज्ञासा राख्दा के नेपाली जनताको मनमा ती मित्र देशहरूले नेपालको स्थितिबारे चासो नराखेको अनुभव गर्ने छैनन् ? अतः ‘हामी याद गरौँ, नेपाली जनतासँग संवेदनशीलता र सदाचार बाँकी छ भन्ने व्यवहारमा देखाऔँ !
के नेपाल सीप नभएकै देश हो ?
इतिहासमा नेपाली जनताले ठुला–ठुला देश र छिमेकी देशहरूमा गएर कला, संस्कृति र सेवामा अब्बल कार्यहरू गरेको जगजाहेर छ । तर, ‘साउदीमा नेपालीको धन्दा’, ‘रक्सी बनाउँदै बेच्दै’ ‘जेलमा परेका ५४४ मध्ये रक्सी बनाएर बेच्ने मात्रै ३४५’ भन्ने शीर्षकबाट के नेपाल सरकारका प्रम र परराष्ट्र मन्त्रालयको इज्जत रहला ? (राजधानी – ३ असार २०८२)
नेपाली नागरिकहरूलाई विदेशमा पठाउने स्वीकृति दिँदा देशको इज्जत बेच्ने, तस्कर, चोर, फटाहा, हत्यारा, लागुपदार्थ बेच्नेजस्ता नागरिकलाई पठाउनु उचित हो ? कुनै सीपै नभएका र देशको इज्जतमा दाग लाग्ने व्यक्तिलाई किन विदेश जान राहदानी दिने ? बरु, सरकारले सीप सिकाएर नेपाली नागरिकहरूलाई विदेश पठाउँदा देशको इज्जत पनि हुन्छ र व्यक्तिले काम गरी जीवनयापन गर्ने दृष्टिकोण पनि बढ्ने थियो ।
औषधि विभाग र स्वास्थ्य मन्त्रालय कहाँ छ ?
३ असार २०८२ को ‘नयाँ पत्रिका’ ले लेख्यो – ‘नेपाली महिला र पुरुषको यौन चाहना ¥हास’, ३० वर्षमाथिका ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्बलता ।’
राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रभाव, विभिन्न प्रकारका रोगको अत्यधिक औषधिको प्रभाव र कार्यबोझ आदिका कारण शारीरिक अस्वस्थताकै कारण वितृष्णा जागेको आदि सुन्नमा आउँछ ।
तर, केही वर्षदेखि नेपाल सरकारले भारतसँग किन्ने गरेको गलगाँडको उपचारको निम्ति प्रयोग गरिँदै आएको ‘आयो नुन’ को कारण थाइराइड र यौन चाहनामा ¥हास आएको अनुमान गरिएको छ ।
अस्पताल र स्वास्थ्य संस्थाहरूमा थाइराइड र ग्यास्ट्रिकको उपचारको औषधि किन्नेहरू अचाक्ली बढेको अनुभव स्वास्थ्यकर्मीहरू पनि बताउँछन् ।
यसबारे स्वास्थ्य मन्त्रालय र सम्बन्धित व्यक्तिहरू (पदाधिकारीहरू औषधि विभाग) किन मौन छन् ? यस्तै हो भने कुनै दिन यस्तो पनि आउन बेरै छैन औषधि विभागका जिम्मेवार व्यक्तिहरू र थाइराइड र ग्यास्ट्रिकका कम्पनीहरूसँग, एजेन्ट भाग लिनेहरूसँग घर–घरमा आएर पीडित जनताले राम्रो उपचारको सहयोग लागि अनुरोध गर्न आउने छन् । यसबारे स्वास्थ्य मन्त्रालय र ‘आयो नुन’ को सिफारिस गर्नेहरूले गम्भीरतापूर्वक ध्यान दिनु आवश्यक छ, नत्र देशको जनसङ्ख्या घटेर नयाँ नयाँ राष्ट्रिय समस्या देखापर्न बेर छैन ।
यसबारे जनता पनि सजग हुन आवश्यक छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *