वाग्मती प्रदेश मुख्यमन्त्री बानियाँ भक्तपुर भ्रमणमा
- बैशाख ४, २०८३
भक्तपुर, ६ असार । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको अठाराँै नगरसभा शुक्रबार एक समारोहबिच उद्घाटन भयो ।
सांसद सुवालले जिल्ला समन्वय समिति र जिल्लास्तरीय सरकारी कार्यालयहरूको औचित्य सकिएको हुँदा खारेज गर्नुपर्ने आवश्यकता औँल्याउँदै सङ्घ र प्रदेश सरकारलाई स्थानीय तहको कठिनाई थाहा नहुने भएकोले स्थानीय तहलाई कर्मचारी भर्नाको अधिकार दिनु जरूरी रहेको बताउनुभयो ।
सङ्घ र प्रदेश सरकारले स्थानीय तहलाई आफ्नो मातहतको एकाइजस्तो व्यवहार गर्नु हस्तक्षेप नै भएको उल्लेख गर्दै सांसद सुवालले प्रदूषण फैलाउने भक्तपुर औद्योगिक क्षेत्रलाई यही आवभित्र स्थानान्तरण गर्न नपाले सङ्घ सरकारसँग पत्र लेखेर ताकेता गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
काठमाडौँ उपत्यकालाई पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै सांसद सुवालले भक्तपुरलाई सांस्कृतिक नगर घोषणा गर्न विलम्ब गर्न नहुने उल्लेख गर्नुभयो ।
अस्पताल र औद्योगिक क्षेत्रबाट निस्कने फोहोर वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्नुपर्ने र घरघरबाट निस्कने फोहोरमैलाबाट प्राङ्गारिक मल, ग्यास र बिजुली निकाल्न सकिने औँल्याउँदै उहाँले बालबालिकाको पोषणबारे अभिभावकहरूलाई शिक्षित गर्ने कक्षा सञ्चालन जरूरी रहेको बताउनुभयो ।
सांसद सुवालले प्रधानन्यायाधीश सम्बन्धित क्षेत्रबाट चुनाव गराई नियुक्ति नगरिएसम्म जनताले निष्पक्ष न्याय पाउन मुश्किल हुने उल्लेख गर्दै भक्तपुर नगरपालिकाले सञ्चालन गर्ने ख्वप विश्वविद्यालयलाई सहरी विश्वविद्यालयको रूपमा सञ्चालन गर्न सरकारले विधेयक पारित गरिदिनु उपयुक्त हुने बताउनुभयो ।
विद्यालय शिक्षा अनिवार्य र निःशुल्क तथा विश्वविद्यालय शिक्षा निःशुल्क गर्नुपर्ने विषयलाई संसद्मा निरन्तर जोड दिँदै आएको उल्लेख गर्दै उहाँले कक्षा ९ र १० मा इतिहास, भूगोल, राजनीतिशास्त्र, अर्थशास्त्र, कृषि, वातावरण, स्वास्थ्य र शारीरिक शिक्षा, सामान्य कानुन, नेपालभाषा आदिका विषय अध्ययन गराई नयाँ पुस्तालाई तयार गर्नु जरूरी रहेको औँल्याउनुभयो । जनप्रतिनिधिले नीति बनाउने र नीतिअनुसार कर्मचारीहरूले निःस्वार्थ रूपमा सेवा गर्नुपर्नेतर्फ सांसद सुवालले जोड दिनुभयो ।
कार्यक्रमका सभापति एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आ.व. २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने उद्देश्यसहित सांस्कृतिक नगर घोषणा गर्न यस नगरसभाले पहल गर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाले भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थल बनाउने, गुणस्तरीय शिक्षाको पहुँच, सहज स्वास्थ्य उपचारमा पहुँच, देशकै नमुना नगर बनाउने र सार्वजनिक, पर्ती, सरकारी जग्गा संरक्षणलाई जोड दिने नीति लिएको उहाँले बताउनुभयो ।
नेपालमा संविधानको भावनाबमोजिम सङ्घीयता कार्यान्वयनमा आउन नसकेको बताउँदै प्रमुख प्रजापतिले
सङ्घ र प्रदेश सरकारहरूले स्थानीय तहलाई आफ्नो मातहतको एकाइजस्तो व्यवहार गर्नु संविधान र सङ्घीयताको भावनाविपरीत भएको बताउनुभयो । वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले नगरसभा पूर्ण सफलताको कामना गर्दै सरकारले आफ्नो नीति तथा कार्यक्रमको उपलब्धिबारे जनतामाझ प्रस्तुत गरी जवाफदेही र उत्तरदायी हुनुपर्ने बताउनुभयो ।
उहाँले जनताको साथ र सहयोगले प्रस्तुत नीति तथा कार्यक्रम सफल कार्यान्वयन हुने बताउँदै जनसेवक कर्मचारीहरूले जनप्रतिनिधिसँग हातेमालो गरी अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।
नगरका पोखरी, खुला क्षेत्र, शैक्षिक संस्था तथा सबै कार्यालयहरूमा हरियाली प्रवद्र्धनमा जोड दिई भक्तपुरलाई सुन्दर नगरको रूपमा परिणत गर्न आवश्यक छ भन्दै उहाँले पुरानो र नयाँ युग झल्काउने राम्रा राम्रा कला सङ्ग्रहालय निर्माणतर्फ नपाले जोड दिनुपर्ने बताउनुभयो ।
वाग्मती प्रदेश सभा सदस्य सृजना सैंजुले नेपाल सरकारको बजेट खोक्रो र परनिर्भर भएको बताउँदै असारे विकास बजेटको नाममा भ्रष्टाचार र आर्थिक चलखेल हुने गरेको प्रस्ट पार्नुभयो ।
सङ्घीयता लागू भएको ७ वर्ष पूरा भए पनि बजेटको ढाँचामा कुनै भिन्नता नआएको बताउँदै उहाँले भक्तपुर नपाले विकास निर्माणको बेग्लै संस्कृति अपनाएर भक्तपुरको विकास गरिरहेको छ भन्नुभयो ।
भक्तपुर अहिले देशकै लागि आशाको किरण बनिरहेको बताउँदै उहाँले नगरका गल्ली गल्लीमा भुस्याहा कुकुर नियन्त्रण र सडक बत्तीको व्यवस्था गरी नगरलाई पर्यटनमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले नगरसभाले २०८२/८३ को नीति तथा कार्यक्रम तयार गरी आवश्यक बजेट निर्माण गरी अगाडि बढ्ने बताउँदै भक्तपुरको लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण आ.व. २०८१/८२ को महत्वपूर्ण उपलब्धिको रूपमा रहेको बताउनुभयो ।
भक्तपुरको गौरवको योजनाअनुसार नगरपालिकाले अरनिको सभाभवन निर्माण कार्य तीव्र रूपमा अगाडि बढिरहेको औँल्याउँदै नगरपालिकाको सेवा सुविधालाई चुस्तदुरूस्त बनाउन अनलाइन प्रणालीमार्फत सेवा विस्तार गर्दै लगिने बताउनुभयो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले भक्तपुर नपाको नीति तथा कार्यक्रमलाई नगरसभाले आवश्यक छलफल गरी अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले तीन तहका सरकारबिच समन्वय र सहकार्य आवश्यक भएको बताउँदै स्थानीय सरकार जनताको नजिक र उत्तरदायी संस्था भएको बताउनुभयो ।
सडक दुर्घटना, विपद् न्युनीकरण, सुरक्षाका पूर्वाधारमा पनि नपाले विशेष जोड दिनुपर्ने बताउँदै नागरिकले राज्यबाट गर्ने अपेक्षालाई सेवा प्रवाहको क्रममा स्थानीय तहले ध्यान दिनुपर्ने बताउनुभयो ।
ख्वप अस्पतालका निमित मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले ख्वप अस्पतालले आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम सञ्चालन गरेको अवगत गराउँदै आ.व. २०८२/८३ मा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याइने जानकारी दिनुभयो । उहाँले नयाँ आर्थिक वर्ष थप जनमुखी र उपलब्धिमूलक बनाउने प्रतिबद्धता जनाउनुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवालले ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङले कलेज स्थापनादेखि हालसम्म ८ हजारभन्दा बढी विद्यार्थीहरूलाई इन्जिनियरिङ शिक्षा प्रदान गरिसकेको बताउनुभयो । उहाँले ख्वप विश्वविद्यालय स्थापनामा ढिलाइ भए पनि नपाबाट सञ्चालित कलेजहरूले विश्वविद्यालयस्तरको शिक्षा प्रदान गरिरहेको बताउनुभयो ।
नगरसभाको उद्घाटन कार्यक्रममा भ.न.पा.का प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवादज्ञापन मन्तव्य राख्नुभएको थियो भने भ.न.पा ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।
Leave a Reply