भर्खरै :

भक्तपुर नगरपालिकाको अनुमानित बजेट रु. २ अर्ब ४७ करोड ३१ लाख ११ हजार

भक्तपुर नगरपालिकाको अनुमानित बजेट रु. २ अर्ब ४७ करोड ३१ लाख ११ हजार

भक्तपुर, ८ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको अठारौँ नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको आ.व. २०८२/८३ को अनुमानित आय–व्यय बजेट प्रस्तुत गर्नुभयो ।
भक्तपुर नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै नगरपालिकाको जग्गा बिक्रीसमेत गरी गरी आ.व. २०८२/८३ को लागि रु. २ अर्ब ४७ करोड ३१ लाख ११ हजारको बजेट प्रस्तुत भयो ।
विनियोजित बजेटको चालु खर्चतर्फ १ अर्ब ५२ करोड ५३ लाख ११ हजार रूपैँया अर्थात् ६१.६७ प्रतिशत र पुँजीगत खर्चतर्फ ८० करोड ४८ लाख रूपैँयाँ अर्थात् ३२.५४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १४ करोड ३० लाख अर्थात् ५.७८ प्रतिशत विनियोजन गरेको छ ।
बजेट वक्तव्यमा नगरवासी जनताको भावनाबमोजिम विभिन्न शैक्षिक विकास र शिक्षा क्षेत्रका लागि रु. ५४ करोड ४ लाख ६३ हजार रूपैँयाँ अर्थात् कुल बजेटको २१.८५ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
ख्वप अस्पताललाई आधुनिक सुविधा सम्पन्न बनाउन र अस्पतालको स्तरीकरणसमेतका लागि रु. ५ करोड बजेटको व्यवस्था गरिएको छ । खँचापुखु स्वास्थ्य चौकी निर्माण कार्य आगामी आ.व.मा सम्पन्न गर्ने गरी रु. ७५ लाख बजेट विनियोजन गरिएको छ । स्वास्थ्य क्षेत्रका लागि भक्तपुर नपाले आगामी आ.व.मा रु. १० करोड ३७ लाख ५० हजार विनियोजन गरेको छ ।
भक्तपुरमा रहेको मूर्त तथा अमूर्त सम्पदाहरूको संरक्षणलाई निरन्तरता दिँदै ऐतिहासिक र धार्मिक महत्व बोकेका विभिन्न स्थानका घाटहरू सुधारका लागि गुरु योजना बनाई अगाडि बढाउन रु. ३७ लाख ५० हजार विनियोजन गरिएको छ भने थन्थु दरबार पुनःनिर्माणको लागि रु. ३ करोड र लायकु पाहाँ छेँको लागि रु. ८५ लाख र भनपा–४ स्थित इखालाछी मठ पुनःनिर्माणलाई रु. १ करोड ६० लाख बजेट विनियोजन गरिएको छ ।
इन्द्रायणी द्योछेँ पुनःनिर्माण कार्य आगामी आ.व.सम्ममा सम्पन्न गर्ने गरी रु. ३० लाख बजेट विनियोजन गरिएको छ । सिद्धपोखरी पेटी पुनःनिर्माणको लागि रु. १ करोड, दही विनायक द्योछेँ पुनःनिर्माणको लागि रु. ५० लाख र इशानेश्वर मन्दिर निर्माणको लागि रु. ३० लाख, रात्रिकालिन बत्ती व्यवस्थाको लागि रु. १ करोड बजेट विनियोजन गरिएको छ । सम्पदा पुनःनिर्माण तथा संस्कृति संरक्षणमा आगामी आ.व.का लागि रु. १२ करोड ६८ लाख ५० हजार (५.१३ प्रतिशत) विनियोजन गरिएको छ ।
कृषि क्षेत्रअन्तर्गत नगरको उपयुक्त स्थानमा आधुनिक पशु वधशाला निर्माणको लागि रु. २५ लाख, शीत भण्डार गृह निर्माण सञ्चालनको लागि रु. १ करोड र तरकारी बजार निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन रु. ३० लाख बजेट विनियोजन गरिएको छ ।
नगरभरका नागरिकहरूलाई पानी घर–घरमा पु¥याई खानेपानीको समस्या समाधान गर्न रु. ५० लाख बजेट विनियोजन गरिएको छ भने वातावरण तथा सरसफाइका लागि रु. २० करोड २२ लाख (८.१८ प्रतिशत), पर्यटन प्रवद्र्धनमा रु. ४ करोड ९० लाख (१.९८ प्रतिशत) विनियोजन गरिएको छ ।
अरनिको सभाभवन निर्माण निरन्तरताको लागि रु. १४ करोड ९० लाख, देको मिवा इतापाके जग्गा एकीकरणको लागि रु. ४ करोड, भार्वाचोमा बहुउद्देश्ीय भवन निर्माणको लागि रु. १ करोड २५ लाख, पार्किङ स्थलको व्यवस्थातर्फ रु. ६० लाख बजेट विनियोजन गरिएको छ ।
खेलकुदअन्तर्गत खेलकुदको नियमित प्रशिक्षणको लागि रु. १ करोड, पौडी प्रशिक्षण केन्द्रको लागि रु. ५० लाख, सहिद स्मृति खेलमैदान निर्माणको लागि रु. १ करोड, माहेश्वरी खेलमैदानलाई रु. २ करोड बजेट विनियोजन गरिएको छ ।
सीपमूलक तालिमको लागि रु. २५ लाख बजेट विनियोजन गरिएको छ भने क्यान्सर, मुटुरोग, मस्तिष्कघाट, स्पाइनल कर्ड इन्जुरीजस्ता दीर्घ रोग लागेका बिरामीहरूलाई नगरपालिकाबाट दिँदै आएको रु. १५ हजार आर्थिक सहयोगलाई निरन्तरता दिन आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
विविध योजना तथा कार्यक्रमतर्फ ९ करोड १४ लाख रूपैँया विनियोजन गरिएको छ ।
नगरसभाको सोही बैठकमा उपप्रमुख जोशीले ‘भक्तपुर नगरपालिकाको आर्थिक विधेयक २०८२’ र ‘भक्तपुर नगरपालिकाको विनियोजन विधेयक, २०८२’ सभासमक्ष प्रस्तुत गर्नुभएको थियो ।
नगर सभाको अर्को बैठक असार १० गते दिनको १ बजे बस्ने गरी स्थगित भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *