भर्खरै :

नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको दुईदिने राष्ट्रिय भेलामा उपस्थित हुँदाको अनुभव

  • असार ८, २०८२
  • श्रीराम श्रेष्ठ
  • विचार
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको दुईदिने राष्ट्रिय भेलामा उपस्थित हुँदाको अनुभव

भेला, सभा, सम्मेलन, गोष्ठी, सेमिनार, प्रशिक्षण, अन्तरक्रिया, छलफल आदि सिकाइको हिसाबमा आफैमा महत्वपूर्ण विषय हो । यस्ता भेला सिकाइको हिसाबले निकै महत्वपूर्ण हुन्छ । औपचारिक रूपमा नियमित शिक्षा लिइरहेका विद्यार्थीहरूको लागि अथवा समाजमा बसोबास गर्ने अन्य मजदुर, किसान, उद्योगपति, व्यापारी तथा अन्य विभिन्न पेसामा आबद्ध कर्मचारीलाई समेत यस्ता भेलाहरू उपलब्धिपूर्ण हुन्छ । यस्ता भेलाबाट राजनैतिक, सामाजिक, आर्थिक, सांस्कृतिक र अन्य शैक्षिक क्षेत्रसँग सम्बन्धित विषयवस्तुलाई व्यावहारिक रूपमा बुझ्न, सैद्धान्तिक रूपमा बुझ्न तथा राजनैतिक रूपमा विषयवस्तुसँग सम्बन्धित पूर्ण ज्ञान लिन यस्तो भेला महत्वपूर्ण छ ।
कुनै पनि भेला तथा सम्मेलनहरू समाजका हरेक नागरिकलाई समाजको सामूहिक विषयमा जानकारी गराउन तथा समसामयिक विषयमा सचेत, सक्षम, योग्य दक्ष बनाउन आवश्यक पर्ने छलफल तथा प्रशिक्षणको लागि भेलाको आयोजना गर्ने गरिन्छ । कुनै पनि पेसा व्यवसायमा आबद्ध नागरिकलाई पेसा व्यवसायमा पूर्ण रूपमा आबद्ध हुन प्रेरित गर्न नागरिकलाई राजनैतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक रूपमा व्यक्तिको क्षमता विकास, दक्ष र जिम्मेवारपूर्ण बनाउन भेला तथा सम्मेलन हुने गर्दछ ।
व्यक्तित्व विकास तथा प्रभावकारिता, दक्षरसीपको विकास गर्न कार्यस्थलमा आत्मविश्वास बढाउन नयाँ प्रविधिको प्रयोग गर्न सिक्न र सिकाउन, भूल, त्रुटीलगायत अन्य दुर्घटनाबाट बच्न, जनताको इच्छा चाहना भावना बुझ्न तथा सामूहिक एकता कायम गर्न सभा तथा सम्मेलनको भूमिका महत्वपूर्ण छ ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको जेठ ३० र ३१ गते भक्तपुरमा सम्पन्न भएको दुईदिने राष्ट्रिय भेला, विद्यार्थीमार्फत समाजमा भइरहेका व्यतिथि, भ्रष्टाचार, अनियमितता चुहावट, पुँजीवादी व्यवस्था, दमन, शोषण, अत्याचार ज्यादतिलगायत विषयको विरुद्धमा जनतालाई राजनैतिक, व्यवहारिक, सैद्धान्तिक रूपमा सचेत र सङ्घर्षशील बनाउने उद्देश्यले उक्त भेला आयोजना भएको हो । उक्त भेलाले पुँजीवादी व्यवस्थाविरुद्ध सामूहिक रूपमा सङ्घर्ष गर्न जनतालाई प्रेरित गरेको छ । दमन, शोषण, कालोबजारी भ्रष्टाचारविरुद्धमा सामूहिक रूपमा सङ्घर्ष गर्न सचेत गरिएको छ । “साइकिललाई जति बल लगाएर चलायो उत्तिकै दुरी तय गर्छ” भन्ने नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष सरोजराज गोसाईको भनाइले समाजवादको लागि जति सङ्घर्ष गर्यो उति नै छिटो जनताले बुझ्ने र यसको लागि जनताले सामूहिक पहल गर्ने विषयले समाजवादको लागि सङ्घर्षशील हुन थप प्रेरित गरेको छ । समाजवादको लागि बहुमत जनताको पक्षमा त्याग, बलिदान र सङ्घर्ष गर्न प्रेरित गरिएको छ ।
भेलामा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय पूर्वअध्यक्ष रवीन्द्र ज्याख्वले क्रान्तिकारी विद्यार्थीहरूको प्रमुख हतियार भनेको शिक्षा अथवा ज्ञान भएकोले समाजवादी शिक्षा र पठन संस्कृतिको विकास गर्न प्रेरित गर्नुभयो । शिक्षा भनेको अध्ययन, अनुभव, उमेर र भोगाइले दिने चिज हो । त्यसकारण, हामा अग्रजहरू ज्ञानका भण्डार हुन् । उहाँहरूको सम्मान र संरक्षण गर्नु हामी सबैको कर्तव्य हुनेछ । विद्यार्थीहरूको सङ्घर्ष र बलिदानबाट नै २०४६ को जनआन्दोलन र २०६२/६३ को जनआन्दोलन उपलब्धिपूर्ण भएको हो । २०४६ सालको पञ्चायत र अन्य व्यथितिको बारेमा भएको आन्दोलन पनि नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका अगुवाइमा भएको थियो । त्यस व्यथितिको विरुद्धमा लड्दा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको राजकुमार सुवाललगायतले ज्यान गुमाउनु परेको घटनासमेत बुझ्याँै । समाजको व्यथितिविरुद्धमा लड्दा ज्यानै गए पनि सङ्घर्ष सफल हुने विषय थाहा पायौँ । जुनसुकै कठिन समय आए पनि सङ्घर्षबाट नभाग्न र सफलताको लागि सङ्घर्ष नै एउटा बलियो स्वर्णिम हतियार भएको हामीले बुझ्न पायौँ ।
हामीले बेलायती माक्र्सवादी अर्थविद् तथा लेखक एमिल वनको पुस्तक माक्र्सवाद के हो भन्ने पुस्तक केही भाग पढ्ने र अन्तरक्रिया गर्ने अवसर पायो । यस किताबबाट हामीले माक्र्सवादको बारेमा धेरै महत्वपूर्ण विचारहरू वैचारिक, सामाजिक, आर्थिक र राजनीतिक रूपमा सिक्न सक्छौँ । यो पुस्तकबाट सैद्धान्तिक रूपमा मात्र नभई व्यावहारिक रूपमा वैज्ञानिक समाजवाद समाजको मार्ग निर्देशन गरिएको छ । यसबाट समाज राजनीतिक अर्थतन्त्रलाई वैज्ञानिक विचारधारामा बुझ्न सकिन्छ । माक्र्सवादले समाजको उत्पत्ति राजा वा कुनै देवी देवताले बनाएको अथवा सिर्जना गरेको नभई आर्थिक प्रणालीबाट उत्पत्ति भएको भन्ने विषयलाई स्पष्ट पारेको छ । उदाहरणको लागि पुँजीवादी समाजको विकास आधुनिक कलकारखानाको विकाससँगै हुन्छ । कामदार वर्गलाई जति सक्छ त्यति धेरै शोषण गर्ने र व्यापक नाफा कमाउने मुख्य उद्देश्यले पुँजीवादी समाजको विकास भएको हो । समाजमा शोषकवर्ग र शोषितवर्गबिच सधैँ सङ्घर्ष हुन्छ । पुँजीवादको मुख्य उद्देश्य भनेको जति सक्छ धेरै शोषण गर्ने र नाफा कमाउने हो । कामदारवर्गलाई धेरै चुस्ने, कम खर्चमा धेरै माल उत्पादन गर्ने र उच्च मूल्यमा बेचिएको हुन्छ । काम छोडेर नजाओस्, दैनिक काममा आओस् र जीवन कष्टकर तरिकाले चलोस् भन्ने उद्देश्य पुँजीवादमा हुन्छ ।
यो व्यवस्थाको अन्त्यसँगै समाजवाद आउँछ† उत्पादनका साधनहरू सामाजिकीकरण हुन्छ । योग्यताअनुसारको काम र कामअनुसारको ज्याला हुन्छ । धनीवर्गले सत्ता र कानुन आफ्नो पक्षमा बनाउँछ । त्यसकारण, शोषितवर्गले त्यसलाई उल्टाउनुपर्छ । अन्य विषय माक्र्सवादीबाट सिक्न सकिन्छ । जनतालाई समाजवादको लागि सङ्घर्षशील हुन सचेत र प्रेरणाको लागि माक्र्सवाद के हो भन्ने किताब महत्वपूर्ण छ ।
नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेको प्रशिक्षणबाट राजनैतिक चेतनाको स्तर देशको राजनीतिक प्रणाली नीति, निर्माण प्रक्रिया सरकारको काम, कारबाही, जनताको अधिकार र कर्तव्यबारे जनताले प्रस्ट बुझ्नुपर्छ । राजनैतिक शिक्षा पाउनुपर्ने विषय बुझ्न पायौँ। देशको संविधान, कानुन, मानव अधिकार, नीति नियम चुनावमा भाग लिने विषय, गलत विषयको विरोध गर्नसक्ने क्षमता, साहस र चेतना जनतामा हुन आवश्यक छ । राजनीतिमा दाउपेच, चालबाजी, धोका, अवसरवाद, षड्यन्त्र आदिमा सचेत भई यसबाट बच्न विवेकले निर्णय लिनु आवश्यक छ । गर्भबाट भर्खर जन्मेको बच्चामा रगतको टाटा बाँकी भएजस्तै पुँजीवादी समाजबाट समाजवादमा जाँदा सुरुवाती चरणमा पूर्णरूपमा समाजवाद नहुने कुरासमेत उहाँले प्रस्ट पार्नुभयो । राष्ट्रिय समाजवादले पूर्णरूपमा समाजवाद नआई फासीवाद आउने र प्रजातान्त्रिक समाजवादले पुँजीवादलाई मान्यता दिने विषयसमेत उहाँलाई बुझाउनुभयो । समाजवादको लागि मजदुर, किसान जनता राजनीतिक रूपमा, सैद्धान्तिक रूपमा सक्षम र सङ्घर्षशील हुनुपर्नेछ । सर्वहाराको पक्षमा आउने समाजवादमा उत्पादनका सबै साधनहरू सामाजिकीकरण हुने तथा सरकारीकरण हुने उत्पादनका मुख्य–मुख्य साधनहरू सरकारको हुने र योग्यताअनुसारको काम र कामअनुसारको ज्याला हुने कुरा थाहा पायौँ ।
जनताको साहित्य र साहित्यकार किताबको अन्तरक्रिया कार्यक्रमबाट साहित्य प्रगतिशील र प्रतिक्रियावादी हुने कुरा थाहा पायौँ । साहित्यले जनताको सेवा गर्ने विषयमा बुझ्ने मौका पायौँ ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालको प्रशिक्षणबाट सर्वहारा जनताको पक्षमा सेवा गर्ने उद्देश्य बोकेकाहरूले पुँजीवादी सरकारको मन्त्री बन्दैन र ग्रिस र रोमनको नगरहरूबाट विश्वविद्यालयको सुरुवात भएको इतिहास देखाउँदै बहुमत जनतालाई निःशुल्क शिक्षाको लागि ख्वप विश्वविद्यालय आवश्यक भएको विषय उहाँले बुझाउनुभयो । निःशुल्क शिक्षा स्वास्थ्य हुनुपर्छ ।
भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले आफू निर्वाचित भइसकेपछि जनतामाझ गएर गरेको कामबारे प्रस्ट पार्नुभयो । समाजवादउन्मुख समाज निर्माणमा भएका पहलहरू, समाजवादउन्मुखका अभ्यासहरू र सङ्घीयतामा देखेको समस्या समाधानको कार्यक्रम अनि प्रतिबद्धता पत्रबारे उहाँले स्पष्ट पार्नुभयो । स्थानीय पाठ्यक्रम निर्माणमा सबैभन्दा पहिला पाठ्यक्रम निर्माण भक्तपुर नगरपालिकाले गरेको उहाँले जानकारी दिनुभयो ।
विशेष बिरामीहरूको लागि भक्तपुर नगरपालिकाले दैनिक ११०० सिलिन्डर निःशुल्क वितरण गर्ने विषय खुलाउनुभयो । १९३ वटा सम्पदाहरू स्थानीय जनताको सहभागितामा पुनर्निर्माण सम्पन्न भएको पनि उहाँले जानकारी दिनुभयो ।
प्रशिक्षणको क्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशको प्रदेशसभा सांसद सुरेन्द्रराज गोसाईले पनि प्रशिक्षण दिनुभयो । सबैभन्दा सृजनशील दिमाग भनेको विद्यार्थीमा हुने भएकोले यसलाई प्रयोग गर्न सुझाव दिनुभयो । विद्यार्थीहरूले सुनाइ, बोलाइ र लेखाइ सीपलाई गराई सीपमा परिणत गर्नुपर्ने विषय उहाँले खुलाउनुभयो । शिक्षालाई बुझेर व्यवहारमा लागु गर्न सल्लाह दिँदै अन्य समसामयिक विषयमा उहाँले जानकारी दिनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको दुईदिने राष्ट्रिय भेला केवल एक औपचारिक कार्यक्रम थिएन । यो राजनीतिक, सैद्धान्तिक र व्यवहारिक शिक्षाको समृद्ध थलो बन्यो । देशका विभिन्न जिल्लाबाट आएका विद्यार्थीहरूलाई वैचारिक स्पष्टता, सङ्घर्षप्रति प्रतिबद्धता र समाजवादप्रतिको समर्पणले भरिएको मार्गदर्शन प्रदान गरियो । भेलाले पुँजीवादी व्यवस्थाविरुद्धको चेतनालाई तेजिलो बनाउँदै, वर्गसङ्घर्ष, समाजवादी शिक्षा, सामाजिकीकरण र राजनीतिक सचेतनाको आवश्यकता जस्ता गहन विषयबारे बहस र प्रशिक्षणमार्फत विद्यार्थीलाई सचेत बनायो । यस भेलाबाट ‘सङ्घर्ष नै परिवर्तनको मूल हतियार हो’ र समाजवादको यात्रामा विचार, सङ्गठन, जनताको सामूहिक पहल अपरिहार्य छ । समाजवादको लागि बहुमत जनता शिक्षित, सचेत र सङ्घर्षशील हुन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *