शिक्षामा प्राथमिकता दिनु आवश्यक
- असार ३, २०८३
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले आइतबार भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्नुभयो । प्रजातन्त्र पुनः स्थापनाको लागि विभिन्न चरणमा भएका जनआन्दोलन र सङ्घर्षमा जीवन उत्सर्ग गरेका प्रातः स्मरणीय सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै जनआन्दोलनमा घाइते भएका, प्रवास तथा भूमिगत भएर राजनीतिक र सामाजिक परिवर्तनमा महत्वपूर्ण योगदान गरेका सम्पूर्ण योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गरिएको छ । भक्तपुर नगरलाई नमुना नगर बनाउन महत्वपूर्ण योगदान पु¥याउने सम्बन्धित सबैप्रति कृतज्ञता व्यक्त गरिएको बजेट वक्तव्यमा अग्रजहरूले अँगाल्नुभएको सत्मार्गमा निःस्वार्थपूर्वक जनताको सेवामा रहने अठोट पनि रहेको छ ।
बजेटमा सांस्कृतिक गतिविधिलाई निरन्तरता दिने, भक्तपुरलाई जीवन्त नगरको परिचयलाई निरन्तरता दिने, युवाहरूलाई देशमै जीवनयापनको लागि आवश्यक सीपयुक्त तालिम प्रदान गर्ने, उन्नत समाज निर्माण गर्न अघि बढिरहेको उल्लेख गरिएको छ । भक्तपुरलाई उत्कृष्ट शैक्षिक गन्तव्यस्थल बनाउने भनपाको उद्देश्य रहेको छ । समाजमा अनुसन्धानलाई जोड दिनुपर्ने आवश्यकतालाई मध्यनजर गरी नगरभित्रका पर्यटन, शिक्षा, स्वास्थ्य, सम्पदा, पुनःनिर्माण र संरक्षण, सहकारी, कृषि, खानेपानी, वातावरण, सरसफाइजस्ता विषयमा अध्ययन अनुसन्धान गर्नेलाई अनुसन्धान वृत्तिको लागि रकम विनियोजन गरिएको छ । इतिहास, भूगोल, संस्कृति, राजनीतिशास्त्र, नेपालभाषा, अर्थशास्त्र, तर्कशास्त्र र दर्शनशास्त्र अध्ययन गर्ने विद्यार्थीलार्ई स्नातक तहदेखि विद्यावारिधीसम्मको अध्ययनमा दिँदै आएको छात्रवृत्तिलाई निरन्तरता दिइएको छ । भनपाले शैक्षिक ऋणलाई निरन्तरता दिएको छ ।
नेपालभाषा र लिपि, मूर्र्तिकला, चित्रकला, प्रस्तरकला, मृत्तिकाकला, काष्ठकला, धातुकला, पौभालेखन, पेपरक्राफ्ट, सङ्गीत तथा नृत्य कक्षाको लागि पनि बजेटको बन्दोबस्त गरिएको छ । शिशु स्याहार तथा बाल विकास विस्तार गरिएको छ । नगरवासीहरूलाई निःशुल्क अक्सिजन र रगत वितरणलाई निरन्तरता दिइएको छ । भक्तपुरमा रहेका मूर्त र अमूर्त सम्पदाहरूको संरक्षणलाई निरन्तरता दिइएको छ । विश्व सम्पदा सूचीमा सूचिकृत भक्तपुर दरबारबाट क्षेत्रमा अवस्थित ९९ चोकको अध्ययन अनुसन्धान कार्यलाई अगाडि बढाइने भएको छ । नगरपालिकाको महत्वपूर्ण सम्पदा क्षेत्रमा विभिन्न कारणले लामो समयदेखि निजी घरहरू जीर्णोद्धार तथा पुनः निर्माण नहुँदा सम्पदामाथि क्षति पुग्ने र नगरको मौलिक सौन्दर्यतामा आँच आउने हुँदा सम्बन्धित घरधनीले घर नबनाएको अवस्थामा नगरपालिका आफैले लगानी गरी घर बनाउन बजेटको व्यवस्था गरिएको छ । विश्व सम्पदा क्षेत्र तथा पुरानो नगर क्षेत्रमा मौलिक स्वरूप कायम राख्न परम्परागत शैलीमा घर बनाउने घरधनीहरूलाई दिँदै आएको आर्थिक अनुदानलाई निरन्तरता दिने नीति कायम राखेको छ ।
नगरको उपयुक्त स्थानमा आधुनिक पशु वधशाला निर्माणको लागि बजेट छुट्याइएको छ । शीत भण्डार गृह निर्माण सञ्चालनमा ल्याइने भएको छ । नगरकोटलाई जलाधार क्षेत्र घोषणा गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । सहिद स्मृति खेल मैदान निर्माण गर्न र महेश्वरी खेल मैदानलाई व्यवस्थित बनाउन पनि आवश्यक बजेटको बन्दोबस्त गरिएको छ । क्यान्सर, मुटु रोग, मस्तिष्कघातजस्ता दीर्घरोगीहरूलाई दिँदै आएको आर्थिक सहयोगलाई पनि निरन्तरता दिइएको छ । नगरपालिकाको सीमित स्रोत र साधनको अधिकतम उपयोग गरी प्राथमिकता र आवश्यकताका आधारमा स्रोत, साधनको उपलब्धता र सुनिश्चित गर्ने ध्येयले बजेट तयार गरिएको छ । बजेट नगर प्रमुख सुनिल प्रजापतिले असार ६ गते सार्वजनिक गरेको नीति तथा कार्यक्रमको आधारमा तय गरिएको छ ।
नीति तथा कार्यक्रमको आधारमा बजेट तयार गर्नु स्वाभाविक हो । बजेट कार्यान्वयन महत्वपूर्ण कुरा हो । बजेट पास भएदेखि नै कार्यान्वयन गर्नेतर्फ लागेमा उद्देश्यअनुसार काम हुनेमा शङ्का छैन । मुख्य कुरा पारित योजना कार्यान्वयन गर्नु हो । नपाको कार्य योजनाको सफलताको आधार कार्यान्वयन पक्ष नै हो । सङ्घको केन्द्रीय योजना ५०/६० प्रतिशतमात्रै कार्यान्वयन भएको सञ्चारमाध्यममा बेलाबखत आएकै हो । भक्तपुर नगरपालिकाले तय गरेको योजना कति प्रतिशत कार्यान्वयन गर्ने हो, त्यो हेर्न बाँकी छ । जनप्रतिनिधिहरू बजेटअनुसार काम गर्न लागेमा, जनप्रतिनिधिलाई कर्मचारी, स्थानीय जनताको साथ दिएमा उद्देश्य पूरा हुनेछ । कति योजनाहरू चालु छन्, कति योजनाहरू अन्तिम चरणमा पुगेका छन्, कति योजनाहरू नयाँ छन् । आर्थिक वर्ष सुरू भएसँगै पारित भएको योजना कार्यान्वयनतर्फ लाग्नुपर्छ । कुन कुन वडामा नगरस्तरीय र वडास्तरीय योजना परेको छ, सबैको सूची तयार गरी अघि बढेमा मतिअनुसारको गति हुनेछ । कुनै योजना कसैले देखाउन होइन लागु गर्न हो; लागु गर्न अघि बढ्नुपर्छ । निर्धारित योजना समयमै सम्पन्न होस् ।
Leave a Reply