भर्खरै :

रोग र राजनीतिक प्रतिशोधले पनि झुकाउन नसकेकी शोभा मिस

रोग र राजनीतिक प्रतिशोधले पनि झुकाउन नसकेकी शोभा मिस

क्यान्सर रोग र राजनीतिक षडयन्त्र र प्रतिशोधले पनि झुकाउन नसकेकी क्रान्तिकारी शिक्षिका हुनुहुन्थ्यो शोभा प्रधान । उहाँ वागीश्वरी मा. वि.की इमानदार, कर्तव्यनिष्ठ, लगनशील पूर्वशिक्षिका हुनुहुन्थ्यो । उहाँ क्यान्सरसँग लड्दालड्दै बित्नुभएको आज तीन वर्ष पूरा भयो । उहाँको निधन २०७९ असार ८ गते बुधबार अपराह्न ३ः४५ बजे उपचारको क्रममा भएको थियो ।
शोभा प्रधान क्यान्सर रोगसँग झुक्नुभएन । उहाँ रोगको विरुद्ध निरन्तर लड्नुभयो । उहाँले क्यान्सर रोगसँग लड्ने आँट, प्रेरणा नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ ‘रोहित’ को मायाबाट पाउनुभयो ।
उहाँलाई पछिल्लो पटक रोगले च्याप्नुभन्दा करिब एक वर्ष लगाडिको पल हुनुपर्छ । उहाँ विद्यालयमा पढाउन आउनुभएको थियो । उहाँ घरबाट विद्यालय र विद्यालयबाट घर जाँदा बाटोमा भेटेका विद्यार्थी भाइबहिनीहरू, दिदीबहिनीहरूसँग मुस्कुराएर कुराकानी गर्ने, सम्झाउने, बुझाउने गर्नुहुन्थ्यो ।
एक दिन म कमलविनायकस्थित विद्यालयको सबै कक्षाकोठामा शिक्षक पुगे पुगेनन् भनी हेर्दै थिएँ । चौथो तलाको उत्तरपट्टिको माथिको भ¥याङनेर पुगेँ । त्यही बेला उहाँ सकी नसकी बरन्डाको सहारा लिँदै भर्याङ उक्लँदै आउनुभएको थियो । उहाँ कमजोर भएको मैले अनुभव गरेँ । त्यसबेला मैले उहाँलाई आत्मबल बढाउने उद्देश्यले ठट्टा गर्दै भनँे, “ओहो ¤ शोभा मिस त कति बलियो हुनुहुन्थ्यो । उहाँले मलाई मुस्कुराएर भन्नुभयो, “विश्वराम सर पनि ।” फेरि मैले भनँे, ‘शोभा मिस एकछिन आराम गर्ने कि ¤ उहाँले मुस्कुराउँदै भन्नुभयो, “पर्दैन पर्दैन म ठीक छु ।” उहाँ कक्षा कोठातिर जानुभयो । विद्यार्थीहरूसँग खुसी हुँदै पढाउन थाल्नुभयो । म फर्किएँ । मलाई त्यो क्षण अविस्मरणीय लाग्यो । उहाँको त्यो छातीमा मोतीजस्तो सेतो सामान्य माला, हातमा रातो कलम, मार्कर र डस्टरका साथमा शिक्षक पोसाक रातो सारीमा मुस्कुराउँदै आफ्नो कर्ममा लागेको त्यो हँिसलो तस्वीर मोबाइलको क्यामेरामा कैद गर्न नसकिएपनि मेरो आँखाको नानीका क्यामेरामा भने सधैँ कैद भइरहेको छ ।
उहाँ सधैँ साहस, आँट, धैर्य र आत्मबललाई बलियो बनाइराख्नुपर्छ भन्नुहुन्थ्यो । यो नै सबभन्दा मान्छेको लागि बलियो औषधि हो भन्ने उहाँ मान्यता राख्नुहुन्थ्यो । क्यान्सर रोगबाट सबैलाई बचाउनुपर्छ भन्दै महिला दिदीबहिनीहरूको बैठक, भेटघाट, छलफल, सभा सम्मेलनमा विज्ञहरू बोलाएर प्रशिक्षण मार्फत सजग र सचेत पार्दै जानुभयो । उहाँको अगुवाइमा नेपाल क्रान्तिकारी महिला सङ्घको आयोजनामा क्रान्तिकारी महिला दिदीबहिनीहरूको, स्वास्थ्यकर्मीहरूको साथ र सहयोगमा क्यान्सर रोगलगायत अन्य रोगको स्वास्थ्य शिविरहरू टोलटोलमा सञ्चालन भयो ।
उहाँ अस्पतालमा उपचारको क्रममा जीवनको अन्तिम अवस्थामा पुग्दा समेत आफूलाई सान्त्वना र हौसला दिन भेट्न आउने दिदीबहिनी र आफन्तलाई सान्त्वना दिएर पठाउनुहुन्थ्यो । उहाँ भन्ने गर्नुहुन्थ्यो, “किन रोएकी लाटी, मलाई केही भएको छैन । पिर लिनुपर्दैन । म निको भएर चाँडै घर आउँदै छु । अनि घरमा भेटेर कुरा गरौँला । मेरो भन्दा तिमीले तिम्रो स्वास्थ्यको ख्याल गर ।” शोभा मिस भारत गएर औषधि उपचार नगर्ने र आफ्नै देशमा उपचार हुन्छ भन्नेमा ढुक्क हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, ‘म भारतमा गएर औषधि उपचार गर्न जान्न बरु आफ्नै देशमा मेरो उपचार हुनेमा म ढुक्क छु । यही राम्रा डाक्टर साहेबहरू हुनुहुन्छ । यहीँ राम्रो उपचारको सामग्री र औषधि मुलो भयो भने मजस्ता थुपै महिला दिदीबहिनीहरू, दाजुभाइहरूले देशमै उपचार गरेर निको हुने अवसर पाउनेछन् ।
शासकहरू आफ्नो सत्तालाई सधैँ टिकाइराख्नको लागि हतियारको रूपमा प्रयोग गर्छन् । तल्लो वर्गका जनता, किसान, मजदुरलाई सत्तामा आउन कहिले दिँदैनन् । देशका सामन्त, पुँजीपतिवर्गको विरोधमा कम्युनिस्टहरू मजदुर, किसानलाई सधैँ सचेत र सङ्गठित गर्ने काम गर्छन् । जनता सामन्त र पुँजीवादी शासन सत्ता कब्जा गर्न प्रयत्न गर्छन् र समाजवादी व्यवस्था ल्याउँछन् । त्यसको लागि कम्युनिस्ट पार्टीले जग बलियो बनाउनुपर्छ । त्यसलाई असफल पार्न राज्यसत्ता कब्जा गरी बसेका शोषक, सामन्त र पुँजीपतिवर्गले अनेक षड्यन्त्र गर्छन् । नेमकिपाले जनतालाई राजनीतिक र सांस्कृतिकरूपमा सजग र सचेत बनाउने काम गर्दै आएको छ । त्यो सङ्घर्ष पञ्चायतको लागि अपराध भयो । पञ्चायतले २०४५ सालमा ‘भक्तपुर काण्ड’ को षड्यन्त्र रच्यो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) लगायत थुप्रै नेता, कार्यकर्ता र सर्वसाधारण जनतालाई गिरफ्तार गरेर कानुनविपरीत जेलमा बन्दी बनाइयो । जेल भित्र र बाहिरका भक्तपुरलगायत नेमकिपाका अन्य क्षेत्रका नेता तथा कार्यकर्ताहरूले पनि शारीरिक तथा मानसिक यातना पाए र भोगे ।
कुनै युवा बाहिर आउन, बस्न पाउँदैनथे† गिरफ्तार हुन्थ्यो । लुकीलुकी हिँड्नुपथ्र्याे । त्यस प्रतिशोधबाट पीडित एकजना शोभा मिस पनि हुनुहुन्थ्यो । उहाँले पञ्चायती तत्वहरूबाट धेरै अपमान र दुव्र्यवहार सहनुभयो । पञ्चायती पुलिसको दुव्र्यवहार पनि उहाँले व्यहोर्नुभयो । त्यो राजनीतिक षड्यन्त्र र प्रतिशोधको अगाडि उहाँ अलिकति पनि झुक्नुभएन । उहाँ जनतालाई सचेत पार्न महिला दिदीबहिनीहरूको भेटघाट, छलफल र बैठकमा लाग्नुभयो । मानव अधिकारकर्मी, न्यायकर्मी, पत्रकारहरूको घर–घरमा गएर षड्यन्त्रको वास्तविक सूचना उहाँले सम्प्रेषण गर्नुभयो । ‘जाली मुद्दा खारेज गर’, ‘षड्यन्त्रको भण्डाफोर गरौँ’ भन्ने नाराका साथ जुलुस भयो । मानव अधिकारकर्मी, वकिल, पत्रकार, दल र जनताको सङ्घर्षले पञ्चायत ढल्यो । अध्यक्ष रोहितलगायतका सबैको स–सम्मान रिहा भयो ।
उहाँ शिक्षकको हकहितको सङ्घर्षमा होमिनुभयो । उहाँ नेपाल क्रान्तिकारी शिक्षक सङ्घमा आबद्ध भएर विभिन्न शिक्षक आन्दोलनमा लाग्नुभयो । शिक्षकका विभिन्न मागलाई लिएर आन्दोलनमा लाग्दा उहाँ पक्राउमा पर्नुभयो र सशस्त्र पुलिसको हेडक्वाटर, हलचोक र महेन्द्र पुलिस क्लवमा थुनिनुभयो ।
उहाँ महिला नेतृ पनि हुनुहुन्थ्यो । उहाँ नेपाल क्रान्तिकारी महिला सङ्घमा आबद्ध हुनुहुन्थ्यो । उहाँ महिलाहरूलाई राजनीतिक तथा सांस्कृतिकरूपले सचेत र सजग पार्न लाग्नुभयो । महिलाहरूको विभिन्न भेटघाट, छलफल, बैठक र सभा सम्मेलनमा पनि उहाँ सक्रिय हुनुहुन्थ्यो । उहाँले विश्वका क्रान्तिकारी महिला नेतृहरूको जीवन गाथा सुनाउनुहुन्थ्यो । उनीहरूको जीवन सङ्घर्षबाट प्रेरणा लिएर अगाडि बढ्नुपर्ने भन्नुहुन्थ्यो । पढ्न सक्ने महिला दिदीबहिनीहरूलाई त्यस्ता पुस्तक, पत्रपत्रिका पढ्न हौसला दिनुहुन्थ्यो । समाजमा आमूल परिवर्तन ल्याउन महिलाहरूको पनि त्यतिकै महत्वपूर्ण भूमिका हुने हुँदा यस्ता गतिविधिहरू निरन्तर गरिरहनुपर्ने उहाँ बताउनुहुन्थ्यो ।
विद्यार्थीहरूलाई पढ्नुका साथै राजनीतिक ज्ञान बाँड्नु आवश्यक छ । देश, विदेश वा विश्वलाई चिन्न चिनाउन सक्षम बनाइनुपर्छ । विश्वको राजनीति, कूटनीति, भूगोल, अर्थशास्त्र, विज्ञानबारे पनि जानकार बनाइनुपर्छ ।
शोभा मिस विद्यार्थी हित समितिमा विशेष अभिरुचि राख्नुहुन्थ्यो । यसबाट प्रशिक्षित विद्यार्थी भाइबहिनीहरू हरेक हिसाबले सक्रिय, सशक्त र सक्षम हुने हुँदा त्यसमा विशेष जोड दिनुहुन्थ्यो – विदेशीको नोकर होइन मन र कर्मबाट देशको सेवा गर्ने सेवक, शिक्षक, प्राध्यापक, सुरक्षाकर्मी, न्यायाधीश, वकिल, कर्मचारी, युवा, विद्यार्थी आदि जोसुकै होऊन् ।
यसरी शोभा मिसको भावना र मर्मलाई व्यवहारमा उतार्नु हामी शिक्षक–शिक्षिका, महिला दिदीबहिनीहरूको दायित्व हो । उहाँको जीवनबाट पाठ सिक्नु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *