चे, फिडेलको संस्मरणमा – १३
- कार्तिक ६, २०८२
वि.सं. १९५३ सालमा वीरशमशेरले भागवत माथेमालाई काजी र उनका छोरा आदिभक्त माथेमालाई सुब्बा पद दिएका थिए । तर, वीरशमशेरको मृत्युपछि सत्ताको परिवर्तन हँुदै चन्द्रशमशेर सत्तामा पुगेपछि वीरशमशेरले नियुक्त गरेका सबैलाई हटाउने क्रममा भागवत तथा उनका छोरा आदिभक्त पनि देश छोड्न बाध्य भए । यसरी देशबाट बाहिरिएका भागवत माथेमा कलकत्तामा ठुलै व्यापारी बन्न पुगे ।
यिनै व्यापारी भागवतका नाति तथा आदिभक्तका छोरा थिए धर्मभक्त । धर्मभक्तको जन्म वि.सं. १९६६ असोज ९ गते काठमाडौँको ओमबहाल नवहिलमा भएको थियो । बुबा तथा बाजेको बसाइँ कलकत्ता भएको हुँदा उहाको पढाइ दार्जिलिङ तथा कलकत्तामा भएको थियो । कलकत्तामा रहँदा व्यायाम गर्ने गर्नुहुन्थ्यो । उहाँ बङ्गाल च्याम्पियन बन्न पनि सफल हुनुभएको थियो । यसरी पहलवान तथा शारीरिक सुगठनमा नाम कमाएको देखेपछि रुद्रशमशेरले काठमाडाँै ल्याएर चारबुर्जा दरबार नजिकै राखे । १९९० मा रुद्रशमशेरलाई जुद्धशमशेरले पाल्पा धपाएपछि धर्मभक्तले जुक्ति खेली जुद्धशमशेरकै नाति नरशमशेरसंग मित्रता गाँसे र उनलाई ब्यायाम सिकाउन थाले ।
पछि युवराज महेन्द्रका व्यायाम शिक्षक बन्न सफल भएपछि राजा त्रिभुवनसँग सम्पर्क भयो । वि.सं. १९९७ माघ ७ मा राजद्रोहको आरोपमा धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, दशरथचन्द ठाकुर र गङ्गालाल श्रेष्ठलाई मृत्यदण्ड, रामहरि शर्मा र टङ्क शर्मालगायत ३९ जना ब्राह्मण भएकाले आजीवन काराबासदेखि दुई महिनासम्म कैद, ३२ जनालाई १० देखि पाँच सयसम्म जरिवानाको फैसला राणाकालीन प्रधानन्यायालय प्रमुख बहादुर शमशेर र प्रधानमन्त्री जुद्ध शमशेरको तजबिजबाट फैसला भएको थियो । वि.स. १९९७ माघ १२ गतेको राति नै राणा प्रधानमन्त्री जुद्धशमशेरका नाति तथा बहादुरशमशेरका छोरा नरशमशेर तथा केही आठपहरियाको साथ धर्मभक्तलाई लिएर हिँडे । राति ९ बजे अँध्यारोमा धर्मभक्त माथेमालाइ सिफलको उकालो छेउको रूख नजिकै पु¥याइयो ।
त्यहाँ पहिले नै डोरी बाँधेर राखिएको थियो । निकै मोटाघाटा धर्मभक्तलाई त्यस डोरीमा झुन्ड्याइयो तर मोटाघाटा भएकोले हाङ्गा लच्किएर जमिनमा खुट्टाले छोयो । अर्काे मोटो हाँगामा झुन्ड्याइयो फेरि डोरी नै चँुडियो । म त फेरि बाँचेभन्दा नरशमशेरले फेरि झुन्ड्याउने हो भने । यो सुनेर धर्मभक्तले कसेर एक लात नरशमशेरलाई हान्दा नरशमशेर घाइते भएका थिए । रिसले बहुलाएका नरशमशेरले धर्मभक्तलाई बेस्सरी पिट्न लगाए ।
अन्तमा, बेहोस भएका धर्मभक्तलाई डोरीमा झुन्ड्याइयो । बिहानीपख मृत्यु भएका धर्मभक्तको शव दिउँसो ४ बजेसम्म पनि कसैलाई उठाउन दिइएन । धर्मभक्तको छातीमा पनि लेखिएको थियो, “संस्था खडा गरी दुनियाँ भड्काउन पर्चा छरी, हातहतियार खोजी, केही जम्मा गरी श्री ३ र रोलवाला जर्नेलहरूको गाथ बिताई राजकाजसमेत आफूले चलाउने प्रयास गरेको हुनाले यस्तो सजाय भयो ।”
धर्मभक्त माथेमा र धर्म श्री
वि.सं. १९९० को दशकमा नेपालमा राणा शासन चरम उत्कर्षमा थियो । त्यतिबेला सर्वसाधारण युवाहरूलाई खेलकुदलगायतका गतिविधिहरूमा लाग्ने कुरा अकल्पनीय थियो । उनीहरू अर्थव्यवस्था, स्वास्थ्य र सामाजिक विकासको बारेमा ज्ञान प्राप्त गर्न प्रतिबन्धित थिए । यस्तो गतिविधिमा संलग्न रहेको जस कसैलाई कुनै ठोस प्रमाणविना राज्यबाट दण्डित गरिन्थ्यो । प्रतिबन्धित अवस्थामा समेत केही युवाहरूले शरीरिक सुगठनका बारेमा चासो लिने थालेका थिए । ती युवाहरूमध्ये स्वतन्त्रता सेनानी तथा अमर सहिद धर्मभक्त माथेमाको नाम अग्रस्थानमा आउँछ । धर्मभक्त माथेमा, नेपालका पहिलो शारीरिक सुगठनका खेलाडी थिए ।
वि.सं. १९९३ शहीद धर्मभक्त माथेमाले भारतको बङ्गालमा शारीरिक व्यायामशालाबाट ज्ञान सिकेर नेपाल आए । उनले नै नेपाली जनमानसलाई डम्बेल र बारबेलको प्रयोगबाट शारीरिक सुगठनसम्बन्धी व्यायामसँग परिचित गराए । काठमाडौँ ओमबहालमा आफ्नी फुपू युगकुमारी रायको घरमा उनले जिमखाना खोले । यो नै सायद नेपालको पहिलो जिमखाना थियो । जिमखाना खोल्नुअघि उनले जुद्धशमशेरबाट स्वीकृति लिनुपरेको थियो । त्यतिबेला जुद्धशमशेरले ‘भीडभाड नगर्नू’ भन्दै जिमखाना खोल्न स्वीकृति दिएका थिए ।
उनले काठमाडौँस्थित टुँडिखेलको खुला चौरमा घोडेजात्राको अवसरमा बलिष्ठ र मसलदार शरीरद्वारा पहिलोपटक शारीरिक सुगठन खेलको प्रदर्शन गरेका थिए । त्यसबाट प्रभावित भएर राजा त्रिभुवनले उनलाई आफ्नो व्यायाम शिक्षकका रूपमा नियुक्त गरेका थिए । उनले स्वतन्त्रताको लागि राणा शासनविरुद्ध सङ्घर्ष गर्दै वि.स. १९९७ मा देशका लागि शहादत प्राप्त गरे । उतिबेलादेखि नै धर्मभक्तको बाटो पछ्याउँदै युवाहरू शारीरिक व्यायाममा लागेका थिए । यस खेलप्रति उनले पु¥याएको योगदानको कदर गर्दै उनलाइ नेपाली शारीरिक सुगठन पितासमेत मानिन्छ ।
वि.सं. २०१० सालमा स्थापित नेपालकै पहिलो सार्वजनिक शारीरिक सुगठन संस्था नेपाल व्यायाम मन्दिर हो । जसले शारीरिक सुगठनका अध्येता सहिद धर्म भक्त माथेमाको शारीरिक सुगठनप्रतिको लगाव र देशका लागि गरेको बलिदानको कदर गर्दै हरेक साल धर्मश्री अन्तरक्लव राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
धर्म श्री प्रतियोगिताको नामकरण र प्रारम्भ कसरी भयो ?
वि.सं. २०४२ सालमा श्रीलङ्काको कोलोम्बोमा आयोजित २१ औँ एसियाली शारीरिक सुगठन प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्दै पहिलो पटक खेलाडी सरोजकुमार श्रेष्ठले सहभागिता जनाए ।
त्यतिबेला सहिद दिवसको औपचारिक कार्यक्रममा सहिद धर्मभक्त माथेमासहित अन्य तीन अमर सहिदहरूका तस्बिर राखेर कार्यक्रम गरियो । जसमा संयोगवश धर्मभक्तको सुगठित शरिर प्रदर्शन गरेको तस्बिर परेछ । त्यसपछि सरोजलगायत नेपाल व्यायाम मन्दिरका अन्य साथीहरूले सल्लाह गरे । सहिद धर्मभक्त माथेमा बडी बिल्डर पनि हुन् ।
उनले मुलुकमा व्यवस्था परिवर्तनमा समेत अतुलनीय योगदान गरेका छन् । उनकै नाममा प्रतियोगिताको आयोजना गर्दा देशका लागि जीवन उत्सर्ग गर्ने सहिदप्रति थप सम्मान पनि हुने र सरकारी अनुमति लिन पनि सहजता हुने भएकोले प्रतियोगिताको नाम धर्म श्री राख्ने तय गरिएको धर्म श्रीका प्रस्तावनाकार सरोजले बताए । वि.स. २०१० सालमा जन्मेको नेपाल व्यायाम मन्दिरले सुरुमा खिचापोखरी भुरुङखेल हुँदै २०२५ सालको सेरोफेरोबाट ज्याठामा जिमखाना खोलेको थियो ।
सहिद स्मारक फूटबल लिग २०११ सालदेखि आयोजना भएको थियो । तर सम्मान स्वरूप सहिदको नामबाट नै नेपालमा खेल प्रतियोगिता आयोजना गर्ने श्रेय भने धर्मश्री शारारिक सुगठन प्रतियोगितालाई जान्छ । वि.स. २०४२ मा प्रथम पटक नेपाल व्यायाम मन्दिरबाटै अन्तरक्लव धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको जग हाल्ने काम भएको थियो ।
वि.स. २०५० सालबाट भने खुला रूपमा सबै तौल समूहका विजेता खेलाडीहरूबीच प्रतिस्पर्धा गराएर धर्मश्रीको विजेता चुनिँदै आएको छ । यही सालदेखि विजेता खेलाडीलाइ १५ हजार नगद पुरस्कार दिन थालियो, जुन २०५४ सालसम्म यथावत रहे । वि.सं. २०५५ को छैटौँ संस्करणदेखि धर्मश्री प्रतियोगितालाई खुला राष्ट्रिय स्तरमा स्तरोन्नति गरियो । त्यसपछि राष्ट्रिय प्रतियोगितामा स्वर्ण र रजत पदक प्राप्त गर्ने खेलाडीलाई समेत सहभागी हुन पाउने नियम बनाइयो । यही वर्षदेखि नगद पुरस्कार राशी पनि १५ हजारबाट ५० हजार पु¥याइएको नेपाल व्यायाम मन्दिरका वर्तमान अध्यक्ष नारायण प्रधान बताउँछन् ।
प्रत्येक नेपाली शारीरिक सुगठन खेलाडीको सपना रहेको धर्मश्री प्रतियोगिता हालसम्म निरन्तर सञ्चालन हँुदै छ ।
ओमबहालमा बन्यो ‘सहिद धर्मभक्त माथेमा पार्क’
जहाँनिया राणा शासनको विरुद्ध नेपाली जनताको स्वतन्त्रता र अधिकार प्राप्तिको सङ्घर्षका क्रममा सहादत प्राप्त गरेका धर्मभक्त माथेमाको सम्झनामा ‘सहिद धर्मभक्त माथेमा पार्क’ निर्माण भएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर–२३ स्थित ओमबहालमा निर्माण भएको सो पार्कको सहिद सप्ताहको अन्तिम दिन अनावरण गरिएको थियो ।
Leave a Reply