भर्खरै :

सत्ता र पदमुखी राजनीति गलत

सत्ता र पदमुखी राजनीति गलत

काठमाडौँ, १४ असार । शासक दलका नेताहरू सत्तामुखी र पदमुखी छन् भन्दा अन्यथा हुने छैन । सत्ताकै निम्ति शासक दलका नेताहरू जुटे र फुटे । कहिले नेकाको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा त कहिले एमालेको नेतृत्वमा गठबन्धन सरकार गठन गर्नु यसको दृष्टान्त हो । माओवादी र एमालेबिच पार्टी एकता हुँदा दुई जना अध्यक्ष बनाइयो । कसको अध्यक्षतामा बैठक बस्ने भन्ने विषयमा विवादै भयो । आखिर एकता लामो समयसम्म टिकेन र पार्टी तीन टुक्रा भयो । पार्टीको महाधिवेशनको सन्दर्भ चल्दा पार्टी अध्यक्ष बन्नेहरूको लहरै हुन्थ्यो या लामो सूची हुन्थ्यो । नेका र एमालेको पहिलेको महाधिवेशनमा अध्यक्ष या सभापतिविरुद्ध अर्काे अध्यक्ष र सभापतिको उम्मेदवार दिइएको इतिहास साक्षी छ ।
अहिले नेकाको अधिवेशनको सन्दर्भ उठेको छ । असार १४ गते प्रकाशित ‘नागरिक’ दैनिकमा ‘काङ्ग्रेसमा को बन्ला देउवाको उत्तराधिकारी ?’ शीर्षकको समाचार छापियो । “म रिटायर्ड हुन लाग्या छु” भन्ने नेका सभापति देउवाको भनाइले अबको महाधिवेशनमा देउवा सभापतिबाट पछि हट्ने हो कि भन्ने आशङ्का गर्न सकिन्छ । नेकाको पार्टी विधानले तेस्रोपटक बन्न रोक लगाएसँगै देउवा १५ औँ महाधिवेशनमा सभापतिको प्रत्यासी बन्न पाउने छैनन् । तर, पार्टी विधान नै संशोधन गरेर देउवा फेरि पार्टी सभापति बन्नसक्ने आशङ्का पनि नेकाका नेताहरूबिच चर्चाको विषय बनेको छ । देउवा नेका सभापतिमा उम्मेदवारी नभए सभापति बन्नका निम्ति नेकाका नेताहरू सभापति बन्न उम्मेदवारीहरूको चाङ नै हुनेछ । यतिबेला एमालेभित्र पनि पार्टी अध्यक्ष हेरफेरको गन्ध राजनीतिक वृत्तमा देखिएको छ ।
यस्तै चर्चा नेकपा माओवादी केन्द्रमा पनि सुरु भएको छ । ‘नागरिक’ दैनिकमा लेखियो, ‘प्रचण्डमाथि प्रभावी होलान् प्रभावकारी’ । व्यङ्ग्य गर्दै कार्टुनमा लेखियो† अध्यक्षमा ३६ वर्ष भो…. छोड्नु हुन्न ?’ एमाओवादी नेता जनार्दन शर्माले त खुला सभामै घुमाउरो ढङ्गले पार्टी अध्यक्ष फेर्नुपर्ने विचार व्यक्त गरेका थिए । तर, अध्यक्ष दाहालले छोड्ने कुरा गरेका छैनन् । उनले आफ्नो विकल्प अध्यक्ष अरू कुनै नेताहरू नभएको फुक्दै आएका थिए । अध्यक्ष दाहाल र महासचिव शर्माबिच आफ्नै पार्टी कार्यक्रममा पटक–पटक घोचपेच भएको या भनाभन भएको थियो ।
शासक दलका नेताहरू देश बनाउन र जोगाउनको निम्ति होइन; समाजमा आमूल परिवर्तनको निम्ति होइन† पदमा पुग्न हानथाप गर्छन् । दलको सिद्धान्त र विचारलाई व्यवहारमा लागु गर्न सिद्धान्त र विचार जनतामाझ लगेर सुसूचित पार्नु भन्दा सत्ताको निम्ति राजनीति गर्छन्† भागबन्डाको निम्ति राजनीति गर्छन् । पद र पैसाकै निम्ति शासक दलका नेताहरू तँछाडमछाड गर्छन्, कुटपिट गर्छन्† मेच हानाहान गर्छन् ।
यो प्रजातान्त्रिक पद्धति होइन, विचारको प्रतिस्पर्धा होइन । विचारको राजनीति नगरी बलको आधारमा राजनीति गरेपछि न्याय, समानता र सत्यको कुरा कसरी अघि बढ्छ ? शासक दलका नेताहरूको यस्तै कमजोरीले गर्दा नेपाल विकासमा पछि परेको हो† देशको अर्थतन्त्र सुदृढ नभएको हो । राजनीतिलाई कमाउने धन्दा बनाएपछि देश कसरी बन्छ ? के जनताको काम–मामको सुनिश्चित हुन्छ ? अनि आफ्नो दललाई धेरै अनुभव भएको प्रजातान्त्रिक पार्टी, गौरवशाली ठुलो कम्युनिस्ट पार्टी भनेर रवाफ देखाएर के गर्ने ? के राजनीति भनेको पद र पैसाको लागि हो ? दलगत र व्यक्तिगत स्वार्थ पूरा गर्न हो ? दलगत र व्यक्तिगत स्वार्थमा लागेर देश बन्छ ? देश आत्मनिर्भर हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *