भर्खरै :

साथीहरूलाई पर्र्खँदा पर्र्खँदै


मेरा पुराना साथीहरूलाई
पर्खँदा पर्खँदै मैले
आफ्नो यात्रा थालेँ !


केही साथीहरू घर छोड्ने
कुरा मुखबाट निस्कँदा
आँखा रातो–पिरो गर्दै
भन्न थाले – ‘उग्र विचार !’


मैले रवीन्द्रनाथ ठाकुरलाई
सम्झेँ – मनमनै !
‘साथीहरूलाई बोलाउँदा पनि
कोही आएन भने साथी,
तिमी एक्लै जाऊ
रक्त प्लबित गोडा लिएर साथी
तिमी एक्लै जाऊ !’


एक्लै हिँड्दा साथी नपाउँदा
छिट्टै थाक्ने मानवीय
भावना हो, तर निराशालाई
मनमा समेत राख्नु हुन्न भन्ने
थाहा पाएर एक्लै हिँडे ।


म ती साथीहरूलाई सम्झन्छु अहिले
कति मलाई छोडेर गए
जुन यात्रामा सबैले गर्नैपर्ने हो,
केही आफ्नै शरीर आफूलाई
बोझ सम्झेर पीडा बोक्दै छन्
कति साथीसँग यात्रा
गर्न नपाउँदा पश्चातापमा छन् ।


कति साथी आफूलाई
एक्लो सम्झी
परिवार पाल्न पुगे
तिनीहरूले कहिल्यै
मलाई सम्झेनन् तर
म सधैँ तिनीहरूलाई
एक एक गरेर सम्झँदै छु ।


आफ्ना गुँडको माया त
हरेक चराचुरुङ्गीलाई पनि
त लाग्छ होला,
आफ्ना बचेराहरूलाई
चुच्चोले जीउ मुसार्दै
कहिले माम खुवाउँदै
चिरबिराउँछन् ।


गाई आफ्ना बाछाबाछीलाई
जिब्रोले चाटेर माया गर्छन्
साना खरायोका बच्चाहरूलाई
माया गर्छन् र दूध खुवाउँछन्
सबै प्राणीमा मानिसको
गुण हुन्छ, तर
तिनीहरू साथीलाई बिर्सन्छन् ।


म त आज पनि बिहान
साथीको बाटो हेर्छु
अहिले त आउला भनी
मानिसको हृदय पग्लेला भनी !

१६ असार, २०८२, काठमाडौँ उपत्यका

Leave a Reply

Your email address will not be published. Required fields are marked *