भर्खरै :

कहाँ गए ३ लाख ७७ हजार प्यालेस्टिनीहरू ?

  • असार १६, २०८२
  • म्याक्सिमिलियन
  • विचार
कहाँ गए ३ लाख ७७ हजार प्यालेस्टिनीहरू ?

हालै बेन–गुरिओन विश्वविद्यालयका याकोभ गार्बको एउटा रिपोर्ट छापियो । रिपोर्टमा गाजाका ‘राहत वितरण’ केन्द्रको विश्लेषण छ । कष्टसाध्य खोजमा आधारित भएर रिपोर्टले ती केन्द्र खासमा बाहिर प्रचार गरेजस्तो राहत वितरणका लागि नखोलिएको तर्क गरेको छ । बरु ती ‘राहत वितरण’ केन्द्र अन्तर्राष्ट्रिय कानुन नमान्ने सैन्य रणनीतिकै हिस्सा भएको रिपोर्टको बलियो ठम्याइ छ । यी केन्द्रमा अन्तर्राष्ट्रिय कानुन मिचेको प्रस्ट देखिन्छ । रिपोर्टमा उल्लेख जनसांख्यिक तथ्याङ्क हेर्दा अझ डरलाग्दो तस्बिर देखिन्छ । अहिलेसम्म गाजाका भग्नावेशहरूमा पुरिएका मानिसहरूको सङ्ख्या र जीवित जनसङ्ख्या तुलना गर्दा झन्डै ४ लाखको अन्तर निस्किन्छ ।
याकोभ गार्बको रिपोर्टका दुई सार छन् । पहिलो, राहतको कुकृत्य । दोस्रो, मृतक सङ्ख्या । यी दुई आपसमा जोडिएका विषय हुन् । ‘राहत वितरण’ आफैमा रणनीति हो । यसको भित्री सैन्य उद्देश्य छ । अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको आँखा छल्न बाहिर मानवतावादको पर्दा राखिएको छ भने ।
भाग एक : करुणा होइन, नियन्त्रणकारी संरचना
अन्तर्राष्ट्रिय मानवअधिकारवादी कानुन नम्र आग्रह होइन; त्यो पालन गर्नुपर्ने कर्तव्य हो । एक कब्जाकारी शक्तिको रूपमा चौथो जेनिभा अभिसन्धि पालन गर्नु इजरायलको कर्तव्य हो । त्यो प्रावधान अनुसार इजरायलले सर्वसाधारण जनतालाई खाद्यान्न तथा मेडिकल आपूर्तिको प्रत्याभूति र सहजीकरण गर्नुपर्छ । गार्बको रिपोर्टमा चित्रण गरिएको प्रबन्ध हेर्दा इजरायलले आफ्नो कर्तव्यलाई मजाक बनाएको प्रस्ट हुन्छ ।
अनुभवी, तटस्थ मानवतावादी सङ्घसंस्थाहरूको कामलाई सहज बनाउनुको साटो इजरायलले ती निकायलाई लङ्गडो पारी नियन्त्रित विकल्पलाई ठाउँ दिएको छ । यो नयाँ मोडलभित्र कानुनको सङ्गीन उल्लङ्घन भएको छ ।
१. तटस्थतालाई अस्वीकार :
अमेरिकाका निजी सुरक्षा कम्पनीहरूद्वारा सञ्चालित किल्लाबद्ध हाताभित्र राहत वितरण हुँदै छ । यी कम्पनीमा अमेरिकाका पूर्वलडाकु हुन्छन् । यिनको सुरक्षा इजरायली सेनाले गर्दै छ । यस्तो बन्दोवस्तीले तटस्थता र स्वतन्त्रताका मूल मानवतावादी सिद्धान्तहरूको घाँटी थिचेको छ । राहत वितरणलाई युद्धको औजार बन्न नदिन यी सिद्धान्तहरू अत्यावश्यक छन् ।
२. सर्वसाधारणलाई जोखिम :
अमेरिकाका किल्लाहरू इजरायलले ‘बफर क्षेत्र’ घोषणा गरेका स्थानमा सञ्चालित छन् । यी स्थानमा प्रवेश गर्नबाट सर्वसाधारणलाई औपचारिक रूपमै रोक लगाइएको छ । त्यहाँ सर्वसाधारणहरूमाथि आक्रमण हुन सक्छ । यो क्रूर विरोधाभाषबिच प्यालेस्टिनीहरूले आफ्नो जीउज्यान दाउमा राखेर निषेधित सैन्य क्षेत्रमा प्रवेश गर्नुपर्छ । त्यो पनि केवल धौधौले जीवन धानिने खानाको लागि ।
३. हिंसाको नमुना :
यी किल्लाहरूको आन्तरिक डिजाइन सेनाले भीड गर्ने नियन्त्रण विधिमा आधारित छ । त्यसकारण, यो डिजाइन नागरिक सेवामा आधारित होइन । गार्बको रिपोर्टमा यी किल्लालाई ‘घातक सोली’ जस्ता संरचना भनिएको छ । त्यहाँ एउटा पस्ने र एउटै बाहिरिने ढोका हुन्छन् । त्यहाँ कुनै छानो हुन्न । बढीभन्दा बढी निगरानी गर्न र सशस्त्र गार्डहरूको नियन्त्रण कसिलो पार्न यसो गरिएको हुन्छ । यी संरचनाभित्र ओत, पानी वा शौचालय छैनन् । यसले गर्दा राहत लिन बस्नेहरू आत्तिन्छन् र भाँडभैलो मच्चिन सक्छ । यसैलाई देखाएर सेनाले गर्ने हिंसालाई उचित ठह¥याउन सकिन्छ । यो बन्दोवस्ती सहायताको लागि गरिएकै होइन । यो त केवल नियन्त्रण गर्न र आवश्यक परे चोट पु¥याउन डिजाइन गरिएको बन्दोवस्त हो ।
यो समग्र व्यवस्था ‘खाद्यान्न वितरणको सर्वस्वीकृत र प्रमाणित सिद्धान्तहरूको विपरीत’ छ । यो कानुनी र नैतिक जालझेल हो । सहायताको बहानामा आफ्ना रणनीतिक लक्ष्य परिपूर्ति गर्ने साधन हो ।
भाग दुई : नबताइएको सङ्ख्या – बेपत्ता ३ लाख ७७ हजार गाजाबासी
कानुनी विश्लेषण अगतिलो छ । तर, रिपोर्टमा उल्लेख जनसांख्यिक तथ्याङ्क अत्यन्त प्रलयकारी छ । द्वन्द्व हुनुभन्दा अगाडि गाजापट्टीको जनसङ्ख्या २२ लाख २७ हजार थियो । गार्ब रिपोर्टमा उल्लेख नक्सा इजरायली सेनाको आकलनमा आधारित छ । गाजामा बाँकी बचेको जनसङ्ख्या मूलतः तीन इलाकामा बसिरहेको छ ।
१. गाजा सहर : १० लाख
२. मवासी : ५ लाख
३. मध्य गाजा : साढे ३ लाख
यो तथ्याङ्कबाट एउटा ठुलो अन्तर देखापर्छ । २२ लाख २७ हजारमा साढे १८ लाख घटाउँदा ३ लाख ७७ हजार हुन आउँछ । कहाँ गए यी ३ लाख ७७ हजार प्यालेस्टिनीहरू ?
यो सङ्ख्या मिडियामा आइरहेको मृतक सङ्ख्याभन्दा ६ गुणा बढी हो । यीमध्ये केही मानिस माथि उल्लेख तीन इलाकाबाहिर भग्नावशेषहरूमा हुन सक्छन् भन्न सकिएला । तर, यो अन्तर अतिशय कहालिलाग्दो छ । तथ्याङ्कमा खोट देखाउने ठाउँ पनि छैन । किनभने, कब्जाकारी शक्तिले नै निकालेको तथ्याङ्क हो यो । यसको अर्थ हुन्छ गाजाको जनसङ्ख्यामा प्रलय आएको छ । सिधा गोली लागेर, भोकमरीमा परेर वा रोगव्याधिका कारण यो जनसङ्ख्या अलप भएको हुन सक्छ । विश्वले विश्वास गरेभन्दा कता हो कता ठुलो छ बेपत्ता प्यालेस्टिनीहरूको सङ्ख्या ।
सहायता दिने हाता र बेपत्ता जनसङ्ख्या एउटै सिक्काका दुई पाटा हुन् । वितरण केन्द्रको ठेगाना र डिजाइन यसरी तय गरिएको छ कि त्यहाँ बहुसङ्ख्यक जनता जान सक्दैनन् । ती केन्द्र बहुमत जनताको पहुँचबाहिर छन् । खासगरी गाजा सहरका १० लाख मानिसहरू नेतजारिम कोरिडोरबाट काटिए जस्ता छन् । ‘राहत वितरण’ प्रणाली गाजाका साढे १८ लाख मानिसलाई पेटभरि खाना दिनेगरी डिजाइन गरिएको छैन । ३ लाख ७७ हजार बेपत्ता मानिस कहाँ गए भनी जवाफ दिने चिन्तै छैन ‘राहत वितरण’ प्रणालीका हर्ताकर्तालाई ।
अन्तर्राष्ट्रिय समुदायले अमेरिका–इजरायलले खडा गरेका यी ‘राहत वितरण’ केन्द्रको पर्दाभित्र चिहाउन र त्यहाँको कहालिलाग्दो यथार्थको सामना गर्न जरुरी छ । आहार वितरण गर्ने वचन दिएर अत्तालिएका दरिद्रजनलाई सैनिक चौकीमा पस्न बाध्य पार्ने यो प्रणालीको विरोध गर्न जरुरी छ । तर, तत्काललाई हामीले सबैभन्दा ठुलो प्रश्न गर्नैपर्छ । त्यो प्रश्न हो –
कहाँ गए ३ लाख ७७ हजार प्यालेस्टिनीहरू ?
पुनश्च : हार्वर्ड विश्वविद्यालयले गरेको एक अध्ययन अनुसार भग्नावेशहरूमा पुरिएका ६० हजार प्यालेस्टिनीहरूभित्र हराएका ३ लाख ७७ हजार प्यालेस्टिनीहरू पर्दैनन् ।
(स्रोत : एमआर अनलाइन । गणेश)

Leave a Reply

Your email address will not be published. Required fields are marked *