अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
हिन्द–प्रशान्त र नयाँ शीतयुद्ध
पेइचिङसँग वासिङ्टनको सम्बन्धमा हेरफेर आएको छ । यसको सुरुआत सन् २०१० मै भएको थियो । चिनियाँ अर्थतन्त्रको भव्य सफलता, संरा अमेरिकाको तुलनात्मक अधोगति र चीनको अर्थराजनीतिक अडानमा महसुस गरिएको बदलावको प्रतिक्रियामा यो हेरफेर आएको हो । अर्थ–राजनीतिक आडन हेर्दा चीनले झन्झन् स्वतन्त्र बाटो लिँदै छ । यी वेन सेन्ट अर्थविद् तथा सेन्ट लुइस फेडरल रिजर्भ बोर्डका उपाध्यक्ष हुन् । उनले भने – सन् १९७८ र २००० बिच “बेलायतले सन् १७००–१९०० बिच, संरा अमेरिकाले सन् १७६०–१९२० बिच र जापानले सन् १८५०–१९६० बिच अनुभव गरेको झन्डै १५०–२०० (बढी) वर्षको क्रान्तिकारी आर्थिक परिवर्तनलाई चीनले एक पुस्तामा छोट्यायो ।” सन् १९७८ मा चीनको प्रतिव्यक्ति आम्दानी अफ्रिकाको उपसहारा क्षेत्रको एकतिहाइ मात्र थियो । सन् १९८१ मा चीनका ८० करोड जनता दैनिक सवा १ डलरभन्दा कममा गुजारा चलाउँथे । सन् २०१८ सम्ममा चीनको प्रतिव्यक्ति आम्दानी विश्वकै औसत आम्दानीको हाराहारीमा उक्लेको छ । उसले आफ्नो सरहदभित्र निरपेक्ष गरिबी अन्त्य गरेको छ । सन् १९५३ मा चीनको औद्योगिक उत्पादन क्षमता विश्वकै २.३ प्रतिशत थियो । तर, सन् २०२० सम्ममा यसमा उसको भागिदारी ३५ प्रतिशत पुगेको छ । आज चीन विश्वकै अगुवा निर्यातक हो । सन् २०२० मा विश्व व्यापारमा उसको हिस्सा १५ प्रतिशत थियो । त्यो वर्ष अमेरिकाको हिस्सेदारी भने जम्मा ८ प्रतिशत थियो ।
विश्वव्यापी वित्तीय महामन्दी एउटा मोड साबित भयो । मालसामानको बाह्य मागमा चीनमा ठूलो ¥हास आयो । तैपनि, बाँकी विश्व गहिरो आर्थिक गतिरोधमा डुब्दा र बल्लतल्ल कछुवा गतिमा उकासिँदै गर्दा चिनियाँ अर्थतन्त्रको सिक्का चलिरह्यो । चिनियाँ अर्थतन्त्रमा ठूलो हिस्सा सरकारी क्षेत्रको छ । त्यसकारण, ऊ विश्वव्यापी महामन्दीबाट बाहिरिन सक्यो । महामन्दीकै बेला पनि उसको दुई–अङ्कको आर्थिक वृद्धिमा असर परेन । त्यति नै बेला ‘द इकोनोमिस्ट’’ पत्रिकाले ‘सम्पन्न विश्व’ भन्ने देशहरू भने धनात्मक वृद्धिदर प्राप्त गर्न घुँडा धसिरहेका थिए । मन्दीको झट्का सबैभन्दा बढी वासिङ्टनमा लाग्यो । चीन विश्वको आर्थिक वृद्धिको इन्जिन मात्र बनेन† सन् २०१० सम्म आइपुग्दा उसले विश्व अर्थतन्त्रको दोस्रो ठूलो शक्ति जापानलाई पनि उछिन्यो । उसको तीव्र विकासलाई कसैले रोक्न सक्ने देखिन्न । एकाधिकार पुँजीवादमा गहिरिँदो आर्थिक मन्दीका सिद्धान्तकारहरूले लामो समयदेखि तर्क गर्दै आएका छन्; संरा अमेरिका, क्यानडा, पश्चिम युरोप र जापानजस्ता सबै परिपक्व पुँजीवादी अर्थतन्त्र सुस्त हुनुको कारण समाजको माथिल्लो तहमा पुँजीको अति केन्द्रीकरणले गर्दा कूल लगानीमा कमी आउनु थियो । यसले गर्दा नयाँ लगानीमा अपेक्षित मुनाफा भएन । ठूलो वित्तीय सङ्कटको बेला लरेन्स समर्सजस्ता मूलधारे अर्थविद्हरूले मन्दीको स्रोत नपहिल्याई हत्तारिँदै यसखाले विश्लेषण गरेका थिए । यसलाई उनीहरूले ‘निरपेक्ष मन्दी’ नाम दिएका थिए । तर, कूल पुँजी निर्माणको अभावले विश्व पुँजीवादी अर्थतन्त्रका मूल साम्राज्यवादी देशहरू झन्झन् सुस्त बन्दै गए† समाजको माथिल्लो तहमा वित्तीय धन थुप्रिँदै गएको पनि देखियो । यति नै बेला चीन ठीक उल्टो उदाहरण बन्यो । उसको कूल लगानी इतिहासमै उच्च पुग्यो र त्यसले युगान्तकारी आर्थिक वृद्धिदर दियो ।
राष्ट्रपति क्लिन्टनले हिन्द–प्रशान्त बृहत् रणनीति ल्याए । पछि राष्ट्रपति ओबामाले सन् २०१०–२०११ मा ‘धुरी एसियातिर’ नीति ल्याए । यी नीतिहरू विश्व अर्थतन्त्रमा आएको युगान्तकारी बदलावप्रतिको अमेरिकी प्रत्युत्तर थियो । यो स्थितिमा वासिङ्टन अनेक अन्तर्विरोधमा जेलिएको थियो । गहिरो मन्दीबाट उम्किरहेको संरा अमेरिका एसिया (विशेषगरी चीन) मा पैदा भइरहेको आर्थिक मूल्यको ठूलो हिस्सा हात पार्न उत्सुक थियो र अनेक हत्कण्डा प्रयोग गरी चिनियाँ शक्तिको वृद्धिमा ब्रेक लगाउन उद्यत थियो । सैन्य अखडा, गठबन्धन र साझेदारीमार्फत चीनलाई रणनीतिक घेराबन्दीमा पारी अमेरिकाले चीनको शक्ति खुम्च्याउन चाह्यो । उसले चीनको प्रविधिमा छेकबार लगाउन चाह्यो । साथै उसले चीनलाई ध्वस्त पारी साम्राज्यवादी शक्तिहरूलाई मात्र लाभ पुग्ने गरी व्यापार सम्झौताहरू गर्ने प्रयास ग¥यो ।
तथापि, चीनविरोधी शक्तिका विभिन्न आयामलाई उपयोग गर्ने ओबामाको अमेरिकी नीतिमा चीनमा चलिरहेको राजनीतिक घटनाक्रमलाई ध्यान दिइएको थियो । सन् २००७ मा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको १७ औँ पार्टी महाधिवेशनबाट सुरु भएर पार्टीको महासचिव एवम् चीनको राष्ट्रपतिको रूपमा हु चिन्ताओको कार्यकालको आधाआधीबाट चिनियाँ राजनीतिमा प्रभावशाली मानिने (र दक्षिणपन्थी भनिने) सुधारवादी धारलाई (वामपन्थी भनिने) अनुदारवादी धारले झन्झन् टक्कर दिँदै थियो । विवादको रेखा स्पष्ट नकोरिए पनि सुधारवादी धारले देङ स्याओपिङले ल्याएको र उनका उत्तराधिकारी च्याङ चमिनले अघि बढाएको बजार सुधारको पक्ष लियो भने मूलतः देशमै केन्द्रित रहनुपर्ने विचार राख्ने अनुदारवादी धारले माओ त्सेतुङकै नीतिमा फर्किनुपर्ने पैरवी ग¥यो । यही कुरा विवादको मूल मुद्दामा पनि देख्न सकिन्छ । वैज्ञानिक विकास र समतामूलक समाजलाई कसरी परिभाषित गर्ने ? विवादको मूल मुद्दा बन्यो । समतामूलक समाजको मुद्दा खासगरी सन् २००० मा च्याङले अघि सारेको ‘तीन प्रतिनिधि’ नीतिकै वरिपरि घुम्यो । ‘तीन प्रतिनिधि’ नीति चीनको आगामी यात्राको रूपरेखा हो । यहाँ समतामूलक समाजको अर्थ : “१. उन्नत उत्पादक शक्तिको विकास हो; २. उन्नत संस्कृतिमुखी हुनु हो; ३. चीनका बहुसङ्ख्यक जनताको आधारभूत हित हो ।” तीन प्रतिनिधिको नीति सुरुमा वामपन्थीहरूलाई जवाफ दिन र उदारवादी/नवउदारवादी दिशातर्फ सुधारवादी बाटोमा अघि बढाउन अघि सारिएको थियो । अनुदारवादीहरूको दृष्टिकोण यसको विपरीत रह्यो । यो धारले ‘चिनियाँ चरित्रसहितको समाजवाद’ लाई जगाउँदै र संस्थागत गर्दै वैज्ञानिक विकास र समतामूलक समाज दुवै हासिल गर्नुपर्ने बतायो । अनौठो के रह्यो भने १७ औँ पार्टी महाधिवेशनमा ‘चिनियाँ चरित्रसहितको समाजवाद’ माथि जोड दिइयो र त्यसलाई चिनियाँ राजनीतिक विकास तय गर्ने ‘मार्गदर्शक झन्डा’ भनियो । यसरी वामपन्थी धारको विजय भयो । च्याङको ‘तीन प्रतिनिधि’ नीति ओइलाउँदै गयो र त्यसलाई एक स्वतन्त्र योगदानको रूपमा हेर्न छोडियो; बरु त्यसलाई चिनियाँ चरित्रसहितको समाजवादभित्रै समावेश गरियो । “माओपछि आएका सबै विचारलाई” चिनियाँ चरित्रसहितको समाजवादभित्र राखियो । राष्ट्रपति सी चिनफिङले पछि ‘चिनियाँ चरित्रसहितको समाजवादको सैद्धान्तिक प्रणाली’ लाई माओपछिको दोस्रो ऐतिहासिक फड्को भने । नयाँ युगका लागि चिनियाँ चरित्रसहितको समाजवादसँग सम्बद्ध ‘सी चिनफिङ विचार’ अन्ततः तेस्रो फड्को बन्दै छ । १७ औँ महाधिवेशनमा अनुदारवादी/वामपन्थी धारको बलियो पुनःआगमन भयो । लगत्तै संरा अमेरिकाबाट सुरु भएको सन् २००८–०९ को विश्वव्यापी महामन्दीले सो धारलाई थप मजबुत पा¥यो । पुँजीवादी विश्व अर्थव्यवस्थाको साम्राज्यवादी केन्द्रसँगै दक्षिणी गोलाद्र्धका धेरै पराश्रित अर्थतन्त्रहरू दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा विकराल प्रणालीगत सङ्कटमा प्रवेश गरे । चीनमा नवउदारवादी अर्थनीतिको प्रतिष्ठा स्वात्तै घट्यो । यद्यपि, विदेशमा पढेर आएका चिनियाँ अर्थविद्हरूबिच यो नीतिले बलियो पकड जमाएको थियो । पश्चिमा अवधारणाबाट टाढिएको प्रसङ्ग ‘लालझन्डा पाण्डुलिपि’ जस्ता मुखपत्रका आलेखहरूमा पढ्न सकिन्छ । खासगरी सोभियत सङ्घको अवसानबारे चिनियाँ विश्लेषणमा आएको आकस्मिक बदलावबाट यो कुरा स्पष्ट भयो । सन् १९९४ देखि २००८ सम्म बजार सुधारको अभाव, संस्थागत सङ्कट र वैचारिक ¥हास हुनाले सोभियत सङ्घको पतन भएको भनिन्थ्यो चीनमा । पार्टी निर्माणको विषय उति उठ्दैनथ्यो । यद्यपि, सन् २००९–२०१८ बिच यीमध्ये अघिल्ला दुई कारणलाई हटाइयो† बढी जोड वैचारिक ¥हास र पार्टी निर्माणमा देखिएको विफलतालाई दिइयो । यसका साथै खराब नेता
(अर्थात् भ्रष्टाचार) लाई पनि सोभियत सङ्घको पतनको कारण भनियो ।
चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव तथा चीनको राष्ट्रपतिको पदमा सी चिनफिङको उदयलाई धेरैले दक्षिणपन्थी धारका सुधारवादीको विजयको रूपमा हेरेका थिए । अमेरिकी विदेशनीतिका योजनाकारहरूले राष्ट्रपति सी अर्का मिखाइल गोर्भाचेभ बन्ने आस गरेका थिए । उनीहरूले सीले चिनियाँ अर्थतन्त्र निजीकरण गर्ने र उदारवादी सुधार गर्ने सोचेका थिए† यी हेरफेरले चिनियाँ कम्युनिस्ट पार्टीको पतन निम्त्याउने सोचेका थिए । पहिलो कार्यकालका सुरुआती वर्षहरूमा सीले सुधारवादी बाटो लिने धेरैले ठानेकै हुन् । चीन पुनः बलियो बन्ने र ‘महान् आधुनिक समाजवादी समाज’ बन्ने सीको ‘चिनियाँ सपना’ लाई प्रायः विशुद्ध राष्ट्रवादी अडानको रूपमा लिइयो । (यो समाज माओको शासनकालमा ‘जागेको’ र देङको शासनकालमा ‘उकासिएको’ सीको विश्लेषण थियो ।) तर, चाँडै नै सीको चिनियाँ सपना चिनियाँ चरित्रसहितको समाजवादभित्रै उनिएको प्रस्ट भयो । उनी अनुदारवादी (वामपन्थी) अडान राख्नेहरूसँग सहमत मात्र थिएनन्, बरु उनी ‘पार्टी र जनताबिच अटुट सम्बन्ध हुने जनशैली’ ब्युँताउन समर्पित ‘गोर्भाचेभविपरीत’ पात्र साबित भए । पश्चिमाहरूसँग शत्रुता निम्त्याउने प्रमुख मोड बन्यो सीले सन् २०१३ मा अघि सारेको ‘बेल्ट र रोड अगुवाइ’ परियोजना । यो परियोजनाको लक्ष्य विश्वस्तरमा भौतिक पूर्वाधारहरू विकास गर्ने र त्यसमार्फत दक्षिणी गोलाद्र्ध तथा युरोपका देशहरूसँग चीनको भूआर्थिक साइनो बाँध्ने थियो ।
ओबामाको ‘धुरी एसियातिर’ नीति चीनको सैन्य तथा भूआर्थिक घेराउ बढाउन लक्षित थियो । तैपनि, वासिङ्टनले निर्णायक हमला गर्ने सोचिसकेको थिएन । चीनमा नयाँ गोर्भाचेभ जन्मिने र उसले पार्टीलाई भित्रैबाट खोक्रो पारी चीनलाई कमजोर बनाउने अनि विश्वमा उथलपुथल ल्याउने आस अमेरिकी रणनीतिकारहरूले मारिसकेका थिएनन् । नवयुगको प्रस्ताव ल्याएर सी समाजवादी बाटोमा अघि बढ्न कटिबद्ध रहेको कुरा सन् २०१५ सम्ममा स्पस्ट भयो । यति मात्र होइन, चीनमा सुधारवादीहरूविरुद्ध जनलहर आइसकेको थियो । सन् २०१६ को ट्रम्पको चुनावी प्रचारमा लागेका रिपब्लिकन रणनीतिकारहरू नै चीनसँग नयाँ शीतयुद्ध गर्नुपर्छ भनी माग गर्ने प्रथम अमेरिकीहरू थिए । उनीहरूरूससँग सम्झौता गरेरै भए पनि चीनसँग जुध्ने पक्षमा थिए । ओबामाले धुरीलाई चीनतर्फ सोझ्याउन आह्वान गरे तापनि डेमोक्र्याटहरू चीनभन्दा पनि रूसविरुद्ध केन्द्रित थिए । तर, ट्रम्पले नयाँ शीतयुद्धको थालनी गरे । उनले चिनियाँ मालसामानमा भन्सार दर बढाए, चीनविरुद्ध आर्थिक प्रतिबन्ध लगाए र भीमकाय सेनालाई चीनवरपर तैनाथ गरे । लगत्तै डेमोक्र्याटहरूले पनि सोही बाटो लिए । यसकारण, चीनलाई ‘विधिसम्मत विश्व व्यवस्था’ लाई धरापमा पार्ने ‘संशोधनकारी शक्ति’ भनी घोषणा गरियो । यहाँ ‘विधिसम्मत विश्व व्यवस्था’ लाई अन्तर्राष्ट्रिय विधिविधान, अन्तर्राष्ट्रिय कूटनीतिको वेस्टफालिया प्रणाली, संयुक्त राष्ट्रसङ्घको महासभा, अन्तर्राष्ट्रिय न्यायालय अथवा विश्व व्यापार सङ्गठन भनी बुझ्नु गल्ती हुन्छ । (यसै पनि संरा अमेरिकाले विश्व व्यापार सङ्गठनको न्यायिक प्रक्रियालाई रद्दीको टोकरीमा फालिसकेको छ ।) ‘विधिसम्मत विश्व व्यवस्था’ को अर्थ अमेरिकाको विश्वव्यापी साम्राज्यका प्रमुख आर्थिक तथा सैन्य संस्थान हुन् । यिनमा विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्राकोष र डलरको प्रभुत्वदेखि विश्वभरि छरिएका अमेरिकाका सैन्य अखडा तथा सैन्य गठबन्धन पर्छन् ।
संरा अमेरिकामा नयाँ शीतयुद्धको चर्चा चरमचुलीमा छ । यो चर्चा खासगरी हिन्द–प्रशान्त क्षेत्रमा केन्द्रित हुँदै छ । ‘फरेन अफियर्स’ जर्नलको मे÷जून २०२४ अङ्कमा म्याट पोटिङ्गर र माइक गाजाघरको लेख प्रकाशित भयो । शीर्षक थियो – विजयको विकल्प छैन : चीनविरुद्ध अमेरिकी प्रतिस्पर्धालाई मिलान गर्ने होइन, जित्नुपर्छ’ । पोटिङ्गर सन् २०१९–२१ बिच ट्रम्प सरकारका राष्ट्रिय सुरक्षा सह–सल्लाहकार थिए । गालाघर सन् २०१७–२४ बिच विज्कन्सिन राज्यबाट अमेरिकी सांसद थिए । उनी चिनियाँ कम्युनिस्ट पार्टीसम्बन्धी संसदीय समितिका पूर्व सभापति पनि हुन् । हाल उनी पालान्टिर टेक्नोलजिजमा कार्यरत छन् । यो बहुराष्ट्रिय कम्पनीलाई अमेरिकी गुप्तचर निकाय सिआइएको आड छ । यसले विश्वभरिका जनताको निगरानी गर्छ र तिनका सबैखाले सूचना सङ्कलन गर्छ । अमेरिकालाई चलाउने भित्री गिरोह र इजरायल दुवैसँग यो कम्पनीको बलियो साँठगाँठ छ । पोटिङ्गर र गालाघर दुवै चीनविरुद्ध जो बाइडेन सरकारको युद्धमुखी अडानका दृढ समर्थक हुन् । चीनसँग औपचारिक रूपमै ‘नयाँ शीतयुद्ध’ घोषणा नगरेको तर्क राख्दै उनीहरू बाइडेन सरकार चीनविरुद्ध कडा नभएको बताउँछन् ।
उनीहरूले तथ्यलाई बेवास्ता गरेको स्पस्ट छ । बाइडेन सरकारको पालामा संरा अमेरिका शब्द र कर्म दुवैले चीनविरुद्ध पूर्णतः आक्रामक देखियो । पोटिङ्गर र गालाघरले यथार्थलाई उल्ट्याउन खोजेका छन् । ‘चिनियाँ नेताहरूले संरा अमेरिकाविरुद्ध यसअघि नै शीतयुद्ध थालिसकेको’ तर वासिङ्टनले चित्तबुझ्दो जवाफ नदिएको उनीहरू दाबी गर्छन् । युक्रेन युद्धमा रूसलाई चीनले बारुद, सेमिकन्डक्टर, ड्रोन ‘र अन्य युद्धजन्य सामग्री’ जस्ता सैन्य सहयोग उपलब्ध गराएकोलाई उनीहरू प्रमाणको रूपमा अघि सार्छन् । हामीले सुने अनुसार सम्भवतः पेइचिङ (चिनियाँ क्षेत्र) ताइवानमा सैन्य हस्तक्षेप गर्ने तयारीमा छ । चीनले टिकटकको अलगोरिदममाथिको आफ्नो नियन्त्रणको प्रयोग गरी (२०२३ अक्टोबर ७ को प्यालेस्टिनी प्रतिरोध ‘अल–अक्सा फ्लड’ पछि) इजरायलविरुद्ध प्रचार बढाएको छ । यसैगरी राष्ट्रसङ्घको सुरक्षा परिषद्मा हमासको निन्दाविरुद्ध चीनले भिटो अधिकार प्रयोग गर्दै आएको छ । यी तर्कले नपुगेर लेखकद्वयले अमेरिकी आकाशमा चिनियाँ बेलुन उडेको प्रसङ्ग पनि उठाएका छन् जबकि यो बेलुनबाट अमेरिकालाई कुनै खतरा थिएन । ट्रम्प सरकारको बोलीमा लोली मिलाउँदै यी लेखकले कोभिड–१९ केही हदसम्म ‘चिनियाँ भाइरस’ नै भएको र चिनियाँ प्रयोगशालामै त्यसको उत्पत्ति भएको दाबी गर्छन् । वैज्ञानिक अनुसन्धानबाट यो दाबी झूटो साबित भइसकेको छ ।
चीनको ‘आक्रामकता’ बढेको आरोप साबित गराउन लेखकद्वयले प्रयोग गरेका सबै दलिल इतिहासको कसीमा हावादारी हुन् । विगत ३५ वर्षको इतिहास मात्रै पल्टाउने हो भने पनि अमेरिकाले असङ्ख्य सैन्य हस्तक्षेप गरेको छ । यी हस्तक्षेपमा प्रत्यक्ष युद्ध, दलाल समूहमार्फत गरिने उपद्रोह, सत्ताविद्रोह, आर्थिक प्रतिबन्ध र नाकाबन्दी पर्छन् । विश्वका सबै महादेशमा अमेरिकाले गरेका यी हस्तक्षेपका कारण करोडौँ मानिसको ज्यान गइसकेको छ । यी कुकर्मको दाँजोमा चीनको तथाकथित ‘आक्रामकता’ केही पनि होइन । तथ्य उल्टोपाल्टो पार्दै पोटिङ्गर र गालाघरले चीनलाई आक्रामक र खतरनाक बनेको आरोप लगाएका छैन । एसियाभरि छरिएर चीनलाई घेराबन्दीमा पारिरहेका सयौँ अमेरिकी सैन्य अखडाको लागि ‘खतरा’ बनेको चीनलाई सहनै नहुने उनीहरूको जिरह छ ।
चीनविरुद्ध नयाँ शीतयुद्धलाई उचित ठह¥याउँदै गर्दा पोटिङ्गर र गालाघरले राष्ट्रपति सीलाई सिधा प्रहार गरेका छन् । विश्वमा अहिले ‘अराजकता’ मौलाइरहेको दाबी गरेको हुनाले उनीहरूले राष्ट्रपति सीको आलोचना गरेका छन् । उनीहरूको युद्धपिपासु कल्पना अनुसार संरा अमेरिकालाई अचानोमा राखेर सी दुष्टतापूर्वक ‘विश्वमा अराजकता मच्चाउन’ चाहन्छन् । ‘अराजकताको एजेन्ट’ को भूमिका लेखेको हुनाले मात्र होइन ‘गोर्भाचेभलाई बदनाम गरेको’ हुनाले पनि सीको निन्दा गरिनुपर्ने लेखकद्वयको सुझाव छ । (सोभियत सङ्घको पतन हुँदा गोर्भाचेभ सोभियत कम्युनिस्ट पार्टीका प्रमुख थिए ।) यसकारण, लेखकद्वय तर्क गर्छन् – सी संरा अमेरिकाका ‘अविचल शत्रु’ हुन् र ‘चिनियाँ कम्युनिस्ट पार्टीको साम्राज्यवाद’ का लागि उनी नै दोषी छन् । यहाँनिर केका लागि ‘साम्राज्यवाद’ भनी स्पष्ट किटान गरिएको छैन ।
(लेखक जोन बेलामी फोस्टर ‘मन्थ्ली रिभ्यू’ पत्रिकाका सम्पादक तथा अरेगन विश्वविद्यालयमा समाजशास्त्रका विशिष्ट प्रोफेसर हुन् । हालै मात्र उनको पुस्तक ‘पर्यावरणको द्वन्द्ववाद’ (२०२४) प्रकाशित भएको छ । अर्का लेखक ब्रेट क्लार्क ‘मन्थ्ली रिभ्यू’ पत्रिकाका सहायक सम्पादक तथा उटाह विश्वविद्यालयमा समाजशास्त्रका प्रोफेसर हुन् । उनी जोन बेलामी फोस्टरसँगै ‘प्रकृतिको लुट’ (२०२०) पुस्तकका सहलेखक हुन् ।)
स्रोत : मन्थ्ली रिभ्यू । पूर्णाङ्क ७६ । अङ्क ३ । सन् २०२४ । अनु. सम्यक)
Monthly Review | Imperialism in the Indo-Pacific—An Introduction
Leave a Reply