भर्खरै :

लुगा सिलाएरै जीवन गुजार्दै ग्रामीण महिला

दार्चुला, ५ चैत (रासस) ः वर्षौंदेखि चुलोचौको र घाँस दाउरामा सीमित दार्चुला जिल्लाको ग्रामीण भेगका महिला लुगा सिउने सीप सिकेर घर बसीबसी मनग्य आम्दानी गरिरहेका छन् । वर्षौंदेखि घाँस दाउरा गर्दै जीवन जीउँदै आएका यहाँका महिला अहिले सिलाइ कटाइसम्बन्धी सीप आर्जन गरेर आत्मनिर्भर बनिरहेका हुन् ।
कोट, पाइन्ट स्काप र स्विटर सिलाउने तथा बुन्ने प्रशिक्षण लिएर ग्रामीण भेगका महिला अहिले मासिक हजारौँ बचत गर्न सफल भएका छन् । सिलाइ सिकेर टेलर व्यवसाय सञ्चालन गरेपछि घरखर्च चलाउँदै आएका उनीहरुले मासिक बचत पनि गरिरहेका हुन् । जिल्लाको नौगाड गाउँपालिका–३ की २१ वर्षीया पशुपति ठगुन्नाले घरको दैनिक कामसंगै आफ्नो व्यवसायलाई पनि निरन्तरता दिंदै आउनुभएको छ ।
कक्षा ९ सम्म पढ्नुभएकी उहाँले नौगाड गाउँपालिकाको खारमा रहेको श्री भूमिराज अल्लो प्रशोधन तथा साझा सुविधा केन्द्रमा अल्लोका कोट, पाइन्ट, विभिन्न किसिमका आकर्षक स्काप सिउने व्यवसायबाट मासिक रु १० देखि १५ हजारसम्म आम्दानी गर्दै आउनुभएको छ । जिल्ला घरेलु तथा साना उद्योग विकास समितिबाट गाउँमै सिलाइ कटाइको तालीम लिएपछि ठगुन्नाको दिन फेरिएको छ ।
बिहान बेलुका घरको कामकाज गर्ने र बाँकी समय लुगा सिलाउन उहाँ व्यस्त हुनुहुन्छ । सीप सिकेर व्यवसाय सञ्चालन गरेपछि ठगुन्नालाई अरुको सहारामा बाँच्नु पर्ने बाध्यता हटेको र अब केही गर्नुपर्छ भनेर मनोबल बढाउनुभएका उहाँ भन्नुहुन्छ, “मलाई स्वरोजगारप्रति गर्व महसुस हुन्छ ।
यस्तै श्रीमान्को कमाइले घर चलाउन धौधौ पर्न थालेपछि नौगाड गाउँपालिकाकै सिप्टी–६ की ४० वर्षीया कलावती ठगुन्नाले पनि अल्लो प्रशोधन गरी राडीपाखी, स्काप, बुन्न थालेपछि उहाँको दैनिकीमा परिवर्तन आएको छ ।
ठगुन्ना भन्नुहुन्छ्, “सीप सिकेर भएको आम्दानीले घरखर्च र चार छोरा छोरीलाई राम्रैसंग शिक्षा दिइरहेकी छु यसबाट आनन्द महसुस हुनाका साथै वार्षिक घरको खर्च सबै कटाएर रु १० हजार बंैकमा जम्मा गर्ने गरेकी छु ।” स्थानीय अल्लोबाट उत्पादन गरिएका कोट, पाइन्ट, स्काप, राडीपाखीको बजार खासै नभएको उहाँको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *