भर्खरै :

“युगअनुसारको नयाँ पुस्ता तयार गर्ने जिम्मेवारी शैक्षिक संस्थाको हो”

“युगअनुसारको नयाँ पुस्ता तयार गर्ने जिम्मेवारी शैक्षिक संस्थाको हो”

भक्तपुर, २० असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा वागीश्वरी माध्यमिक विद्यालयबाट एसईई परीक्षा २०८१ उत्तीर्ण विद्यार्थीहरूलाई बधाई, मार्गनिर्देशन तथा मायाको चिनो वितरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले नेपाल विश्व व्यापार सङ्गठनको सदस्य बनेसँगै नेपाली विद्यार्थीहरू बिदेसिने क्रम बढेको बताउँदै विश्व व्यापार सङ्गठनको सदस्यतासँगै विदेशी सङ्घ संस्थाले निर्वाधरूपमा नेपालमा विद्यालय, कलेज सञ्चालन र व्यापार गर्न पाउने अधिकारको सुनिश्चितता नेपालको लागि घातक भएको बताउनुभयो ।
नेमकिपाले त्यसको विरोध गरे पनि शासक दलको अकर्मण्यताको कारण संसद्बाट त्यसलाई अनुमोदन गरेको उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले योग्य शिक्षकबाट योग्य विद्यार्थी उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले विद्यालय तहदेखि विद्यार्थीहरूलाई भाषामा दख्खल बनाउनुपर्ने र विदेशी भाषा सिक्न प्रेरित गर्नुपर्ने बताउँदै एसईईपछि विद्यार्थीहरूलाई विषय छनोटबारे अभिमुखीकरण र मार्गनिर्देश गर्नु आवश्यक छ भन्नुभयो ।
युगअनुसारको नयाँ पुस्ता तयार गर्ने जिम्मेवारी शैक्षिक संस्थाको हो भन्दै उहाँले विद्यार्थीहरूलाई इतिहास, भूगोल, राजनीति, नेपालभाषालगायतका विषय अध्ययन गर्न प्रेरित गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एसईई उत्तीर्ण विद्यार्थीहरूलाई बधाई र शुभकामना दिँदै विद्यालयको शैक्षिक जग बलियो भए उच्च शिक्षा अध्ययनमा सहज हुने बताउनुभयो ।
एसईई उत्तीर्ण विद्यार्थीहरूलाई भक्तपुरमै उच्च शिक्षा अध्ययनको सबै विषयको अध्ययन अध्यापनको व्यवस्था रहेको बताउँदै उहाँले नेपाली विद्यार्थीहरू बिदेसिँदा नेपालका कलेजहरू ओझेलमा परेका छन् भन्नुभयो ।
उहाँले विद्यार्थीहरूलाई आफ्नो छुट्टै पहिचान बनाउन अध्ययनशील र आत्मनिर्भर हुन प्रेरित गर्दै आफ्नो शैक्षिक योग्यता र पारिवारिक क्षमताअनुसारको विषय रोजेर अगाडि बढ्न प्रेरित गर्नुभयो ।
कार्यक्रमका सभापति एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले विदेशी सम्बन्धनमा खोलेका विद्यालय र कलेजहरूले विद्यार्थीहरूलाई गलत संस्कार सिकाउने सम्भावना रहेको बताउँदै नमुना विद्यालयको रूपमा परिचित वागीश्वरीका विद्यार्थीहरूले आगामी दिनमा पनि विद्यालयको गरिमा कायम हुने गरी उच्च शिक्षा अध्ययन गर्न शुभकामना दिनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य एवम् प्लस टु संयोजक ज्ञानसागर प्रजापतिले वागीश्वरीले विद्यार्थीहरूलाई पाठ्यक्रम मात्र पढाउँदैन, आत्मनिर्भरताको पाठ पनि सिकाउँदै आएको बताउनुभयो ।
एसईई उत्तीर्ण विद्यार्थीहरूले उच्च शिक्षा अध्ययनको लागि विषय छनोटमा ध्यान दिन आग्रह गर्दै उहाँले वागीश्वरीले वार्षिक १ करोडभन्दा बढी छात्रवृत्ति वितरण गर्दै आएको बताउनुभयो । उहाँले देशैभरिका ३५ हजार सामुदायिक विद्यालयमध्ये वागीश्वरी नवौँ स्थानमा रहनु आफैमा गौरवको विषय हो भन्दै वागीश्वरीमा हाल ५ हजारभन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेको बताउनुभयो ।
वागीश्वरी माविका प्रअ कृष्णप्रसाद कर्माचार्यले शिक्षक र विद्यार्थीको संयुक्त मेहनतले एसईईमा राम्रो नतिजा हासिल भएको बताउँदै आगामी दिनमा अझ मेहनतका साथ उच्च शिक्षा अध्ययन गर्न उत्साहित गर्नुभयो ।
कार्यक्रममा एसईई उत्तीर्ण उत्कृष्ट विद्यार्थीद्वय ममता थापा र आशिष प्रजापतिले विद्यालयबारे आफ्नो अध्ययन अनुभव सुनाउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि बिजुक्छेँ र विशेष अतिथि नगर प्रमुख प्रजापतिले एसईई उत्तीर्ण विद्यार्थीहरूलाई ‘स्वर्ण सिंह’ मायाको चिनोको रूपमा प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *