भर्खरै :

असार पन्ध्रको महिमा

असार पन्ध्रको महिमा

असार पन्ध्र, अन्नको जोहो धानको रोपाइँ
बाँच्नु छ अझै, देख्नु छ विश्व यो प्राण जोगाई ।

खाएर मानो, उब्जन्छ मुरी भनाइ पाकाको
स्वर्गझैँ लाग्छ, मुटु हो माटो असार भाकाको ।

पहाडी उच्च, तराई– दून कृषिमा प्रधान
धानको खेती, बाटेर नेती पाएथ्यौँ बर्दान ।

त्यो लोकलय, संस्कृति आफ्नै नेपाली जातिको
न मान्छन् गा¥हो, लेक र बेँसी अबेर रातिको ।

धानको बीउ, तन्नेरी जीउ लोप भो कसरी
बाबियो डोरी, बाटियो पिङ लसरी–लसरी ।

आजको दिन, नेपालैभरि खानाको बहार
दही र च्यूरा नेपाली खान्की खुसीको लहर ।

यो हाम्रो देश, प्राचीनदेखि कृषिमा निर्भर
रोपेर छोड्यो, गँजायो बुट्टा माटो छ उर्वर ।

दही र च्यूरा, अडिलो खाना बालबच्चा मख्ख छन्
छिटो र मिठो पौष्टिक तत्व खेताला छक्क छन् ।

आँपको थेबे, हालेर छोप आलुको अचार
कुरौनी बास्ना, दही छ बाक्लो च्यूरामा नजर ।

एकसठ्ठी साल, थालियो मान्न दिवस धानको
कृषकलाई, चटारो पर्छ बाँचेर खानको ।

खेलेर हिलो, दिलको मैलो असारे गीतमा
तानेर लेघ्रो, संस्कृति हाम्रो मायालु प्रीतमा ।

जहिल्यै पनि कृषक किन हेला र दिक्क छन्
मल र बीउ, हुँदैन कैल्यै कुराले ठीक्क छन् ।

हीरा र मोती, सुनको थाली नजाउ छोडेर
अमूल्य रै’छ, माटाको गन्ध बस लौ गोडेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *