भर्खरै :

नीलबाराही मन्दिर क्षेत्रको पहिरो रोकथाम कार्य आठौँ हप्तामा

नीलबाराही मन्दिर क्षेत्रको पहिरो रोकथाम कार्य आठौँ हप्तामा

भक्तपुर, २१ असार । भक्तपुरको मध्यपुर थिमिमा अवस्थित नीलबाराही मन्दिर क्षेत्र, जुन धार्मिक, सांस्कृतिक र पर्यावरणीय हिसाबले संवेदनशील मानिन्छ, अहिले पहिरोको जोखिममा छ । लगातारको वर्षासँगै पहिरोले मन्दिर क्षेत्रलाई जोगाउन थप चुनौती थपिएको छ । आठौँ हप्तासम्म पनि पहिरो नियन्त्रणमा स्थानीय समुदायको श्रमदान र सक्रियता देखिएको छ तर नगरपालिकाको भूमिका भने अपेक्षाकृत रूपमा कमजोर देखिएको छ ।
प्रतिबद्धता मात्र हो कि कार्यान्वयन पनि !
नीलबाराही बचाउ अभियानमा लागेका अभियन्ताहरूको अगुवाइमा आठौँ हप्तासम्म पहिरो रोकथामको लागि जनश्रमदानसहितको कार्य जारी छ । यसैबिच नगरपालिकाको आयोजनामा हालै काठमाडौँ उपत्यका विकास प्राधिकरण, प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मी, सरोकार समितिका प्रतिनिधि र विज्ञ इन्जिनियरहरूको टोलीसहितको छलफल कार्यक्रम सम्पन्न भएको थियो । जसमा वरिष्ठ इन्जिनियर दिलीप गसी र जियोटेक्निकल इन्जिनियर राजेश्वरी श्रेष्ठले पहिरो रोकथामका लागि दीर्घकालीन योजना, जल निकास प्रणाली सुधार र ढल निकासी संरचना मजबुत बनाउने विषयमा जोड दिनुभएको थियो ।
बैठकले ‘समन्वय, प्राविधिक सुधार र जनसहभागिताको सशक्तीकरण’ जस्ता शब्दहरू दोहो¥याएको देखिए पनि, यस्ता प्रतिबद्धता व्यवहारमा कति प्रभावकारी हुन्छ भन्नेमा प्रश्न उब्जिएको छ ।
स्थानीय श्रमदान चालु
विगत आठ हप्तादेखि मन्दिर क्षेत्रको संरक्षणमा समुदाय नै अगाडि देखिएको छ । प्रत्येक हप्ताको शनिबार स्थानीय बासिन्दा, स्वयंसेवक, धार्मिक श्रद्धालु र सरोकारवाला नागरिकहरूको उल्लेखनीय सहभागितामा श्रमदान भइरहेको छ । ढुङ्गा बिछ्याउने, पानी निकास सुधार गर्ने, पहिरो नियन्त्रणका लागि आवश्यक तटबन्ध निर्माणको काममा उनीहरू जुटिरहेका छन् ।
श्रमदानमार्फत भइरहेको पहिरो नियन्त्रण प्रयासले देखाएको सामाजिक ऐक्यबद्धता प्रेरणादायी छ । तर स्थानीय सरकार यो प्रयासमा पछि परेको छ ।
बजेट र योजना : असारको भेलमै बग्ने खतरा
स्थानीय सरकार र विभिन्न निकायबाट नीलबाराही क्षेत्रका लागि विनियोजित बजेट र योजना कागजमा सीमित भएकोले असारको भेलसँगै बग्ने खतराको चिन्ता छ । समन्वय बैठकपछि तत्कालीन कार्यान्वयन, कार्ययोजना सार्वजनिक गर्ने, जिम्मेवार पक्ष तोक्ने, अनुगमन समिति गठन गर्ने जस्ता कदम नचालिने हो भने ‘संवेदनशील क्षेत्र’ का लागि गरिएको प्रतिबद्धता औपचारिकता मात्र हुनेछ ।
नीलबाराही एक धार्मिक स्थल मात्र होइन, यो ऐतिहासिक सम्पदा स्थलसमेत हो । यसले मध्यपुर थिमिको पहिचान बोकेको छ । सामूहिक श्रमदान प्रशंसायोग्य छ तर स्थानीय सरकारको स्पष्ट रणनीति, बजेट उपयोगमा पारदर्शिता र दीर्घकालीन योजनाबिना यस्तो प्रयास अधुरो हुन सक्छ ।
अब नगरपालिका गम्भीर भएर अगाडि बढ्नुपर्छ । भविष्यमा यो क्षेत्रलाई सुरक्षित राख्न सामूहिक भावना मात्र होइन कार्यान्वयन पनि हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *