भर्खरै :

अमेरिकी सरकार एक्लिँदै छ

अमेरिकी सरकार एक्लिँदै छ

भक्तपुर, २१ असार । प्रभात इङ्गलिस स्कूलमा सातदिने फोटोग्राफी तालिमको समापन शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका सचिव एवं प्रतिनिधिसभाका सांसद प्रेम सुवालले तस्बिर खिच्ने कला पत्रकारिता, विज्ञापन, विज्ञान र अन्य क्षेत्रमा पनि महत्वपूर्ण हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “तस्बिरमा सम्झना सुरक्षित हुन्छ । यो विचार सम्प्रेषण गर्ने माध्यम पनि हो । तस्बिरमा इतिहास पनि सुरक्षित हुन्छ । यो शैक्षिक सामग्री पनि हो । तस्बिरले सामाजिक र आर्थिक परिस्थितिमा सहयोग गर्दछ । तस्बिरले व्यक्तिगत जीवन, पेशागत क्षेत्र र संसारलाई नै चौडा बनाउँछ ।”
सांसद सुवालले भन्नुभयो, “संसारमा जीवन जोखिममा पारेर पनि तस्बिर खिच्नेहरू छन् । सञ्चारमाध्यममा इजरायलले प्यालेस्टिनी जनतामाथि बमबारी गरेको, प्यालेस्टिनीहरू मारिएको र बस्ती ध्वस्त भएका तस्बिरहरू प्रकाशित भइरहेको वर्षौँ भयो । इजरायल र संरा अमेरिकाका सरकारहरूले एउटा सार्वभौम र संयुक्त राष्ट्र सङ्घको सदस्य देश इरानलाई हवाई आक्रमण गरे । संसारभरि त्यो आक्रमणको विरोध भयो । इरानले पनि इजरायल र कतारस्थित अमेरिकी सैन्य शिविरमा प्रत्याक्रमण गरी बदला लियो ।”
“संरा अमेरिकी राष्ट्रपति ट्रम्प भारत–पाकिस्तान, इजरायल–इरान युद्धलाई आफूले रोकेको दाबी गरी नोवेल शान्ति पुरस्कार पाउने अपेक्षा राख्दै छन् । भारतका प्रम मोदीले पाकिस्तानसँग युद्ध विराम हुनुमा संरा अमेरिकी राष्ट्रपति ट्रम्पको कुनै हात नभएको दाबी गर्दै छन्”, उहाँले थप्नुभयो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले रूससँग व्यापार गर्ने देशलाई अमेरिकी सरकारले ५०० प्रतिशत भन्सार लगाउने धम्की दिँदै आइरहेका छन् । भारत, चीनलगायत युरोपेली देशहरूले रुससँग तेल–ग्यास खरिद नगरी जीवन सञ्चालन नहुने व्यवहारमा देखाउँदै छन् । यसरी अमेरिकी सरकार विश्वमा एक्लिँदै आएको पुष्टि भइरहेको छ, सांसद सुवालले बताउनुभयो ।
भनपा कार्यपालिका सदस्य रोशनमैँया सुवालले अहिलेको फोटो भविष्यमा काम लाग्ने बताउनुभयो ।
कर्मचारी समाजका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका सदस्य गौतम लासिवाले तालिम लिइसकेपछि अभ्यास गरेन भने औचित्य नरहने सुझाव दिनुभयो । उहाँले फोटोग्राफीलाई सीपको रूपमा विकास गर्दै लग्नुपर्ने र सीपले भोकै बस्न नपर्ने विचार राख्नुभयो ।
भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेशराज शर्माले एउटा फोटोले हजार कुरा व्यक्त गरिएको हुन्छ भन्नुभयो ।
तालिममा प्रशिक्षक नन्दु श्रेष्ठले प्रशिक्षार्थीको उत्सुकता र सहभागिताले कार्यक्रम सफल भएको भन्दै कार्यक्रम आयोजक समूहप्रति खुसी व्यक्त गर्नुभयो । कवि लक्ष्मीप्रसाद देवकोटाले भाव र मनका कुरा कलमबाट राखेझैँ फोटोबाट पनि विभिन्न भाव व्यक्त हुने विचार राख्नुभयो ।
प्रशिक्षार्थीको तर्फबाट प्रतिनिधि इन्दु कुम्पाखले तालिम रमाइलो र जीवन उपयोगी भएको विचार राख्नुभयो । कार्यक्रम समापनमा विद्यालयका सहप्राचार्य स्वर्र्णिमा मूलले पनि क्यामेराबारे केही सिकेको अनुभव बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *