भर्खरै :

सपनाको नगर : साझा योजना वातावरणदेखि सुशासनसम्म

  • असार २१, २०८२
  • श्रीराम श्रेष्ठ
  • विचार
सपनाको नगर : साझा योजना वातावरणदेखि सुशासनसम्म

मानिसहरूको घनत्वयुक्त बसोबास भएको, सामाजिक, आर्थिक, सांस्कृतिक तथा प्रशासनिक क्रियाकलापको केन्द्र भएको आफ्नै कला पहिचान र भू–भाग नगर हो । ऐतिहासिक रूपमा नगरहरूको विकास मानव सभ्यताको उन्नतिको प्रतीकको रूपमा हेरिएको छ । प्रारम्भमा नदी किनार, व्यापारिक मार्ग वा उब्जनी भूमिहरू नजिकै मानिसहरू बसोबास गर्न थालेपछि नगरहरूको निर्माण भएको पाइन्छ । नगरहरू भौतिक संरचनाहरूको समूह मात्र नभई, मानव सभ्यता, संस्कार, संस्कृति, व्यापार, शिक्षा र शासनको केन्द्रका रूपमा विकसित हुँदै आएका छन् ।
प्राचीन कालमा काठमाडौँ उपत्यकाभित्र रहेका लिच्छविकालीन नगरहरू काठमाडौँ, भक्तपुर र पाटन प्रसिद्ध नगर राज्यहरू थिए । यी नगरहरू धार्मिक, सांस्कृतिक र कलात्मक दृष्टिले अत्यन्तै समृद्ध थिए । आधुनिक अवधिमा भने स्थानीय शासन प्रणालीको विकाससँगै नगरपालिका र महानगरपालिकाहरूको सङ्ख्या विस्तार भएको छ । संविधानतः नेपालमा नगरहरूलाई स्थानीयको रूपमा मानिन्छ, जसले आफ्ना क्षेत्रभित्र सेवा, सुविधा, योजना, नीति तथा विकास कार्यक्रम सञ्चालन गर्न सक्छ ।
शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, रोजगार, उद्योग र प्रशासनिक सेवा उपलब्ध हुने भएकोले मानिसहरूको आकाङ्क्षा नगरतर्फ आकर्षित हुने गर्छ । तर, तीव्र सहरीकरण, जनसङ्ख्या चाप, पूर्वाधारको अभाव, बेरोजगारी, प्रदूषण र असमानता, वन विनाश, जलवायु परिवर्तन, प्लास्टिक तथा रासायनिक प्रदूषणको कारणले नगरहरूमा विविध समस्या देखा पर्न थालेका छन् । त्यसैले नगरको दिगो विकासका लागि योजना, समावेशिता, जनसहभागिता, वातावरणीय सन्तुलन र सुशासन अत्यावश्यक छ ।
यस्तो अवस्थामा ‘सांस्कृतिक नगर’ को अवधारणा अत्यन्तै सान्दर्भिक र आवश्यक बनेको छ । नेपालजस्तो जैविक र सांस्कृतिक विविधताले भरिएको मुलुकमा नगरको महत्व झनै विशेष हुन्छ । नगर भौतिक पूर्वाधारले सम्पन्न ठाउँ मात्र नभई, पर्यावरणीय चेतनाले सम्पन्न, सामाजिक सद्भावयुक्त, सांस्कृतिक रूपले समृद्ध र ऐतिहासिक पहिचान बोकेकोलाई नगरको रूपमा जनाइन्छ । यस्तो नगरमा वातावरणीय सन्तुलन, जैविक विविधताको संरक्षण, स्वच्छता, हरियाली र दिगो विकासको दृष्टिकोणले नीति निर्माण गरिन्छ ।
नगरमा वातावरणले केही विशेष गुण बोक्नुपर्छ । पहिलो, यो वातावरण स्वच्छ र हरित हुनुपर्छ । सडक, पार्क, खोलानाला, बजार, विद्यालय, मन्दिर आदिमा फोहोर नदेखिने अवस्था हुनुपर्छ । त्यहाँको हावामा धूलो र धुवाँ कम हुनुपर्छ ताकि नागरिकले स्वस्थ जीवन बिताउन सकून् । नगरभित्र हरियाली प्रवद्र्धन गर्न वृक्षरोपण, सामुदायिक बगैँचा, खुला क्षेत्रको संरक्षणजस्ता गतिविधि नियमित रूपमा सञ्चालन हुनुपर्छ । व्यवस्थित व्यवस्थापनको लागि वैज्ञानिक तथा दिगो प्रणाली अपनाइनुपर्छ, यसमा रिसाइकल, कम्पोस्टिङ, प्लास्टिक न्यूनीकरण आदि प्राथमिकतामा हुनुपर्छ । नगरमा सांस्कृतिक सम्पदाको संरक्षण गर्दै आधुनिक विकाससँग समायोजन मिलाउनुपर्ने आवश्यकता हुन्छ । पुराना सम्पदा संरचनाहरू जोगाउँदै वातावरणमैत्री विकासका पूर्वाधारहरू निर्माण गरिनुपर्छ ।
यसरी हेर्दा सांस्कृतिक नगर सिर्जना गर्नु भनेको सडकमात्र कालोपत्रे गर्नु होइन; जीवनशैलीमै परिवर्तन ल्याउनु हो । त्यहाँका बासिन्दामा वातावरण र संस्कृतिप्रतिको आत्मीयता, जिम्मेवारी र चेतना हुनु अत्यावश्यक हुन्छ । समुदाय, सरकार र नागरिक सबैको साझा प्रयासबाट मात्रै यस्तो वातावरणको निर्माण सम्भव छ । वातावरणमैत्री सोच, स्वदेशी परम्पराको सम्मान र प्रविधिको सदुपयोग गरेर हामीले साँचो अर्थमा सांस्कृतिक नगर निर्माण गर्न सक्छौँ, जहाँ प्रकृति, संस्कृति र मानव जीवनबिच सन्तुलन कायम हुनेछ ।
नागरिकको पहुँचमा गुणस्तरीय विद्यालय, पुस्तकालय र अस्पताल हुनुपर्छ । सँगै, सुरक्षित सडक, राम्रो यातायात सेवा र दुर्घटनाबाट जोगाउन ट्राफिक व्यवस्थापन पनि प्रभावकारी हुनुपर्छ । सांस्कृतिक र ऐतिहासिक सम्पदाहरूको संरक्षण गरिनु, लोक संस्कृतिको सम्मान र प्रवद्र्धन हुनु, चाडपर्व, परम्परा र सम्पत्तिमा गर्व गर्नु पनि सांस्कृतिक नगरको आवश्यक पक्ष हो ।
शान्ति, सुरक्षा र आपसी सद्भाव पनि नगरको महत्वपूर्ण आधार हुन् । महिलाहरू, बालबालिका, वृद्धवृद्धा सबैले सुरक्षित वातावरणमा बाँच्न पाउनु पर्छ । स्थानीय सरकार जनमुखी, पारदर्शी र उत्तरदायी हुनुपर्छ । जनताको सहभागिता, सुझाव र गुनासोलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम निर्माण गर्नुपर्छ । रोजगारी, व्यवसाय, सेवा र उद्यमशिलता प्रवद्र्धन हुने अवसरहरू उपलब्ध गराइनुपर्छ, जसले गर्दा नगर आर्थिक रूपमा पनि आत्मनिर्भर बनोस् ।
कला संस्कृति सम्पदा मठमन्दिरले भरिपूर्ण नगरमा भने यातायातलाई प्राथमिकतामा राखिनु गलत हुन जान्छ । यस्ता ठाउँहरू विशेषगरी पर्यटकीय हिसाबमा महत्वपूर्ण हुन्छ । त्यसैले यस क्षेत्रमा यातायातलाई प्रवेश दिनु हुँदैन । हो हल्ला, यातायातको चाप, धुलो, धुवाँ, प्रदूषणले, अस्तव्यस्तताले यस्ता नगरहरूको पहिचान कला संस्कृतिको अस्तित्वमा असर पु¥याउन सक्छ । कला, संस्कार र संस्कृतिले सम्पदाले भरिपूर्ण भक्तपुर, काठमाडौँ र ललितपुरजस्ता नगरहरूमा सडकको व्यापक विस्तार हुनु नगरको अस्तित्व र पहिचानविरुद्धमा हुन्छ ।
नगर केवल बसोबासको ठाउँ होइन, यो जीवनशैली, संस्कृति, सेवा र सम्भावनाको समष्टि हो । नगरको सुव्यवस्थित विकासले मात्र राष्ट्रको समुन्नति सम्भव हुन्छ । बहुमत जनताको हित, वातावरण अनुकूल, दीर्घकालीन योजनाहरू, नगरको पहिचान अस्तित्व संरक्षण हुने खालको नीति तथा कार्यक्रमहरू कार्यान्वयन हुनु यसको संरक्षण संवर्धन र भावी पुस्ताको लागि प्रेरणाको स्रोतको रूपमा निकै महत्वपूर्ण हुन्छ । सडक विस्तार, अव्यवस्थित बसाइँसराइ, प्रविधिको प्रयोग जस्ता विषयमा भएको विकृतिले नगरहरूको अस्तित्वलाई जोगाउन चुनौतीपूर्ण छ ।
वैज्ञानिक सोचमा आधारित, वातावरणीय सन्तुलन, सामाजिक समावेशिता, आर्थिक आत्मनिर्भरता र राजनीतिक पारदर्शिताको समन्वय भएको साझा योजना अवलम्बन गर्न अब ढिला गर्नु हुँदैन । सांस्कृतिक र पर्यावरणमैत्री नगर निर्माणको दिशामा स्थानीय सरकार, समुदाय र नागरिकको साझा प्रयास, दीर्घकालीन सोच र उत्तरदायी व्यवहार अनिवार्य छ । आधुनिक विकासले परम्पराको मूल्य नघटाओस् र सुशासनले नियम मात्र होइन, नागरिकको विश्वास जित्न सकोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *